स्वदेशी उत्पादन चीनमा निर्यात गर्नसके अर्थतन्त्रको तस्बिर बदल्न सक्छ : उपराष्ट्रपति पुन
काठमाडौं । नेपालका मौलिक उत्पादनलाई चिनियाँ बजारमा निर्यातको अवसर पाए देशको अर्थतन्त्रको तस्बिर बदलिन सक्ने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् । नेपाल चाइना चेम्बरको २३ औं वार्षिक साधारण सभामा बेल्दै उनले सो कुरा बताएका हुन् । नेपालमा उत्पादन हुने कृषि उपज, जडीबुटी लगायत अन्य कुरा निर्यात गर्दै चिनियाँ बजारमा नेपाली वस्तु निकासीलाई प्राथमिकता दिनु पर्ने कुरालाई समेत जोड दिएका हुन् । ‘कुनै पनि देशको आर्थिक उन्नतीको लागि त्यस देशको निर्यात व्यापारले गरेको हुन्छ, जुन देशको विकास बलियो हुन्छ, त्यस देशको आर्थिक उन्नति पनि छिटै हुने गर्छ, विश्वका धेरै देशले व्यापारलाई अर्थतन्त्रको स्रोत बनाएका छन्, नेपालको मुख्य व्यापार छिमेकी देश चीन र भारतसँग छ, निकट भविष्यमा नै आर्थिक महाशक्तिको नेतृत्व गर्ने उद्देश्य बोकेको चीनसँग नेपालको व्यवसायिक सम्बन्ध विकास हुनु हाम्रो लागि एउटा ठूलो अवसर हो,’ उनले भने । चीन र नेपालको व्यापारिक सम्बन्धलाई अझै विस्तार गर्नको लागि समन्वय र सहकार्य थप गर्नुपर्ने उनका भनाइ छ । आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएको देशको व्यपारिक अवस्था भने सोचे जस्तो नरहेको पनि पुनले बताए । उपराष्ट्रपति पुनका अनुसार गत आर्थिक वर्ष र यस आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्क हेर्दा चीनतर्फको निर्यात निरन्तर घटी रहेको छ । ‘हामीले चीनबाट एक सय रुपैयाँको वस्तु आयत गर्दा ३० पैसाको मात्र वस्तुका निर्यात हुन्छ, यसबाट नै थाहा हुन्छ चीन र नेपालको व्यपारको अवस्था कस्तो छ, अर्थतन्त्र यो सकारात्मक सन्देश हैन,’ उनले भने । यसै महिनाबाट लागु हुने गरी नेपाल सहित अति कम विकसित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुहरूको भन्सार शुल्क शून्य बनाउने निति राम्रो हुन सक्ने पनि पुनले बताए । कोभिडका कारण नाकाहरू राम्रोसँग सञ्चालन हुन नसक्दा व्यापारिक वातावरणको सिर्जना गर्नमा समस्या भएको पुनको भनाइ छ । ‘प्रत्यके नेपालीको आर्थिक रूपान्तरण सहितको समउन्नती र समृद्ध राष्ट्र निर्माणको लागि हामीले हाम्रो अर्थतन्त्रमा व्यापक सुधार गर्नु पर्ने जरुरी छ, हरेक क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यात वृद्धि गर्न सक्देनौं,’ उनले भने ।
नेपाल र पाकिस्तानबीचको मैत्रिपूर्ण खेलको टिकट किन्ने एकजनाले वर्ल्ड कप हेर्न पाउने
काठमाडाैं । कार्तिक ३० गते हुने नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकले कतार विश्वकपको टिकट पाउने भएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा टिकट खरिद गरी खेल हेर्न आउने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा एन्फाले मैत्रीपूर्ण खेलको तयारीसमेत पूरा भएको बताएको छ । एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिने बताएको हो । यस टिकट प्राप्त गर्न भिभिआईपीतर्फको ५ हजार रुपैयाँको टिकट किन्नुपर्नेछ । खेल दशरथ रंगशालामा साझ पाँच बजे शुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली आईतवार नेपाल आइपुग्ने एन्फाले जनाएको छ । नेपालले यसअघि असोज ११ गते बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ नेपाल ३–१ ले विजयी भएको थियो । पाकिस्तानबिरुद्धको खेलमा नेपालको प्रशिक्षण प्रवेश कटुवाललाई जिम्मेवारी दिएको छ । नेपाल र पाकिस्तानबीचको अन्तराष्ट्रिय खेल आयोजना गर्नको लागि एन्फाले विभिन्न कमिटिहरु गठन गरेको छ भने टिकट दर पनि तोकेको छ । उक्त खेलका लागि साधारण पारापिटतर्फ पाँच सय रुपैयाँ र भीआइपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । एन्फाले सो खेलको टिकट बिक्रीको अधिकार फुटसल भिलेजलाई दिएको छ । मैत्रिपूर्ण खेलका लागि नेपाली टोली अहिले प्रवेश कटुवालको प्रशिक्षमा रहेको छ ।
मुक्तिनाथ विकास बैंकद्धारा २६४ जना महिला उद्यमीहरु सम्मानित
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना उद्यम संचलन गरिरहेका २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ । बैंकले लघु बैंकिङ्ग सम्बन्धि आयोजना गरेको साक्षरत कार्यक्रममा देशभरका महिला उद्यमीहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रममा लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको थियो । महिला उद्यमीहरुको लागि व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीको बारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको बैंकले जनाएको छ । देशभर संचालन भएकाे कार्यक्रममा स्थानिय निकायका पदाधिकारी, स्थानिय र विभिन्न पेशामा आवद्ध भएका महिला उद्यमीहरुसहित लगभग ३५ सय जनाको उपस्थिति रहेको थियो । बैंकले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
सरकारी तवरबाट राहत पुगेन, भूकम्पपीडितको त्रिपालको बास
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । उनीहरु तरकारी उत्पादनका लागि निर्माण गरिएका पोलि हाउसमा रात बिताउन बाध्य भएको बताएका छन् । भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरु समस्यमा परेको बताएका हुन् । गत मङ्गलबार रातिको भूकम्पमा परी यहाँका कैयौँ नागरिकका घरमा क्षति पुगेको छ । कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ । यहाँका स्थानीय भरत बोहराले भने, ‘सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने परकम्पनले पीडितमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरु पोलि हाउसमा आगो बालेर रात बिताउन बाध्य छौँ ।’ नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरुप वितरण गरे पनि पीडितलाई अपुग भएको छ । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले भूकम्पले ज्यान गुमाएको यहाँको परिवारका सदस्यलाई एक लाख ५० हजार रुपैयाँ तथा नेकपा एमाले डोटीबाट एक लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो । अस्थायीरुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन् । गाउँभरिमै भूकम्पको पीडाले सन्नटा छाएका कारण खेतमा पाकेको धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतबारीमै बादर र मुसाले खान थालेको पीडितहरु बताउँछन् । खानका लागि एक मानो चामल र पीठोसमेत नभएका कारण बालबालिका भोकले रुने कराउने गर्न थालेको अर्की पीडित मनसरा बोहराले बताए । उता विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृह मन्त्रालयबाट भूकम्प पीडितका लागि त्रिपाल र कम्बल आइपुगेकाले आजै विपद् व्यवस्थापनको बैठक राखी सम्भवतः आजै वितरण गरिने बताए । उनले भने, ‘गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, अन्य राहतका लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्बल र त्रिपाल वितरण गर्छौं होला ।’ मङ्गलबार मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ६ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यसमा परी उक्त गाउँका छ जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए । उक्त भूकम्पमा परी आठ घर पूर्ण ध्वस्त भएका छन् भने स्थानीयका अनुसार दर्जर्नौँ घरमा क्षति पुगेको छ । तारागाउँको आर्थिक सहयोग यसैबीच भूकम्पमा परी घरबारविहीन भएका डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका पीडितका लागि तारागाउँ विकास समितिले खाद्यान्नलगायत अन्य आवश्यक सामग्री खरिदमा सहज होस् भन्ने उदेश्यले ३४ हजार दुई सय ८२ रुपैयाँ प्रदान गरेको छ । समितिका सदस्य सचिव महेन्द्रबहादुर थापाले समितिले आज सो निर्णय गरेको र तत्कालै पीडितलाई प्रदान गरिने जानकारी दिए ।
चीनद्वारा अन्तर महादेश उड्न सक्ने ड्रोनको विकास
एजेन्सी । चीनले ‘विङ लङ थ्री ड्रोन’को विकास गरेको छ । जसले अन्तरमहादेश स्तरमा उडान भर्न सक्छ । सो ड्रोनले बम, मिसाइल बोकेर आकाशबाट नै प्रहार गर्न सक्छ । सो ड्रोनलाई पहिलोपटक दक्षीण चीनको ग्वाङडोङ प्रान्तमा नोभेम्वर ८ देखि १३ सम्म आयोजना गरिएको ‘एयर सो २०२२’ मा पदर्शन गरिएको थियो । ग्लोबल टाइम्सका अनुसार ‘विङ लङ थ्री ड्रोन’ ले अन्तर महादिप उडान भर्नका साथै लामो फौजी मिसन सञ्चालन गर्न समेत सक्षम रहेको छ । अन्य घरेलु तथा विदेशी ड्रोनको तुलनामा ‘विङ लङ थ्री ड्रोन’ धेरै गह्रौं भएको यसका चिफ डिजाइनर झोउ यी ले ग्लोबल टाइम्सलाई बताएका छन् । झोउका अनुसार ‘विङ लङ थ्री ड्रोन’ प्रयोगकर्ताहरुको माग, विकसित प्रविधिको प्रयोग र विश्वमा प्रतिद्वन्दीलाई ख्याल गरेर बनाइएको हो ।
सानिमा बैंकका ग्राहकलाई ‘दराज ११:११’ अभियानमा ३ हजारसम्मको छुट
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११:११’ मा विशेष छुट दिन सहकार्य गरेकाे छ । यस अनुसार बैंकका ग्राहकहरुले दराजबाट ‘दराज ११:११’ मा सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् २५ सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने बैंकले जनाएकाे छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।
आधुनिक कृषि प्रणाली चाहन्छन् पाँचखालका किसान
पाँचखाल । खाद्यान्न तथा तरकारी उत्पादनमा प्रख्यात काभ्रेको पाँचखाल नगरमा आधुनिक कृषि प्रणालीको आवश्यकता रहेको छ । त्यहाँका किसानले बीउबिजनसमेत नयाँनयाँ उपलब्ध हुनुपर्ने माग समेत गर्दै आएका छन् । विभिन्न पक्षले पाँचखालको कृषिलाई आधुनिकीकरण गरिने भन्दै आइए पनि यहाँको खेतीप्रणालीमा कुनै सुधार नभएको पाँचखाल–६ का कृषक केदार ढुङ्गाना बताउँछन् । ‘पुरानै खेती प्रणालीले उत्पादन वृद्धि गर्न सकिरहेका छैनौँ, आधुनिकीकरणको आवश्यकता भइसक्यो’, उनले भने । उनले खेतीबालीका विषादी कम गर्दै लगिए पनि सबै कृषकलाई जैविक विषादीतर्फउन्मुख गराउनुपर्ने उनको भनाइ छ । पाँचखाललाई ‘कृषि नगर’का रुपमा परिचित गराउन हरसम्भव प्रयासरत रहेको नगरले जनाउँदै आएको छ । यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै इजरायली नयाँ प्रविधिमा लगिने प्रक्रिया अघि नबढाउँदा यहाँका किसान सञ्चितसमेत देखिएका छन् । यहाँको कृषि इजरायली प्रविधिमा लाग्न एक वर्षअघि नेपालस्थित इरजायली दूतावास र पाँचखाल नगरबीच सहमति भएको थियो । पाँचखाल–३ का कृषक ज्ञानबहादुर थापा कृषिमा आधुनिकीकरणले उत्पादन बढेको सुनिरहेका छौँ, नगरे गरेको सहमति कार्यान्वयन भए आफूहरु उत्साही हुने बताउँछन् । ‘पछिल्ला वर्ष बाली उत्पादन लागत बढ्दै गएको छ, यसअनुसार उत्पादन बढाउन कृषिलाई आधुनिकीकरण गर्न जरुरी भइसक्यो’, उनले भने । उनले यसको अगुवाइ नगरले गर्नुपर्ने उनको धारणा छ । सहमतिमा पाँचखालका कृषकलाई परम्परागत खेतीप्रणालीलाई रुपान्तरण गर्दै आधुनिक खेतीप्रणालीमा लैजाने तथा नगदी बालीलाई विशेष प्राथमिकता दिइ कृषकको जीवनस्तर सुधार गर्दै जाने विषयलाई अघि सारिएको थियो । इजरायली राजदूत हनान गोडर र नगरप्रमुख महेश खरेललगायत पदाधिकारी तथा सरोकारवालाबीच नगर कार्यालयमा भएको छलफलमा पाँचखालको कृषि क्षेत्रमा दुईपक्षीय साझेदारीका विषयमा सहमति भएको हो । सहमतिपछि उक्त प्रक्रियालाई नीतिगत ढङ्गले नगरद्वारा प्रक्रिया अघि नबढाउँदा पाँचखालमा इजरायली प्रविधिबारे सहमतिमै सीमित भएको नगर कृषि शाखा प्रमुख ईश्वर अधिकारीले बताए । ‘पाँचखालको कृषि क्षेत्रमा आधुनिकीकरणसँगै इजरायली प्रविधि भित्र्याउने सहमतिलाई पछि चासो नदिँदा सहमतिमै सीमित भएको देखिन्छ, तर किसानको मागअनुसार अघि बढाउन सकिन्छ’, उनले भने । कृषिमा इजरायली प्रविधि, ज्ञान–सीप विश्वमै उत्कृष्ट मानिन्छ । उक्त प्रविधिलाई कृषियोग्य पाँचखालको भूमिमा प्रयोग गर्नसके यहाँ उत्पादन भएका गुणस्तरीय तरकारी तथा फलफूल अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने अपेक्षा गरिएको थियो । नगरले आफ्नो बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । पर्याप्त सिँचाइको अभावमा अपेक्षित उत्पादन हुन सकिरहेको छैन । केही वर्षदेखि लगानी भित्र्याउने तीव्र चाहना बोकेको नगरले ४० बढी उद्योग स्थापना गर्ने योजना अघि सारेको छ । तीन वर्षअघि नै लगानी सम्मेलनको आयोजना गरी नगरमा लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्मेलन गर्न नसकेको नगरले हाल वित्तीय सस्ंथासँग सहकार्य गरी लगानी भित्र्याउने कामलाई भने तीव्रता दिएको छ । आर्थिक वर्ष २०७६/०७७ को अन्त्यतिर लगानी सम्मेलनको तयारीमा जुटेलगत्तै कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि योजनामै सीमित भएको थियो । गत आर्थिक वर्षमा गर्ने कार्यतालिका बनाए पनि पुनःकोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरका कारण अघि बढाउन सकिएको थिएन । लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमले थाँती रहेपछि साझेदारीमा वैकल्पिक योजनाको खोजी गर्दै उद्यमशीलताको विकास एवं प्रवद्र्धन गर्न नगरले वित्तीय संस्थासँगका सम्झौतालाई तीव्रता दिइरहेको हो । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीय स्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको थियो । पाँचखालमा ४० उद्योग स्थापना गर्नसके स्थानीयस्तरमा खाद्यान्नलगायत उत्पादनसँगै करिब चार हजार स्थानीयले रोजगारी पाउनेछन् । उद्योग स्थापनाका लागि नगरले स्थानीयलाई नै प्राथमिकतामा राख्ने नगरको योजना रहेको छ । ‘उद्योग स्थापनार्थ स्थानीयलाई प्राथमिकता दिँदै सरल कर्जाका लागि वित्तिय संस्थासँग समन्वय गर्नेछौँ’ नगरप्रमुख महेश खरेलले भने । उनले चालू आर्थिक बर्षबाट दर्जन उद्योगबाट उत्पादन गरिसक्नेगरी तयारी थालिएको बताए । उद्यम गर्न चाहने स्थानीयका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले यसअघि केही वित्तिय संस्थासँग साझेदारी सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ । सामाजिक रुपान्तरणमा यस अभियानले सार्थकता पाउँदै जाने विश्वास गरिएको छ । पाँचखाल नगरमा हाल सघन सहरी विकास कार्यक्रम लागू गरिएको छ । यसका लागि सहरी विकास मन्त्रालयद्वारा प्रशासनिक प्रक्रिया अघि बढाइएको हो । सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ गत वर्ष फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गतको उक्त कार्यक्रम लागू गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही कार्यक्रमअन्तर्गत मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकामध्ये पाँचखाल नगर पनि परेको हो कार्यक्रम लागू गर्न सहरी विकास तथा पूर्वाधार निर्माण कार्यालयले बोलपत्र आह्वान गरिसकेको छ । पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरले यसअघि नै पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । खेतीयोग्य जमिन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गर्न नगरको योजना छ । पाँचखालमा विभिन्न ऐतिहासिकस्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिने जनाइएको छ । पाँचखालमा विशेष आर्थिक क्षेत्र सेजका भौतिक निर्माण भइरहेको, मदन भण्डारी विश्वविद्यालयका लागि बजेट विनियोजन गरी प्रक्रिया सुरु भएको, बृहत् सुनकोसी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल यूथ इनोभेसन सेन्टर’का लागि पनि जमिन छुट्याएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक देखिएको छ ।
कार्तिक २८ गते मधुमेह सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै अल्का अस्पताल
काठमाडौं । कार्तिक २८ गते सोमवार मधुमेह रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अल्का अस्पतालले गत वर्ष झैँ यस वर्ष पनि वृहत मधुमेह रोग सम्बन्धी वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्वास्थ्य शिविरबाट अस्पतालले २०० जना बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । अस्पतालले शिविर सञ्चालनको दिन मधुमेह सम्बन्धी आवश्यक औषधि वितरण १० दिन सम्मको लागि निःशुल्क गर्ने अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए । उनले शिविरमा निःशुल्क एचबीएवानसी, पीपी फास्टिङ र ¥यान्डम ब्लड सुगर परीक्षण हुने जानकारी दिए । उह उनका अनुसार शिविरमा सहभागी हुन अग्रिम नाम दर्ता गर्नुपर्ने छ । नाम दर्ता गर्न कार्तिक २४ गतेदेखि २७ गतेसम्म बिहान ७ बजेदेखि ५ बजेसम्म अल्का अस्पतालमा फोन गर्नुपर्ने छ । अस्पतालले शिविरमा मधुमेह रोगका बिरामीहरु मात्रै सहभागी हुन पनि आग्रह गरेको छ ।