विकासन्युज

निक्षेपमा नबिल आक्रमक बन्दा सनराइजको पौने ३ अर्ब घट्यो

काठमाडौं । असोज महिनामा वाणिज्य बैंकहरुले ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । भदौ मसान्तसम्म बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा ६२ अर्ब बढेर असोज मसान्तसम्मा ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुर्याएका हुन् । असोज महिनामा २१ वटा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको छ भने विभिन्न ५ वटा बैंकको भने निक्षेप घटेको छ । जसमध्ये सबैभन्दा धेरै नबिल बैंकले ७.९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले ७.२० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै, कृषि विकास बैंकले २.५८ अर्ब, बैंक अफ काठमाण्डूले १.०४ अर्ब रुपैयाँ, सेञ्चुरी बैंकले २.०२ अर्ब रुपैयाँ, सिटिजन्स बैंकले ४.४७ अर्ब रुपैयाँ, सिभिल बैंकले १.७५ अर्ब रुपैयाँ, ग्लाबेल आइएमई बैकले ६.२८ अर्ब रुपैयाँ, हिमालयन बैंकले ३.४२ अर्ब रुपैयाँ, लक्ष्मी बैंकले ४७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले २.३४ अर्ब रुपैयाँ, मेगा बैंकले १.८६ अर्ब रुपैयाँ, नेपाल बैंकको २.९६ अर्ब रुपैयाँ, एनसीसी बैंकले २.५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकर्स संघको तथ्याङ्कले जनाएको छ । यस्तै, नेपाल एसबिआई बैंकले २.३५ अर्ब रुपैयाँ, प्रभु बैंकले ५.०३ अर्ब रुपैयाँ, प्राइम कमर्सियल बैंकले १.०८ अर्ब रुपैयाँ, राष्ट्रिय वाािण्ज्य बैंकले ४.५७ अर्ब रुपैयाँ, सानिमा बैंकले १.७८ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले १.७५ अर्ब रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.३१ प्रतिशत निक्षेप संकलन बढाएका छन् । विभिन्न ५ वटा बैंकको निक्षेप भने घटेको छ । एभरेष्ट बैंकको १५ करोड रुपैयाँ, कुमारी बैंकको ७३ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ७४ करोड रुपैयाँ, एनएमबि बैंकको १.६५ अर्ब रुपैयाँ र सनराइज बैंकको २.८६ अर्ब रुपैयाँ निक्षेप घटेको छ । बैंकहरुले असोज महिनामा ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भदौ मसान्तसम्ममा बैंकहरुको कर्जा ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा ३० अर्ब बढेर असोज मसान्तसम्मा ४२ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो । जसमध्ये २० वटा बैंकहरुले कर्जा बढाएका छन् भने अन्य विभिन्न ६ बैंकले कर्जा घटाएका छन् । असोज महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ । बैंकले ३.७० अर्ब रुपैयाँले कर्जा बढाएको छ । यस्तै, नबिल बैंकले २.९६ अर्ब रुपैयाँ, हिमालयन बैंकले २.८४ अर्ब रुपैयाँ, नेपाल एसबिआई बैंक र मेगा बैंकले २.७९ अर्ब रुपैयाँ, प्रभु बैंकले २.२७ अर्ब रुपैयाँ, कुमारी बैंकले २.४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यस्तै, कृषि विकास बैंकले ९२ करोड रुपैयाँ, बैंक अफ काठमाण्डूले ९९ करोड रुपैयाँ, सेञ्चुरी बैंकले ३२ करोड रुपैयाँ, सिटिजन्स बैंकले १.९० अर्ब रुपैयाँ, सिभिल बैंकले ९५ करोड रुपैयाँ, एभरेष्ट बैंकले १.२७ अर्ब रुपैयाँ कर्जा बढाएका छन् । यस्तै, माछापुच्छे« बैंकले ७९ करोड रुपैयाँ, एनसीसी बैंकले ३९ करोड रुपैयाँ, एनआईसी एशिया बैंकले १.८० अर्ब रुपैयाँ, एनएमबि बैंकले १.०१ अर्ब रुपैयाँ, प्राइम बैंकले १.४४ अर्ब रुपैयाँ, सानिमा बैंकले २९ करोड रुपैयाँ र सिद्धार्थ बैंकले ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोज महिनामा ग्लोबल आइएमई बैंकको ४४ करोड रुपैयाँ, लक्ष्मी बैंकको ९१ करोड, नेपाल बैंकको १९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३२ करोड रुपैयाँ, स्टयान्डर्ड चार्टर्ड बैंकको १२ रुपैयाँ र सनराइज बैंकको कर्जा प्रवाह ४४ करोड रुपैयाँ कर्जा घटेको छ ।

शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनको उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा व्यवस्थापन संकायका कलेजका ५२ जना स्नातक तहका बिद्यार्थीहरुले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन–१ मा भाग लिएका थिए । जसमा विद्यार्थीहरुले ‘स्वेट एनालाइसिस अफ शाइन रेसुङगा डेभेलपमेन्ट बैंक लिमिटेड’ विषयमा निर्णायकहरुको उपस्थितीमा आ–आफ्नो प्रस्तुति राखेका थिए । अनलाइन मार्केटिङ सेवाहरूमा केन्द्रित रहेको स्टार्ट अप कम्पनी वान स्क्वायर कन्सल्टले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनलाई भिजुअल पार्टनरको रूपमा सहयोग गरेको थियाे । द एसआर होटल, ड्राइभरटोल रुपन्देहीमा एक औपचारिक कार्यक्रम आयोजना गरी सहभागी क्याम्पसका क्याम्पस प्रमुखहरु, कार्यक्रम संयोजकहरु र बिद्यार्थीहरुबिच प्रतियोगिताको बिजेता घोषणा गरिएको थियो । सहभागीहरु मध्ये क्षितिज इन्टरनेशनल कलेजका तर्फबाट बीबीए–बीआईका विद्यार्थीहरू क्रमशः प्रमिश राई बान्तवा, प्रियंका अर्याल, सुमित प्रसाद काशौधन र प्रशंसा अधिकारीको टोली सिजन–१ विजेता घोषणा भएका थिए । त्यसैगरी, लुम्बिनी वाणिज्य क्याम्पसका तर्फबाट बीबीएका विद्यार्थी क्रमशः गणेश सुवेदी, कृति न्यौपाने, रक्षा श्रेष्ठ र सन्तोष न्यौपानेको टोली फस्ट रनरअप भएका थिए भने कपिलवस्तु बहुमुखी क्याम्पसका तर्फबाट बीबीएसका विद्यार्थीहरु क्रमशः सन्तोष कुमार विश्वकर्मा, ओमकार मिश्र, गुडिया अग्रहरी र निशा गुप्ताको टोली सेकेन्ड रनर अप घोषित भएका थिए । विजेता टिमका सदस्यहरुलाई नगद १५ हजार, ट्रफी, स्वर्ण पदक, प्रशंसा पत्र र आकर्षक उपहार, सेकेन्ड रनर अप टिमका सदस्यहरुलाई नगद १० हजार, ट्रफी, रजत पदक, प्रशंसा पत्र र आकर्षक उपहार त्यसैगरी तेस्रो टिमका सदस्यहरुलाई नगद पाँच हजार, ट्रफी, कांस्य पदक, प्रशंसा पत्र र आकर्षक उपहार सहित क्रमशः पुरस्कृत गरिएको थियो । शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनमा एक्सिस कलेज, एम्स कलेज, बुटवल मोडल कलेज, बुटवल कालिका क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ इन्टरनेशनल कलेज, लुम्बिनी बाणिज्य क्याम्पस, क्रिमसन कलेज अफ टेक्नोलोजी, साई ग्लोबल कलेज, क्षितिज इन्टरनेशनल कलेज र कपिलवस्तु बहुमुखी क्याम्पस सहित ११ वटा कलेजहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लोक राज पनेरुले यस प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरुलाई कर्पोरेट संसार परिचित गराउनु र विद्यार्थीहरूलाई भविष्यको रोजगारी र उद्यमशीलता अवसरहरूको लागि तयार पार्नु रहेको बताए । साथै, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु आयोजना गर्न प्रतिबद्ध रहेको पनेरुले बताए ।

नयाँ स्टक र ब्रोकर लाइसेन्स प्रकृया तत्काल अगाडि नबढाउन सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रकृया तत्काल अगाडि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधिश तिलप्रसाद श्रेष्ठको एक इजलासले सो आदेश जारी गरेको हो । नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिन शुरु गरेको प्रकृया विरुद्ध अधिवक्ता दीपक बिक्रम मिश्रले सर्वोच्चमा रिट दायर गरेका थिए । उनको रिटमा बोर्डले संशोधित नियमावलीको कार्यान्वयन तत्काल कार्यान्वन गर्न रोकिनुपर्ने माग गरिएको थियो । अधिवक्ता मिश्रको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाडौ, मन्त्रीपरिषद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाडौ, अर्थ मन्त्रालय सिंहदरबार काठमाडौ ,नेपाल धितोपत्र बोर्ड खुमलटार ललितपुर र नेपाल स्टक एक्सचेन्ज लिमिटेड यूएनआई शान्तिमार्ग भद्रकाली काठमाडौलाई प्रतिबादी बनाइएको थियो । सर्वोच्च अदालतले मिश्रको रिटमाथि शुक्रबार सुनुवाई गर्दै कार्तिक २२ गते विपक्षीलाई छलफलको लागि बोलाएको छ । निष्कर्षमा नपुग्ने बेलासम्म बोर्डले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रकृयालाई यथास्थितिमा राख्न अदालतले आदेश दिएको छ ।

मधेस प्रदेशमा एक हजार ५९८ उम्मेदवारमा ५२ प्रतिशत स्वतन्त्र

जनकपुरधाम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवार बढी छन् । मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि एक हजार पाँच सय ९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिदा करिब ५२ प्रतिशत अर्थात आठसय ४९ उम्मेदवार स्वतन्त्र नै छन् । आठवटै जिल्लामा चार/चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र गरी ३२ वटा र प्रदेशसभातर्फ आठ/आठ वटा निर्वाचन क्षेत्र गरी ६४ वटा निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभातर्फको ३२ सिटका लागि प्रदेशमा विभिन्न दलका दुई सय ९३ र दुई सय ९७ स्वतन्त्र गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभातर्फको ६४ सिटका लागि एक हजार आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये विभिन्न दलबाट चार सय ५६ र स्वतन्त्र पाँच सय ५२ उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ सबैभन्दा बढी धनुषामा ६६ स्वतन्त्र उम्मेदवार छन् भने प्रदेशभातर्फभन्दा बढी महोत्तरीमा एक सय दुईले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा कम प्रतिनिधिसभातर्फ पर्सामा २३ र प्रदेशसभातर्फ सप्तरीमा ३७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । धनुषामा प्रतिनिधिसभाका लागि विभिन्न दलबाट ३७ र ६६ स्वतन्त्र गरी एक सय तीन जना चुनावी प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । धनुषामा विभिन्न दलबाट १० पूर्वमन्त्री प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रेका छन् । सिरहामा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दलबाट ३७ र स्वतन्त्र ४८ गरी ८५ उम्मेदवार चुनावी मैदानमा छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत नेता उम्मेदवार रहेका कारण बढी चर्चामा रहेको सप्तरीमा प्रतिनिधिसभा सदस्यका विभिन्न दलबाट ४३ र स्वतन्त्र २६ गरी ६९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । महोत्तरीमा प्रतिनिधिसभातर्फ विभिन्न दलका ३४ र स्वतन्त्र ३३ गरी ६७ उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ नै सर्लाहीमा दलका ३४ र स्वतन्त्र ३५ गरी ६९ उम्मेदवार चुनावी प्रचार अभियानमा छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेत उम्मेदवार रहेका रौतहट जिल्लामा प्रतिनिधिसभाका लागि विभिन्न दलका ३१ र स्वतन्त्र ३६ गरी ६७ उम्मेदवार प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा बढी दुई वटा उपमहानगरपालिका रहेको बारा जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न दलका ४७ र ३० स्वतन्त्र गरी ७७ चुनावी प्रतिस्पर्धामा उत्रिदा छिमेकी जिल्ला पर्सामा प्रतिनिधिसभाका लागि विभिन्न दलका ३० र २३ स्वतन्त्र गरी ५३ उम्मेदवार चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन् । प्रदेशसभा सदस्यका लागि पनि मधेस प्रदेशमा उल्लेख्य सङ्ख्यामा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । प्रदेशको राजधानीसमेत रहेको धनुषामा प्रदेशसभाका लागि विभिन्न दलबाट ६१ र स्वतन्त्र ७७ गरी एक सय ३८ उम्मेदवार चुनावी मैदानमा उत्रिएकोे मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए । सिरहामा प्रतिनिधिसभामा जस्तै प्रदेशसभाका लागि पनि दलको भन्दा दोब्बर सङ्ख्यामा स्वतन्त्रको उम्मेदवारी परेको छ । सिरहामा प्रदेशसभाका लागि विभिन्न दलबाट ४८ र ७१ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सप्तरीमा प्रदेशसभा सदस्यका लागि विभिन्न दलबाट ७० र स्वतन्त्र ३७ गरी एक सय सात उम्मेदवार चुनावी प्रतिस्पर्धामा देखिएका छन् । महोत्तरीमा प्रदेशसभा सदस्यका लागि दलबाट ६० र स्वतन्त्रबाट एक सय दुई गरी एक सय ६२ उम्मेदवार छन् भने सर्लाहीमा प्रदेशसभाका लागि दलबाट ५९ र ७४ स्वतन्त्र गरी एक सय ३३ उम्मेदवार चुनावी महाभियानमा होमिएका छन् । रौतहटमा प्रदेशसभा सदस्यका लागि दलबाट ४९ र ८६ स्वतन्त्र गरी एक सय ३५, बारामा दलबाट ६२ र स्वतन्त्र ४४ गरी एक सय छ तथा पर्सामा विभिन्न दलका ४७ र ६१ स्वतन्त्र गरी एक सय आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कतिपय स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले विजयी हासिल गर्नु र राजनीति दल गठबन्धन गरी निर्वाचनमा जाँदा आकाङ्क्षीले पार्टीबाट उम्मेदवार बन्न नपाएकाले राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढेको विश्लेषक तथा अधिवक्ता देवनारायण यादवको भनाइ थियो । ‘पहिला पहिलाको निर्वाचनमा अहिलेको जस्तो राजनीतिक गठबन्धन हुने गरेको थिएन्’, उनले भने, ‘त्यसैले धेरै राजनीति दलहरु छुट्टाछुटै चुनावी प्रतिस्पर्धामा जान्थे, धेरै राजनीतिक दलबाटै उम्मेदवार हुन्थ्यो, तर अहिले गठबन्धनका कारण थेरैले दलबाट उम्मेदवार बन्न पायो, त्यसैको परिणाम अहिले स्वतन्त्र उम्मेदवार धेरै देखिएको हो ।’ यसैगरी गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेकाले पनि स्वतन्त्र उम्मेदवारी दने क्रम बढेको छ अधिवक्ता यादवले भने । स्वतन्त्र उम्मेदवारी दिएकाले भने राजनीतिक पार्टीले जनताको भावनामाथि खेलवाड गरेकाले आफूहरुले स्वतन्त्ररुपमा उम्मेदवारी दिएको जिकिर गरेका छन् । सिरहा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार देवकुमार यादवले राजनितिक दलबाट निर्वाचित भएका नेताले जनताको भावनाविपरीत दलीय दबाबमा परी जनताको हितमा काम नगरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यस प्रदेशमा १३ लाख ३२ हजार छ सय ४० महिला, १५ लाख ७७ हजार ३१७ पुरुष र ६६ अन्य गरी २९ लाख १० हजार २३ मतदाता छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने व्यवस्था भए अनुसार मधेस प्रदेशमा २९ लाख १० हजार २३ मतदाता रहेको आयोगका उपसचिव एवं सहायकप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । तीमध्ये सबैभन्दा बढी बारामा एक लाख ९१ हजार चार सय ९० महिला, दुई लाख ३१ हजार आठ सय २६ पुरुष र ११ अन्य गरी चार लाख २३ हजार तीन सय २७ मतदाता छन् भने सबैभन्दा कम महोत्तरीमा एक लाख ५४ हजार सात सय ८७ महिला, एक लाख ८१ हजार तीन सय सात पुरुष र एक अन्य गरी तीन लाख ३६ हजार ९५ मतदाता छन् । यसैगरी सप्तरीमा दुई लाख एक हजार ७१ महिला, दुई लाख १७ हजार दुई सय ८२ पुरुष र २१ अन्य गरी चार लाख १८ हजार तीन सय ७४, सर्लाहीमा एक लाख ८७ हजार आठ सय ३७ महिला, दुई लाख २५ हजार तीन सय २९ पुरुष र आठ अन्य गरी चार लाख १३ हजार एक सय ७४ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । धनुषामा एक लाख ९३ हजार एक सय चार महिला, दुई लाख १६ हजार आठ सय ७५ पुरुष र छ अन्य गरी चार लाख नौ हजार नौ सय ८५, रौतहटमा एक लाख ८५ हजार ४६ महिला, २ लाख २२ हजार नौ सय ४५ पुरुष र एक अन्य गरी चार लाख सात हजार नौ सय ९२ मतदाता छन् । सिरहामा एक लाख ६९ हजार सात सय ७२ महिला, एक लाख ९४ हजार तीन सय ४३ पुरुष र दुई अन्य गरी कूल तीन लाख ६४ हजार एक सय १७ तथा पर्सामा एक लाख ५१ हजार आठ सय महिला, एक लाख ९४ हजार नौ सय चार पुरुष र १६ अन्य गरी तीन लाख ४५ हजार नौ सय २८ मतदाता छन् । रासस

बि.ओ.के. क्यापिटलले ५.७९ प्रतिशत लाभांश दिने

काठमाडौं । बि.ओ.के. क्यापिटल मार्केटले ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेकाे छ । क्यापिटलकाे शुक्रबार सम्पन्न साधारण सभाले आ .व .२०७८/७९ मा संचित मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेकाे हाे । सभाले आगामी आ.व. २०७९/८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेकाे छ । बैंक अफ काठमाण्डूको सहायक कम्पनी बि.ओ.के. क्यापिटल मार्केट लि., कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले ६ वटा कम्पनीहरुको प्राथमिक सेयर तथा हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ भने जम्मा ११ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी काम गरिरहेको छ । यस कम्पनीले हालसम्म जम्मा ८५ हजार ६८९ हितग्राही खाता खोलिसकेको छ । लगानी व्यवस्थापन सेवा अन्तर्गत ९८ जना को १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ ।  

नेपालका लागि अमेरिकी राजदूत थम्सनले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोमा राजदूत थम्सनले राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । नेपालका लागि अमेरिकी राजदूतको रुपमा काम गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा भएको राजदूत थम्सनले बताएका छन् । ‘नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय हो । अमेरिका–नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका उपलब्धिलाई उछिन्नेछ भन्ने कुरा सुनिश्चित गर्न म नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न उत्सुक छु’, राजदूत डिन थम्प्सन उदृत गर्दै अमेरिकी दुतावासले ह्यान्डल गर्ने आधिकारिक फेसबुकमा उल्लेख गरिएको छ ।

चाडवाडमा अलैँची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता

बागलुङ । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ । अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए । ‘यो वर्ष अलैँचीको मूल्य गत वर्षको तुलनामा घटेको छ’, उनले भने, ‘एकातिर रोग, किराको प्रकोपले उत्पादन घटेको छ भने अर्कोतिर उचित मूल्य नपाउने स्थिति बनेको छ ।’ किसानहरुले २०७८ सालमा प्रतिकेजी  १ हजार २ सयमा अलैँची बिक्री गरेका थिए भने २०७७ सालमा भने वर्ष प्रतिकेजी छ सयमा अलैँची बिक्री गरेका थिए । गलकोट–१ दुदिलाभाटीमा एक सयभन्दा बढी किसान अलैँची खेतीमा आबद्ध छन् । उनीहरुले करिब पाँच सय रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । गत वर्ष अलैँची बिक्री गरी २३ लाख रुपैयाँ आम्दानी गरेका बरेङ गाउँपालिका–२ हुग्दिशिरका किसान यसवर्ष मूल्य घटेको सुनेर बेखुस छन् । अलैँची टिप्ने चटारोबीच उनीहरुलाई पनि मूल्यको पिरलो थपिएको छ । बरेङस्थित नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष बिमल पौडेलले खरिदकर्ताहरु भने अझै आइनपुगेको बताए । ‘तिहारअघि अलैँची टिपेर सकिन्छ, कतिपय किसानले सुकाइसकेर पनि बेच्न ठिक्क पारेका छन्’, उनले भने, ‘अहिलेसम्म व्यापारी आइपुगेका छैनन्, त्यसमाथि मूल्य पनि घटेको सुन्नमा आएको छ ।’ अलैँची व्यापारीबीचको अस्वस्थ प्रतिस्पर्धा बढ्दा मूल्य अस्थिर हुने गरेको अध्यक्ष पौडेलको भनाइ छ । बरेङमा १९ जना किसानले दुई सय रोपनीमा अलैँची खेती गर्दै आएका छन् । किसानहरुले प्रत्येक वर्ष झण्डै २० क्विन्टल जति अलैँची उत्पादन गर्छन् । जसबाट राम्रो मूल्य पाएको वर्षमा किसानले ५ लाख रुपैयाँ सम्म आम्दानी गरेको किसान तुलसीराम पौडेलले बताए । ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय अलैँची कृषि उपज केन्द्रका अध्यक्ष इन्द्रध्वज भण्डारीले अलैँचीको बजारमा बिचौलिया हावी भएको आरोप लगाए । ‘मूल्य बढ्ला र बेचौँला भनि बस्यो तर अन्तिममा जिल्ल पर्ने अवस्था आउँछ, रोग, किरा र जीवजन्तु लागेर पनि हामीलाई हैरान छ’, उनले भने । केन्द्रका अध्यक्ष भण्डारीले दुम्सी, भार्से जस्ता जन्तुले समेत अलैँची खेतीमा असर गरेको बताए । ‘दुम्सीले सँधै बाली नोक्सान गरी दुःख दिन्छ, दुम्सीले खाएर बचेको अलैँची मात्रै हामीले टिप्ने हो’, उनले भने, ‘वन्यजन्तु र रोगबाट बचाउन सके अलैँची उत्पादन बढाउन सकिन्छ ।’ भण्डारी नौ वर्षदेखि अलैँचीको व्यावसायिक खेतीमा संलग्न छन् । केन्द्रले सय रोपनी क्षेत्रफलमा अलैँची उत्पादन गर्दै आएको छ । अलैँची बेचेर वार्षिक आठ लाख रुपैयाँसम्म कमाइ हुने गरेको अध्यक्ष भण्डारीको भनाइ छ । ताराखोलामा पनि अलैँचीको ‘ब्लक’ कार्यक्रम सञ्चालित छ । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दा नेपाली अलैँचीले उचित मूल्य पाउने र माग घट्दा मूल्य पनि ओरालो लाग्ने गरेको बताए । ‘राम्रो मूल्य पाएपछि किसानले उत्पादन बढाउनतिर लाग्छन्, व्यापारीले पछि फेरि मूल्य घटाउँछन् जसले गर्दा किसानलाई मर्का पर्ने गरेको छ’, केन्द्रका प्रमुख भट्टराईले भने । उनका अनुसार बागलुङमा अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ ‘पकेट’ र दुई ‘ब्लक’ क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत् किसानले अलैँची खेतीमा अनुदान र तालीम पाएका थिए । जिल्लामा अहिले १२ सय हेक्टरमा अलैँची खेती भइरहेको जनाइएको छ । अलैँची रोप्नेदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने काममा किसानको धेरै समय, श्रम र लगानी हुन्छ । बजारको अनिश्चिततासँगै लगानी अनुसारको प्रतिफल नपाए अलैँची खेतीबाट पलायन हुने स्थिति आउने किसान बताउँछन् । नेपाली अलैँची काठमाडौँ हुँदै भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात हुन्छ । कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पुर्याएर भारतीय व्यापारीलाई अलैँची बेच्छन् । नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुन्छ । रासस

ग्राउण्ड ह्याण्डलिङमा विकल्प खोज्दै नागरिक उड्डयन प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका छन् । बुधबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक अधिकारीले वायुसेवा निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवामा प्रश्न उठ्ने गरेको भन्दै ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका हुन् । उनले वायुसेवा निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै बेला हवाई उडान सेवामा अवरोध हुनसक्ने भन्दै प्राधिकरणले उपयुक्त समयमा निर्णय गर्ने पनि उल्लेख गरे । महानिर्देशक अधिकारीले कुनै पनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउण्ड ह्याण्डलिङ सेवा दिनसक्ने कानुनी व्यवस्था रहेको उल्लेख गरे । उनले वायुसेवा निगमका कर्मचारीले नै आन्दोलन वा हड्ताल गरे सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिमलाई मध्यनजर गर्दै विकल्प खोज्न आवश्यक देखिएको उल्लेख गरे । अधिकारीले कानुनले दिएको अधिकार सम्मान रूपमा प्रयोग गरी कार्यान्वयन र विकल्प प्रस्तुत गर्न प्राधिकरण सचेत रहेको बताए । उनले प्राधिकरण ग्राउण्ड ह्याण्डलिङको वैकल्पिक व्यवस्था सहितको हवाई उडान गर्ने कुरा चाँडै निर्णय गर्ने बताए । उनले यसअघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सेवा अनुमति दिँदा निजी एयरलाइन्सलाई दिएको भनेर मिडियाको प्रेसरबाट प्राधिकरण निजी वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिने विषयमा पछाडि हटेको बताए । अधिकारीले हप्तामा ३५ वटा हवाई उडान गर्ने कम्पनीले ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छु भन्दा कानुनी रूपमा प्राधिकरणले अनुमति दिनुपर्ने उल्लेख गरे । उनले हवाई उडान कम्पनीले व्यापार गर्नको लागि उडानमा बढी प्राथमिकता दिनुपर्ने बताए । अधिकारीको भनाइअनुसार प्राधिकरण निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको जिम्मा दिने तयारी रहेको देखिन्छ । अहिलेसम्म नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमले सुरुदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।