पाँच अर्ब लागतमा नारायणी तटबन्धनको काम सुरु
; नारायणी । नारायणी नदी तटबन्धनको काम सुरुआत भएको छ । विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै थोरै काम हुँदै आएकामा रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भूभागमा काम गरिँदै छ । असार अघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्डमध्ये एउटा खण्डको काम थालिएको छ । अन्य दुई खण्डमा छिट्टै काम थालनी गरिँदै छ । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार अर्को एक खण्डको बोलपत्र आह्वान भएर सम्झौता यसै महिना गरिएको छ भने अर्को एक खण्डको बोलपत्र आह्वान भई मूल्याङ्कन भइरहेको छ । असार अघि नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धनका लागि ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो । त्यसैबेलाको अर्को एक खण्ड गाँजीपुरदेखि हीरापुरसम्मको ४८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । तेस्रो रामघाटदेखि काभ्रेघाटसम्मको एक अर्ब १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ । तेस्रो खण्डको काम सुरु गरिएको छ । उनले अन्य दुई खण्डको काम छिट्टै सुरु हुने बताए । सम्झौता भइसकेका तीन खण्ड पाँच किलोमिटर लम्बाइका दरले रहेका छन् । गत कात्तिकमा सम्झौता भएको बालुवादेखि गोलाघाटसम्मको सात किलोमिटरमध्ये २।५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्हार रहेको छ । यसका लागि २३ करोड रुपैयाँमा यसै महिना ठेक्का सम्झौता भएको हो । नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिविच बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको छ । नारायणी किनारको जङ्गलको क्षेत्रबाहेकका सबै ठाउँमा तटबन्धनका लागि ठेक्का लगाइएको हो । बहुवर्षीय आयोजनाका रुपमा काम अघि बढाइएको छ । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकै पटक पाँच अर्ब रुपैयाँको काम अघि बढाइएको हो । जसमध्ये भरतपुर र नवलपरासीतर्फ दुवैतर्फ यस बजेटबाट काम हुँदैछ । आर्थिक वर्ष २०६६/०६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म एक अर्ब ८३ करोड रुपैयाँ मात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन । चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ । चितवनका लागि नौ अर्ब ५५ करोड रुपैयाँ र नवलपरासीका लागि १४ अर्ब ४३ करोड रुपैयाँ खर्च लाग्ने प्रस्तावित लागत रहेको छ । हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरी सकिएको छ । गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्षरुपबाट लाभान्वित हुने छन् । चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने छ । नारायणी नदीमा धेरै बाढी आउँदा १४ हजार चार सय तीन क्युविक मिटर प्रतिसेकेण्ड पानीको बहाव रहने गरेको अध्ययनले देखाएको छ । बर्सातको समयमा नदी कटान धेरै भएपछि दाहाल प्रमुख भएयता विगत पाँच वर्षदेखि नदी तटबन्धनको मुख्य एजेण्डा लिएर आउनुभएको थियो । यसै एजेण्डा अध्यक्ष दाहालले पनि प्राथमिकतामा राखेका थिए । सरकारका मन्त्री, सचिव र सम्बन्धित विभागका महानिर्देशकको उपस्थितिमा भरतपुर महानगरपालिकाले यो आयोजनालाई प्राथमिकतामा राखेर कार्यक्रमसमेत गरेको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण बजेट परेको बताए । यसलाई सबैको साथ र सहयोगबाट समयमै सम्पन्न गर्न सकेमा पश्चिम चितवनका कटान समस्या सदाका लागि अन्त्य हुने उनको भनाइ छ ।
महालक्ष्मी विकास बैंकले गर्याे हिमालयन ह्वाइट र शुभश्री कलेजसँग सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंकले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका हुन् । त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक कार्यक्रमकाबीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख कार्कीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकले कलेजका बिद्यार्थीहरुका लागि इन्टर्नसिप अपरचुनिटी, जब फेयर प्रोग्राम, बैंकिङ अवारनेस प्रोग्राम, गेस्ट लेक्चर भिजिट लगायत अन्य कार्यक्रमहरु प्रदान गर्ने छ । यस सहकार्यबाट कलेजका बिद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
आज हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए । उनका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । राजधानी काठमाडौंमा बिहान बदली रहे पनि अहिले केही खुलेको छ । दिउँसो पुनः बदली रहनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आज हल्का बदली रहे पनि वर्षाको सम्भावना नरहेको मौसमविद् बासीले बताए । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौंंको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।
नो नट अगेन, नो नेभर अगेन, इलेक्ट अगेन एण्ड अगेन, इलेक्ट वान्स अगेन भन्न पाईन्छ : थपलिया
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न निर्वाचनका उम्मेदवारलाई सचेत गराएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले नो नट अगेन भने पनि हुने तर गालीगलौजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरुलाई पुनः सचेत गराएका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दुषित नपार्न भन्दै आयोगले स्पष्टिकरण सोधेको बताए । उनले विज्ञहरुलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिन आग्रह समेत गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘तपाई नो नट अगेन भन्नुस अथवा नो नेभर अगेन भन्नुस् तपाईँ इलेक्ट अगेन भन्नुस् अथवा इलेक्ट अगेन एण्ड अगेन भन्नुस, इलेक्ट वान्स अगेन भन्न पाईन्छ भन्ने कुरा पनि आएको छ, सबैथोक भन्नुस तर भन्दा सभ्य भाषा भनिदिनुस, कसैको चरित्र हत्या नगर्ने गरी भनिदिनुस, के यसो भन्नु पनि लोकतन्त्रकलाई खण्डित पार्नकै लागि हो भनेर आरोपित हुनुपर्छ भनेर त जति आरोप लागेपछि सहन्छौं नि, निर्वाचनलाई मिथ्या सूचना, दुश्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, घृणास्पद अभिव्यक्तिले खण्डित गर्ने र दुषित पार्ने नगरिदिनुस भनेको यति मात्रै हो ।’ सामाजिक सञ्जालको व्यवस्थित प्रयोग होस् भन्ने चाहेको उनको भनाइ छ । आयोगले गर्न सक्छ कि सक्दैन त्यो आफ्नो ठाउँमा छ तर प्रयास गरेको उनले बताए ।
चीनद्वारा भर्चुअल रियालीटी प्रविधिको विकासमा नयाँ खुलासा, विश्वलाई नै नेतृत्व गर्ने
एजेन्सी । भर्चुअल रियालीटी उद्योगको विकासमा चीनले बुधबार नयाँ खुलासा गरेको छ । उद्योग तथा सूचना प्रविधि मन्त्रालय र सोसँग सम्बन्धित ४ विभागद्वारा सँयुक्त रुपमा जारी योजना अनुसार सन् २०२६ सम्म चिनीयाँ भर्चुअल रियालीटी उद्योगमा हार्डवेयर, सफ्टवेयर र एप्लीकेसनमा ४८ बिलियन अमेरिकी डलर लगानी हुनेछ । यसबीचमा बलियो खोज क्षमता र आद्योगिक प्रभावसहितका १ सय नयाँ उद्यमीको विकास गर्नुपर्नेछ, जबकी २५ मिलियन भर्चुअल रियालीटी प्रविधि संख्या बेच्नुपर्नेछ । चीन भर्चुअल क्षेत्रको विकासको लागि सबै क्षेत्रलाई समेट्नेगरी १० नेतृत्वदायी भर्चुअल रियालीटी उद्योग स्थापना गर्ने योजनामा जुटेको छ । साथै सो क्षेत्रको सर्भिसको लागि १० वटा प्लेटफर्म पनि विकास गर्ने बताइएको छ । योजनाअनुसार सन् २०२६ सम्ममा मुख्य प्रविधि र एप्लीकेसनमा ठूलो सफलता हासिल गर्ने अपेक्षा गरिएको छ । चाइनाडेलीबाट ।
उड्ने इलेक्ट्रिक कार, मूल्य २ करोड भन्दा धेरै
एजेन्सी । एसियाको सबैभन्दा ठूलो उड्ने कार कम्पनी जिपिङ अरोट, जिपिङ इन्क भविश्यमा आधुनिक सहरहरुमा थ्रीडी परिवहनको लागि उच्चस्तरको उड्ने कार निर्माण गर्न लागि लागिरहेका छन् । जीपीङले निर्माण गरेको नयाँ सुपरनोवा जीपीङ एक्स टु ले २ जना यात्रुहरुलाई लिएर उड्न सक्छ । जसको उडान समय ३५ मिनेट र उड्ने गति १ सय ३० किलोमिटर प्रतिघण्टा रहेको छ । एक्सपेङका सिइओ सियाओपेङले पछिल्लो वर्ष कम्पनीले सन् २०२४ सम्म ठूलो मात्रामा उड्ने कार उत्पादन गर्ने बताएका थिए । कम्पनीले उत्पादन गरेको सुपरनोवा जीपीङ एक्स टु को मूल्य १ मिलियन युआन अर्थात १ लाख ३८ हजार ६ सय ६० अमेरिकी डलर तोकिएको छ । चाइनाडेलीबाट ।
नेपाल बैंक दुहबी शाखाको नवनिर्मित भवन उद्घाटन
काठमाडौं । नेपाल बैंकले दुहबी शाखाको नवनिर्मित भवनको उद्घाटन गरिसेवा सुरु गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी बैंकको नवनिर्मित भवन दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदारले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयर गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको विषयको बारेमा चर्चा गर्दै नेपालको पहिलो बैंक रहेको र दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको बताए । साथै नयाँ भवन मार्फत अझ उत्कृष्ट सेवा प्रदान गर्नको लागि शुभकामना व्यक्त गरे । नेपाल बैंक १ नं. प्रदेश कार्यालयका प्रमुख सुर्य प्रकाश भट्टले बैंकले हाल उपलब्ध गराएको सेवा सुविधा नेपाली बैंकहरुमा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै छिटो, छरितो तथा अब्बल सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाल बैंक विराटचोक शाखाका शाखा प्रबन्धक रमेश कार्कीले सञ्चालन गरेको कार्यक्रममा सभापति राम भुषण सिंहले धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा दुहबी नगरपालिकाका प्रमुख गच्छदार, विशिष्ट अतिथि मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दिननाथ फुयाल र नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं. १ का प्रमुख मुख्य प्रबन्धक सुर्य प्रकाश भट्ट रहेका थिए । कार्यक्रममा अतिथिको रुपमा नेपाल बैंक सिनियर अफिसर विराटनगर, ईटहरी, वजारअड्डा, विराटचोक, धरान, झुम्का, मिल्स एरिया, टंकिसिनवारी शाखाका शाखा प्रबन्धकहरुको समेत उपस्थिति थियो । साथै नेपाल बैंकका ग्राहकहरु, दुहबी उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, उद्योगी व्यवसायी तथा दुहबी शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
एनसीसी बैंकले २२ लाख ३३ हजार कित्ता सेयर बिक्री गर्दै
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको २२ लाख ३३ हजार २०२ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका विभिन्न ९ जना सस्थापक सेयरधनीहरुले उक्त सेयर बिक्री गर्न चाहेकाले आज कात्तिक २१ गतेदेखि बिक्री खुला गरेका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्रमा आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीले एनसीसीको बागबजार, काठमाडौंस्थित सेयर विभागमा लिखित निवेदन दिनुपर्नेछ । तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई उक्त संस्थापक सेयर बिक्री गरिने बैंकले जनाएको छ ।