विकासन्युज

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६ सय रुपैयाँले  घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।   अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

वालेट ‘आइएमई पे’ ले दिन्छ बैंकले सरह ब्याज, ग्राहकको आकर्षण बढ्दो

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ निवासी सुनिल पौडेलले पछिल्लो समय आईएमई पे वालेट प्रयोग गर्छन । उनको वालेटमा ५० हजार रुपैयाँ राख्छन् र दैनिकी निर्धक्कसँग चलाउँछन् । बजारमा धेरै डिजिटल वालेट सेवा उपलब्ध भए पनि उनले आईएमई पे नै रोज्नुको खास कारण रहेछ । वालेटमा रहेको रकममा बैंकले सरह ब्याज दिन थालेपछि आईएमई पे वालेट नै आफ्नो रोजाईमा परेको उनले सुनाए । हाल बैंकहरुले साधारण बचत खातामा ७.१३ प्रतिशत ब्याज दिन्छन् । आईएमई पे पनि वालेटमा रहेको रकममा त्यत्ति नै दरमा ब्याज दिदै आएको छ । नेपालमा डिजिटल भुक्तानी प्रणाली अर्थात् मोबाइल वालेट भन्ने वित्तीकै सर्वसाधारणाकाे मनमस्ष्किमा आउँछ ‘आइएमइ पे’ । नेपालको डिजिटल प्रणालीलाई टेवा पुर्याउने उद्देश्यले ५ वर्षअघि ‘आइएमई पे’ को सुरु भएको थियो । यसअघि नै मोबाइल बैंकिङ्ग सेवा लगायत अन्य इन्टरनेट सुविधाहरु सञ्चलानमा भएपनि वालेटको सुरुवात भने आइएमई पे ले गरेको बताउँछन् कम्पनीकाे कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) आमोद भट्टराई । २०७४ साल असार ५ गते राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गरेको आइएमई डिजिटल साेलुसन लिमिटेडले आइएमई पे को नामबाट वालेट तथा एप्स संचालन गरिरहेको छ । ‘जे पे गर्दा पनि आइएमई पे’ नाराका साथ नेपाली बजारमा अनलाइन भुक्तानीको कारोबार गरिरहेको यस कम्पनीले विभिन्न स्किमहरुका साथ नेपाली अनलाइन भुक्तानीको माध्यमका रुपमा काम गरिरहेको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबाट भुक्तानी प्रणाली सञ्चालक १० वटा कम्पनी र भुक्तानी सेवा प्रदायक संस्थाहरु (वालेट तथा एप्स) २७ वटाले अनुमतिपत्र प्राप्त गरेका छन् । संचालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरु मध्ये आइएमई पे नेपालको लोकप्रिय मोबाइल वालेट हो । सेवा प्रवाहमा वालेटहरुबीच ठूलो प्रतिस्पर्धा छ । त्यसमा आइएमई पे का स्किमले ग्राहकलाई आकर्षित गरिरहेको छ । आइमएई पे ले भुक्तानीको काम मात्रै नभएर प्रयोगकर्तालाई ब्याज पनि प्रदान गर्ने स्किम संचालन गरिरहेको छ । जुन अरु कुनै भुक्तानी प्रदायकले गरेका छैनन् । आइएमई पे ले वालेटमा रकम जम्मा गर्दा ७.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ । कम्पनीले विगत ३ वर्षदेखि प्रयोगकर्तालाई ब्याजदर दिइरहेको जनाएको छ । बैंकहरुको ब्याजदर अनुसार नै उक्त वालेटले ब्याजदर पनि परिमार्जन गर्ने गरेको छ । अहिले वाणिज्य बैंकहरुले बचतमा ७.१३ प्रतिशत ब्याज दिइरहेका छन् । सोही अनुसार कम्पनीले पनि अहिले आइएमई पे मा रकम जम्मा गर्याे भने ७.१३ प्रतिशत ब्याजदर तोकेको छ । कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) आमोद भट्टराई कस्टमर आकर्षण गर्न र डिजिटलमा ग्राहकलाई ‘इनकरेज’ गर्न वालेटमा रकम जम्मा गर्दा ब्याज दिने स्किम संचालन गरेको बताउँछन् । ‘वालेटमा सामान्यतः सानोतिनो पेमेन्ट गर्न मात्रै रकम जम्मा गर्छन्, वालेटमा ब्यालेन्स मेन्टेन गरेका हुँदैनन्, वालेटमा ब्याज दियो भने कस्टमर इनकरेज हुन्छन्, वालेटमा आकर्षण बढाउन ब्याजदर दिएका हौं, बैंकले बचत खातामा ७.१३ प्रतिशत ब्याज दिइरहेका छन्, आइएमई पेले पनि सोही ब्याज दिन्छ, बैंकको ब्याजदर परिमार्जन भयो भने त्यहि अनुसार परिवर्तन पनि हुने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘आइएमई पे ले कस्टमरलाई बैंक खाता बराबरको सुविधा दिइरहेको छ, जसलाई बैंकसम्म जानु पर्ने आवश्यकता छैन, जसको बैंकसम्म पहुँच छैन, फाइनान्सियल स्पेस छैन भने त्यस्ता ग्राहकलाई हामीले वालेटमा ब्याज दिने गरेका हौं ।’ नेपालमा रेमिट्यान्स आयात गर्नेमा आइएमई रेमिट्यान्स कम्पनी एक नम्बर हो । ग्राहकहरुले आजको दिनमा पनि नगद रकम नै बढी झिक्ने गर्छन् । अहिले पनि लाइन बसेर कारोबार गर्ने गरेका छन् । तर, आइएमई पेले लाइनमा बस्नुपर्ने झण्झटलाई मुक्त गर्दै सिधैं वालेटमा रेमिट्यान्स पठाउँदा ब्याज दिइरहेको छ । साथै वालेटमा रेमिट्यान्स इस्यू गर्दा ब्याजसहित अन्य सुविधाहरु पनि प्रयोग गर्न सकिने उनले बताए । राष्ट्र बैंकको नियम अनुसार वालेटमा ५० हजार रुपैयाँ भन्दा बढी राख्न दिँदैन । जस्तो वालेटमा ७५ हजार रुपैयाँ ब्यालेन्स छ भने २५ हजार बैंक खातामा राखेर ५० हजार मात्रै मेन्टेन गर्नुपर्ने राष्ट्र बैंकको नियममा छ । राष्ट्र बैंककाे नियम अनुसार वालेटलाई ५० हजार रुपैयाँ बराबरको कारोबार गर्न छुट छ । बढी रकम छ भने बैंकको खातामा लैजान ग्राहकलाई सुझाव दिने गरेको उनले बताए । ब्याजदरबाट ग्राहकलाई फाइदा ग्राहकको फाइदाका लागि वलेटमा ब्याज दिने व्यवस्था मिलाएको कामु सीईओ भट्टराइले बताए । धेरै मान्छेलाई वालेट चलाउन मोटिभेट गर्न ब्याज दिने व्यवस्था गरेको उनको भनाइ छ । यसबाट वालेटलाई कुनै फाइदा नरहेको उनी बताउँछन् । ‘कम्पनीलाई फाइदा भन्दा पनि ग्राहकलाई फाइदा हुने हो, धेरै मान्छेले वालेट चलाउनु हुन्न, डिजिटल पेमेन्ट गर्नुहन्न, यसको प्रयोग गर्दा इन्करेजमेन्ट होस्, साथै बैंकिङ्ग अभ्यास पनि सुरु हुन्छ, बैंकको सेवा पनि हुन्छ, यसबाट कम्पनीलाई केही पनि फाइदा छैन, ग्राहकलाई नै फाइदा होस भनेर नै ल्याएका हौ,’ उनले भने । वालेटमा पैसा राख्दा ब्याज दिन सम्भव भएर नै यो स्किम ल्याएको उनको भनाइ छ । बैंकसँगकाे सहकार्यमा खाता खोलिन्छ । डिजिटल अकाउण्ट खोलेर बैंक थ्रू भएर वालेटमा रकम राख्दा ब्याज दिने गरेको उनले बताए । विगत ३ वर्षदेखि वालेटमा रकम राख्दा ब्याज दिइरहेको उनले जानकारी गराए । आइएमई पे भिसा कार्ड बैंकको डेबिट कार्ड जस्तै आइएमई पेले निःशुल्क रुपमा भिसा कार्ड वितरण गरिरहेको छ । जुन नेपालमा संचालित वालेटहरुमध्ये पहिलो पटक कम्पनीले भिसा सुरु गरेको हो । आइएमई पे भिसा कार्ड मार्फत भुक्तानी गर्दा अतिरिक्त छुटको व्यवस्था समेत मिलाएको कामु सीईओ भट्टराई बताउँछन् । ‘हामीले वालेटमा भिसा कार्ड वितरण गरिरहेका छौं, वालेटमा भिसा कार्ड दिने पनि आइएमई पे नै पहिलो हो, बैंकको डेबिट कार्ड जस्तै आइएमई पेले भिसा कार्ड वितरण गर्छ, हामीले भर्चुअल र फिजिकल्ली नै भिसा कार्ड वितरण गर्ने गरेका छौं,’ उनले भने, ‘भर्चुअल कार्डले इकमर्समा काम गर्छ, फिजिकल कार्डले जहाँ भिसा कार्ड प्रयोग हुन्छ त्यहाँ प्रयोग गर्न सकिन्छ, ग्राहकलाई वालेट प्रयोग गर्न र बैंक तथा वित्तीय संस्थामा जानुभन्दा अघिको चरणमा सुरुमा इनकरेजमेन्ट होस भनेर यो फिचर ल्याएका हौं, यो एउटा मिनि अकाउण्ट जस्तै चलाउने हो ।’ आइएमई पे भिसा कार्डलाई पनि कस्टमरले धेरै मन पराएको उनको भनाइ छ । कलेजमा गएर विद्यार्थीहरुलाई भिसा कार्ड वितरण गर्ने गरेको उनले बताए । ‘बैंकमा गएर झन्झिटिलो तरिकाले पैसा तिरेर डेबिट कार्ड लिनुपर्छ, त्यो कार्ड लिन पनि एक दुइ हप्ता कुर्नु पर्छ तर आइएमई पे को भिसा कार्ड क्यूआर तुरुन्तै गरेर तुरुन्तै पाइन्छ, यो निशुल्क हुन्छ,’ उनले भने । स्किममा प्रतिस्पर्धा पछिल्लो समय वालेटबीच कडा प्रतिस्पर्धा बढेको छ । वालेटहरुमा कारोबार गर्दा क्यास ब्याकमा धेरै प्रतिस्पर्धा देखिन्छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीले नगद कारोबारमा केही संकुचन ल्याएपछि मोबाइल वालेटमा कारोबार बढेको थियो । राष्ट्र बैंकले पनि ‘डिजिटल पेमेन्ट’ अर्थात् विद्युतीय भुक्तानीमा जोड दिँदै क्यूआर प्रयोगलाई बढावा दिएको छ । अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले पनि मोबाइल बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् । मोबाइल वालेटहरुमा ग्राहकलाई आकर्षण गर्न विभिन्न स्किमहरु ल्याएका छन् । अहिले आफूमा ग्राहकलाई आकर्षण गर्न विभिन्न स्किम तथा क्यास ब्याकको सुविधा दिइरहेका छन् । आइएमई पे ले पनि ग्राहक तान्न आकर्षक क्यास ब्याक र स्किम संचालन गरिरहेको भट्टराईले बताए । आइएमई पेले टप अप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा दिइरहेको छ । हवाइ यात्राको लागि टिकट काट्दा ३ सय रुपैयाँसम्म क्यास ब्याक र अन्य पुरस्कारको पनि व्यवस्था मिलाएको उनको भनाइ छ । ‘अहिले हाम्रो दशैं तिहारको स्किम पनि चलिरहेको छ, हामीले दशैं तिहार फेस्टिभल भनेर फोन देखि ट्याबलेट, ल्यापटप, बम्फरमा इलेक्ट्रिक स्कुटर पुरस्कार वितरण गर्न स्किम ल्याएका छौं, यो स्किम तिहार पछि पनि चल्छ,’ उनले भने, ‘प्रडक्ट अनुसार क्यासब्याक छुट्टाछुट्टै छ, कहिलेकाँही क्यूआर गर्दा शतप्रतिशत क्यासब्याक दिने पनि दिन्छौं, आइएमईको २२ औं वर्षको अवसरमा शतप्रतिशत क्यास ब्याक दिएका थियौं, त्यो पर्टिकुलर दिनमा मात्रै हो, कहिलेकाँही त्यस्तो पनि हुन्छ, सामान्यतया ५/१० प्रतिशत क्यासब्याक दिइरहेका हुन्छौ,’ उनले भने । आकर्षण बढ्दो भट्टराईका अनुसार वालेटमा आकर्षण बढ्दो छ । नेपालमा अहिले प्रयोग गर्ने संख्या पनि बढीरहेको छ । विदेशमा पहिला नै विकास भएपनि नेपालमा अहिले वालेट प्रयोग गर्नुपर्छ भन्ने सोच आएको छ । आइएमई पेको फिचरमा पनि आकर्षण बढेको र सकारात्मक प्रतिक्रिया आएको उनले बताए । आइएमई पे प्रयोग गर्ने ग्राहक संख्या २५ लाख छन् । जसमा सक्रिय प्रयोग कर्ता ६ लाख छन् भने सक्रिय कारोबार गर्ने प्रयोगकर्ता साढे २ लाख छन् । धेरै कारोबार वालेट टपअप र क्यूआर पेमेन्ट हुने गरेको उनले बताए । रकम ट्रान्सफर्मर वा पठाउने बढी छन्, संख्याका हिसाबले टप अप, क्यूआर, बिल पेमेन्ट, इलेक्ट्रीसिटीको बिल पेमेन्ट, हवाइ टिकट खरिदमा बढी कारोबार हुन्छ,’ उनले भने । साथै, मेरो सेयर नवीकरण, दोस्रो बजारमा सेयर खरिद बिक्री, भुक्तानी, टिएसमा धितो लोड जस्ता सुविधाहरू वालेटबाट प्रयोग गर्न सकिन्छ ।

गरिमा विकास बैंकका ग्राहकलाई हिमालयन होटलमा १५ प्रतिशत छुट

काठमाडौं । नेपालकै प्रतिष्ठित रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ र गरिमा विकास बैंक  बीच विभिन्न सेवा सुविधामा आकर्षक छुटका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौं को सामाखुसी मा अवस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १५% छुट सक्ने बैंकले  जनाइएको छ । उक्त सम्झौता मा विकास बैंकको बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ अध्यक्ष मौसम कुमार श्रेष्ठ विच भएको छ । हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

जग्गा विवादले १७ वर्षमा पनि बनेन वीरेन्द्रनगरको २९ किलोमिटर चक्रपथ

  सुर्खेत । ‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो । कर्णाली प्रदेशको राजधानी कायम भइसक्दासमेत वीरेन्द्रनगर उपत्यकामा निर्माणाधीन चक्रपथको काम पूरा हुनसकेको छैन । सत्र वर्षअघि सुब्बाकुनाबाट घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोड्न चक्रपथ निर्माण थालिएको थियो । करिब २९ किलोमिटर लामो सो चक्रपथको हालसम्म २२ किलोमिटरमा मात्रै काम भएको छ । चक्रपथअन्तर्गत व्यक्तिगत घर, जग्गा र संरक्षित वन क्षेत्र पर्ने हुँदा बेला–बेला विवाद हुँदै आएको छ । अरू त अरू चक्रपथको सुरुको विन्दु सुब्बाकुनामै व्यक्तिको घरजग्गा परेका कारण सो ठाउँमा काम हुनसकेको छैन । चक्रपथअन्तर्गत संरक्षित वन क्षेत्र र व्यक्तिगत घरजग्गा परेकै कारण अझै ४० प्रतिशत काम हुन बाँकी छ । निर्माण भएको सडकमध्ये पनि करिब दुई किलोमिटर कालोपत्र हुन बाँकी छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नं १, २, ८ र १२ को क्षेत्रमा पनि व्यक्तिगत घर, जग्गा पर्ने हुदाँ विवाद सुल्झिनसकेको छैन । स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै लामो समयदेखि आयोजना निर्माणमा अवरोध गर्दै आएका छन् । ‘जनताका लागि विकास हो भने सही तरिकाले विकास हुनुपर्यो । विकासका नाममा उठिबास त लगाउनु भएन नि’, वीरेन्द्रनगर–२ की अमृता कार्कीले भने, ‘हामी जग्गा दिन्छौँ, तर हामीलाई उठिबास लगाएर विकास गर्न खोज्दा समस्या भएको छ ।’ उनले क्षतिअनुसार सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्ने स्थानीयवासीको माग रहेको बताए । निर्माणाधीन चक्रपथ हेरिरहेको रुकुम–पश्चिम चौरजहारी सडक डिभिजन कार्यालयले भने ६० प्रतिशत काम सकिएको जनाएको छ । विवाद नभएको क्षेत्रमा निर्माण सकिए पनि विवादित क्षेत्रको काम बाँकी रहेको कार्यालयका इञ्जीनियर सुरेश बस्यालले जानकारी दिए । ‘विवाद नभएको ठाउँहरूमा त काम सकिसकेको छ । केही ठाउँमा जग्गा र संरक्षित वन क्षेत्रको विवादले काम रोकिएको छ’, उनले भने, ‘जग्गा र वनको विवाद नभएका ठाउँमा करिब ६० प्रतिशत काम सकिएको छ ।’ निर्माण कम्पनी र कार्यालयले समय सीमाभित्रै काम सक्ने गरी लागे पनि विवादका कारण कठिनाइ भएको उनको भनाइ छ । सम्झौताविपरति साँघुरियो सडक चार वर्षभित्र सक्ने गरी चक्रपथ निर्माणको सम्झौता भएकामा पटक–पटक म्याद थप भइरहेको छ । पछिल्लोपटक म्याद थप भएअनुसार २०७८ चैत मसान्तभित्र निर्माणकार्य पूरा गर्नुपर्ने सम्झौता थियो । तर अवरोध कायमै रहेकाले काम सकिने कुनै टुङ्गो छैन । सङ्घीय सरकारले निर्माण थालेको चक्रपथको काम अहिले प्रदेश सरकारमातहत छ । १३ करोड रुपैयाँ बजेटमा निर्माण सम्झौता हुँदा चक्रपथ १५ मिटर चौडा हुने उल्लेख थियो । तर जग्गा अभावकै कारण ११ मिटरमा मात्रै सडकको काम भइरहेको छ । पर्याप्त जग्गा उपलब्ध नहुँदा सडकको चौडाइ घटाउनुपरेको सडक डिभिजन कार्यालयका इञ्जीनियर सुरेश बस्यालले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिकाले छिट्टै विवाद समाधान भएर काम अघि बढ्ने जनाएको छ । सरोकारवालाबीच विवाद समाधानका लागि छलफल भइरहेकाले केही समयमै समस्या समाधान हुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताए । उनले प्रभावित नागरिकलाई मर्का नपर्ने गरी सहमतिबाटै चक्रपथको काम अघि बढ्ने जानकारी दिए । ‘समस्या समाधानका लागि सम्बन्धित व्यक्ति र निकायबीच विभिन्न चरणमा छलफल भइरहेको छ’, उनले भने, ‘वीरेन्द्रनगर नगरपालिकाको मात्रै नभएर प्रदेशकै गौरवका रूपमा रहेको ‘वीरेन्द्रनगर चक्रपथ’ निर्माणको कामलाई प्रदेश र सङ्घीय सरकारले पनि प्राथमिकतामा राखेको हुँदा अब छिट्टै काम अघि बढ्छ ।’ रासस

तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

झापा । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास होमस्टे सञ्चालन गर्दै आएका १४ महिलाले मिलेर सामूहिक सयपत्री फूलको खेती गरेका छन् । आठ कठ्ठा जमिन लिजमा लिएर व्यावसायिकरूपमा गरेको सयपत्री फूलको खेतीबाट उनीहरू सन्तुष्ट भएको मेची सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष भावना गुरुङले बताए । ‘माग धान्नै गाह्रो भइरहेको छ’, उनले भनिन्, ‘तिहारका लागि मात्र एक हजार पाँच सय माला माग छ । तर चुनावी कार्यक्रममा दैनिक सयभन्दा बढी माला गइरहेकाले माग गरेको माला दिन नसकिने भो भनेर चिन्तित छौँ ।’ तीस वटा थुँगाको एउटा माला बन्ने र प्रतिमाला ८० रुपैयाँका दरले बिक्री भइरहेको उनको भनाइ थियो । पहिलोपटक फूलखेती गरेका महिलाले मागअनुसारको माला पु¥याउन गाह्रो भएपछि अर्को वर्षदेखि एक बिघा जमिनमा फूलको व्यावसायिक खेती गर्ने सोचमा रहेको उनले सुनाइन् । ‘फूल फुलाउनु मात्र पर्दोरहेछ, किन्ने ग्राहक बारीमै आउँछन् । थोरै खर्च र मेहेनतमा आम्दानी पनि धेरै हुँदोरहेछ’, उनले भनिन् । उनीहरूलाई सयपत्री फूलको व्यावसायिक खेतीमा मेचीनगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले समेत सहयोग गर्दै आएका छन् । फूलखेतीका लागि महिलाले जमिन लिजमा लिए पनि घेराबारा गर्नेदेखि उनीहरूलाई विज्ञ व्यक्ति ल्याएर तालिम गराउनसमेत वडाध्यक्षकै भूमिका रहेको छ । मेचीनगर–९ मा डिएण्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत आठ वर्षदेखि नर्सरी व्यवसायमा लागेका डिल्लीराम उप्रेतीले विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा एक बिघा जमिन लिजमा लिएर सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । कलकते लोकल र कर्मा ५५५ जातको सयपत्री फूलको खेती गर्दै आएका उप्रेतीले विगतको भन्दा यस वर्ष झापामा फूलको व्यावसायिक खेती घटेको बताए । फूलको माग भए पनि उत्पादन कम भएका कारण गाह्रो भइरहेको उनले बताए । ‘हामी माला उनेर बेच्न भ्याउँदैनौँ’, उनले भने, ‘बारीमा पसेर उनीहरु आफैँले टिप्छन्, तीन सय थुँगाको पाँच सय रुपैयाँ गरेर रकम लिन्छौँ ।’ तरकारी, खरबुजालगायतका व्यावसायिक खेती गर्दै आएका उनले चित्तबुझ्दो खेतीको रूपमा सयपत्री फूलको भएको बताए । सयपत्री फूलको खेती थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाइ छ । सयपत्री फूलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गए पनि व्यावसायिकरूपमा गर्न नसक्दा फूलको परनिर्भरतालाई अझै हटाउन नसकिएको उनको भनाइ छ । उनले कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले किसानलाई प्रोत्साहनस्वरुप सुलभ कर्जा र अन्य अनुदानमा लगानी बढाउने हो भने फूलमा जिल्लालाई आत्मनिर्भर बनाउन समस्या नहुने बताए । रासस

पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकसहितको आकस्मिक सेवा सञ्चालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकसहितको आकस्मिक सेवा सञ्चालन गरिएपछि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । तीन महिनाको अवधि साउनदेखि असोज महिनामै स्वास्थ्यचौकीमा तीन हजार एक सय ४१ जनाले सेवा लिएका छन् । रुघाखोकी, ज्वरो, छालासम्बन्धी, जीउ दुख्ने, श्वासप्रश्वास, मधुमेह, उच्च रक्तचाप, ग्याष्टिक, मुटु, आँखा, प्रजनन स्वास्थ्य, यौनरोगसम्बन्धीका बिरामी बढी स्वास्थ्यचौकी पुग्न थालेका हुन् । ‘चिकित्सकसहितको सेवा सञ्चालन नहुदा मुस्किलले महिनामा सय जति बिरामी उपचारका लागि पुग्ने गरेका थिए’, स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक गोविन्दराज जोशीले भने, ‘हाल बिरामीको सङ्ख्या निकै बढेको छ, व्यवस्थापन गर्न चुनौती थपिएको छ ।’ बिरामीको चापअनुसार एक जना थप चिकित्सकको आवश्यकता देखिएको उनले बताए । चिकित्सकको व्यवस्थासँगै न्यून शुल्कमा उपचारका लागि स्वास्थ्यचौकी पुग्ने बिरामीलाई इसिजी, अल्ट्रासाउण्ड, अक्सिजन नेवुलाइजरसेवा सञ्चालन गरिएको छ । ‘स्वास्थ्यचौकीमा यी उपकरण उपलब्ध रहेका भए पनि सञ्चालन गर्ने प्राविधिक नहुदा सेवा दिन सकिएको थिएन’, स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टले भने, ‘चिकित्सले उपकरण सञ्चालन गरी सेवा दिइरहेका छन्, सेवालाई गुणस्तरीय बनाउन उपकरण सञ्चालन गर्ने प्राविधिकको व्यवस्थाका लागि नगरपालिकासँग माग गरेका छौँ ।’ उनका अनुसार आकस्मिक सेवा सञ्चालन गरिएको भए पनि चिकित्सकले चलाउने औषधिको आपूर्ति हुनसकेको छैन । स्वास्थ्यचौकीमा निःशुल्क वितरणका लागि उपलब्ध हुने ९८ थरिका औषधिमध्येका औषधिको अभाव हुने गरेको छ । जसबाट बिरामीलाई औषधि उपलब्ध गराउन समस्या हुने गरेको छ । ‘चिकित्सकसहितको सेवा सञ्चालन गरिएपछि स्तरीय प्रयोगशालाको व्यवस्था हुनुपर्ने हो’, उनले भने, ‘प्रयोगशालामा पुरानै तरिकाले सेवा दिनुपरेको छ, एक जना ल्याब असिस्टेन्टको अभाव छ, क्वुटर काउन्टर र सेमी अटो एनलाजर मेसिनको आवश्यकता छ, माग गरेको धेरै भयो, उपलब्ध हुनसकेको छैन ।’ औषधि अभावले रातिको बेला जटिल प्रकृतिको बिरामी आए सिफारिस गर्नेसम्मको सेवा दिन अप्ठ्यारो रहेको उनको भनाइ छ । रातिका बेला बिरामीको उपचारका लागि चिकित्सकसहित स्वास्थ्यकर्मीलाई पालो मिलाएर खटाउने व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्यचौकीलाई उपलब्ध गराएको डिजिटल एक्सरे मेसिन सञ्चालनमा आउन सकेको छैन । एक्सरे मेसिनको सेटअप नमिल्दा सञ्चालनमा आउन नसकेको हो । ‘स्लाइडिङ टेबुलको अभावसँगै सेटअप मिलेको छैन, प्राविधिकले हेरेर गएका छन्, एक महिनाभित्रै सञ्चालन हुन्छ, त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ’, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, ‘केही दिनभित्रै सञ्चालनमा ल्याउँछौँ ।’ स्वास्थ्यचौकीलाई उपलब्ध हुने औषधि आपूर्ति भइरहेको उल्लेख गर्दै उनले चिकित्सकको सिफारिसअनुसारको औषधिका लागि नगरपालिकाले थप बजेटको व्यवस्था मिलाउनुपर्ने बताए । आर्थिकरूपमा विपन्न, ज्येष्ठ नागरिक, असहायलाई स्वास्थ्यचौकीबाट उपलब्ध हुने सबै सेवा निःशुल्क हुनुपर्ने स्थानीय बासिन्दाको माग छ । प्रयोगशाला सेवा, इसिजी, अल्ट्रासाउण्ड, एक्सरे, नेवुलाइजरलगायतका सेवा निःशुल्क हुनुपर्ने उपचारका लागि स्वास्थ्यचौकी पुगेका सोभिलाल दमाईले बताए । “चिकित्सको सेवा लिन टाढाको महेन्द्रनगर, धनगढीसम्म विगतमा पुग्नुपर्ने बाध्यता थियो, घरदैलोमै सेवा पाएका छौँ”, उनले भने, ‘औषधिसहितका सबै सेवा स्वास्थ्यचौकीमै निःशुल्क उपलव्ध गराइनुपर्छ ।’ रासस

नेपाली प्राविधिक टोलीद्वारा भारतमा नौ जना मान्छे मार्ने बाघ नियन्त्रण

भरतपुर । भारतमा नौ जना मान्छे मार्ने बाघ नियन्त्रणका लागि नेपाली प्राविधिक टोली भारत पुगेको छ । भारतको बाल्मिकी टाइगर रिजर्भको अनुरोधमा चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली भारत पुगेर बाघ नियन्त्रणमा लिन सहयोग गरेको हो । बाल्मिकी टाइगर रिजर्भ बिहार प्रदेश पश्चिम चम्पारण जिल्लाको उत्तर–पश्चिमी भागमा अवस्थित छ । चम्पारण जिल्लाको वेतिया गोवरदन भन्ने स्थानमा पुगेर बाघ नियन्त्रणका लागि प्राविधिक सहयोग गरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले बताउनुभयो । निकुञ्जको सीमावर्ती क्षेत्रमा पसेको बाघले पटक–पटक मान्छे मारेपछि सहयोगका लागि चितवन राष्ट्रिय निकुञ्जलाई अनुरोध गरिएको थियो । यहाँबाट डा श्रेष्ठको नेतृत्वमा प्राविधिक किरण रिजाल, तीर्थ लामा, टीका थारू, रमेश चौधरी र तेन्जिङ चौधरी गत असोज २६ गते त्यसतर्फ जानुभएको थियो । बाघ रहेको स्थान ‘लोकट’ गरेर दुई हात्तीको साहयताले नियन्त्रणमा लिइएको डा श्रेष्ठले बताउनुभयो । धेरै मान्छेको ज्यान लिइसकेकाले भारत सरकारको निर्देशनमा सो बाघलाई नियन्त्रणमा लिएपछि उनीहरुले सुट गरेर मारेको उनले जानकारी दिए । ‘एक महिनादेखि त्यहाँको प्राविधिक टोली बाघ नियन्त्रणका लागि खटिएको थियो, तर नसकेपछि हामीसँग सहयोग मागिएको हो’, उनले भने, ‘बाघले मान्छे निरन्तर मारेपछि त्यहाँका स्थानीय र प्रहरी प्रशासनबीच द्वन्द्व चलेको थियो ।’ बाघले यति धेरै मान्छे मारेको चम्पारण जिल्लामा पहिलो घटना हो । यो क्षेत्र नेपालको ठोरी नाकाबाट करिब ७० किलोमिटरको दूरीमा पर्छ । पहिलोपटक नेपालको प्राविधिक टोली भारत पुगेर वन्यजन्तु नियन्त्रणमा लिन सहयोग गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । ‘वन्यजन्तुको उद्धारमा हाम्रा प्राविधिकको अनुभव धेरै छ’, उनले भने, ‘त्यहाँ महिनौँसम्म नियन्त्रणमा लिन नसकेको बाघ यहाँका प्राविधिक पुगेको केहीबेरमै नियन्त्रणमा आयो ।’ विसं २०७४ मा यहाँबाट बगाएर भारत पुर्याएको गैँडा यहाँका प्राविधिकहरू नै पुगेर डार्ट गरेर ल्याएका थिए । त्यसबाहेक यहाँका प्राविधिक भारतमा वन्यजन्तु उद्धार र नियन्त्रणमा लागि गएका छैनन् । चितवन राष्ट्रिय निकुन्जमा वन्यजन्तु उद्धार र नियन्त्रणका लागि आठ जना प्राविधिक छन् । खुला सिमानाका कारण चितवन राष्ट्रिय निकुञ्ज र बाल्मिकी टाइगर रिजर्वमा बाघ ओहोरदोहोर गर्ने गर्छन् । बाल्मिकी टाइगर रिजर्भमा ५१ बाघ छन् भने चितवन राष्ट्रिय निकुन्जमा एक सय २८ बाघ छन् । रासस

अझै खुलेन चार महिनादेखिकाे अवरुद्ध ग्रामीण सडक

ढोपाटन । निसीखोला गाउँपालिकाले सातवटै वडाको बस्ती–बस्तीमा सडक पुर्याएको छ । हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षात्को समय ठप्पै हुन्छन् । गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । चार महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । गाउँदेखि बजार पुग्न पैदल नै हिँड्नुपर्छ भने उपभोग्य सामान पनि बोकेरै गाउँ पुर्याउनुपर्ने अवस्था छ । गाउँपालिकाको वडा नं ३, ४ र ७ का केही गाउँ पुग्ने सडकमा पहिराले कम क्षति पुर्याएको हुँदा सञ्चालनमा आए पनि दर्जन बढी अझै अवरुद्ध नै रहेको स्थानीय दिलबहादुर विकले जानकारी दिए । उनले असारदेखि बन्द भएको सडक अवरुद्ध हुँदा सामान ओसारपसारमा समस्या भएको गुनासो गरे । दशैंअगावै सडक सञ्चालन हुने अपेक्षा गरे पनि तिहार नजिकिँदासमेत खुल्ने सुरसार नभएको उनको भनाइ छ । ‘दशैंअगाडि नै सडक सञ्चालन भएर गाउँमा गाडी आउला भन्ने लागेको थियो तर आएन, तिहार आउन लाग्यो अहिलेसम्म सडक खुलाउने सुरसार छैन, यही हिसाबले त तिहारमा पनि बोकेरै सामान ल्याउनुपर्ने भयो’, उनले भने, ‘गाउँमा आउने बाटोको १५–२० ठाउँमा पहिरो गएको छ, कतै माथिदेखि कतै तलदेखि पहिराले बाटो क्षतविक्षत भएको छ, एक दिन डोजर लगाए त खुलाउन सकिने थियो, सडक खुलाउन कसैले पनि ध्यान दिएनन् ।’ उनले भदौमा आफ्नो बहिनी सिकिस्त बिरामी भएर अस्पताल लैजाँदा बोकेरै अस्पताल लगेको सुनाए । विकले गाउँमा सडक आएर पनि आफूहरूले सुविधा लिन नपाएको दुःखेसो गरे । सरोकारवालाले ध्यान नदिँदा चार महिनासम्म सडक सञ्चालन गर्न नसकेको आरोप छ । केही गाउँमा गाडी चले पनि धेरैजसो गाउँका बाटो पहिराले अवरुद्ध बनेको विकले बताए । ‘गाउँमा सडक आयो, अब हामी गाउँलेलाई सुविस्ता होला भन्ने सोचेका थियौँ, सडक आउँदा जग्गा–जमिन पनि दियौँ, काम पर्दा उपयोग गर्न पाइएन, बन्द भएको यतिका समय भयो, खुलाउने निकाय वडा कार्यालय, गाउँपालिका होला तर उनीहरूले ध्यान दिनु भएन’, उनले भने, ‘गाउँमा धेरै मान्छे बिरामी हुन्छन् गाडी चले त यहीबाटै अस्पताल पुर्याउन सकिन्थ्यो होला, सडक नचल्दा मैले पनि बहिनी बिरामी हुँदा मान्छे लगाएर बोकेरै अस्पताल पुर्याएँ ।’ निसीखोला –१ लेबाङका पुरन घर्तीमगरले सडक अवरुद्ध हुँदा खच्चडमा सामान ओसार्नुपर्ने अवस्था आएको बताए । उनले बजारबाट गाउँ निकै टाढा रहेको हुँदा दैनिक उपभोग्य सामान बोकेर उपभोग गर्नसमेत गाह्रो भएको भन्दै खच्चडमा ढुवानी गरेको बताउँछन् । सडक खुले यहाँका सयौँ नागरिकलाई सहज हुने उनको भनाइ छ । ‘बजारबाट गाउँ निकै टाढा छ, सामान बोकेर पनि पुर्याउन गाह्रो हुन्छ, गाउँका पसलेले असार अगाडि नै गोदाममा राखेका सामान पनि दसैँअगाडि नै सकियो, ल्याउने बाटो खुलेको छैन भन्छन्, त्यही भएर खच्चडमा ढुवानी गरेर पेट पाल्नुपरेको छ’, स्थानीय घर्तीमगरले भने, ‘अघिल्लो साल त दसैँमा सडक खुलेर गाउँमा गाडी गुड्थे, सामान बोकेर लैजानुपरेको थिएन, अहिले त तिहार आउनलाग्दा पनि सडक खुलेन, अब तिहारपछि खुल्ला ।’ निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले दसैँअगाडि नै सडक खुलाउन थाले पनि वर्षाका कारण समस्या भएको बताए । उनले केही गाउँका सडक सञ्चालनमा आए पनि अझै धेरै सडक खुलाउन बाँकी रहेको बताउँछन् । अध्यक्ष घर्तीमगरले भने, ‘दसैँअगाडि नै सबै गाउँका सडक खुलाउने गरी योजना बनाएका थियौँ, तर वर्षाले गर्दा खुलाउन सकिएन, दसैँ अगाडि पनि निरन्तर वर्षा भयो, दसैँ सकिएपछि पनि ठूलो वर्षा हुँदा सडक खुलाउन नसकिएको हो ।’ उनले वर्षा रोकिएपछि सडक खुलाउने प्रसास गरिरहेको बताए । अहिले इञ्जीनियरले गाउँ–गाउँमा पुगेर सडकको अवस्था बुझ्ने र खर्च लगत अनुमान गरिरहेको भन्दै अब केही दिनै सडक खुलाउन थाल्ने बताए । “यतिका समय सडक अवरुद्ध हुँदा नागरिकलाई धेरै समस्या परेको छ, हामीले बुझेका छौँ, अलिकति वर्षाले अवरोध गर्यो, अहिले इञ्जीनियर गाउँ–गाउँमा पुगेर सडकको अवस्था बुझ्ने र खर्च के कति लाग्छ लगत अनुमान तयार गर्दै छन्, अब केही दिनमै सबै सडक खुलाउने छौँ ।’ अध्यक्ष घर्तीमगरले धेरैजसो ग्रामीण सडक कच्ची हुँदा माथिदेखि भलसहित आएको बाढीले कालोपत्र लोकमार्गसमेत बिगारेको बताए । गाउँपालिकाले अब ग्रामीण सडकलाई व्यवस्थित बनाउन नाली निर्माण गर्ने र पहिरो रोक्नका लागि वृक्षरोपणसमेत गर्ने बताए । रासस