
काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रकृया तत्काल अगाडि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधिश तिलप्रसाद श्रेष्ठको एक इजलासले सो आदेश जारी गरेको हो ।
नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिन शुरु गरेको प्रकृया विरुद्ध अधिवक्ता दीपक बिक्रम मिश्रले सर्वोच्चमा रिट दायर गरेका थिए । उनको रिटमा बोर्डले संशोधित नियमावलीको कार्यान्वयन तत्काल कार्यान्वन गर्न रोकिनुपर्ने माग गरिएको थियो । अधिवक्ता मिश्रको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाडौ, मन्त्रीपरिषद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाडौ, अर्थ मन्त्रालय सिंहदरबार काठमाडौ ,नेपाल धितोपत्र बोर्ड खुमलटार ललितपुर र नेपाल स्टक एक्सचेन्ज लिमिटेड यूएनआई शान्तिमार्ग भद्रकाली काठमाडौलाई प्रतिबादी बनाइएको थियो ।
सर्वोच्च अदालतले मिश्रको रिटमाथि शुक्रबार सुनुवाई गर्दै कार्तिक २२ गते विपक्षीलाई छलफलको लागि बोलाएको छ । निष्कर्षमा नपुग्ने बेलासम्म बोर्डले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रकृयालाई यथास्थितिमा राख्न अदालतले आदेश दिएको छ ।