विकासन्युज

हामा सहकारीले १ करोड रुपैयाँ कर्जा नतिर्ने ऋणीको धितो लिलाम गर्दै

काठमाडौं । हामा बहुउद्देश्यीय सहकारी संस्थाले कर्जा नतिर्ने ऋणीको धितो लिलाम गर्ने भएको छ । संस्थाको त्रिपुरेश्वर कार्यालयबाट ऋण लिएका सोम प्रसाद गौतमको धितो लिलाम गर्ने भएको हो । ऋणी गौतमले कात्तिक २० गतेसम्मको सावाँ, ब्याज, हर्जना समेत गरी कूल १ करोड ५१ हजार रुपैयाँ तिर्नुपर्ने संस्थाले जनाएको छ । ऋणीले ब्यक्तिगत कर्जा शीर्षक अन्तर्गत लिएको ऋण कर्जाको समय–समयमा तिर्नुपर्ने सावाँ ब्याज नतिरी नबुझाई ऋण कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लंघन गरेकाले धितो लिलाम गर्ने भएको हो । यसअघि संस्थाले गत बैशाखमा २६ गते ३५ दिने सूचना जारी ऋण कर्जा तिर्न अनुरोध गरेपनि वास्ता नगरेपछि धितो लिलाम गर्ने भएको हो । सहकारी ऐन २०७४ को परिच्छेद १४ को दफा ७९ मा व्यवस्था गरे अनुसार र सहकारी नियमावली २०७५ को परिच्छेद ८ को दफा ३० को उपदफा १ को खण्ड ख बमोजिम सुरक्षणमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गरिने हुँदा लिलाम डाँक बढावढमा बिक्री गर्ने भएको हो । ऋणीको नाममा रहेको मालपोत कार्यालय साँखुमा दर्ता रहेको का.जि. सनकोट ८ मा स्थित कित्ता नम्बर ४२६ को ०–८–३–० को जग्गा मंसिर २५ गते लिलाम हुने जनाएको छ ।

लघुवित्तका ३९ जना ऋणी कालोसूचीमा

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने सर्वसाधारण पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्न थालेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तहरूले केन्द्रको सदस्यता लिएर ऋण लगानीको सूचना आदानप्रदान गर्न थालेपछि केन्द्रले खराब ऋणीलाई कालोसूचीमा राख्न थालेको हो । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने व्यक्तिको कालोसूची प्रकाशित गर्दै आएको केन्द्रले २०७९ साउनदेखि लघुवित्तका ग्राहकको छुट्टै कालोसूची प्रकाशित गर्न थालेको छ । केन्द्रले प्रकाशित गरेको तथ्यांकअनुसार कात्तिक १८ गतेसम्ममा ३९ जना ऋणी कालोसूचीमा परेका छन् । त्यसमध्ये साउनमा १, भदौमा ४, असोजमा १५ र कात्तिकमा १९ जना कालोसूचीमा परेकोे केन्द्रले जानकारी दिएको छ । कालोसूचीमा परेका व्यक्तिले कुनै बैंक, वित्तीय संस्थाबाट ऋण पाउँदैनन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

दुई वर्षपछि निगम नाफामा, घट्ला त पेट्रोलियम पदार्थको मूल्य ?

काठमाडौं । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६) देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर १ देखि १५ सम्मको अवधिमा निगमलाई ३९ करोड रुपैयाँ नाफा भएको थियो । कात्तिक १५ गते (नोभेम्बर १)मा इन्धनको मूल्य बढेर आएकाले निगमको नाफा १५ दिनको अवधि (नोभेम्बर १ देखि १५ सम्म) मा घटेर १८ करोड रुपैयाँमा पुग्ने अनुमान छ । नाफा हुुँदा पनि बजारमा मूल्य नघटाउँदा उपभोक्ताले गुनासो गर्ने गरेका छन् । गत अगस्ट १६ (साउन ३१ देखि असोज १५ गते) अक्टोबर १ सम्म इन्धनको मूल्य घटेर आएको थियो । तीन पटक मूूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएन । मूल्य घटेर आए पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम नाफामा गएको हो । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि निगमले मूूल्य नघटाउँदा त्यसको मारमा उपभोक्ता परेको बताए । घाटा देखाएर मूल्य घटेर आउँदा मूूल्य नघटाउनुु उपभोक्ता हितविपरीत भएको उनको भनाइ छ । गत अक्टोबर १६ (असोज ३०)देखि इन्धनको मूूल्य बढेर आएको हो । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले नोभेम्बर १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटरमा पाँच रुपैयाँ ७६ पैसा, मट्टीतेल प्रतिलिटरमा चार रुपैयाँ एक पैसा, हवाई इन्धन चार रुपैयाँ ७७ पैसा, पेट्रोल प्रतिलिटर ६१ पैसा बढेर आएको छ । ग्यासमा प्रतिसिलिन्डर ५८ रुपैयाँ १० पैसा घटेर आएको निगमको जनाएको छ । निगमका अनुसार ग्यास प्रतिसिलिन्डरमा २२८ रुपैयाँ ८४ पैसा र डिजेल प्रतिलिटरमा १२ रुपैयाँ १४ पैसा घाटा छ । ग्यास र डिजेलबाहेक अन्य पेट्रोलियम पदार्थमा नाफा छ । पछिल्लो मूल्य सूची बढेर आए पनि निगम १५ दिनमा १८ करोड रुपैयाँ नाफामा छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा देखिएको, डलरसँग नेपाली मुद्रा कमजोर भएकाले हाललाई इन्धनको मूल्य घटाउन नसकिने जानकारी दिए । ‘अन्तर्राष्ट्रिय बजारमा मूूल्य घटेर आउँदा घटाउनुुपर्ने हो, तेल खरिद गरेबापतको रकम भुक्तानी गर्न बाँकी रहेकाले तत्काल मूूल्य घटाउन सकिएन,’ उपाध्यायले भने । सरकारले कर कटौती गर्ने भन्दै गत असार ११ गते पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ घटाएको मूल्य रिकभर नभएकाले घटाउन नसकिएको उहाँले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कुमारी बैंकको १२.५० प्रतिशत लाभांश आज पारित हुँदै

काठमाडौं । कुमारी बैंकको २२औं वार्षिक साधारण सभा आज कात्तिक २१ गते सोमबार हुँदैछ । बैंकको असोज ३० गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको थियो । सोही निर्णय अनुसार आज बैंकको साधारण सभा बस्ने भएको हो । बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्न लागेको हो । यस्तै, बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रक्रियामा रहेको यस बैंकले सभामार्फत मर्जरसम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तिायारी प्रदान गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १४ गते एक दिन बुक क्लोज गरेको थियो । मर्जर प्रयोजनार्थ असोज ११ गतेदेखि बैंकको सेयर कारोबार भने रोक्का रहेको छ । असोज १० गतेसम्म कारोबार भई नियमानुसार शेयर रजिष्ट्रारको कार्यालयमा प्राप्त सेयर नामसारीको लिखतको आधारमा कात्तिक १४ गतेसम्म शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

समीट लघुवित्तको नाफा र ईपीएस घट्यो, अरु सूचक कस्ता छन् ?

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५२.८१ प्रतिशत घटेर १ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.११ प्रतिशत घटेर ७ करोड ८० लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १८ प्रतिशत घटेर ११ करोड १६ लाख रुपैयाँ र सञ्चालन मुनाफा ५२.८१ प्रतिशत घटेर २ करोड ९४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.२९ प्रतिशत बढेर ४९ करोड ४० लाख रुपैयाँ, जगेडा कोष ३.७१ प्रतिशत बढेर २७ करोड १७ लाख रुपैयाँ, निक्षेप २३.९ प्रतिशत बढेर १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ, सापटी १७.६६ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ र कर्जा १९.२० प्रतिशत बढेर ५ अर्ब ८९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८७ पैसा घटेर १५ रुपैयाँ १ पैसामा सिमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ५०.९३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ०.३१ प्रतिशत घटेर २.२५ प्रतिशत रहेको छ ।

नेपाल पुनर्बीमा कम्पनी नवौं वर्षमा प्रवेश, एशियाको सशक्त पुनर्बीमक बनाउने

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज नवौं बार्षिकोत्सव मनाउने भएको छ । वि.स. २०७१ कार्तिक २१ गते स्थापना भइ औपचारिक कारोबार सुुरु गरेको कम्पनीले यस अवधिमा विभिन्न उचाइ चुम्न सफल भएको छ । कम्पनीले विश्वका ३० भन्दा बढी देशहरुमा व्यवसायिक सम्बन्ध स्थापित गरी विभिन्न पोलिसी मार्फत करोडौं रुपैयाँ प्रिमियम नेपाल भित्राउन सफल भएको छ । कम्पनीले आफ्नो नवौं बार्षिकोत्सवको अवसरमा कम्पनीलाई स्थापना कालदेखि आजको अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, बीमा समिति लगायत सबै नियामक निकायहरु, बीमा समितिका पूर्व तथा वर्तमान अध्यक्ष तथा संचालकहरु, स्वदेशी तथा विदेशी बीमा तथा पुनर्बीमा कम्पनी, पुनर्बीमा दलाल, आकस्मिक बीमा कोष स्थापनाकालदेखि आजसम्म संचालक समिति र विभिन्न समिति, उपसमितिलाई आभार प्रकट गरेको छ । साथै कम्पनीमा योगदान गर्ने ब्यक्ति, उच्च व्यवस्थापनमा रही योगदान गर्ने वर्तमान तथा पूर्व कर्मचारीहरु, एक्चुरी, सर्भेयर, अभिकर्ता, परमार्शदाताहरु, अनुसन्धानकर्ता, नीति निर्माता, लगायत बीमा क्षेत्रमा कार्यरत सबै प्रति आभार ब्यक्त गरेको छ । यस कम्पनीलाई एशिया प्रशान्त क्षेत्रको एक सशक्त पुनर्बीमकको स्थानमा पुर्याउने प्रतिवद्धता कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले गरेका छन् । कम्पनीको यस लक्ष्यलाई मूर्त रुप दिन सबैको सहयोग, सुझाव र सहकार्य चाहिने उनले बताए ।

एनआईसी एशिया लघुवित्तको नाफा ६८ प्रतिशत घट्यो, ईपीएस कति ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको छ । गत वर्षको तुलनामा लघुवित्तको नाफा ६८.१८ प्रतिशत घटेर ६ करोड ५७ लाख रुपैयाँ मात्र आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २० करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३१.९० प्रतिशत घटेर २९ करोड २ लाख रुपैयाmँ नेट फि तथा कमिशन आम्दानी ७०.०६ प्रतिशत घटेर ३ करोड ९६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४०.४१ प्रतिशत घटेर ३२ करोड ९८ लाख रुपैयाा र सञ्चालन नाफा ६८.१७ प्रतिशत घटेर ९ करोड ३९ लाख रुपैयाँ रहेको छ । लघुवित्तको ब्याज आम्दानी र नेट फि तथा कमिशन आम्दानी लगायतका सूचक घटेका कारण नाफामा असर परेको हो । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ, जगेडा कोष ५४.६८ प्रतिशत बढेर १ अर्ब ६६ करोड ८१ लख रुपैयाँ, सापटी १.८२ प्रतिशत घटेर १९ अर्ब २३ करोड ५२ लाख रुपैयाँ र कर्जा ०.६१ प्रतिशत बढेर २१ अर्ब ५५ करोढ ९८ लाख रुपैयाँ छ । लघुवित्तको नाफा घटेपछि प्रतिसेयर आम्दानी पनि घटेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३ पैसा घटेर १५ रुपैयाँ १३ पैसामा सिमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४७.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा २.२६ प्रतिशत बढेर ३.८१ प्रतिशत र बेस रेट १४.०६ प्रतिशत पुगेको छ ।

यही वर्ष आइपीओ जारी गर्ने तयारीमा नेपाल वेयरहाउजिंग कम्पनी

काठमाडाैं । नेपाल वेयरहाउजिंग कम्पनीले सर्वसाधारणकाे लागि यही आर्थिक वर्षमा आइपीओ जारी गर्ने भएकाे छ । कम्पनीकाे चौथो वार्षिक साधारण सभाले संस्थापकहरुबाट कूल पुँजीको ८० प्रतिशत बराबर ५५ करोड पुँजी पुर्याई २० प्रतिशत बराबारको १३ करोड ७५ लाख सर्वसाधरणका लागि यहि आर्थिक वर्ष भित्रमा जारी गर्ने निर्णय गरेकाे हाे । कम्पनीले साइलो प्रविधिबाट मकै, गौ, भटमास लगायत ५५ हजार मेट्रिक टन क्षमता बराबर भण्डारण सुबिधा, कृषी उपजहरुको बैज्ञानिक लिलाम व्यवस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुविधा तथा अनाज कन्टेनरको सेवा दिने जनाएकाे छ । कम्पनीले सुनसरी जिल्लाको औरबानी शाखा र कपिलबस्तु जिल्लाको चन्द्रौटा शाखामा १५००० मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५ हजार मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको छ । तिनवटै पारियोजानाको अनुमानित लागत १ अर्ब ५० करोड रहेकाेमा कम्पनीले बाँकी लगानी ५ वटा बैंकहरुबाट सहवित्तियकारणबाट जुटाएकाे छ । औरबानी शाखामा यही महिनाबाट भण्डारण सुरुवात गर्ने कम्पनीकाे योजना रहेकाे छ । साथै ६ महिनाभित्र अन्य दुई परियोजना मार्फत सेवा प्रदान गर्ने र लगत्तै कम्पनीले धानको विभिन्न शाखाहरुबाट लिलाम वडावडको सुरुवात गर्ने लक्ष्य समेत लिएको कम्पनीले जानकारी दिएकाे छ । यस कम्पनीको भारतको सबैभन्दा ठुलो भण्डारण सुविधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ । यस कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको छ ।