रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल
एजेन्सी । रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल गरेका छन् । उनीहरू बीच टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिने बारे सहमत भएको बताइएको छ।
मकवानपुरमा ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ को झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना१ह ५८५५ नं को अटो र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–१००१ क ४१३ नं को ट्रक एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । बागमती नदीमा शव दाहसंस्कार गरी फर्केका मलामी चढेको सो अटोलाई ट्रकले ठक्कर दिँदा अटोका चालकसहित तीन जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते तीन जनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मृतक बागमती गाउँपालिका–८ बस्ने वर्ष ५८ को रामबहादुर गोले रहेको प्रहरीले जनाएको छ ।
बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु
फाइल फाेटाे बर्दिया । बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए। पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेका थिए। पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।
महिलाको आयआर्जनको माध्यम बन्यो ‘होम–स्टे’
बाग्लुङ । चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पूरै फेरिएको छ । उनीहरुको दैनिकी मात्रै फेरिएको छैन, जीवनस्तर नै बदलिएको छ । काठेखोला गाउँपालिका–३ मा पर्ने धम्जा ओखले गाउँ पर्यटकीय हिसाबले निकै मनमोहक भएको हुँदा स्थानीयले २०७५ सालमा घरबास ९होम–स्टे० सञ्चालन गरे । घरबास सञ्चालनपछि यहाँका महिला स्वरोजगार बन्नाका साथै दैनिकी र जनजीवनसमेत परिवर्तन भएको छ । सुरुमा घरबास सञ्चालन गर्न समस्या भयो तर पछि जान्दै, बुझ्दै र सिक्दै गएपछि उनीहरुमा निकै परिवर्तन आयो । नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरुले नेतृत्व विकास गरेर घरबासमा आउने पाहुनाको व्यवस्थापन उनीहरु आफैँ गर्छन् । खाना, बस्न र नाचगान गरेर मनोरञ्जन दिने कामसमेत हुँदै आएको छ । घरबास सञ्चालक माया पुन घर्ती भन्छिन्, ‘होम–स्टे सञ्चालनमा आएपछि गाउँका आमा, दिदीबहिनीको चालचलन, बोलीचालीसँगै जीवनशैली पनि फेरिएको छ, पहिले चुलोचौकोमै सीमित हुने हामीहरु गाउँ समाजमा आफ्ना कुराहरु राख्न सक्दैनथ्यौँ, अहिले बोल्न सक्ने भएका छौँ, सुरु–सुरुमा त गाह्रो भयो, पाहुनाले भने जस्तो खानपान बनाउन सकिएन कि भन्ने हुन्थ्यो, अहिले धेरैले राम्रो भएको छ भन्दा खुसी लाग्छ, अझै सिक्ने क्रममा छौँ, जति सक्दो पाहुनालाई खुसी बनाउने प्रयास गरेका छौँ ।’ उनले घरबासलाई व्यावसायिक रुपमा विकास गरिरहेको भन्दै व्यवस्थापनलाई थप व्यवस्थित गरिरहेको बताइन् । घरबास आफूहरुको आयस्रोतको माध्यम बन्नाका साथै गाउँको प्रचारप्रसारसमेत भइरहेको उनको भनाइ छ । पर्यटकीय हिसाबले धम्जा ओखले गाउँले निकै सम्भावना बोके पनि ओझेलमा परेको हुँदा यसको विकास गर्न आफूहरु जुटिरहेको घर्ती बताउँछिन् । ‘होम–स्टे सञ्चालन भएपछि हाम्रो गाउँको प्रचारप्रसार भइरहेको छ, पर्यटकीय सम्भावना बोकेको हाम्रो गाउँलाई विकास गर्नुपर्छ भन्ने लक्ष्य राखेर काम गरेका छौँ, गाउँका महिला दिदीबहिनी एकताबद्ध भएर लागेका छौँ, बिस्तारै व्यावसायिक बन्दै पनि छौँ’, घर्तीले भनिन्, ‘होम–स्टेले गाउँलेलाई एकताबद्ध बनाउनाका साथै सामाजिक कार्यमा लाग्न प्रेरित गरेको छ ।’ स्थानीय पुस्पा छन्त्यालले घरबासले महिलाको दैनिकी र जीवनशैलीमा परिवर्तन ल्याएको बताइन् । उनले गाउँ घरबास सञ्चालन गर्नुपूर्व आफूहरुले घाँसदाउरा गर्ने, पशुचौपाया पाल्ने र मेलापात गरेर जीविका निर्वाह गरेको स्मरण गरिन् । घरबास महिलाको आयआर्जनको स्रोत बनिरहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘पहिले हाम्रो दैनिकी घाँसदाउरा र मेलापात गर्दैमा बित्ने गथ्र्यो, अहिले मेलापातमा मात्रै सीमित हुन परेको छैन, घरमा पाहुनालाई परिकार बनाएर खुवाउने, हाम्रो कलासंस्कृति देखाउने गरेर बित्छ, यसबाट आम्दानी राम्रो भएको छ ।’ छन्त्यालले घरबास सञ्चालनमा आएको छोटो समयमै धेरै पर्यटक भित्र्याउन सफल भएको र आफ्ना गतिविधि र चालचलनमा परिवर्तन भएको बताइन् । उनले धेरैभन्दा धेरै पाहुना भित्र्याउने र उनीहरुलाई सन्तुष्ट बनाउने तथा स्थानीय गीतसङ्गीत र नाचले मनोरञ्जन दिन आफूहरु निरन्तर लागिपरेको बताइन् । ‘हाम्रा लागि होम–स्टे सञ्चालन गर्नु बिल्कुलै नयाँ काम हो, नयाँ अनुभव हो, हामीले गर्नुपर्ने र सिक्नुपर्ने काम धेरै छन्, केही कमीकमजोरी पाहुनाहरुले पनि औँल्याइदिनुहुन्छ, सुधार गरिरहेका छौं’, छन्त्यालले भने, ‘पाहुनाले हामीबाट केही नयाँ कुरा सिक्नुहुन्छ भने हामीहरुले पनि उहाँहरुबाट नयाँ कुराहरु सिकिरहेका छौँ, यसले यहाँ धेरै परिवर्तन हुँदै गएको छ ।’ गाउँलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न र महिलालाई व्यवसायसँग जोड्न चार वर्षपहिले ‘बेलढुङ्गा सामुदायिक होम–स्टे’ स्थापना गरेको अध्यक्ष गोपाल श्रीसले बताए । पर्यटकीय क्षेत्र बेलढुङ्गाको काखमा रहेको धम्जा ओखले गाउँ सम्भावना बोकेको ठाउँ हुँदा आफूहरु सक्रिय रुपमा लागेको श्रीसले बताए । ‘हाम्रो उद्देश्य गाउँलाई पर्यटकीय क्षेत्र बनाउने र महिला दिदीबहिनीको नेतृत्व विकास गरी व्यावसायिक बनाउने थियो, चार वर्षमा दिदीबहिनीमा निकै परिवर्तन आएको छ, होम–स्टे राम्रै चलेको छ’, अध्यक्ष श्रीसले भने, ‘पहिले उहाँहरु राम्रोसँग बोल्न सक्नु हुँदैनथ्यो, नेतृत्व विकास भएको थिएन, अहिले निकै ‘फर्वाड’ हुनुभएको छ ।’ गाउँको १२ घरमा घरबास सञ्चालनमा रहेको छ । हामेस्टे सञ्चालन गर्न हालसम्म १८ लाख अनुदान प्राप्त भएको छ । गण्डकी प्रदेश सरकारले सहयोग गरेको उक्त रकमबाट भान्साकोठा, शौचालय, सभा हल निर्माण गरिएको छ । ‘पाहुनाहरुको आगमन राम्रो छ, बर्खामा अलिकति समस्या भयो, गाउँ आउने बाटो कच्ची हुँदा बर्खाभरि गाडी चल्दैनन्, त्यसले गर्दा पाहुना भित्र्याउन सकिएन, यस वर्षको बर्खामा दुईजना विदेशी पर्यटकलाई १० दिन राखियो, अरू बाटोका कारण आउन सक्नु भएन’, उनले भने, ‘बाटो राम्रो भएको बाह्रै महिना यहाँ पाहुना आउन सक्नुहुन्थ्यो ।’ उनले घरबासमा आउने पाहुनलाई धम्जा ओखलेमा उत्पादन हुने कोदो, फापर र आलुबाट बनाइएका परिकार तथा स्थानीय कुखुरा, खसी बोका, गुन्द्रुक लगायतका स्वादिष्ट परिकार खुवाउने गरेको बताउँछन् । होमस्टे सञ्चालकले पाहुनालाई मनोरञ्जन दिन मौलिक सालैजो, ठाडो भाकालगायतका विभिन्न संस्कृतिको नाचसमेत देखाउने गरेको अध्यक्ष श्रीसको भनाइ छ । होमस्टे नजिकै म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय क्षेत्र बेलढुङ्गा रहेको हुँदा यहाँ घुम्न आउने पर्यटकले एक रात यहाँ बिताउने गरेको उनको भनाइ छ ।
अवस्था फेरिन नसकेको सिंहदरबार (फोटोफिचर)
फोहोर पोखरी । काठमाडौं । हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ । बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरु फेरिन सकेका छैनन् । न काम गर्ने शैली फेरिएको छ, न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ । वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरुको अझै पुनःनिर्माण राम्रोसँग सकिएको छैन । नेपालको इतिहास झल्काउने राजामहाराजाको फोटो, सालिक, मूर्तीहरु फालिएको अवस्थामा छन् । केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ । बगैचामा सुकेर मरेको धुपी । गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ । सिंहदरबार पुनर्निर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ । तर आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन सकेको छैन । सिंहदरबार भित्र जो कोही सर्वसाधारण जनता पस्न पाउँदैन । पावर र पास बिना सिंहदरबार छिर्ने कल्पनासमेत गर्न सकिँदैन । अधिकांश सर्वसाधारण जनताले सिंहदरबार कस्तो छ भन्नेकुरा पत्तै पाएका छैनन् । एक क्याण्टिन अगाडि राखिएको पुराना कागजात । प्रधानमन्त्री, मन्त्रीहरुको कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधासम्पन्न र नमूना होला भन्ने लाग्छ नै । तर सोचजस्तो छैन सिंहदरबार । त्यहाँ भित्रका दृश्यहरु अव्यवस्थित छन् । सडकको नजिक खाल्डो, फोहोरको थुप्रो, पोखरीहरुमा पोहोर, कुकुरका हुल जताततै देख्न सकिन्छ । नयाँ, पुराना सवारीसाधन त्यत्तिकै बेवारिसे फालिएको छ, कार्यालय वरपर झाडीले ढाकेको छ तर सफा गर्न कोही अघि सर्दैनन् । मन नै कटक्क खाने नयाँ र पुराना बहुमूल्य सवारीसाधनहरु त्यत्तिकै मिल्काइएको छ । यो बहुमूल्य सम्पदा जोगाउने एजेण्डा कोहीसँग छैन । पुराना सरसामान र गाडी । सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवालाहरु सिंहदरबारको मुटु जोगाउने एजेण्डामा बेखबर छन् । यसतर्फ कसैको ध्यान नजाने हो भने इतिहासको एउटा पाटो समाप्त हुनबाट कसैले रोक्नेछैन । गृह मन्त्रालयको पुरानो भवनअगाडिको सडक । फोटो स्रोत : न्युज एजेन्सी नेपाल ।
म्याग्दीको पुनहिलमा पर्यटकको भीड, होटल व्यवसायी उत्साहित
म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार बिदाको सदुपयोग गर्न निस्केका आन्तरिक पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन् । विद्यालय र कलेज तिहारसम्म बिदा हुने भएकाले विद्यार्थीलाई घुम्न निस्कने राम्रो समय पनि अहिले हो । निरन्तरको वर्षाका कारण रोकिएका पर्यटक मौसममा सुधार आएसँगै यस क्षेत्रको भ्रमणमा आउने अन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुनथालेको होटल व्यवसायीले बताएका छन् । विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीहरु उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले जानकारी दिए। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा पुनहिल रहेको छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । असोज महिनाको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताए। पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखैअगाडि देखिने हिमशृङ्खलाको अवलोकनका लागि पर्यटक पुग्ने अन्नपूर्ण गाउँपालिका–५ शिखका स्थानीयवासी सुरेन गुरुङले बताए। चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले जानकारी दिए। पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ । ‘दसैँसँगै प्रतिदिन तीन सय ५० जनासम्म विदेशी पर्यटक घोरेपानी भित्रिएको हाम्रो अभिलेख छ । धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबिसी) बाट फर्कने वा पोखराबाट घोरेपानी आएर घान्द्रुक वा एबिसीतिर जाने गरेका छन्’, प्रहरी सहायक निरीक्षक सन्तोष भुसालले बताए । घोरेपानीमा सानाठूला गरी ३० होटलमा चार सय शय्या छन् । अन्नपूर्ण फन्को मार्न र दसैँतिहारको छुट्टी मनाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेस्ट हाउस पनि खचाखच भएका हुन् ।
हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन्। देशका अन्य भेगमा भने केही दिन मौसम सफा रहनेछ । दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुन्दर रानीमहल हेर्दै कालीगण्डकीमा र्याफ्टिङ
पाल्पा । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङ को आनन्द लिए। ‘पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो’, पौडेल भन्छन्, ‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।’ तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गेचट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकहरु आकर्षित भएका हुन् । रानीमहलमा दैनिक दुई सयभन्दा वढी आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गर्ने गर्दछन् । जसमा दैनिक १५ देखि २० जनाले साहसिक जलयात्रा गर्दछन् । स्याङ्जा विर्घाकी १६ वर्षीय नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरे पनि साहसिक जलयात्रा भने गरेकी थिइनन्। उनी भन्छिन्, ‘मेरो घर नजिकै भएर पनि यहाँ (र्याफ्टिङ ) सुविधा छ, भन्ने थाहा थिएन ।’ चौथो पटक रानीमहल आउँदा अरू साथीहरुले जलयात्रा गरेको देखेर आफूले पनि यसको मज्जा लिएको उनी बताउँछिन् । तेजकुमारी एडभेन्चर प्रालिले रानीमहलदेखि रीडी (रुरु धाम) सम्म साहसिक जलयात्रा चलाएको छ । रानीमहल सेरोफेरो एक किलोमिटरमा पाँच सय र रुरुधामसम्म दुई हजार शुल्क तिरेर साहसिक जलयात्रा गराइएको सञ्चालक कृष्ण क्षेत्री बताउँछन्। जलयात्राका लागि दुईवटा बोट सञ्चालनमा छन् । सुरक्षालाई कायक, हेलमेट, लाइफ ज्याकेट र बीमाको व्यवस्था गरिएको छ । ‘र्याफ्टिङ भनेपछि पर्यटक डराउने गर्नुहुन्छ’, क्षेत्री भन्छन्, ‘सबैखाले सुरक्षा प्रबन्ध, पानीको बहाव अध्ययन गरेर मात्र खेलाइन्छ ।’ प्रेमको प्रतीक र नेपालको ताजमहल भनेर चिनिने रानीमहलमा उदाउँदो र अस्ताउँदो सूर्यसँगैको रानीमहल हेर्न पर्यटक आउँछन् । कालीगङ्गाको तटमा बसेर रानीमहललाई नियाल्दै, सांसारिक दुःख, कष्ट र सुर्तालाई भुल्न प्रेम गर्ने जोडीहरु यहाँ आउछन् । यहाँ सञ्चालित साहसिक जलयात्रालाई व्यवस्थित गर्न सीमाना जोडिएका तानसेन नगरपालिका, बगनासकाली र कालीगण्डकी गाउँपालिकाले दीर्घकालीन योजना बनाएका छन् । बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीका अनुसार रुरुधामदेखि रानीमहल र रानीमहलदेखि राम्दीसम्म साहसिक जलयात्रा सञ्चालन गर्ने योजना छ । अग्ला पहाडको खोँचबाट कालीगण्डकी नदी रानीमहलको आड भएर बहन्छ । उत्तरतर्फ बग्ने भएकाले यसलाई उत्तरवाहिनी नदीका नामले समेत चिनिन्छ । जिल्ला सदरमुकाम तानसेनबाट नजिक भएर पनि मोटरबाटोको असुविधाले आन्तरिक पर्यटकको रोजाइमा रानीमहल कम पर्ने गर्दथ्यो । पछिल्लो समय मोटरबाटोको स्तरोन्नतिले यातायात सहज भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो क्षेत्र पर्ने गरेको छ । पाल्पाको तानसेनमा प्याराग्याइडिङ र रिब्दीकोट–४ भैरवस्थानमा जिपलाइन जस्ता अन्य साहसिक खेल सञ्चालन हुँदै आएका छन् ।