पर्यटन मन्त्रालयले संस्कृति, कला र भाषा साहित्यमा योगदान पुर्याउनेहरुलाई पुरस्कृत गर्ने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति, संगीत तथा नाट्य, ललितकला र भाषा एवं साहित्यमा योगदान गर्नेहरुलाई पुरस्कृत गर्ने भएको छ । मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै राष्ट्रिय प्रतिभा पुरस्कार सम्बन्धी कार्यविधिअनुसार ४ विधामा राष्ट्रिय प्रतिभा पुरस्कार र प्रादेशिक स्तरमा एक एक जनालाई पुरस्कार दिने जनाएको छ । मन्त्रालयले पुरस्कारको लागि व्यक्ति वा संस्थाले आवेदन गर्नसक्ने जनाउँदै त्यसकालागि ३० दिनभित्र मन्त्रालयमा आवेदन दिन अनुरोध गरेको छ । मन्त्रालयको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस ।
आयल निगमले माग्यो ६० जना कर्मचारी
काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले शुक्रवार सूचना जारी गर्दै विभिन्न पदमा ६० भन्दा बढी कर्मचारी माग गरेको छ । निगमले अपरेटरदेखि निर्देशक पदसम्मका लागि कर्मचारी माग गरेको छ । लोकसेवा आयोगबाट खुला प्रतिस्पर्धामार्फत लिखित परीक्षा लिई छनोट गर्ने निगमले जनाएको छ । इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
तनहुँमा दस दिनपछि सञ्चालन भयो अवरुद्ध सडक
तनहुँ । तनहुँको दक्षिण भेगमा पर्ने श्रृङ्गपथ मोटरमार्गअन्तर्गत देउराली–सुनाकोट सडकखण्डमा सडक भासिएर अवरुद्ध बनेको सडक दस दिनपछि पुनः सञ्चालनमा ल्याइएको छ । अविरल वर्षाका कारण गत असोज २६ गते सडक भासिँदा सवारी साधनको आवागमन अवरुद्ध भएपछि नयाँ ट्रयाक खोलेर आजदेखि सवारी पुनः सञ्चालनमा ल्याइएको हो । अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका–५ देउराली नजिकको सडकमा पहिरो जाँदा तनहुँको ऋषिङ, घिरिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लामा गुड्ने सवारी साधन रोकिएका थिए । सडक अवरुद्ध भएपछि यताको गाडी यतै र उताको गाडी उतै रोकिएकाले केही दूरी हिँडेर यात्रुले पुनः बस चढेर यात्रा गर्न बाध्य भएको घिरिङ गाउँपालिकाका प्रेस सल्लाहकार अन्जान परियारले जानकारी दिए । दैनिक माथिबाट सडकमो पहिरो खसेकाले दुईदेखि तीन वटासम्म डोजर प्रयोग गरी माथिपट्टि पहरा कटान गरेर नयाँ सडकमार्ग बनाइएको हो । गण्डकी प्रदेशले २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएकाले जिल्लास्थित पूर्वाधार कार्यालयले सडक निर्माणको काम गरेको उनले बताए । दसैँको समयमा गाडी नचलेपछि लामो दूरीको बाटो पैदल हिँडेर आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान सर्वसाधारणले कठिनाइ भोग्नुपरेको थियो । सडक बनेपछि साना तथा ठूला गाडी पनि निर्वाधरुपमा गुड्न थालेको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए । दसैँको समयमा अविरल वर्षा भएका कारण पनि तत्काल काम गर्न नसकिएकाले केही समय ढिलाइ हुन गएको उनले बताए । चाडपर्वको समयमा यात्रुको समस्यालाई मध्यनजर गरी तत्कालका लागि यताको गाडी यतै र उताको गाडी उतै रहने व्यवस्था मिलाइ यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिए । रासस
डिशहोममा एक वर्षको रिचार्ज गर्दा मञ्जु विश्वकर्माले जितिन् १ लाख
काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुधौली नगरपालिकाकी मञ्जु विश्वकर्माले एक लाख रुपैयाँ जितेकी छिन् । डिशहोमको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न अफर अन्तर्गत उनले उक्त रुपैयाँ जितेकी हुन् । हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको कटारी न पा १ बेल्सोत उदयपुरका सह—वितरक कृष्ण मोबाइल गिफ्ट सेन्टरका डिलर दाई कृष्ण देवकोटाकोमा एक वर्ष रिचार्ज गर्दा उनले एक लाख रुपैयाँ जितेकी हुन् । डिशहोमको रिचार्ज योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् ।
पाल्पामा रेडक्रसलाई एम्बुलेन्स सहयोग
रामपुर । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखालाई तानसेन नगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । रेडक्रस सोसाइटी पाल्पालाई व्यवस्थापन र सञ्चालन गर्नेगरी स्थानीय सरकारले परोपकारी संस्थासँग मिलेर खरिद गरेको एम्बुलेन्स उपलब्ध गराइएको हो । नगरवासीको सेवासुविधाका लागि नगर सरकारको ६० प्रतिशत र रेडक्रसको ४० प्रतिशत लगानीमा एम्बुलेन्स खरिद गरिएको छ । नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगरवासीको हितमा एम्बुलेन्स सञ्चालन गरिने बताउँदै विपत्मा परेका तथा बिरामीलाई सहजरुपमा अस्पतालसम्म पु¥याउन सकियोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेर रेडक्रसलाई व्यवस्थापनको जिम्मा दिइएको बताए । रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले रेडक्रस र नगरपालिकाको साझेदारीमा खरिद गरिएको एम्बुलेन्सले दुर्गममा बसोबास गर्ने नागरिकलाई स्वास्थ्योपचारमा सहज सेवा दिने बताए । गत आर्थिक वर्षको बजेटमा नगरपालिकाले नगरवासीको सेवा र सहयोगका लागि रेडक्रसलाई एक एम्बुलेन्स दिने गरी बजेट विनियोजन गरेको थियो । पाल्पामा अहिलेसम्मकै उच्चस्तरीय, उच्च प्रविधि जडान भएको एम्बुलेन्स रेडक्रसले सञ्चालनमा ल्याएको छ । रासस
गुराँस लाइफ इन्स्योरेन्सले गर्यो ७.८३ लाभांश प्रस्ताव, मर्जरको सम्झौता पनि स्वीकृत
काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ७.८३१७१(कर सहित) प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । कम्पनीकाे शुक्रबार बसेकाे १२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेकाे हाे । साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारित गरेको छ । साथै, सभाले आ.व २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले गुराँस लाइफसहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ । सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति ,उनीहरुको पारीश्रमिक निर्धाण ,एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यसैगरी, सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ ।
अब मेनपावरहरुले वैदेशिक रोजगार सम्बन्धी अधिकांश काम बुटवल र पोखरा कार्यालयबाट गर्न सक्ने
काठमाडौं । मेनपावरहरुले वैदेशिक रोजागार सम्बन्धी अधिकांश कार्यहरु श्रम तथा रोजगार कार्यालय बुटवल र पोखरा कार्यालयबाट समेत गर्न सक्ने भएका छन् । वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै विभाग तथा अन्य केन्द्रीय कार्यालयबाट सम्पादन हुँदै आएका अधिकांश काम बुटवल र पोखरा कार्यालयबाट हुने जनाएको छ । विभागले वैदेशिक रोजगारमा पठाउन माग संख्या निर्धारण गर्ने, स्वीकृतिको लागि निवेदन लिने, पूर्व स्वीकृति दिने, विज्ञापन गरे नगरेको अनुगमन गर्ने, श्रम स्वीकृतिको लागि निवेदन दिने र स्वीकृति दिने काम बुटवल बुटवल र पोखरामा रहेका कार्यालयले गर्न सक्ने जनाएको छ । त्यस्तै ती कार्यालयले व्यक्तिगत रुपमा विदेश जान चाहनेको निवेदन लिने, स्वीकृति दिने र मेनपावरहरुको शाखा कार्यालयको अनुगमन गर्न सक्ने लगायतका कामहरु गर्नसक्नेगरी कानूनअनुसार अधिकार प्रत्यायोजन गरिएको विभागले सूचनामा उल्लेख गरेको छ । वैदेशिक राेजगार विभागकाे सूचना :
बागलुङमा झिनियाँ रोटीकोे माग उच्च
बागलुङ । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकारको माग बागलुङमा उच्च रहेको छ । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेका छन् । बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको भीड नै लाग्ने गरेको छ । बागलुङमा तिहार नजिकिएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायतका रोटीका परिकारको माग उच्च भएको विगत १० वर्षदेखि बागलुङ नगरपालिका–२ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका परिकार बनाउँदै आएकी मीरा श्रेष्ठले बताइन् । हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । श्रेष्ठले विगत १० वर्षदेखि झिनियाँ, चिनी रोटी, फिनी रोटी, सेल रोटी, भेली रोटी, खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल भएकी छिन् । ‘पहिला झिनियाँको मात्रै व्यापार हुन्थ्यो, पछिल्लो समय चिनी तथा फिनी र तयारी सेल रोटीको माग उच्च छ, लगातारको वर्षाले झिनियाँ सुकाउन समस्या भयो, झिनियाँको माग धान्नै समस्या छ’, श्रेष्ठले भनिन्, ‘झिनियाँ मात्रै नभएर चिनी, फिनी र सेललगायतका तयारी रोटीको माग बढेको छ, यो सिजनमा दिनरात नभनी काम गरिरहेका छौँ ।’ मीरासँगै उनका श्रीमान् र छोराले दसैँ अघिदेखि रातदिन नभनेर झिनियाँ, चिनी, फिनी, भेली र नमकिनलगायतका तयारी परिकार बनाइराखेका छन् । तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि मीरासहित अन्य बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ तर बागलुङ बजारको अधिकांश झिनियाँ र तयारी रोटीको माग महिला उद्यमी श्रेष्ठले धान्दै आएका छन् । श्रेष्ठले दसैँ तिहारको सिजनमा झिनियाँसहित अन्य तयारी परिकार बेचेर छ लाख रुपैयाँ कमाउने लक्ष्य राख्नुभएको छ । नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमा समेत झिनियाँसहित अन्य सात प्रकारका तयारी रोटीको माग भएको हो । माग बढ्न थालेपछि अन्य समयमा समेत झिनियाँ, चिनी, फिनीलगायत रोटी बनाउन भ्याइनभ्याइ हुने गरेको छ । बागलुङका उद्यमीले दसैँतिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन् । विशेष गरी तिहारको बेलामा झिनियाँको माग अत्यधिक हुने भएकाले आफूले दुई महिनादेखि झिनियाँलगायतका रोटी बनाइराखेको श्रेष्ठले बताइन् । बागलुङ बजारको मरेपिपलमा वर्षौंदेखि परम्परागत रूपमा झिनियाँ बनाउँदै आएकी उनले बागलुङ बजारमा मात्रै आफूजस्ता दर्जनौँ महिला झिनियाँ रोटी बनाएर आयआर्जन गर्दै आइरहेको बताइन् । अहिले आधुनिक उपकरणको सहायताले ठूलो मात्रामा झिनियाँ उत्पादन गर्न सकिन्छ । उनले तीन वर्षदेखि एक लाख रुपैयाँको लागतमा झिनियाँ निर्माण गर्ने आधुनिक विद्युतीय उपकरणसमेत खरिद गरेर बनाउन थाल्दा माग आपूर्तिमा सहजता भएको बताइन् । थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा दुई सय ५० रुपैयाँ र सानोमा एक सय ४० रुपैयाँमा बिक्री गर्दै आएको उनले बताइन् । दसैँको अवधिमा सेतो रङको झिनियाँ बढी मात्रामा बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ । मीराले चिनी रोटी ८० रुपैयाँ, फिनी रोटी ७० रुपैयाँ, भेली रोटीलाई ५० रुपैयाँ र नमकिन रोटीलाई ५० रुपैयाँमा बिक्री गर्दै आएकी छिन् । रासस