विकासन्युज

एक सातामा ३०० जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । पछिल्लो एक सातामा तीन सय जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ सङ्क्रमित थपिएको हो । योसँगै देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या ४७ हजार ६८ पुगेको छ । कात्तिक महिनाको सुरुमै सङ्क्रमितको सङ्ख्या घटे पनि डेङ्गुको उच्च जोखिम मङ्सिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ । २८ जना कोरोना सङ्क्रमित आज कोभिड–१९ को २८ जनामा सङ्क्रमित थपिएको छ । देशभर गरिएको एक हजार आठ सय ७९ नमूना परीक्षणमा २८ जना सङ्क्रमित भेटिएका हुन । आज निको हुने बिरामीको सङ्ख्या १८ जना रहेको छ । योसँगै देशभर सङ्क्रमणबाट निको हुने बिरामीको नौ लाख ८८ हजार एक सय ४५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७० छन् । अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १९ रहेको छ । रासस

यी हुन् लाभांश घोषणा गर्ने ९ बैंक, कुनको कति ?

काठमाडौं । आइतबर एभरेष्ट बैंकको सेयर लाभांश घोषणा भएसँगै लाभांश घोषणा गर्ने बैंकको संख्या ९ पुगेको छ । कात्तिक २० गतेसम्ममा लाभांश घोषणा गर्नेमा एक पूर्वाधार बैंकसहित ८ वटा वाणिज्य बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । स्ट्याण्डर्ड चार्टर्ड, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, ग्लोबल आइएमई, कुमारी, एनसीसी, सानिमा र नेपाल इन्फ्रास्ट्रकचर बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश वितरण गर्ने प्रकृया अघि बढाएका हुन् जसमा सिटिजन्स बैंकको भने पारित भइसकेको छ । हालसम्म लाभांश घोषणा गर्नमा अफ काठमाण्डू सबैभन्दा धेरै लाभांश घोषणा गर्ने बैंकमा परेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश २०.९५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यद्यपि यो लाभांश गत वर्षकोभन्दा कम हो । बैंकले गत वर्ष १२.५ प्रतिशत बोनश सेयर र १२.५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश घोषणा गरको थियो । बढी लाभांश घोषणा गर्ने दोस्रो बैंकमा एभरेष्ट बैंक देखिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको शुक्रबार, कात्तिक १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सर्वाधिक लाभांश घोषणा गर्ने बैंकको तेश्रो स्थानमा स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको यो लाभांश दुई वर्ष यताकै उच्च हो । बैंकले यसअघि १० प्रतिशत बोनश सेयर र ३.६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, चौथो स्थानमा ग्लोबल आइएमई बैंक छ । यस बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३।६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (३ प्रतिशत बोनस सेयर र करसहित १०.६ प्रतिशत नगद लाभांश) घोषणा गरेको हो । सर्वाधिक लाभांश घोषणा गर्ने पाँचाैं बैंकमा कुमारी रहेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले कार्त्तिक २१ गते साधारण सभा बोलाएको छ । यस्तै, एनसीसी बैंकले पनि हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो । सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो जुन बैंकको १६ औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि आफ्ना सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर १० गते शनिबार काठमाडौं अनुपम फुडल्यान्ड काठमाडौंमा बिहान ९ बजे साधारण सभा बोलाएको छ । सभाले ४.२१०५ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्दै छ ।

सीजीले ल्यायो साढे ४२ लाख पर्ने ईभी भ्यान, बुकिङ खुला

काठमाडौं । चौधरी ग्रुपको सीजी मोटर्सले नेपालमा नयाँ इलेक्ट्रिकल भेइकल (भ्यान) सार्वजनिक गरेको छ । कम्पनीले भी फाइभ ईभीको मिनि भ्यान नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले उक्त भ्यानको बुकिङ पनि खुला गरेको जनाएको छ । कम्पनीले उक्त मिनि भ्यानको मूल्य ४२ लाख ५० हजार रुपैयाँ तोकेको छ । कम्पनीले सार्वजनिक गरेको भ्यानमा ११ सिट रहेका छन् भने भ्यानको १७९ एमएम ग्राउण्ड क्लियरेन्स छ । सो भ्यानले ३ सय किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । उक्त भ्यान खरिद गर्न सीजी मोटर्स सोरुम बिशालनगर नक्सालमा सम्पर्क गर्नुपर्ने बताएको छ ।

मिसेलिन टायरको नयाँ सोरुम विरगंजमा

काठमाडाैं । मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्टसले उक्त ब्राण्डको नयाँ सोरुम विरगंजको बाईपास रोडमा स्थापना गरेको छ । जयमा दुर्गा टायर हाउस नामक उक्त सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले एक कार्यक्रमबीच गरेका छन् । ग्राहकवर्ग एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा सोरूमका संचालक मदन प्रसाद यादवलाई विक्रेता नियुक्ति सम्बन्धि प्रमाणपत्र वितरण गरिएको थियो । साथै सोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निः शुल्क प्रदान गरिएको छ । जयमा दुर्गा टायर हाउसमा कमर्सिअल (ट्रक, टिपर, बस आदि ) र पेसेन्जर (इभी, एसयुभी आदि ) गाडीहरुको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ । मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्राण्डको रुपमा परिचित छ ।

‘नो नट अगेन’ अभियन्तालाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडाैं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आईतवार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए । गत कार्तिक ८ गते निर्वाचन आयोगले विभिन्न दलका शीर्ष नेताको फोटो राखेर ‘नो, नट अगेन’ को प्रचार रोक्न निर्देशन दिँदै तत्काल पोस्ट हटाउन, फेसबुक पेज बन्द गर्न चेतावनी दिएको थियो । साथै आयोगले तत्काल पोस्ट नहटाए विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत ५ वर्ष कैद र १ लाख रुपैयाँ जरिबाना हुनसक्ने बताएको थियो । निर्वाचन आयोगको कदम असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ‘नो, नट अगेन’ अभियान चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनबिरूद्ध सर्वोच्च अदालतमा गत कार्तिक १४ गते रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई गर्दै अदालतले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको बताए । उनले निर्वाचन आयोगको कदमले आम मानिसमा आतंक पैदा भएको बताए । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानकोविरुद्धमा सूचना जारी गर्नु नागरिकको लोकतान्त्रिक अधिकारको स्वतन्त्रतालाई निषेध गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षतालाई कुण्ठित गर्नु रहेको बताए । वरिष्ठ अधिवक्ता त्रिपाठीले अदालतको निर्देशन नागरिकको स्वतन्त्रता, निर्वाचनको स्वच्छताको पक्षमा आएको जिकिर गरे । निर्वाचन आयोगले गत कार्तिक ८ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि दलहरुको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा नो नट अगेनका फेसबुक पेज र ग्रुपहरुबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरुको बारेमा लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृष्य सामग्री प्रकाशन गरिएको भन्दै कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म जेल सजाय हुनसक्ने भन्दै यस किसिमका गतिविधि नगर्न विज्ञप्ती जारी गरेको थियो । साथै आयोगले उक्त फेसबुक पेज र ग्रुपहरु तत्काल नहटाए प्रचलित कानून बमोजिम कारबाही हुने उल्लेख गरेको थियो । आयोगले झुट, फेसबुक पेज/ग्रुपहरु सिर्जना गरी दलका नेताहरु बिरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहीता, २०७९ को दफा ४ को खण्ड (ञ) (ट) (ठ) र (ड) प्रतिकुल रहेको जनाएको थियो ।

कुमारी बैंकका सीईओले बुझे ४ करोड रुपैयाँ तलब

काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एक वर्षको अवधिमा ४ करोड रुपैयाँ तलब भत्ता बुझेका छन् । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा सीईओलाई ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्तामा वापत भुक्तानी गरेको हो । उक्त रकममध्ये बैंकका पूर्व कायमुकायम सीईओ अनुजमणी तिमिल्सेनाले ३ करोड ६४ लाख ९८ हजार रुपैयाँ र बैंकका सीईओ रामचन्द्र खनालले ४९ लाख ७३ हजार रुपैयाँ बुझेका हुन् । बैंकले तलब बापत ९५ लाख ४८ हजार १८८ रुपैयाँ, भत्ता बापत १६ लाख ८७ हजार ७११ रुपैयाँ, संचय कोष बापत ९ लाख ५४ हजार ८१८ रुपैयाँ, दशैं भत्ता बापत १० लाख ६५ हजार ६८० रुपैयाँ, बिदा बापत ४० लाख ६३ हजार ७३६ रुपैयाँ, उपदान बापत २ लाख ४३ हजार ३६२ रुपैयाँ, बोनस बापत ३९ लाख ९२ हजार ४८१ रुपैयाँ र अन्य (स्वेच्छिक अवकाश भुक्तानी) बापत १ करोड ८३ लाख ५९ हजार ५८८ रुपैयाँ भुक्तानी गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा सीईओलाई २ करोड ३५ लाख ४५ हजार ९६८ रुपैयाँ तलब भत्ता वापत भुक्तानी गरेको थियो । यस्तै बैंकले व्यवस्थापकहरुलाई ४ करोड ५४ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ । जसमा तलब बापत १ करोड १४ लाख ७६ हजार ६९४ रुपैयाँ, भत्ता बापत ३५ लाख ३९ हजार ३५३ रुपैयाँ, संचयकोष बापत ११ लाख ४७ हजार ६६९ रुपैयाँ, गाडी मर्मतका लागि ५६ लाख २७ हजार १८ रुपैयाँ, औषधी उपचारबापत ७ लाख २७ हजार ७८३ रुपैयाँ, दशैं भत्ता बापत १४ लाख ३४ हजार ९८६ रुपैयाँ, बिदाका लागि २८ लाख ४५ हजार ३२१ रुपैयाँ, उपदान बापत २६ लाख ५७ हजार ३४४ रुपैयाँ, कर्मचारी बोनस बापत ५० लाख ९८ हजार ७७३ रुपैयाँ र अन्य (स्वेच्छिक अवकाश भुक्तानी) बापत १ करोड ८ लाख ८३ हजार ५९ रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकले तलब तथा भत्ता कार्यकारी अधिकृत तहदेखि सहायक महाप्रवन्धक तह सम्मका लागि प्रदान गरेको बताएको छ । जसमा आर्थिक वर्ष २०७८/७९ मा बैंक छोडेर जाने तथा नयाँ भर्ति भइ आउने कर्मचारीहरुले आफ्नो कार्यकालमा प्राप्त गरेको तलब तथा भत्ता समेत समावेस गरिएको बैंकले जनाएको छ । गत माघ २४ गतेसम्म अनुज मणि तिमिल्सिना कायमुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए । त्यसपछि बैंकले गत बैशाख १३ गते रामचन्द्र खनाललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । गत वर्षको माघ २४ गतेदेखि गत बैशाख १३ गतेसम्म खनाल कायमुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।

चन्द्रग्रहणबाट ६ राशीलाई हानी, के गर्दा फलदायी हुन्छ ?

काठमाडौं ।  कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । कात्तिक २२ गते बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ । औँसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

मिडिया हबले कमाउँदैछ एक महिनामा ५० करोड

एजेन्सी । हरेक चार वर्षमा धेरैको नजर टेलिभिजनको पर्दामा तान्ने विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालमा उपभोक्ताहरूले यसपालि ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ। यसअघि नियमित शुल्कमै विश्वकप हेरिरहेका उपभोक्ताहरूले अतिरिक्त शुल्क लिइनुको कारणबारे प्रश्न गरेका छन्। विश्वकप फुटबल प्रतियोगिता प्रत्यक्ष प्रसारणको अधिकार लिएको मिडिया हबले नेपालमा विश्वकप फुटबलको प्रसारण अधिकारका लागि तिर्नुपर्ने शुल्क महँगो भएका कारण उपभोक्ताबाट रकम उठाउन लागिएको दाबी गरेको छ। तर, वितरककै अनुसार विश्वकप हेर्नका लागि अतिरिक्त शुल्क उठाउने अनुसार प्रसारण अधिकार र प्रचारप्रसार खर्च बाहेक थप १० करोड रुपैयाँभन्दा बढी रकम उपभोक्ताहरूबाट जम्मा हुनसक्छ। यो पटकको विश्वकप फुटबल यही महिना कतारमा सुरु हुँदै छ। किन लिइयो शुल्क ? भारतीय कम्पनी भायकमबाट प्रसारण अधिकार खरिद गर्न र विश्वकपको प्रचार प्रसार गर्न समेत गरी ४० देखि ४१ करोड रुपैयाँसम्म खर्च हुने मिडिया हबको दाबी छ। तर, यो खर्चको नेपालको टेलिभिजनलाई प्रसारण अधिकार बिक्री र विज्ञापनबाट मात्रै लागत नउठ्ने भएपछि ग्राहकहरूसँग रकम उठाउन लागिएको मिडिया हबका अध्यक्ष सोम प्रसाद धितालले बताए । ‘विश्वकपलाई विज्ञापनको मोडलबाट मात्रै व्यावसायिक बनाउन सकिएन। दर्शकहरूसँग नचाहँदा नचाहँदै पनि केही पैसा लिनुपर्ने निर्णयमा हामी पुग्यौँ’, धितालले भने। अब दर्शकहरूले विश्वकप हेर्न एउटा सेट अप बक्स बापत ५०० रुपैयाँ तिर्नपर्छ। नेपालमा २० देखि २१ लाखसम्म टेलिभिजन सेट अप बक्सहरू रहेको र त्यसमध्ये १० देखि १२ लाख टेलिभिजन प्रयोगकर्ताहरूले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्ने अनुमान मिडिया हबले गरेको छ। नाफा कति हुन्छ ? मिडिया हबको प्रक्षेपण अनुसार १० लाख प्रयोगकर्ताहरूले मात्रै विश्वकप हेर्न शुल्क तिरे ५० करोडसम्म उठ्ने देखिन्छ। त्यसबाहेक विश्वकपको बिचमा प्रसारण गरिने विज्ञापन र टेलिभिजनलाई प्रसारण अधिकार दिन मिडिया हबले थप शुल्क लिन्छ। मिडिया हबका अध्यक्ष धितालका अनुसार नेपालमै प्रसारण अनुमति लिइएपछि विश्वकप फुटबल प्रसारण गर्ने विदेशी च्यानलहरू नेपालका टेलिभिजनहरूमा नआउने भएका छन्। ‘हामीले हिमालय टेलिभिजनलाई प्रसारण अधिकार दिँदै छौँ। त्यहाँबाट मात्र विश्वकप प्रसारण हुन्छ। अरू विदेशी च्यानल हाम्रोमा आउँदैन’, मिडिया हबका अध्यक्ष धितालले भने। फुटबलको अन्तर्राष्ट्रिय सङ्गठन फिफाले दक्षिण एसियाका लागि प्रसारण एकाधिकार दिएको भायकमले नै प्रसारण अधिकार नलिएका देशहरूमा विश्वकप आउने च्यानल उपलब्ध नगराउने धितालको दाबी छ। मिडिया हबले विश्वकप फुटबलको लागि अतिरिक्त शुल्क पठाउने जिम्मा केबल र डिस टेलिभिजन प्रसारकहरूलाई दिने भएको छ। ‘उपभोक्तामाथि ठगी हो’ एक जना उपभोक्ता अधिकारकर्मीले विश्वकप फुटबलको प्रसारणका लागि उपभोक्ता र विज्ञापन दुवैबाट शुल्क उठाएर मुनाफा कमाउने कार्य ठगी भएको दाबी गरेकी छिन्। ‘विज्ञापन पनि लिने अनि उपभोक्ताबाट पैसा पनि उठाउने काम चाहिँ ठगी हो। यसलाई सरकारले हस्तक्षेप गरेर नियमन गर्नुपर्छ’, कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले भनिन्। ‘नियमन नभए त कुनै सूचना दिन पनि उहाँहरूले अतिरिक्त शुल्क लिने दिन आउँछ।’ तर प्रसारण अधिकार लिएको मिडिया हबका अध्यक्ष धिताल यस्तो आरोप अस्वीकार गर्छन्। ‘उपभोक्ताहरूले यसअघि सित्तैमा हेर्न पाउनुभएकाले यो पटक पनि सित्तैमा हेर्न पाउनुपर्छ भन्ने उहाँहरूको आग्रह स्वाभाविक हो। तर यो पल्ट त्यो अवस्था बनेन।’ ‘नयाँ अभ्यास होइन’ शुल्क तिरेर मात्र महत्त्वपूर्ण कार्यक्रमहरूको प्रसारण हेर्न मिल्ने अभ्यास नयाँ नभए पनि नेपालमा पहिलो पटक भएको केवल टेलिभिजन सेवा प्रदायकहरूको दाबी छ। ‘विदेशमा एउटै कतिपय प्रतियोगितामा एउटै खेलको पाँच देखि छ डलर तिरेर हेर्नुपर्ने पनि छन्। यो नयाँ कुरा हुँदै होइन संसार भरि त्यसरी नै हेरिन्छ नेपालमा चाहिँ पहिलो पटक हो’, नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष सुधीर पराजुलीले भने। ‘विदेशमा सञ्चालन भएका कतिपय कार्यक्रमहरू अहिले पनि नेपालमा आउँदैनन्। एउटा नेपाली कम्पनीले नै ल्याएर देखाउन लागेपछि यसलाई हामीले प्रवर्द्धन गर्नुपर्छ।बीबीसीबाट ।