विकासन्युज

लगानीकर्तालाई सेयर धितो कर्जा पाउनै सकस, मार्जिन कलले बढ्यो तनाब

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्तालाई सेयरधितो कर्जा प्रवाह नगर्दा समस्या भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायम रहेका बेलामा लगानीकर्ताले ऋण पाउन नसकेका हुन् । जसको प्रत्यक्ष असर सेयर बजारमा परिरहेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव रहेकाले कर्जा दिन ठप्प पारेका छन् । गत वर्षदेखि तरलता अभावको समस्या खेपेका बैंकहरुले अहिले पनि सोही समस्याबाट ग्रसित भएका छन् । कर्जा नपाउने समस्याबाट ग्रसित भएका लगानीकर्ताहरुलाई यति बेला कर्जाको ब्याज बढेका कारण पनि तनाव सिर्जना गरेको छ । विगत डेढ वर्षदेखि ओरालो लागेको सेयर बजार माथि उक्लिने संकेत गरिरहेको छ । तर, लगानीकर्ताहरुमा लगानीयोग्य रकम अभाव रहेकाले बजारमा लगानी गर्नबाट बञ्चित छन् । बैंकहरुले कर्जा ठप्प पारेको र केही बैंकले सेयर धितो कर्जा दिएपनि लागत महँगो भएकाले लगानीकर्ता मर्कामा परेका हुन् । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा सेयर धितो कर्जा ३१.३२ प्रतिशतले घटेर ६० अर्ब ४० करोड ८० लाख रुपैयाँमा सीमित भएको हो । गत वर्षको भदौ महिनामा बैंकहरुले ८६ अर्ब ४२ करोड १० लाखरुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । यतिबेला बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर पनि उच्च रहेको छ । कर्जाको ब्याजदर बढेर १८ प्रतिशतसम्म पुगेको छ । नयाँ कर्जा पाउन गाह्रो परेको छ भने पुराना ऋणीहरुलाई लागत बढेर थेगिनसक्नु परेको लगानीकर्ताहरुले गुनासो गरेका छन् । जसले गर्दा यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पर्ने देखिएको छ । सेयर बजार बढ्ने संकेत गरेपनि बैंकहरुको ब्याजदर नघटेसम्म, सेयर धितोकर्जा सहज रुपमा प्रवाह नगरेसम्म सम्भव नदेखिने लगानीकर्ताको भनाइ छ । लगानीकर्ता कमला गिरी घटेको बजारमा सेयर धितो कर्जा लिने हिम्मत लगानीकर्तामा नहुने बताउँछिन् । अहिले बजारमा ब्याजर उच्च रहेकोले लगानीकर्तालाई दोहोरो मर्का पर्ने उनको भनाइ छ । अहिले निक्षेपमा १५ प्रतिशत ब्याज दिइरहेकाले लगानीकर्ताहरु घटेको बजारमा मार्जिन कर्जा नलिने उनले बताइन् । ‘बजार घटेको बेला लगानीकर्ताहरु सेयर धितो कर्जा लिन चाँहदैनन किनभने अहिले बजारमा ब्याजदर उच्च भएकाले लगानीकर्तामा हिम्मत हुँदैन, कर्जा लिएर पैसा कमाउन अहिले गाह्रो छ, बुल मार्केटमा सेयर कर्जा सेटलमेन्ट गर्न गाह्रो हुँदैन, घटेको बजारमा सेयर खरिद गर्यो भने घाटामा बिक्री गर्नुपर्ने हुन्छ, अहिले कर्जा लिन कसैले मानिरहेका छैनन्,’ उनले भनिन्, ‘अहिले बैंकहरुले निक्षेपमा १५ प्रतिशत ब्याज दिइरहेको छ भने लगानीकर्ताहरु किन घटेको बजारमा मार्जिन कर्जा लिन्छन् रु जति घट्दै जान्छ त्यति मार्जिन कल आउँछ, अनि आत्तिएर बिक्री गर्छन्, जसले झन् मार्केट डाउन हुन पुग्छ, ठूला लगानीकर्ताहरुले यस्तै अवस्था भोगेको हुनाले सेयर बजार १८ सय अंकमा झरेको हो ।’ लगानीकर्ता राधा पोखरेल बैंकहरुबाट सेयरधितो कर्जा पाउन गाह्रो भएको बताउँछिन् । ७/८ प्रतिशतमा लिएको कर्जाको ब्याज अहिले १६ प्रतिशत पुर्याउँदा पुराना ऋणीहरुलाई गाह्रो भएको उनको भनाइ छ । ‘बैंकहरुबाट सेयर धितो कर्जा पाउन सहज छैन, सेयर धितो कर्जा नै दिइरहेका छैनन्, पहिला ७/८ प्रतिशतमा लिएको कर्जाको ब्याज अहिले १६ प्रतिशत पुगेको छ, नयाँ कर्जाका लागि बैंकमा गयो भने पैसा छैन भनेर फर्काउँछ,’ उनले भनिन्, ‘पुरानो कर्जा पनि तिर्न भनेर अफ्ठ्यारो पारिरहेका छन्, सेयर बिक्री गरेर तिरौं भन्दा पनि अन्य आम्दानी पनि छैन, कर्जा नपाउँदा नै बजार घटेको हो ।’ लगानीकर्ता दिपेन्द्र अग्रवाल राष्ट्र बैंकले कडाइ गरेका कारण सेयर धितो कर्जा पाउन गाह्रो भएको बताउँछन् । साना लगानकर्तालाई सेयर कर्जा दिइरहेको भएपनि अब ठूला लगानीकर्तालाई पनि दिनु पर्ने उनको माग छ । ‘अहिले तरलताको अभाव भएकोले सेयर धितो कर्जा पाउन गाह्रो छ तर नपाउने भन्ने अवस्था भने छैन, मैले आफूले लिएको छैन, बैंकरहरुले अहिले बोलाएर कर्जा लिनु भनेको छैन, साना लगानीकर्तालाई २५ लाखसम्मको कर्जा दिए पनि ठूला लगानीकर्तालाई पनि सेयर नदिनुको विकल्प छैन, अरु ब्यापार नभएकाले ठूला लगानीकर्तालाई पनि बोलाएर कर्जा दिने बेला आइसकेको छ,’ उनले भने । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले बजारमा कर्जाको माग नै घटेको बताए । उनले बजारमा पैसाको मूल्य हिरा महँगो भएकाले बजारमा कर्जा लिन पटक–पटक चोटी सोच्नु पर्ने अवस्था आएको उनको भनाइ छ । ‘कर्जाको माग धेरै कम छ, आधारदर बढेपछि कर्जाको माग स्वतः घट्यो, सेयर कर्जा मात्रै होइन अन्य कर्जाको माग पनि घटेको छ, १७ प्रतिशतको ब्याजदरमा कर्जा लिएर लगानी गर्न गाह्रो छ, अहिले बजारमा कर्जा लिनलाई पटक–पटक सोच्नु पर्ने अवस्था छ,’ उनले भने, ‘ब्याजदर महँगो भयो भने बजारमा हिरा बेच्न त गाह्रो छ, अहिले पैसा हिरा जस्तै भएको छ, उच्च ब्याजमा कर्जा लिन आएका ग्राहक फर्किनु पर्ने अवस्था छैन, बैंकहरुले ८/९ प्रतिशतमा कर्जामा दिन सक्ने स्थिती छैन, त्यहि लागतमा कर्जा लिन्छु भनेर ग्राहक आयो भने बैंकहरु दिन सक्ने अवस्थामा छन् ।’ यस्तै, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुदेश खालिङ बैंकहरुले कर्जा प्रवाहलाई ठप्प राखेको बताउँछन् । एभरेष्ट बैंकले सेयर धितो कर्जा नदिएको उनले बताए । मर्जरमा गएका बैंकहरुलाई सीडी रेसियोमा छुट दिएका कारण उनीहरुले कर्जा दिने गरेको भएपनि अन्य बैंकहरुले भने कर्जा नदिएको उनको भनाइ छ । ‘एभरेष्ट बैंकको सेयर धितो कर्जा शुन्य छ, तलिक्वीडिटीको अवस्था हेर्दा टाइटमा छौं, मर्जरमा गएका बैंकहरुलाई २ वर्षलाई सीडी रेसियोमा छुट दिएका कारण त्यो मौकामा कर्जा दिएका हुन सक्छन्, मर्जरमा गएपछि २ वर्षसम्म सीडी रेसियोलाई मेन्टेन गर्नुपर्ने बाध्यता रहेन, ती बैंकसँग केही पैसा छ र दिने अवस्था रह्यो भने गरिरहेका हुन सक्छन्, त्यो बाहेक अन्य बैंकले कर्जा दिन सकेका छैनन्,’ उनले भने । अहिलेराष्ट्र बैंकले प्राथािकता प्राप्त क्षेत्रका रुपमा तोकेको क्षेत्रमा पनि कर्जा लगानीका लागि अपुग भइरहेकाले बैंकहरुले सेयर धितो कर्जामा जोड नदिएको उनले बताए । ‘कृषि कर्जा, हाइड्रो लगायतका क्षेत्रमा कर्जा दिन अपुग भइरहेको अवस्थामा सेयरमा दिने कुरा हुँदैन, बैंकलाई सधैं ब्यापार गर्न पाए हुन्थ्यो भन्ने लाग्छ, बैंकहरुको ब्याजदर महँगो भएका कारण पनि अहिले ब्यापार बढी हुने थियो तर अहिले हात बाँधेर बस्नु परेको अवस्था छ,’ उनले भने । बैंकहरुले कर्जा दिन नसक्ने अवस्था रहेको हुँदा माग पनि घटिरहेको उनले बताए । उनका अनुसार केही बैंकहरु अझैं पनि ब्याजदर बढाउनु पर्नेमा जोड दिइरहेका छन् । उनले भने, ‘यो अवस्था हेर्दा बैंकिङ क्षेत्र पूर्ण रुपमा सहज भएको छैन, यदि हुने छाँटकाँट देखिने हो भने बैंकहरु त्यति धेरै आँतुर हुन नपर्ने हो ।’ पुराना कर्जा लिएका ऋणीहरुलाई सिस्टमले नै सहज बनाउने उनको भनाइ छ ।

सडक निर्माण अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

खोटाङ । सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ । दिक्तेल–खोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा गर्दै अलपत्र छाडेपछि निर्माणस्थलमा राखिएको ढुकुछु–बगाले बिएनटी निर्माण कम्पनीको ती सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको हो । नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र वडा नं १ का वडाध्यक्ष नवराज राईले आइतबार स्काभेटर र ब्याक लोडरमा ताला लगाएका हुन् । दिक्तेलस्थित हस्पिटल चोकदेखि लफ्याङको दुबेचिवासम्मको प्याकेजमा ठेक्का लिएको निर्माण कम्पनीका ठेकेदार काम गर्दागर्दै छाडेर सम्पर्कविहीन भएका छन् । निर्माणाधीन सडक अलपत्र पारेर ठेकेदार भागेकाले वार्ता गर्न सहज होस् भन्ने उद्देश्यले निर्माण कम्पनीको स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको जनाइएको छ । विसं २०७९ पुस २० गतेभित्र सक्ने गरी रु पाँच करोड छ लाख ५५ हजार पाँच सय ९६ लागतमा विसं २०७८ जेठ २० गते सम्झौता भएको भएको थियो तर, कामै नसकी फिल्ड छाडेर गएपछि सडक निर्माण अलपत्र परेकाले स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको प्रवक्ता घिमिरेले बताए । सडक निर्माण अलपत्र छाडेर गएपछि निर्माण कम्पनीसँग सम्बद्ध व्यक्तिको खोजी गर्न र आवश्यक कारबाहीको प्रक्रिया बढाउन नगरप्रमुख तीर्थराज भट्टराई असोज २८ गते सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय हर्कपुरसमेत पुग्नुभएको थियो । त्यसपछि पनि गत कात्तिक ३ गते सम्बन्धित निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पत्रचार गरेको थियो । दुबेचिवा–साप्सुखोला प्याकेजको काम भने खर्चरै सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् ।  दुई करोड ९६ लाख ३७ हजार पाँच सय ८६ लागतमा विसं २०७९ माघ १५ गतेभित्र सक्ने गरी सगरमाथा सजिव आरएन जेवीले विसं २०७८ चैत २८ गते सम्झौता गरेको थियो । तोकिएको म्याद सकिनुभन्दा दुई महिनाअघिनै सक्ने गरी काम भइरहेको निर्माणमा संलग्न कृष्ण घिमिरेले बताएका छन् । अलपत्र सडक छिटो सम्पन्न गराउन ताकेता गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख इन्जिनियर अरुणदेवलाल कर्णले बताए । यसबाहेक भुते चिरोप्वइन्ट आयुर्वेद सडक स्तरोन्नति र हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडक स्तरोन्नति अलपत्र पार्ने लगलगे कन्ट्रक्सन चाबहिल, अल्छेढुङ्गा–नेर्पा–दोर्पा सडक स्तरोन्नति अलपत्र पार्ने उत्सव निर्माण सेवालाई काम गराउनुपर्ने भन्दै सघन सहरी तथा भवन निर्माण अयोजनालाई पत्राचार गरिएको नगरपालिकाले जनाएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने छेपेखोला पुलको जिम्मा लिने सगरमाथा–सजिव–आरएन जेभी पङ्खुखोला पुलको साप–सिरुवा जेभी र भालुखोला, मेवाखोला पुलसँग सम्बद्ध केएम इन्जिनियर विल्डर्सलाई समेत ताकेता गर्न पत्राचार गरिएको जनाइएको छ । प्रदेश १ सरकारको १२ करोड ७२ लाख ९२ हजार चार सय ३७ रुपैयाँको लागतमा निर्माणाधीन हुर्लुङ–जालपा सडक पनि अलपत्रै छ । चार महिनामा सक्ने गरी विसं। २०७८ भदौ ३१ गते रौताहा–सुसन आदित्य जेवी निर्माण कम्पनीले सम्झौता भएको थियो । दिक्तेल अल्छेढुङ्गा–नेर्पा–दुम्ली सडक स्तरोन्नति पनि निर्माण पनि अपूरै छ । ७७ लाख १६ हजार चार सय ४८ रुपैयाँको स्टीमेटमध्ये ४५ लाख १३ हजार नौ सय ६५ रुपैयाँँको लागतमा गत असार १६ गते सक्ने गरी विसं २०७८ फागुन २६ गते उत्सव निर्माण सेवा प्रालि पाँचथरले सम्झौता गरेको थियो । म्याद सकिँदासमेत काम भने ४० प्रतिशत मात्र सकिएको छ । लगलगे कन्ट्रक्सनले नै ठेक्का लिएको दिक्तेल हाटडाँडा–काफ्लेगाउँ–सडक पनि अलपत्रै छ । रु ८५ लाख नाँ हजार नौ सय ४० को योजना स्टीमेटमध्ये ४६ लाख २२ हजार रुपैयाँको लागतमा विसं २०७८ असारमा सक्ने गरी लगलगे कन्ट्रक्सन चाबहिल काठमाडौँले विसं २०७८ माघ २० गते सम्झौता गरेको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण थालिएको दिक्तेल–खानीडाँडा–आहाले सडक पनि अपूरै छ । विसं। २०७६ चैत ७ गतेसम्म काम सक्ने गरी याक्थुङहाङ–साप–सिरुवा जेभी निर्माण कम्पनीले विसं २०७५ असोज १ गते सम्झौता गरेको थियो । नगर क्षेत्रभित्र सञ्चालित योजनामा ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीका दायरामा ल्याउन खबरदारी गर्ने काम भइरहेको नगरप्रमुख भट्टराईले बताए । पन्ध्र वडा रहेको यस नगरपालिकामा ठेकेदार कम्पनीमार्फत निर्माणको काम सम्पन्न गरेर सञ्चालनमा ल्याइएका अधिकांश योजना गुणस्तरहीन रहेको स्थानीयवासीले आरोप लगाएका छन् । रासस

कर्णालीमा मनसुनजन्य विपदबाट ४९ को मृत्यु, २५ बेपत्ता

कर्णाली । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मृत्यु जुम्ला र मुगुमा रहेको जानकारी दिए । ‘असोज अन्तिम साताको अविरल वर्षाबाट जुम्ला र मुगुमा दश/दश, कालीकोटमा नौ, हुम्लामा आठ, डोल्पामा दुई र दैलेखमा एक गरी ४१ व्यक्तिको मृत्यु भएको थियो’, उनले भने, ‘विपद्का कारण बेपत्ता हुनेको सङ्ख्या कालीकोटमा मात्रै १८ पुगेको छ ।’ त्यस्तै, दैलेखमा तीन, जुम्ला, हुम्ला, डोल्पा र रुकुमपश्चिममा एक/एक गरी २५ व्यक्ति बेपत्ता भएको उनले बताए । चालु आव ०७९/०८० को साउन, भदौ र असोज महिनामा विपद्बाट सुर्खेतमा कुनै मानवीय क्षति भएको छैन । यसबाट कर्णाली प्रदेशभर घाइते ७४ भएको जनाइएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार २० हजार सात सय ९४ परिवार विस्थापित भएका छन् । त्यसमा सात हजार चार सय १८ कालीकोट र पाँच हजार दुई सय ८२ जना मुगुकै मात्र छन् । त्यस्तै, तीन हजार दुई सय ८६ हुम्ला, जुम्लामा एक हजार नौ सय ५२, दैलेख एक हजार छ सय २०, सल्यान छ सय चार र सुर्खेतमा पाँच सय ६६, डोल्पा ३२, जाजरकोट र रुकुमपश्चिम १७/१७ परिवार विस्थापित भएको सम्पर्क व्यक्ति रोकायले जनाए । उनका अनुसार विपद्बाट कर्णालीमा हालसम्म दुई हजार दुई सय ५९ घर पूर्ण र दुई हजार छ सय ८४ घर आंशिक क्षति भएका छन् । कर्णालीमा सडक दुर्घटनाबाट ३३, चट्याङबाट एक र हिमपात चिसोबाट दुई व्यक्तिको मृत्यु भएको बताइएको छ । विपद् पूर्वतयारी र प्रतिकार्य योजनाका कारण असोज घटनामा खोज तथा उद्धारकार्यमा सहयोग पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए । ‘विपद्को समयमा एक सय २८ मान्छेको उद्धार गरिएको थियो’, सचिव भुसालले भने, ‘खासमा पछि गएर राहत वितरण गर्नेभन्दा पूर्वतयारीकै काम गर्नु बुद्धिमानी रहेछ ।’ विपद् कुनै पनि बेला हुनसक्ने जनाउँदै उनले स्थानीय आपत्कालीन कार्यसञ्चालन समितिलाई बलियो र क्रियाशील बनाउनतर्फ सबै विकास साझेदार र सरोकारवालाले ध्यान दिनुपर्ने बताए । रासस

ग्लोबल आइएमई लघुवित्तको नाफासँगै ईपीएस घट्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५८.१५ प्रतिशत घटेर २ करोड ६७ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.८३ प्रतिशत घटेर १३ करोड ६८ लाख रुपैयाँ, नेट फि तथा कमिशन आम्दानी ४१.०७ प्रतिशत घटेर २ करोड ६८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १९.९१ प्रतिशत घटेर १६ करोड ३७ लाख रुपैयाँ र सञ्चालन मुनाफा ५८ प्रतिशत घटेर ३ करोड ८३ लाख रुपैयाँमा सिमित भएको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ५५ करोड २५ लाख रुपैयाँ, जगेडा कोष ५.११ प्रतिशत बढेर ५४ करोड ८२ लाख रुपैयाँ, निक्षेप ३.२८ प्रतिशत बढेर ३ अर्ब ५ करोड ८२ लाख रुपैयाँ र कर्जा १.९० प्रतिशत बढेर ८ अर्ब ४८ करोड १० लाख रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७६ पैसा घटेर १९ रुपैयाँ ३६ पैसामा सिमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ६०.१८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २२ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा २.७३ प्रतिशत र बेस रेट १३.२५ प्रतिशत रहेको छ ।

अजोड इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

काठमाडौं । अजोड इन्स्योरेन्सले आफ्नो विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले मंसिर ९ गते शुक्रबार लैनचौर काठमांडौमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको हो । कम्पनीको सभाले अजोड इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्ससंग मर्जरमा जाने प्रस्तावलाई पारित गर्नेछ । यस्तै, सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ मंसिर २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनी मर्जर प्रक्रियामा भएकाले दोस्रो बजारमा कम्पनीको सेयर कारोबार साउन १ गतेदेखि रोक्का छ । त्यसैले असार ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् ।

समयमै कैलालीका विद्यालयको सामाजिक परीक्षण गर्ने न्यून

कैलाली । कैलालीका अधिकांश सामुदायिक विद्यालय समयमै सामाजिक परीक्षण गर्दैनन् । हरेक सामुदायिक विद्यालयले तोकेको समयमै सामाजिक परीक्षण गर्नुपर्ने भए पनि सङ्ख्यात्मकरुपमा कमै विद्यालयले समयमै गर्ने गरेका छन् । शिक्षा नियमावलीअनुसार भदौ मसान्तसम्म विद्यालयले सामाजिक परीक्षण प्रतिवेदन सरोकारवाला सामु सार्वजनिक गर्नुपर्ने हो । केही विद्यालयले पहिले गरे पनि अधिकांश विद्यालय भनेआज भोलि गरिरहेका छन् । दशैं तिहार विदाका कारण केही ढिलो हुन गएको शिक्षा शाखाले जनाएको छ । गतकात्तिक मसान्तसम्म पनि सार्वजनिक सुनुवाइको प्रतिवेदन पेश नगरे सेवा सुविधा कटौती हुने प्रावधान रहेको छ । यस वर्ष हालसम्म टीकापुर नगरपालिकाअन्तर्गतका ३३ वटा सामुदायिक विद्यालयमध्ये तीन वटा विद्यालयले मात्र सामाजिक परीक्षण गरेका छन् । तीस वटा विद्यालयले अझै सामाजिक परीक्षण कार्यक्रम नगरेको टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले जानकारी दिए । ‘अहिलेसम्म तीन विद्यालयले सामाजिक परीक्षण सकेका छन्, हामीले कात्तिक मसान्तसम्म सक्न भनेका छौँ’, उनले भने, ‘समयमै गरिएन भने सामाजिक परीक्षणबापत आउने अनुदान रोकिन्छ ।’ कैलालीको जानकी गाउँपालिकाका अधिकांश विद्यालयले सामाजिक परीक्षण कार्यक्रम गरिसकेका पालिकाले जनाएको छ । ‘थोरै विद्यालयले मात्र कार्यक्रम गर्न बाँकी छ । कात्तिक मसान्तसम्म बाँकी विद्यालयले पनि गरिसक्नुपर्नेछ’, शिक्षा अधिकृत धर्मानन्द कपाडीले भने, ‘यदि कात्तिक मसान्तसम्म पनि सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गर्न नसके तलब निकासा रोक्का गर्ने प्रावधान छ । भदौ मसान्तसम्म गर्ने प्रावधान छ तर हामीले कात्तिक मसान्तसम्म सक्न निर्देशन दिएका छौँ ।’ उनका अनुसार १३ विद्यालयले सार्वजनिक भेला गरिसकेका छन् । एक्काइस विद्यालयले सामाजिक परीक्षण गरिसकेका तर भेला गर्न बाँकी छ । जोशीपुर गाउँपालिकामा अधिकांश विद्यालयले सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिसकेका पालिकाको भनाइ छ । गाउँपालिकामा २३ सामुदायिक विद्यालय रहेकामा करिब ७० प्रतिशत विद्यालयले सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिसकेको र बाँकी विद्यालय पनि तयारी अवस्थामा रहेको जोशीपुर गाउपालिका शिक्षा शाखा अधिकृत सङ्ग्रामसिंह धामीले जानकारी दिए । ‘तेइसमध्ये ७० प्रतिशतले गरेका छन् । बाँकीलाई ताकेता गरेका छौँ, अब गर्छन्’, उनले भने, ‘दशैं तिहार बिदाका कारण समयमै गर्न ढिलाइ भएको छ । अब सक्छन् ।’ यस्तै कैलालीको लम्कीचुहा नगरपालिकामा ४६ सामुदायिक विद्यालयमध्ये जम्मा १६ वटा विद्यालयले मात्रसामाजिक परीक्षण सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेका छन् । बाँकी विद्यालयले सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा रहेको लम्कीचुहा नगरपालिका शिक्षा शाखा प्रमुख गौरीकान्त न्यौपानेले जानकारी दिए । कैलाली जिल्लामा जम्मा पाँच सय ६५ विद्यालय छन् । जिल्लामा रहेका यी सामुदायिक विद्यालयले मापदण्डअनुसार सामाजिक परीक्षण गर्नुपर्छ । अधिकांश विद्यालयले सामान्यरुपमा सामाजिक परीक्षण गर्छन् । परीक्षण गर्नुपर्ने वाध्यताले गर्ने गरेका अभिभावकको गुनासो छ । ‘अभिभावक भेला गरी सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्छ, जसले विद्यालयको अवस्था थाहा हुन्छ, विद्यालयको आवश्यकता, समस्या र समाधानको खोजी भेलाबाटै गर्न सकिन्छ’, अभिभावक लक्ष्मी थापा भन्छन्, ‘भेला अर्थपूर्ण हुनुपर्छ । सबै सरोकारवाला बोलाएर गर्ने विद्यालय निकै कम छन् । कार्यक्रमका लागि कार्यक्रम मात्र गर्नु भने हुँदैन ।’ अभिभावक परीक्षण, भेला जस्ता कार्यले शैक्षिक सुधार र शैक्षिक गुणस्तर वृद्धिमा सघाउ पुग्ने बताउँछन् । ‘विद्यालयमात्र होइन बालबालिकाको अवस्थासमेत थाहा हुन्छ’, अभिभावक रत्ना धामीले भने, ‘जसले सबैलाई जिम्मेवार बनाउँछ ।’ सामुदायिक विद्यालयले यसरी सामाजिक परीक्षणलगायतका कार्य गरे पनि निजी विद्यालयको हकमा भने यस्तो ब्यवस्था लागू भएको देखिँदैन । निजी विद्यालयले पनि सामाजिक परीक्षण, भेलालगायतका कार्य गरी विद्यालयको शैक्षिक र अन्य अवस्थाबारे जानकारी दिन पालिकाले कडाइ गर्न आवश्यक रहेको अभिभावकको भनाइ छ । रासस

१० करोड लागतमा बन्यो रेसुङ्गाको तीनमुखे झोलुङ्गे पुल 

रेसुङ्गा । नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोडेको यस क्षेत्रमा स्थानीय सानै कामका लागि पनि एकअर्काको जिल्लामा आवतजावत गर्नुपर्दछ । आफूहरू डुङ्गामा निकै जोखिम मोलेर आवतजावत गरेको सम्झनुहुन्छ स्याङ्जाका स्थानीय अमरप्र्रसाद कोइराला । उमेरले ७५ वर्ष पुगेका उनको स्थानीय बजार गुल्मीको रिडी हो । जहाँ सयौँ पटक ज्यान जोखिममा राखेर कालीगण्डकी नदीमाथि डुङ्गामा यात्रा गरेको सम्झना भइरहेको उहाँले बताए तर, अहिले उनी एक झोलुङ्गे पुलको भरमा निकै सहज यात्रा गर्छन् । झोलुङ्गे पुलको कारणले जोखिमपूर्ण यात्रा हटेको कोइरालाले बताए । ‘केही वर्ष पहिले हामी डुङ्गामा जोखिमपूर्ण यात्रा गरेर आवतजावत गर्नुपर्ने अवस्था थियो ।’ स्याङ्जाका स्थानीय कोइरालाले भने, ‘तीनमुखे झोलुङ्गे पुलले अहिले हामी स्थानीयलाई निकै राहात पुगेको छ ।’ उनी गुल्मी मात्र नभई पाल्पा जान पनि एउटै पुलले राहत दिलाएको छ । यसको कारण तीन जिल्ला जोडेको तीनमुखे पुल हो । उनले तीनमुखे पुलका कारण रिडीको आर्थिक उपार्जनमा सहयोग पुग्ने पनि बताए । दशैं र तिहार तीनमुखे पुल अवलोकन गर्ने बढेको उनले सुनाए । त्यस्तै, गुल्मीका बलबहादुर दरौजाले तीनमुखे पुलका कारण आवतजावतमा निकै सहज र आन्तरिक पर्यटकको घुइँचो लागिरहेको जानकारी दिनुभयो । तीनमुखे नमूना पुलले धेरै राहात गुल्मेलीलाई मिलेको र तीन जिल्लाको सम्बन्ध तीन नदी मिसिएको जस्तै भएको उनले बताएका छन् । उनले पाल्पा र स्याङ्जा जान रिडीवासीलाई निकै सहज भएको पनि बताए । साथै पाल्पाका स्थानीय सोनी गैरेले पुलका कारण तिन जिल्लाको आवतजावत झनै नजिकिएको सुनाइन् । ‘सबै ठाउँमा दुई जिल्ला जोड्ने मात्र पुल देखेकी थिएँ ।’ उनले भनिन्, ‘तीन जिल्ला जोडेको चीनमुखे पुलले धेरै पर्यटक आर्कषण गर्न सक्छ ।’ उनले नमूना पुलको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्न पनि सरोकारवाला निकायालाई आग्रह गरिन् । उनले बजारको लागि रिडी जान र स्याङ्जाको आवतजावतमा आफूहरूलाई सहजता भएको बताइन् । तीनमुखे झोलुङ्गे पुलले गुल्मीको रूरूक्षेत्र गाउँपालिका–१ रिडी, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ जोडेको छ । यसले तीन जिल्लाअन्तर्गत यस क्षेत्रका स्थानीयवासीको आवतजावतमा निकै सहजता ल्याएको छ भने पर्यटकीय सम्भावना पनि बोकेको छ । झोलुङ्गे पुलको शिलान्यास १५ मङ्सिर २०७१ मा तत्कालीन संविधानसभा सदस्य कांग्रेसका युवा नेता डा चन्द्र भण्डारीले गर्नुभएको थियो । तीन जिल्ला जोड्ने तीनमुखे पुलको परिकल्पना भने तत्कालीन मुख्यसचिव लिलामणि पौडेलले गरेका हुन् । पुल एसिया महादेशको पहिलो तीनमुखे झोलुङ्गे पुल भएको कांग्रेस नेता डा भण्डारीले बताए । पुल मङ्सिर २०७१ बाट निर्माण सुरू भएको थियो । झण्डै १० करोड लागतले आठ वर्षको समयावधिमा निर्माण सम्पन्न भएको उक्त पुल गत वैशाखमा निर्माण सम्पन्न भएको थियो । यसको उद्घाटन भने हुन बाँकी छ । ‘निर्माणको काम सुरू गरेको आठ वर्षमा हामीले तीनमुखे पुलको निर्माण गत वैशाखमा सकेका छौँ ।’ निर्माण व्यवसायी बर्माले भने, ‘अब स्थानीय तह, प्रदेश र केन्द्र सरकारले समन्वय गरेर उद्घाटन गर्ने दिनको प्रतीक्षा गरेका छौँ ।’ उनले बर्खाको समयमा कालीगण्डकी नदीमा आउने बाढी, आर्थिक अभाव र कोरोना महामारीका कारण पुल निर्माणमा लामो समय लागेको पनि बताए। झोलुङ्गे पुलको लागि तीन जिल्लामा जान कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको स्तम्भ निर्माण गरिएको छ । पुलमा २५ मिटर उचाइको भ्युटावर रहेको छ । बीचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनैतर्फ एक सय ७७ मिटर लामो झोलुङ्गे पुलको निर्माण भएको छ । झोलुङ्गे पुल बन्ने कामले सार्थकता पाएपछि स्थानीय निकै उत्साहित बनेका छन् । पुल निर्माणको जिम्मा पाएको नयाँ बाटो रुविना मना जेभी कम्पनीले तीन जिल्ला जोड्ने तीनमुखे नमूना पुल कूल नौ करोड ८८ रुपैयाँ लागतमा निर्माण सकेको उनले जानकारी दिए । तीन जिल्लामध्येका तीन स्थानीय तहहरू गुल्मीको रूरूक्षेत्र गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समन्वय गरेर उद्घाटन गर्ने गुल्मीको रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । ‘तीनमुखे नमूना पुलको निर्माण केही समयअघि मात्र सकिएको छ ।’ गाउँपालिका अध्यक्ष ज्ञवालीले भने, ‘विभागसँग समन्वय गरेर हामी तीन स्थानीय तहहरूको सल्लाहमा निर्वाचनपछि उद्घाटनको तयारीमा छौँ ।’ नमूना तीनमुखे पुलको उद्घाटन र अझै व्यवस्थित बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित हुने गरेर काम गर्ने गाउँपालिका अध्यक्ष ज्ञवालीले बताए । स्थानीयमा अभाव खड्किएको पुल उद्घाटनपछि अझै व्यवस्थित बन्ने पनि उनले बताए । कफी सपको तयारी आफूहरूको पहलमा बनेको एसियाको नमूना तीनमुखे पुलमा कफी सप बनाउने तयारी रहेको पुलका पहलकर्ता कांग्रेस नेता डा चन्द्र भण्डारीले बताए । ‘दीर्घकालीन समयको लागि पर्यटक आर्कषक गरिरहने सोचमा एसिया महादेशमा पहिलोपटक हामीले नमूना तीनमुखे पुल बनाएका छौँ ।’ उनले भने, ‘नमूना पुललाई अझै नमूना बनाउने सोचले इन्जिनियरको समूहसहित पुलमा हुने सम्भावित सम्भावनालाई खोजेका हौँ ।’ उनले पुल निर्माणपछि अझै गर्न सकिने कामको सम्बन्धमा इन्जिनियर्स एशोसिएशन अफ नेपालका अध्यक्ष हरि दर्लामी नेतृत्वको नौ जनाको समूहलाई अध्ययन तथा अनुगमन गराएका हुन् । तीन जिल्ला जोड्न बनाइएको कालीगण्डकी नदीको बीचमा रहेको स्तम्भ छ तलाको रहेको छ । छ तलालाई चारैतिरबाट सिसा लगाएर सुन्दर घर बनाउन सकिने इन्जिनियरको निष्कर्ष रहेको डा भण्डारीले बताए । सुन्दर घरभित्र कफी सप बनाउने योजना अगाडि बढाउने तयारीमा आफूहरू लागेको उनको भनाइ छ । इन्जिनियरसहितको प्रारम्भिक अध्ययनमा कफी सप बनाउन सकिने र त्यसमा लिफ्टसमेत राख्न सकेमा नमूना तीनमुखे पुल अझै नमूना बनाउन सकिने देखिएको छ । नेता डा भण्डारी अहिले प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा छन् । उनले एउटा झोलुङ्गे पुलको मात्र नभई सिङ्गो विकासमा गुल्मीलाई नमूनाको रूपमा कांग्रेसबाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवार रहेको बताएका छन् । उनीसँग नेकपा एमालेको तर्फबाट उपमहासचिव प्रदीपकुमार ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् ।

युवा भन्छन् : भोट हालेर काम खोज्दै विदेश जान नपरोस्

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीका सुशान्त पोख्रेल मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलोपटक मतदान गर्ने तयारीमा छन्। मतदानको दिन नजिक आउँदा उम्मेदवारका प्रतिबद्धता विभिन्न देखेका उनलाई युवा विदेश पलायन रोक्ने योजना भइदिए हुन्थ्यो भन्ने लागेको छ । दैनिक सयौँ युवा विदेश पलायन भइरहेका छन् युवालाई स्वदेशमै राख्ने खालको वातावरण बनिदिए हुने थियो उनले भने । ‘मजस्तै धेरै युवा विदेश पलाएन भइरहेका छन्, स्वदेशमा रोजगारीको अवसर भए सायद विदेश जाने थिएनन् होला, राजनीतिक दलले युवालाई देशमै राख्ने वातावरण बनाए हुने थियो’, उनले भने, ‘पहिलोपटक भोट दिने तयारीमा छु, आशा छ जित्नेले युवाका विषयमा केही सोचून्, भोट दिएपछि कामका लागि विदेश जान नपरोस् ।’ राजनीतिक दलहरूले विकासका योजनाअघि सारे रोजगारीका अवसरसमेत सँगै आउने हुँदा यसतर्फ ध्यान दिनुपर्ने पहिलोपटक मत दिन तयार हुप्सेकोट–४, शङ्खदेवका युवा दिलीप चापागाईंको भनाइ छ । ‘रोजगारमूलक योजनाअघि सारी युवालाई उत्पादनमा प्रयोग गर्नसके देशको विकास पनि हुने थियो, युवा रोजगारमा जोडिने थिए’, उनले भने, ‘बजेटको उचित सदुपयोग हुने खालका काम भइदिए हुन्थ्यो भन्ने लाग्छ ।’ ‘मेरो भोटले युवालाई उद्यमशीलतासँग जोड्ने सुनिश्चिता गरोस्, विदेशका खाडीमा पसिना बगाएका स्वदेशमै फर्किएर श्रम गर्ने वातावरण तयार होस् भन्ने लागेको छ’, पहिलोपटक मत दिन तयार कावासोती–६, कि मनिषा पौडेलले भनिन्, ‘स्वदेशमै अवसर छन्, देश विकासको गतिमा छ, सुशासन कायम छ भन्ने बनोस् । ‘राजनीतिक दलले युवाका लागि विस्तृत योजना ल्याउन भने नसकेको उनको धारणा छ । ‘रोजगार सिर्जना गर्ने, युवालाई उत्पादनमा जोड्ने भन्ने प्रतिबद्धता त देखिन्छ तर त्यसको लागि के गर्ने, कस्ता कार्यक्रमले युवालाई जोड्ने भन्ने कमै हुन्छन्, स्पष्ट योजना आवश्यक छ’, उनले भनिन् । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिकसमेत गरिरहेका छन् । उम्मेदवारले जिल्लामा औद्योगिक क्षेत्रको स्थापना जोड दिँदै युवालाई रोजगारसँग जोड्ने बताउँदै आएका छन् । कृषि उत्पादनमा युवालाई जोड्ने कतिपय उम्मेदवारले बताइरहँदा स्पष्ट खाका नहुँदा चुनावी नारा मात्रै हो कि भन्ने आशङ्का लागेको स्थानीय युवा राम भुसालले बताए । आठ पालिका र ९२ वडा रहेको नवलपुरमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । कूल मतदातामध्ये पुरुष एक लाख २४ हजार तीन सय ३६, महिला एक लाख ३६ हजार एक सय २१ र अन्य चार जना रहेका छन् । निर्वाचन क्षेत्रअनुसार प्रतिनिधिसभा–१, मा एक लाख ३१ हजार एक सय ८१ र दुईतर्फ एक लाख २९ हजार दुई सय ८० मतदाता रहेका छन् । वैशाखमा सम्पन्न निर्वाचनपछि नवलपुरमा पाँच हजार आठ सय ४६ नयाँ मतदाता थपिएका छन् । यसमा केही बसाइँसराइपछि आएका छन् । कतिपय नयाँ मतदाताका रुपमा युवा थपिएका छन् । युवाको चाहना युवालाई रोजगारसँग जोड्नुपर्ने रहेका छन् ।