विकासन्युज

कुस्मा नगरपालिकाले एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक २ हजार भत्ता दिने

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । मासिक रुपमा विद्यार्थीहरुलाई दुई हजार भत्ता दिन सुरु गरिएको जोशीले बताए। यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नाका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्यासमेत टर्ने विश्वास रहेको उनले बताए। यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ । एसइईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ । सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरुलाई भने नदिइने नगरप्रमुख जोशीले बताए।

माटोको भाँडा बनाउने कोहारलाई उत्तराधिकारीकै चिन्ता

भैरहवा । दीपावलीमा माटोबाट बनेको पाला (दियो) को ग्राहक बढेपछि यस्तो पाला बनाउने कोहार समुदाय उत्साहित छन् । विशेषगरी तिहारलाई नै लक्षित गरी बनाइएको माटोको सामग्रीले राम्रो बजार लिएकामा उनीहरू हर्षित भएका हुन् । रोहिणी गाउँपालिका–३ धकधईका ६५ वर्षीय कोइल कोहारले यस वर्षको दीपावलीमा ४० हजार गोटा बिक्री गर्ने गरी माटाका पाला तयार गरेका थिए । दीपावलीको अघिल्लो दिनसम्म अधिकांश पालाहरु बिक्री गरिसकेको उनले सुनाए । दीपावलीबाट नै वर्षभरी पुग्ने खर्चको जोहो गर्नु पर्ने उनलाई बाध्यता छ । उनले पाला बिक्री गरेर नै चार गोन जति धान र २० हजार जति पैसा कमाएको बताए । उनले अब उमेर गइसकेका कारण पहिलाको तुलनामा धेरै कम पाला बनाउने गरेको बताए । ‘१४–१५ वर्षको उमेरदेखि नै माटोको भाँडा बनाउन सुरु गरेको हुँ’, कोहारले भने, ‘यसको बजार पहिलेभन्दा अहिले राम्रो छ ।’ रोहिणी–३ मा रहेका ३२ कोहार परिवारलाई अहिले माटोका सामग्री पाला, घण्टी, कोसा, भुड्कीलगायतका सामग्री बिक्री गर्न भ्याइनभ्याइ छ । उनीहरू स्थानीय बजार मात्र नभई नारायणगढ, स्याङ्जा, पोखरासम्म माटोको सामग्री बिक्री गर्ने गरेको बताउँछन् । कोइल जस्तै अर्को पुस्ता ३७ वर्षीय साधे कोहार अहिले त ग्राहकहरू घरमै समान किन्न आउने गरेको बताउँछन् । ‘बनाउन मात्र धौ धौ हो, बजारलाई समस्या छैन’, साधेले भने । छेउछाउमा काँचो माटोको पाला राखेका साधेले अहिले यसलाई पोल्न पनि बाँकी रहेको सुनाए । ‘तिहार टाउकोमै आइसक्यो, बनाएर मात्र भएन, यसलाई बेच्नु पनि छ’, उनले आफ्नो चिन्ता सुनाए । बजार राम्रो रहे पनि अबका पुस्ता आफ्नो पराम्परागत पेशामा रम्न नसकेको अगुवा कोहारहरुको गुनासो छ । माटोको काममा लगानी बढी र आम्दानी कम भएपछि नयाँ पुस्ताले यो कलामा रुचि नदेखाएको कोइल बताउँछन् । ‘भाँडा बनाउन माटो नै पाइन्न, जर्ना दाउराको पनि उस्तै समस्या छ । लगानी नै बढी आउँछ, त्यसैले म नै सायद यसको अन्तिम कलाकार हो’, कोइलले गुनासो गरे । माटोलाई सुन्दर आकृति दिन खप्पिस मानिने कोहार समुदाय विभिन्न समस्याले उत्तराधिकारीकै कारण यो कला गुमाउने अवस्थामा पुगेको छ । माटोबाट विभिन्न भगवान्, जनावरको आकृति, भुड्की, पालालगायतका सामग्री बनाउने यो समुदायका अधिकांश युवा पालाबाहेक अरु केही बनाउनै सक्दैनन् । आम्दानी नै कम भएको हुँदा वैकल्पिक पेशातिर लागेको उनीहरूको भनाइ छ । कोहार समुदायलाई सबैभन्दा बढी समस्या माटो र जर्ना दाउराको रहेको अगुवा कोइल कोहार बताउँछन् । यो सिजनमा ४० हजार पाला बिक्री गर्ने लक्ष्य राखेका उनले जर्ना दाउराले लागत बढाएको सुनाए । ‘बनाउन सके त जति पनि बिक्छ, बजारको कमी छैन तर भाँडा पकाउन दाउरा नै पाइन्न’, कोहारले आफ्नो समस्या सुनाए । पन्ध्र वर्षको उमेरदेखि माटोसित खेल्दै आउनुभएका उहाँले स्थानीय तहको सहयोगको आश समेत गरे । ‘अहिले प्रधानहरु आएका छन्, हाम्रा लागि जर्नाको व्यवस्था गरिदिए केही हुन्थ्यो कि’, वृद्ध कोइलले भने । लगानी बढी भए पनि यसैलाई आफ्नो पेशा बनाएका पनि केही कोहार समुदाय छन् । कोही दीपावलीमा मात्र त कोही बाह्रै महिना यही कामबाट आम्दानी गरी आफ्नो परिवार पालेका छन् । अन्ठाउन्न वर्षीयय रामदेव कोहार सिजनको रूपमा व्यापार गर्छन् । यो दीपावलीमा करिब ३० हजार पाला बेचेर चार गोन जति धान र २० देखि २५ हजार कमाउने उनको लक्ष्य छ । यसबाट र अन्य खेतीको उत्पादनबाट उनी आफ्नो परिवारको खर्च धान्ने मनस्थितिमा छन् । उनीभन्दा अलि ठूलो कारोबारी राम किसुन कोहार हुन् । उनले माटोको भुड्की बनाएर पोखरासम्म बजार फैलाएका छन् । विशेषगरी माटोको भुड्की र अन्य भाँडा बनाउन खप्पिस उनी यसैबाट आफ्नो परिवार चलेको सुनाउँछन् । स्थानीय तहहरूले यस्ता पराम्परागत सीपलाई संरक्षण गर्न आवश्यक रहेको कोेहारहरूको भनाइ छ । स्थानीय सरकारले यस्ता सीपमूलक व्यवसायमा लगानी गरे नयाँ पुस्ता यसमा आकर्षण हुने सम्भावना पर्याप्त रहेको स्थानीयवासी महेश कोहारले बताए । ‘यस्ता मौलिक पेशालाई व्यवस्थित र सीपमूलक बनाउनेतिर राज्यको ध्यान गए आफ्नो पेशा पनि संरक्षित हुने र जीवन निर्वाहका लागि विदेशिनु पर्ने समस्या हट्ने छ,’ महेशले भने । रासस

नेपाल बुद्धिचाल संघलाई समृद्धि फाइनान्सले सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल संघ र समृद्धि फाईनान्स कम्पनीका बीच प्रायोजन सम्झौता भएको छ । नेपाल बुद्धिचाल संघले १९ देखि २१ कात्तिकसम्म आयोजना गर्ने नेसनल भेट्रान्स चेस च्याम्पियनसीपका लागि प्रायोजन सम्झौता गरिएको हो । शुक्रबार एक समारोहबीच नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम तथा समृद्धि फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । करिब सात लाख ५० हजारको लागतमा सम्पन्न हुने च्याम्पियनसीपको मुख्य प्रायोजकका रूपमा समृद्धि फाइनान्सले नेपाल बुद्धिचाल संघलाई तीन लाख रुपैयाँ प्रदान गर्नेछ । सिइओ लोहनीले चेस संघसँगको प्रायोजन सम्झौतालाई निरन्तरता दिन आफू प्रतिवद्ध रहेको बताए । बुद्धिचाल संघका अध्यक्ष गौतमले विभिन्न विधाका करिब १५ वटा राष्ट्रिय प्रतियोगिताहरु नियमित रुपमा सञ्चालन गर्न प्रयासरत रहेको जानकारी दिए । उनले कर्पोरेट सेक्टरको प्रत्यक्ष सहभागितामा मात्र नेपालमा चेस खेललाई व्यावसायीकरण गर्न सकिने बताए । संघले आगामी मंसिर महिनामा नेसनल बी तथा नेसनल सिटी च्याम्पियनसीपको समेत तयारी सुरु गरिसकेको सचिव उमेश केसीले बताए ।

शनिबार पनि स्थानीय तह निर्वाचनका उम्मेदवारले जरिवाना बुझाउन सक्ने

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउनेमध्ये प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेकाले सार्वजनिक बिदाका दिनमा जरिवना सक्ने भएका छन् । निर्वाचन आयोगले गत भदौ ३१ गतेको निर्णयअनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना भएकोमा यसरी जरिवाना तोकिएका उम्मेदवारको नाम आगामी मङ्सिर ४ गते हुने निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवार आफूलाई तोकिएको जरिवाना बापतको रकम उम्मेदवारको निवेदन उपर जाँचबुझ गर्ने समयसीमा (२०७९ कात्तिक ५ गते) कार्यालय समयभित्र बुझाएमा जरिवाना असुल उपर भएको कायम गरिने तय गरेको थियो । कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनसमेतमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको र जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारको हकमा बन्दसूचीबाट नाम हटाइने आयोगको समानुपातिक प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

माथिल्लो तामाकोशी एक साता बन्द हुने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही कात्तिक ८ गतेदेखि एक हप्ता बन्द हुने भएको छ । आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट बिजुली उत्पादनसमेत बन्द हुने भएको हो । दिपावलीको अवसरमा कूल चार सय ५६ मेगावाट क्षमताको आयोजना बन्द गरिँदासमेत कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाको नियमित परीक्षणका लागि बिजुली उत्पादन बन्द गर्न लागिएको हो । आयोजनाले यही कात्तिक ७ गते रातिदेखि जलाशयको पानी घटाउने भएको छ । पानी घटाउँदा तल्लो तटीय क्षेत्रमा करिब १२ घण्टा नदीको बहाव बढ्ने भएकाले सो अवधिभर सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको छ । तल्लो तटको लामाबगर, छेतछेत, गोङ्गर, जगत, टुनिटार, जामुने, भोर्ले, सिङ्गटी, नयाँ पुल, कीर्ने, खिम्तीसहित सुनकोशी नदी दोभानसम्म माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्नेजस्ता कार्य नगर्न नगराउन आयोजनाले आग्रह गरेको छ । यस्तै नदी किनारमा परम्पराअनुसार मृतकको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतकर्कतापूर्वक गर्न गराउन सबैमा अनुरोध गरिएको आयोजनाले स्पष्ट पारेको छ ।

सूर्या लाईफ र ज्योती लाईफको मर्ज पक्का

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ । शुक्रबार भएकाे सम्झाैतामा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् । दुवै कम्पनीबीच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता २०७९ असार १२ गते सम्पन्न भइ बीमा समितिबाट २०७९ असार १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो । नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरुबीच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भइ मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो । अन्तिम सम्झौतापत्रमा उल्लेख भए अनुसार गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी कायम हुनेछ भने रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा तथा केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडाैंमा रहनेछ । मर्जर पश्चात बन्ने संचालक समितिमा गाभिए पश्चात बन्ने कम्पनीको साधारण सभा सम्पन्न नभए सम्मको लागि दुवै कम्पनीबाट ३–३ जना र एक जना स्वतन्त्र संचालक गरी ७ सदस्यीय संचालक समिति बन्नेछ भने साधारण सभाले नयाँ संचालक समितिको चयन गर्नेछ । नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाईफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाईफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री रहनेछन् भने सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् । सेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात गाभिए पश्चात बन्ने कम्पनीको सेयर सूर्या लाईफका सेयरधनीले १ सेयर बराबर १ सेयर पाउनेछन् भने ज्योति लाईफका सेयरधनीले १ सेयर बराबर ०.८२४५ सेयर पाउनेछन् । उक्त सेयर स्वाप अनुपात अनुसार गाभिए पश्चात बन्ने कम्पनीको कुल चुक्ता पुँजी करिब ४ अर्ब ५५ करोड पुग्नेछ । अन्तिम सम्झौता भए संगै दुवै कम्पनीले छिट्टै नै साधारणसभा आह्वान गर्ने र साधारणसभाबाट मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र अनुमोदन भए पश्चात सम्बन्धीत नियमनकारी निकायहरुमा मर्जरको लागि स्वीकृती माग गरी आवेदन दिने र ति निकायहरुबाट स्वीकृती आए पश्चात २०७९ मंसिर मसान्त भित्रमा एकिकृत कारोबार संचालन गर्ने सहमति समेत भएको छ । मर्जर पश्चात बन्ने कम्पनीको मुख्य सुचकांङ्क (आ.व. ०७८/७९) को चौथो त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोष २०.३६ अर्ब रुपैयाँ, जगेडा कोष १.४४ अर्ब रुपैयाँ, कुल लगानी २३.७८ अर्ब रुपैयाँ, खुद नाफा ३७.३७ करोड रुपैयाँ र कुल बीमा शुल्क ८.८६ अर्ब रुपैयाँ हुनेछ ।  

वाणिज्य बैंकले आँखा लगाउन नसक्ने अवस्थामा १५ वटा फाइनान्स

काठमाडौं । समय गतिशिल छ र बलवान पनि । समयसँगै कहिले को बलियो हुन्छ कहिले को कमजोर हुन्छ । व्यवसायको आकार, बजारको उपस्थिति, जनशक्ति, व्यवस्थापन, ग्राहकको आधार, पुँजी, नाफा, लाभांश दर सबै सूचकांङमा फाइनन्स कम्पनीहरु भन्दा वाणिज्य बैंक गुणात्मक रुपमा राम्रा छन् । तर सेयर मूल्यमा वाणिज्य बैंकहरुलाई फाइनान्स कम्पनीहरुले पछि पारेका छन् । नविल, एनआईसी एशिया र एभेरेष्ट बैंकहरुको मात्र सेयर मूल्य फाइनान्स कम्पनीको भन्दा बढी छन् । अरू वाणिज्य बैंकको सेयर मूल्य फाइनान्स कम्पनीको बराबरी वा अझै कम छ । यसको असर मर्जमा परिरहेको छ । केही वाणिज्य बैंकहरुले विकास बैंक वा फाइनान्स कम्पनीलाई एक्वाएर गरेर ठूलो बन्ने सोच बनाएका छन् । तर विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्य उच्च भएकोले उनीहरुले अहिले आँखा लगाउन पनि सकिरहेका छैनन । कुन कम्पनी कति बलियाे ? कुनै समय नेपालमा ७५ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा थिए । विस्तारै मर्जर तथा एक्विजिशन हुँदै हाल २० वटा फाइनान्स कम्पनी अस्तित्वमा छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ वटा फाइनान्स कम्पनीको सेयर कारोबार रोक्क रहेको छ भने १५ वटा फाइनान्सको मात्रै सेयर कारोबार भइरहेको छ । पछिल्लो समय सेयर बजार उच्च अंकबाट घट्दै नेप्से हाल १८ सय अंकमा छ । बिहीबारको तथ्याङ्क अनुसार नेप्से परिसूचक १८४४ अंक रहेको छ ।सेयर बजार घट्दा नेप्सेमा सूचीकृत कम्पनीको सेयर मूल्यमा पनि ठूलो गिरावट आएको छ । त्यसमा पनि फाइनान्स समूहको सूचक पनि ठूलो अंकले घटेको छ । फाइनान्स समूहकाे परिसूचक एक वर्ष अघि २७ सय अंकको हाराहारीमा थियो अहिले घटेर १४९५ अंकमा झरेको छ । वाणिज्य बैंक समूहकाे परिसूचक झन् कम १३१० मात्र छ । दुइ साता अघि याे सूचक १२७० मा झरेकाे थियाे । नेपाल फाइनान्सका ८३ लाख ८९ हजार ४३९ कित्ता सेयर सूचीकृत भएको यस कम्पनीको ८३ करोड ८९ लाख ४३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४३.५० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा सेयर मूलय अधिकतम ७६० रुपैयाँ र न्युनतम प्रतिकित्ता २१३ रुपैयाँ रहेको यस कम्पनीको । बिहीबारको सेयर मूल्य अनुसार बजार पूँजीकरण २ अर्ब ४ करोड २८ लाख रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०६७/६८ मा सेयरधनीलाई २२ प्रतिशत सेयर र १.१६ प्रतिशत नगद गरी कूल २३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन । गाेर्खा फाइनान्सको ८६ लाख ७९ हजार ९३७ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । बिहीबार यस कम्पनीकाे सेयर प्रतिकित्ता ४८३ रुपैयाँमा किनबेच भयाे । गत एक वर्षको अवधिमा सेयर मूल्य अधिकतम १ हजार ३५ रुपैयाँ र न्यूनतम प्रतिकित्ता ३५७ रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७१/७२ मा ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यसयता कम्पनीले लाभांश वितरण गरेको छैन । बेस्ट फाइनान्सकाे चुक्ता पूँजी ८२ करोड ८९ लाख १३ हजार रुपैयाँ रहेको छ । विहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१८ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६१५ रुपैयाँ र न्यूनतम प्रतिकित्ता २९८ रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ मा २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यसयता कम्पनीले लाभांश वितरण गरेको छैन । गुडविल फाइनान्सको विहीबार सेयर प्रतिकित्ता ४२४ रुपैयाँमा किनबेच भएकाे छ । चुक्ता पूँजी ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ रहेको यस कम्पनीको एक वर्षको अवधिमा सेयर मूल्य अधिकतम प्रतिकित्ता ८७५ रुपैयाँ र न्यूनतम प्रतिकित्ता ३५८ रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६६/६७ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो । पोखरा फाइनान्सकाे चुक्ता पूँजी १ अर्ब ४ करोड ९ लाख रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीकाे प्रतिकित्ता ३१६ रुपैयाँमा किनबेच भयाे । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६८८ रुपैयाँ र न्यूनतम प्रतिकित्ता २९० रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७९ मा ८.०७५ प्रतिशत बोनस सेयर र ०.४२५ प्रतिशत नगद गरी कूल ८.५ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो । श्री इन्भेष्टमेन्ट फाइनान्सको चुक्ता पूँजी ९५ करोड ८६ लाख ७५ हजार रुपैयाँ रहेको छ । बिहीबार कम्पनीकेा सेयर प्रतिकित्ता ३०३ रुपैयाँमा किनबेच भयाे ।  एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ५९३ रुपैयाँ र न्यूनतम प्रतिकित्ता २३६ रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो । सेन्ट्रल फाइनान्सको चुक्ता पूँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०१ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६३७ रुपैयाँ र न्यूनतम प्रतिकित्ता २३७ रुपैयाँ थियो । यस कम्पनीको बजार पूँजीकरण २ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६९/७० देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो । जानकी फाइनान्सकाे चुक्ता पूँजी ६९ करोड ४ लाख ७२ हजार रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४६ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ८०३.९० रुपैयाँ र न्यूनतम प्रतिकित्ता ३०५ रुपैयाँ थियो । यस कम्पनीको बजार पूँजीकरण २ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो । समृद्धि फाइनान्सकाे चुक्ता पूँजी ७४ करोड १६ लाख ४४ हजार रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता २३५ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६०५ रुपैयाँ र न्यूनतम प्रतिकित्ता १७९ रुपैयाँ थियो । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सकाे चुक्ता पूँजी ९५ करोड ४ लाख रुपैयाँ रहेको छ । बिहीबारको तथ्याङ्क अनुसार यस कम्पनीको सेयर मूलय दोस्रो बजारमा प्रतिकित्ता ३१९ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६०९.९० रुपैयाँ र न्यूनतम प्रतिकित्ता २२३.९० रुपैयाँ थियो । यस कम्पनीको बजार पूँजीकरण ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो । आइसिएफसी फाइनान्सकाे चुक्ता पूँजी १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ रहेको छ । बिहीबार  यस कम्पनीको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ४२६ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता १ हजार ६३ रुपैयाँ र न्यूनतम प्रतिकित्ता ३६३ रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो । प्रोग्रेसिभ फाइनान्सकाे चुक्ता पूँजी ८५ करोड ६१ लाख रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता २५९ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ४७७ रुपैयाँ र न्यूनतम प्रतिकित्ता १९२ रुपैयाँ थियो । कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा ६ प्रतिशत बोनस सेयर र ०.३२ प्रतिशत नगद गरी कूल ६.३२ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो । मल्टीपर्पोज फाइनान्सकाे चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ३०० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ५६५.४० रुपैयाँ र न्यूनतम प्रतिकित्ता २०६.१० रुपैयाँ थियो । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो । मन्जुश्री फाइनान्सकाे चुक्ता पूँजी १ खर्ब ३५ अर्ब १५ करोड ५२ लाख रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य  प्रतिकित्ता ३७८.५० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता १ हजार २२५ रुपैयाँ र न्यूनतम प्रतिकित्ता ३६२ रुपैयाँ थियो ।कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कूल ४६ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो । रिलायन्स फाइनान्सकाे चुक्ता पूँजी १ अर्ब ५ करोड ३० लाख रुपैयाँ रहेको छ । विहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९७ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६३४ रुपैयाँ र न्यूनतम प्रतिकित्ता २२२.२० रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७१/७२ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो ।

‘आमाको तिलहरी बेचेर सुरु गरेको बाख्रा फार्म ७० लाखकाे भएकाे छ’

स्कुल पढ्दा किताबका पानामा लेखिएको हुन्थ्यो नेपाल कृषि प्रधान मुलुक हो भनेर । मलाई त्यो भनाई कताकता चित्त बुझ्दैन थियो । किनकी कृषि प्रधान मुलुकमा कृषकको सम्मान थिएन् । अर्को कारण कृषि प्रधान मुलुकका कृषकले नै विदेशबाट आयात गरेका कृषि सामाग्रीको उपभोग गरिरहेका थियौँ । बाल मष्तिष्कले जनाएको असहमती मैले मेरो युवा अवस्थासम्म आईपुग्दा पनि अरु कसैसँग प्रकट गर्ने साहस गर्न सकेको थिईन । परिवारका हामी सबै बाह्रै महिना कृषि कर्ममा व्यस्त हुन्थ्यौँ । तर पनि बाह्रै महिनालाई हातमुख जोड्न पुग्ने कृषि उपज उत्पादन हुँदैन्थ्यो । निर्वाहामुखी कृषि, भैँसी, बाख्रा, गाई पालेका थियौँ । खेतबारीमा पनि उसैगरी परम्परागत तवरले अन्न बाली लगाइन्थ्यो । त्यसैले त मेरा बाबाले जीवनको उर्जाशिल समयको झन्डै डेढ दशक विदेशी भूमिमा परिवारबाट टाढा रहेर बिताउनु भयो । निर्वाहमुखी कृषिबाट गुज्रिरहेको मेरो परिवारको आर्थिक अवस्था त्यति सहज र सवल त पक्कै थिएन । तर परम्परागत कृषी ईज्जत धान्ने साधन बनेको मात्र थियो अरु उपलब्धि हुने कुरै भएन । आमाले हिउँद बर्खा नभनी गरेको दुखले एक छाक खाना र एक जोर राम्रो लुगा फेर्ने पुग्दैनथियो । बाबाको वैदेशिक यात्राबाट निर्भर रहेको परिवार कृषि गरेर आर्थिक हैसियत सुधार्न सक्ला भन्ने कल्पना कहाँबाट गर्ने ? हरेक परिस्थितिको दास बन्नुको विकल्प थिएन । मेरो मात्रै नभएर मेरो समुदायका करिब ६० घरधुरीको अवस्था यस्तै थियो । बुझ्ने भएपछि मसँग कृषिमा नयाँ सम्भावना तथा आयाम सहित ग्रामीण समुदायलाई परिवर्तन गर्ने हुटहुटी थियो । आर्थिक रुपमा सिथिल भएका परिवारहरु आम सञ्चार तथा पूर्वाधारको पहुँच भन्दा टाढाको वस्तिहरुमा मानिसहरु वसाई सराई गर्दै अन्यत्रै जान थालेपति करिब करिब गाउँहरु शुन्य जस्तै बन्न थालेका थिए । आदर्शमा सिमित कृषि पेशाबाट जीवन निर्वाह गर्न सक्ने अवस्था नभएपछि धेरै युवा साथीहरुले आर्थिक उपार्जनका विकल्पहरु खोज्न थाले । युवा उमेरमा धेरै साथीहरुलाई आर्थिक उपार्जनका लागि विदेश जानुपर्ने बाध्यता आईलाग्यो । परिस्थितीको पहाडले थिचेपछि पासपोर्ट बोकेर म्यानपावर धाउनुको विकल्प पनि थिएन् । वैदेशिक रोजगारीमा जानेलाई ऋण पत्याउनेहरु धेरै थिए, गाउँमै कृषि गर्छु भन्दा ऋण नपत्याउने अवस्थाले गर्दा गाउँमै अडिन सक्ने आँट कस्ले गर्न सक्ने र ? पात्रोमा दिन, महिना हुँदै सालहरु फेरिए । कृषकको दैनिकी र अवस्था फेरिएन । निर्वाहामुखी कृषी कर्मले दुख धेरै आम्दानी नगन्य नै थियो । यहीँ परिस्थिमा जसोतसो साहस जुटाएर कृषिमा केही फरक काम गर्ने संङकल्प गरे । तर लगानी गर्न सक्ने हैसियत भने मेरो भएन । बाख्रा पाल्नलाई ऋण खोज्ने बाहेकको विकल्प नै कहाँ थियो र ? भर्खर १७ वर्षमा टेकेको मलाई ऋण दिन जो कोही पनि तयार भएनन् । मेरो समाजले त मेरो उमेर समुहका उर्जाशिल युवालाई अल्लारेको उपमा दिन मात्रै सक्थ्यो, ऋण पत्याउँदैन्थ्यो । काम गर्ने असिमित चाहना भएकै कारण २०६८ सालमा भानुमति साना किसान कृषि सहकारी बाट २० हजार रुपैयाँ ऋण सहयोग लिए । आमाको तिलहरी बेचेर सुरु गरे सृजनशिल बाख्रा फार्म । १० वटा माउ बाख्राबाट निर्वाहामुखी कृषिलाई व्यवसायिक बनाउने यात्रामा होमिएको थिए । त्यो बेला ऋण खोजेर बाख्रा पाल्न तम्सिएको युवालाई ढाडस दिनेभन्दा हतोत्साहित बनाउनेहरु धेरै थिए । त्यो समय बाख्रा पालन गरेर जीवन निर्वाह गर्न सकिन्छ भन्ने आशा म बाहेकका अरु कसैमा थिएन् । ऋण खोजेर बाख्रा पालन सुरु गर्दा कतिले त मानसिक रुपमा ठिक नभएकोसम्म भन्न पछि परेनन् । म भन्नेहरुको कुराको पछाडी लागिन । सिभिल ओभरिसयर अध्ययन गरेको मैले सुरु गरेको बाख्रा पालन व्यवसाय मेरा लागि एक नयाँ क्षेत्र थियो । पशुपालन गरेर सहजै जीवन गुजरा चलाउन सकिन्छ भन्ने कुरा गाउँमा यसअघि नत कसैले देखेका थिए नत सुनेका थिए । मैले चुनौतीका पहाडको सामाना गर्दै बाख्रा पाल्न सुरु गरेँ । सुरु सुरुमा प्राविधिक ज्ञान अनुभव नभएको मान्छे उमेरले पनि अलिक कच्चा भएर होला सफलता हात पार्न धौँधौँ भयो । व्यवसायबाट सोचे जस्तो आम्दानी हुन सकेन । ऋणको सावाँ र ब्याज तिर्न नसक्दा केही असहज भयो । तर निराश भएर मैले सुरु गरेको यात्राबाट विचलित हुने छुट कदापि थिएन । म मानसिक रुपमा व्यवसायलाई अगाडि बढाउने गरी निरन्तर लागिरहेँ । यसै समयमा नेपाल भू–कम्प र नाकाबन्दीको चपेटाबाट थलिएपछि लयमा फर्कन निकै सकस प¥यो । विभिन्न आरोह अवरोह पार गर्दै दृढ अठोटका साथ अगाडि बढाएको मेरो बाख्रा पालन व्यवसाय विस्तार हुँदै थियो । यसै समयमा वि. स. २०७४ सालमा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साना किसान विकास लघुवित्त संस्था मार्फत ईजरायल जाने सुनौलो अवसर जुर्याे । ११ महिने ईजरायल यात्रा मेरो जिन्दगिको स्वर्णिम समय सिद्ध भएको छ । प्राविधिक सिप, क्षमता बिकास गर्ने र व्यवसाय प्रर्वद्धनका लागि बीउ पूँजी व्यवस्थापनमा लर्न एण्ड अर्न कार्यक्रम कोशेढुंगा सावित बन्यो । सायद इजरायल जान नपाएको भए म आज म बन्ने थिईन । एउटा सामान्य कृषकको छोरा बाख्राको खोरमा दैनिकी बिताइरहको मान्छे कृषि प्रविधि सिक्न ईजरायल जान सक्ला भन्ने धेरैलाई लागेको थिएन । तर मलाई साना किसान परिवारको लर्न एण्ड अर्न कार्यक्रम मार्फत जान पाउछु कि भन्ने आश थियो । इजरायल पुगेर आधुनिक कृषि प्रविधि र प्रणाली सिक्न पाए भने ओरालो लागेको व्यवसायलाई लयमा फर्काउन सकुँला कि आशाको किरण थियो । जुन पुरा भयो पनि । धान फल्ने खेत मासेर लगाएको १२ हजार घाँसका बेर्नाले थप दक्षता र व्यवस्थापन खोजीरहेको थियो । हजुरबुवाको मनमा खेत विगारिदिएको चिन्ता उस्तै थियो । ऋणको चपेटामा परेको मलाई अन्यत्र जान ठाउँ पनि थिएन । हिम्मत गरेरै व्यवसायमा जम्नैपर्ने थियो र त फरक अभ्यास गरिरहेँ । बाख्रा पाल्न सुरु गर्दा बेचेको आमाको तिलहरी फिर्ता दिनु थियो । निराश गाउँलेमा आशाको किरण जगाउनु थियो । असफलताको मानसिकताबाट मेरो विश्लेषण गर्नेहरुलाई मैले गरेका हरेक काम सही रहेछ भनेर प्रमाणित गराउनुपर्ने आफैँमा चुनौती थियो । अझ बढी अरुलाई भन्दा आफैँले आफैँलाई जित्नु थियो । प्रतिकुल परिस्थिती र समयलाई आफु अनुकुल बनाउनु थियो । भाग्यलाई श्रम, मेहनत र निरन्तरताले दासी बनाउने रहेछ । अविछिन्न प्रयासबाट आज परिचय बद्लिएको छ । ११ महिनाको ईजरायलस्थित रमात नेगेब इन्टरनेशनल ट्रेनिङ सेन्टरबाट सिकेको ज्ञानले व्यवसाय व्यवस्थापनमा सफल बनाएको छ । रित्तिएको बाख्राका खोरलाई इजरायलको लर्न र अर्नले भरिभराउ बनाएको छ । बाख्रा पाल्न सुरु गर्दा बेचेको आमाको तिलहरी फिर्ता गर्न सक्ने हैसियत बनाउन सफल भएको छु । एक सरो लुगा फेर्नलाई मात्रै मैलै बाख्रा पालन सुरु गरेको पक्कै हैन । चरम गरिबीको रेखामुनि रहेको मेरो समुदायको निर्वाहमुखी कृषि र पशुपालनमा घुमिरहेको मानसिकतालाई परिवर्तन गर्दै व्यवसायिक यात्रामा डो¥याउनु थियो । ऋणमुक्त गराउने अभ्यासमा जोड्नु थियो । आज धेरै हदसम्म सफलता मिलेको छ । गाउँलेले कल्पना समेत गरेका थिएनन् एउटै बाख्राको मुल्य तीन लाख रुपैयाँ सम्म पर्छ भन्ने । तर आज हामिले त्यही बोर जातका बाख्राहरु नेपाल अधिराज्यभर बीउका लागि बिक्री वितरण गरी करिव वर्षको चार करोड रुपैयाँको हाराहारीमा आम्दानी गाउँमा भित्र्याउन सफल भएका छौँ । ठूलो व्यवासय त मैले गरेको छैन् व्यक्तिगत रुपमा एक्लैले झन्डै ७० लाख रुपैयाँको हाराहारिमा लगानी गरेको छु । ग्रामिण समुदाय भिमाद नगरपालिका– ९ पाथर्दीको बस्तीलाई नेपालको नमुना बोर बाख्रा स्रोत विकास केन्द्रको रुपमा स्थापित गर्न सफल भएका छौं । विश्वविद्यालयहरुसँग गाउँको बाख्रापालनलाई जोड्न सकेका छौं । कृषि मार्फत ग्रामीण पर्यटनको सम्भावना देखेर गाउँमा होमस्टे (घरबास) कार्यक्रम संचालन गरेका छौँ । मैले फरक काम अनि ठूलो पक्कै गरेको छैन् । तर गाउँको ६० घरधुरी परिवारलाई निर्वाहामुखी कृषिबाट व्यवसायिक कृषिमा जोड्दै आर्थिक अवस्था सुधार्न केही हदसम्म सफल भएको छु । यो सफलता मेरो र गाउँलेको मात्रै हैन् । साना किसान लघुवित्त संस्था, इजरायल सरकार र लर्न एण्ड अर्न कार्यक्रमको हो ।