काठमाडौं । नेपालका मौलिक उत्पादनलाई चिनियाँ बजारमा निर्यातको अवसर पाए देशको अर्थतन्त्रको तस्बिर बदलिन सक्ने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् । नेपाल चाइना चेम्बरको २३ औं वार्षिक साधारण सभामा बेल्दै उनले सो कुरा बताएका हुन् ।
नेपालमा उत्पादन हुने कृषि उपज, जडीबुटी लगायत अन्य कुरा निर्यात गर्दै चिनियाँ बजारमा नेपाली वस्तु निकासीलाई प्राथमिकता दिनु पर्ने कुरालाई समेत जोड दिएका हुन् ।
‘कुनै पनि देशको आर्थिक उन्नतीको लागि त्यस देशको निर्यात व्यापारले गरेको हुन्छ, जुन देशको विकास बलियो हुन्छ, त्यस देशको आर्थिक उन्नति पनि छिटै हुने गर्छ, विश्वका धेरै देशले व्यापारलाई अर्थतन्त्रको स्रोत बनाएका छन्, नेपालको मुख्य व्यापार छिमेकी देश चीन र भारतसँग छ, निकट भविष्यमा नै आर्थिक महाशक्तिको नेतृत्व गर्ने उद्देश्य बोकेको चीनसँग नेपालको व्यवसायिक सम्बन्ध विकास हुनु हाम्रो लागि एउटा ठूलो अवसर हो,’ उनले भने ।
चीन र नेपालको व्यापारिक सम्बन्धलाई अझै विस्तार गर्नको लागि समन्वय र सहकार्य थप गर्नुपर्ने उनका भनाइ छ । आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएको देशको व्यपारिक अवस्था भने सोचे जस्तो नरहेको पनि पुनले बताए ।
उपराष्ट्रपति पुनका अनुसार गत आर्थिक वर्ष र यस आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्क हेर्दा चीनतर्फको निर्यात निरन्तर घटी रहेको छ । ‘हामीले चीनबाट एक सय रुपैयाँको वस्तु आयत गर्दा ३० पैसाको मात्र वस्तुका निर्यात हुन्छ, यसबाट नै थाहा हुन्छ चीन र नेपालको व्यपारको अवस्था कस्तो छ, अर्थतन्त्र यो सकारात्मक सन्देश हैन,’ उनले भने ।
यसै महिनाबाट लागु हुने गरी नेपाल सहित अति कम विकसित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुहरूको भन्सार शुल्क शून्य बनाउने निति राम्रो हुन सक्ने पनि पुनले बताए ।
कोभिडका कारण नाकाहरू राम्रोसँग सञ्चालन हुन नसक्दा व्यापारिक वातावरणको सिर्जना गर्नमा समस्या भएको पुनको भनाइ छ । ‘प्रत्यके नेपालीको आर्थिक रूपान्तरण सहितको समउन्नती र समृद्ध राष्ट्र निर्माणको लागि हामीले हाम्रो अर्थतन्त्रमा व्यापक सुधार गर्नु पर्ने जरुरी छ, हरेक क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यात वृद्धि गर्न सक्देनौं,’ उनले भने ।