काठमाडौं । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६) देखि नाफामा गएको हो ।
गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर १ देखि १५ सम्मको अवधिमा निगमलाई ३९ करोड रुपैयाँ नाफा भएको थियो । कात्तिक १५ गते (नोभेम्बर १)मा इन्धनको मूल्य बढेर आएकाले निगमको नाफा १५ दिनको अवधि (नोभेम्बर १ देखि १५ सम्म) मा घटेर १८ करोड रुपैयाँमा पुग्ने अनुमान छ । नाफा हुुँदा पनि बजारमा मूल्य नघटाउँदा उपभोक्ताले गुनासो गर्ने गरेका छन् ।
गत अगस्ट १६ (साउन ३१ देखि असोज १५ गते) अक्टोबर १ सम्म इन्धनको मूल्य घटेर आएको थियो । तीन पटक मूूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएन । मूल्य घटेर आए पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम नाफामा गएको हो । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि निगमले मूूल्य नघटाउँदा त्यसको मारमा उपभोक्ता परेको बताए । घाटा देखाएर मूल्य घटेर आउँदा मूूल्य नघटाउनुु उपभोक्ता हितविपरीत भएको उनको भनाइ छ ।
गत अक्टोबर १६ (असोज ३०)देखि इन्धनको मूूल्य बढेर आएको हो । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले नोभेम्बर १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटरमा पाँच रुपैयाँ ७६ पैसा, मट्टीतेल प्रतिलिटरमा चार रुपैयाँ एक पैसा, हवाई इन्धन चार रुपैयाँ ७७ पैसा, पेट्रोल प्रतिलिटर ६१ पैसा बढेर आएको छ । ग्यासमा प्रतिसिलिन्डर ५८ रुपैयाँ १० पैसा घटेर आएको निगमको जनाएको छ । निगमका अनुसार ग्यास प्रतिसिलिन्डरमा २२८ रुपैयाँ ८४ पैसा र डिजेल प्रतिलिटरमा १२ रुपैयाँ १४ पैसा घाटा छ । ग्यास र डिजेलबाहेक अन्य पेट्रोलियम पदार्थमा नाफा छ ।
पछिल्लो मूल्य सूची बढेर आए पनि निगम १५ दिनमा १८ करोड रुपैयाँ नाफामा छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा देखिएको, डलरसँग नेपाली मुद्रा कमजोर भएकाले हाललाई इन्धनको मूल्य घटाउन नसकिने जानकारी दिए । ‘अन्तर्राष्ट्रिय बजारमा मूूल्य घटेर आउँदा घटाउनुुपर्ने हो, तेल खरिद गरेबापतको रकम भुक्तानी गर्न बाँकी रहेकाले तत्काल मूूल्य घटाउन सकिएन,’ उपाध्यायले भने । सरकारले कर कटौती गर्ने भन्दै गत असार ११ गते पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ घटाएको मूल्य रिकभर नभएकाले घटाउन नसकिएको उहाँले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।