विकासन्युज

दुई महिनामा ३४.९ प्रतिशतले निर्यात घट्दा २ खर्ब ७३ अर्ब करोडको आयात

काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा ३४.९ प्रतिशत निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको २ महिनामा कुल वस्तु निर्यात ३४.९ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ११५.४ प्रतिशतले बढेको निर्यात यस वष भने घटेको हो । गन्तव्यका आधारमा भारततर्फ ४५.२ प्रतिशत र चीनतर्फ २१.६ प्रतिशत घटेको तथ्याङ्ले देखाएको छ भने अन्य मुलुकतर्फ भने १३.२ प्रतिशत निर्यात बढेको राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैंचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जन लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै, निर्यातसँगै आयात पनि घटेको छ । आर्थिक वर्ष २०७९÷०८० को दुई महिनामा कुल वस्तु आयात १३.० प्रतिशत घटेर २७३ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत, १३.३ प्रतिशत र २०.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, हवाईजहाज तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । यस्तै, दुई महिनामा कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशत घटेर.२४४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २६ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोआयात ३६ अर्ब २७ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

कञ्चनपुरका किसानलाई धान काट्न चटारो

बेदकोट । कञ्चनपुरमा किसान धान भित्र्याउनमा व्यस्त छन् । खेतमा लगाएको बाली तयार भएपछि काटेर भित्र्याउन उनीहरु जुटेका हुन् । ‘धान पाकिसक्यो, वर्षाले भिजाउला कि भन्ने पिरले धान काटेर भित्र्याइरहेका छौँ’, कृष्णपुर नगरपालिका–७ का किसान मोहन भट्टले भने, ‘पानीले अब क्षति नगरेमा बाला राम्रै लागेको छ, किरा पनि नलागेकाले यस वर्ष उब्जाउ विगतभन्दा राम्रै हुन्छ ।’ कञ्चनपुरमा उन्नत जातका बीउको प्रयोग र समयमै भएको वर्षाका कारण यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । ‘गत वर्षभन्दा यस वर्ष धानको उत्पादनमा २५ देखि ३० प्रतिशतले वृद्धि हुने अनुमान गरेका छौँ’, कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भने, ‘यसपटक नयाँ जातको बीउको प्रयोग र समयमै वर्षा भएकाले पर्याप्त सिँचाइ पुगेको छ, त्यसैले धानको उत्पादन बढ्ने अनुमान गरेका छौँ ।’ दुई/तीन वर्षको अन्तरालमा धानको बीउ बदलेर खेती गरेमा उत्पादन वृद्धि हुने गरेको उनले बताए । ‘विगतमा चार/पाँच वर्षसम्म एउटै बीउ लगाउने गरिन्थ्यो, अहिले कृषकमा नियमितरूपमा उन्नत जातको बीउ प्रयोग गर्नेक्रम बढेको छ’, उनले भने, ‘यसले किरा लाग्न दिँदैन, त्यसले गर्दा बीउ बदलेर खेती गर्दा २० देखि २५ प्रतिशत उत्पादन बढ्छ ।’ उक्त केन्द्रका अनुसार केही वर्षयता उन्नत जातको बीउको प्रयोग बढेको छ । अहिले कृषकले हर्दीनाथ, सुक्खाको एकदेखि चारसम्म, राधा चार, साँवा मन्सुलीलगायत उन्नत जातका बीउ प्रयोग गरिरहेका छन् । गत वर्ष कात्तिकमा आएको बाढीले कञ्चनपुरमा धान बालीमा ठूलो क्षति गरेकाले गत वर्ष दुई दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर अर्थात् एक लाख २१ हजार दुई सय ४० मेट्रिकटन मात्रै धान उत्पादन भएको थियो । ‘अहिले गत वर्षको जस्तो बाढी र वर्षाले धानमा क्षति पु¥याएको छैन, करिब पाँच/सात प्रतिशत धानमा मात्रै क्षति पुगेको छ, पूर्वसूचनाले किसानले यसपटक धान काटेनन्’, सूचना अधिकारी जोशीले भने, ‘बेलौरी, लालझाडीतिर बढी क्षति छ तर गत वर्षभन्दा धान उत्पादन बढ्छ ।’ यस वर्ष कञ्चनपुरमा तीन दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । यस वर्ष किसानले मलखाद पनि समयमै पाएको सूचना अधिकारी जोशीको जिकिर छ । विसं २०७७ मा कञ्चनपुरमा धानको उत्पादन तीन दशमलव नौ मेट्रिकटन प्रतिहेक्टर थियो । कञ्चनपुरको बेलौरी, पुर्नर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ । रासस

निर्वाचनमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुन्छ : आयोग

विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आमनागरिक एवं मतदातासमक्ष निर्वाचनको गतिविधि पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय समाचार समितिको सहकार्यमा आयोगद्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को सन्दर्भमा ‘प्रदेशस्तरीय सञ्चारमाध्यमसम्बन्धी अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् । निर्वाचनमा अनावश्यक खर्च कटौती गर्न व्यावहारिक हिसाबले बनाएको निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा टुलुटुलु नहेर्ने भन्दै प्रमुख आयुक्त थपलियाले भने, ‘आचारसंहिता उल्लङ्घनको विषयमा स्पष्टीकरण सोध्नु कारबाही होइन ।’ समयमै निर्वाचन खर्चको विवरण पेश नगर्ने एक लाख २३ हजार छ सय २४ उम्मेदवारलाई कारबाही गरेको उल्लेख गर्दै उहाँले निर्वाचनमा उम्मेदवारले मतदातालाई लोभ, लालच एवं प्रलोभन देखाउन नहुने कुरामा जोड दिए । उनले मतलाई बदर हुन नदिन मतदाता शिक्षा सामाजिक सञ्जालबाट पनि सुरु गरेको बताउँदै असल जनप्रतिनिधि छान्न पद, पैसा, पहुँच र प्रलोभनमा पर्नु नहुने बताए । राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न निर्वाचन महत्वपूर्ण छ भन्दै प्रमुख आयुक्त थपलियाले स्वतन्त्र अभिव्यक्ति र निर्वाचन स्वच्छता लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे । सिद्धान्त, निष्ठा र विचारले निर्वाचन स्वच्छ एवं पारदर्शी हुने भन्दै प्रमुख आयुक्तले सञ्चारमाध्यमले निर्वाचनको गरिमा बढाउन सशक्त भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनलाई स्वच्छ, भयरहित, पारदर्शी एवं स्वतन्त्र बनाउन सुरक्षाका सबै एकाइ परिचालन हुने जानकारी दिए । मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन क्षेत्रमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनका सबै काम सौहार्दपूण वातावरणमा भइरहेको जानकारी दिए । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनमा सञ्चारमाध्यमले स्वनियमन गर्ने परम्परा पनि बसाल्न आग्रह गर्दै सञ्चारमाध्यमले निर्वाचनको विधि र प्रक्रियालाई आत्मसात् गर्नुपर्ने सुझाव दिए । रासस

ग्यापुले ल्यायो ७ लाख रुपैयाँ पुरस्कार सहितको टिकटक प्रतियोगिता

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । यस प्रतियाेगितामा सहभागी हुन टिकटक प्रयोगकर्ताले सहभागी कत्तिक ४ देखि १८ गते भित्र ग्यापुको एपमा गइ नि:शुल्क फारम भर्न सक्नेछन् । सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो बनाएर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्ने कम्पनीले बताएकाे छ । पाेस्ट भएका भिडियाे मध्ये उत्कृष्ठ एक सय जनालाई छनौट गरी प्रतियोगितालाई अघि बढाउने ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए । प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार, प्रथमलाई २ लाख, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्माले जानकारी दिएका छन् ।

तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो । ‘घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ’, उनले भने । बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन् । पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए । पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् । रासस

होटल, रेष्टुरेन्ट र बारलाई मेन्युमा तोकिएको बाहेक शुल्क नलिन सरकारको निर्देशन

काठमाडौं । सरकारले सबै होटल, रेष्टरेन्ट र बारलाई मेनुमा उल्लेख गरेको मूल्य बाहेक कुनै पनि किसिमको अतिरिक्त शुल्क नलिन निर्दशन दिएको छ । वाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै होटल, रेष्टरेन्ट र बार संचालन गरिरहेको व्यवसायीलाई मेन्युमा तय गरेको मूल्य नै अन्तिम मूल्य हुने बताउँदै यस्तो निर्देशन दिएको हो । विभागका निर्देशक होमनाथ हुमागाईंले यस्तो नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारवाही हुने बताएका छन् । मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १४ ख अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले आफ्नो प्रदर्शनी कक्षा बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबार स्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य ९ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस० मा करसहितको मूल्य उल्लेख गर्नु पर्ने व्यवस्था छ ।

अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं। अमेरिकी डलरको भाउ घटेको छ। निरन्तर उच्च मूल्य कायम भएको डलरको भाउ शुक्रबार सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा कायम गरेको छ। डलरको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो। बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १४ पैसा पुगेको थियो। त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ५७ पैसा र बिक्रीमा १३० रुपैयाँ १६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८७ पैसा तोकिएको छ।  

स्थानीयद्वारा बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी

बैतडी । पन्ध्र शय्याको अस्पताल तोकिएका ठाउँमा निर्माणको माग गर्दै बैतडीको मेलौली नगरपालिकामा बिहीबारदेखि तालाबन्दी गरिएको छ । अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध भइसकेपश्चात पनि पालिकाले स्थान छनोट गरेर अन्यत्र बनाउन खोजेपछि पुरानै ठाउँमा अस्पताल बन्नुपर्ने माग गर्दै स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीय दशरथ नायकका अनुसार पालिकाको जननिर्वाचित प्रतिनिधि पुरानो ठाउँमा अस्पताल निर्माण गर्ने निर्णयमा नपुग्दासम्म तालाबन्दी नखुल्ने बताए । अस्पताल निर्माणका लागि जग्गादान गर्ने जग्गादाता र अन्य स्थानीयले तालाबन्दी गरेका बताइएको छ । बिठ्ठनेमा अस्पताल निर्माण गर्न १५ रोपनी जग्गादान भसकेपछि पनि अन्यत्र सार्न खोजिएपछि आक्रोशित स्थानीयले नगरपालिकाको च्यानल गेट, स्वास्थ्य शाखा, शिक्षा शाखालगायतका अन्य शाखामा तालाबन्दी गरेका हुन् । नगरपालिकाकाले भने दुई स्थानमा जग्गादान गरेकाले दुवै ठाउँमा बनाउनुपर्ने माग गरेपछि विवाद आएको जनाएको छ । वडा नं १ र ७ मा अस्पताल निर्माणका लागि जग्गा प्राप्त भए पनि कुन ठाउँमा बनाउने निर्णय भने भइनसकेका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जानकारी दिए । सङ्घीय सरकारले विसं २०७० मा मेलौलीमा १५ शय्याको अस्पताल निर्माणका लागि निर्णय गरे पनि अहिलेसम्म विवादकै कारण बन्न सकेको छैन । वडा नं ७ का बासिन्दाले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली रहेकै स्थानमो अस्पताल निर्माण हुनुपर्ने माग गर्दै आएका छन् । तालाबन्दी गर्ने पक्षसँग छलफल गरेर तालाबन्दी खुलाउने तयारी भएको उहाँको भनाइ छ । नगरपालिकामा तालाबन्दी हुँदा सम्पूर्ण सेवा ठप्प छन् । रासस