विकासन्युज

सरकारले १३ खर्ब लगानी डुबाउन खोजेको इप्पानको आरोप

काठमाडौं । तत्कालीन सरकारले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरे पनि विद्युत् खरिद सम्झौता (पीपीए) रोकेर निजी क्षेत्रलाई निराश बनाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आरोप लगाएको छ । इप्पानको २६ औं  वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष गणेश कार्कीले सरकारको लक्ष्य र निजी क्षेत्रले भोगिरहेको यथार्थबीच ठूलो विरोधाभास रहेको बताए। उनले निजी क्षेत्रको १३ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसक्दा पनि सरकारको असहयोगका कारण उत्साह निराशामा परिणत भएको गुनासो गरे । ‘सरकारले २८ हजार ५ सय मेगावाटको लक्ष्य लिँदा र भारतसँग निर्यात सम्झौता गर्दा हामी उत्साहित थियौं । तर अहिले ुबिजुली नचाहिने हो किु जस्तो व्यवहार भइरहेको छ,’ अध्यक्ष कार्कीले भने । नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पीपीए रोकेकोप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष कार्कीले यसले समग्र ऊर्जा क्षेत्रलाई ठप्प बनाएको बताए ।  ‘हामीले १३ हजार मेगावाटका लागि पीपीए आवेदन दिएका छौं, तर सबै रोकिएको छ । ३० हजार मेगावाटका लाइसेन्सहरू कि त होल्डमा छन् कि खारेजीको प्रक्रियामा छन्,’ उनले भने। उनले करिब ३ खर्ब रुपैयाँको थप लगानी पाइपलाइनमा रहेको जानकारी दिँदै प्रश्न गरे, ‘यदि पीपीए नखोल्ने र लाइसेन्स खारेज गर्ने हो भने के राज्यले निजी क्षेत्रको यो ३ खर्ब लगानी कोल्याप्स गराउन खोजेको हो ?’ अध्यक्ष कार्कीले सरकार र प्राधिकरणसँग स्पष्ट माग राख्दै यदि प्राधिकरणले बिजुली किन्न नसक्ने हो भने निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनुपर्ने बताए । ‘यदि प्राधिकरणले बिजुली किन्न सक्दैन भने हामीलाई लाइसेन्स दिनुहोस्। हामी आफै आन्तरिक र बाह्य बजार खोजेर बेच्छौं,’ उनले भने, ‘हामीले भारतसँग सम्झौता गरिसकेका छौँ, अब कानुन र नीतिको अड्चन देखाएर रोक्न पाइँदैन ।’ एकातिर सरकारले प्रसारण लाइन समयमा बनाउन नसकेको र अर्कोतिर आयोजना ढिलाइ हुँदा निजी क्षेत्रलाई पेनाल्टी लगाउन खोजेको भन्दै कार्कीले आपत्ति जनाए ।  उनले करिब ८० वटा आयोजनाको व्यापारिक उत्पादन मिति (आरसीओडी) कटिसकेको जानकारी दिए । यसबाहेक सर्वोच्च अदालतको एक फैसलाले निकुञ्ज क्षेत्रका १९ हजार मेगावाटका आयोजना प्रभावित भएको र २०७७ सालदेखि वन मन्त्रालयमा ईआईए र रुख कटानका फाइलहरू अड्किँदा काम अघि बढ्न नसकेको गुनासो उनले गरे । नीतिगत अनिश्चितता र प्रसारण लाइन अभावले उत्पादन भएको बिजुली समेत बेच्न नपाउँदा हाइड्रोपावर कम्पनीहरूले बैंकको ब्याज तिर्न र लगानीकर्तालाई लाभांश दिन नसकेको अध्यक्ष कार्कीले बताए । यसको प्रत्यक्ष असर सेयर बजारमा परेको र अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य अंकित मूल्य (१०० रुपैयाँ) भन्दा तल झरेको उनको भनाइ थियो । तत्काल पीपीए खुल्ला गरिनुपर्ने, निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिनुपर्ने,वन तथा अर्थ मन्त्रालयसँग समन्वय गरी नीतिगत गाँठो फुकुवा गर्नुपर्ने, काबू बाहिरको परिस्थितिका लागि आरसीओडीको म्याद थप र पेनाल्टी मिनाहा गरिनुपर्ने, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने, १६ वटा मन्त्रालय धाउनुपर्ने झन्झट हटाएर ऊर्जा मन्त्रालयबाटै एकद्वार प्रणाली लागू गर्नुपर्ने लगायतका मागहरू इप्पानले राखेको छ । अध्यक्ष कार्कीले यी मागहरू पूरा नभए सरकारले देखेको १० वर्षमा २८ हजार ५ सय मेगावाटको लक्ष्य केवल सपनामा सीमित हुने चेतावनी दिए ।

युवाको नेतृत्वमा एआई क्रान्ति : अर्ब डलर स्टार्टअप जन्माउने २० वर्षे पुस्ता

काठमाडौं । विश्वका केही सबैभन्दा सफल स्टार्टअपहरू युवा संस्थापकहरूले सुरु गरेका थिए । उदाहरणका लागि बिल गेट्स वा मार्क जुकरबर्गलाई हेरौं । दुवै जना आफ्नो उद्यम सुरु गर्दा मात्र १९ वर्षका थिए । तर अहिले अर्ब डलर मूल्यका कृत्रिम बौद्धिकता (एआई) स्टार्टअपहरूको उदयसँगै एउटा नयाँ प्रवृत्ति देखिएको छ । औसतमा हेर्दा यस्ता स्टार्टअपका संस्थापकहरू झन् कम उमेरका हुँदै गएका छन् । विश्वव्यापी प्रारम्भिक चरणको भेन्चर क्यापिटल फर्म एन्टलरले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार एआई युनिकर्न (एक अर्ब डलरभन्दा बढी मूल्यका स्टार्टअप) का संस्थापकहरूको औसत उमेर २०२१ मा ४० वर्षको उच्च बिन्दुमा पुगेको थियो भने २०२४ मा घटेर २९ वर्षमा झरेको छ । यस प्रतिवेदनका लागि एन्टलरले विश्वभरका १ हजार ६२९ युनिकर्न र ३ हजार ५१२ संस्थापकहरूको अध्ययन गरेको थियो । तर अन्य उद्योगहरूमा भने संस्थापकहरूको उमेर बढ्दो क्रममा छ । सन् २०१४ मा युनिकर्न बन्ने स्टार्टअपका संस्थापकहरू औसतमा सुरु गर्दा ३० वर्षका थिए । तर २०२२ देखि २०२४ को बीचमा युनिकर्न बनेका स्टार्टअपका संस्थापकहरूको औसत उमेर ३४ वर्ष पुगेको छ । पछिल्लो एक वर्षमा युवा संस्थापक भएका थुप्रै एआई स्टार्टअपहरू चर्चामा आएका छन् । २९ अर्ब डलर मूल्यको एआई डेटा लेबलिङ कम्पनी स्केल एआईका सह–संस्थापक एलेक्जेन्डर वाङ अहिले मात्र २९ वर्षका छन् । मेटाले जुन महिनामा स्केल एआईसँग १४.३ अर्ब डलरको सम्झौता गर्दै वाङलाई भित्र्याएर ‘टीबीडी ल्याब्स’ नामक नयाँ एआई अनुसन्धान इकाइको नेतृत्व सुम्पिएको थियो । यसअघि ६५ वर्षे ‘एआई गडफादर’ यान लेकुनको नेतृत्वमा रहेको मेटाको जेनेरेटिभ एआई टोली, यसको एलएलएएमएफोर मोडल अपेक्षित रूपमा सफल नहुँदा पुनःसंरचना गरिएको थियो । यस पुनःसंरचनापछि वाङ लेकुनका प्रबन्धक बने ।  यसैबीच, एआईमा आधारित प्रतिभा खोज तथा भर्ती प्लेटफर्म मर्करका सहसंस्थापक ब्रेन्डन फुडी, आदर्श हिरिमथ र सूर्य मिधा सबै अहिले २२ वर्षका छन् । हालै यस कम्पनीको मूल्यांकन १० अर्ब डलरभन्दा बढी भएको छ । त्यस्तै, एआई सहयोगी कोडिङ तथा डेभलपर प्लेटफर्म एनीस्फियर पनि एक अर्ब डलरभन्दा बढी मूल्यांकनसहित २० वर्ष आसपासका युवाहरूको नेतृत्वमा छ । एन्टलरका सह–संस्थापक तथा प्रमुख व्यवसाय अधिकृत फ्रिड्टजोफ बर्जेका अनुसार अब संस्थापकसँग गहिरो उद्योग अनुभव हुनु अनिवार्य मानिँदैन । बरु चतुर, उद्यमशील र नयाँ उपाय खोज्न सक्ने क्षमता बढी मूल्यवान् ठानिन थालेको छ । ‘एआईको युगमा प्रयोग गर्न इच्छुक र सक्षम हुन, परम्परागत कर्पोरेट अनुभव वा लामो सेवाभन्दा बढी महत्त्वपूर्ण हुन थालेको छ,’ उनले भने । ‘परम्परागत कम्पनी निर्माणको धेरै अनुभव हुनु कहिलेकाहीँ उल्टै हानिकारक पनि हुन सक्छ । किनकि त्यसले पूर्ण रूपमा नयाँ सोच (ब्ल्याङ्क स्लेट) बाट सोच्न अवरोध गर्न सक्छ । अत्याधुनिक र नयाँ प्रविधिमा प्राविधिक रूपमा निपुण हुनका लागि कहिलेकाहीँ युवा हुनु फाइदाजनक हुन्छ, किनकि त्यही विषय तपाईंले हालसालै अध्ययन वा प्रशिक्षणमा सिकेको हुन्छ,’ उनले थपे । एन्टलरको प्रतिवेदनले एआई स्टार्टअपहरू अन्य उद्योगको तुलनामा औसतमा दुई वर्ष छिटो विस्तार भइरहेको पनि देखाएको छ । यी स्टार्टअपहरू औसत ४.७ वर्षमै युनिकर्न बन्न सफल भएका छन् ।  २०२५ मा तीव्र गतिमा विस्तार भएका एआई स्टार्टअपका उदाहरणहरूमा मिस्ट्रल , लभेबल र सुनो एआई पर्दछन् । र जुकरबर्गकै उदाहरणले देखाउँछ— कलेजको होस्टेल कोठामा जन्मिएको एउटा अनौठो विचारले पनि असाधारण सफलता हासिल गर्न सक्छ । ‘उनी अत्यन्तै युवा थिए, तर समयसँगै आफूलाई ढाल्दै संसारकै ठूला कम्पनीमध्ये एकको नेतृत्व गरिरहेका छन्,’ बर्जेले भने । भेन्चर क्यापिटल फर्म लियोनिसले नोभेम्बरमा सार्वजनिक गरेको एक प्रतिवेदनले पनि एआई स्टार्टअपका संस्थापकहरूको मध्यम (मिडियन) उमेर २९ वर्ष रहेको देखाएको छ । अधिकांश संस्थापकहरू मध्य–२० देखि अन्तिम–२० को उमेर समूहका छन् र धेरैजसो कर्पोरेट करिअरभन्दा सिधै शैक्षिक संस्था वा अनुसन्धान प्रयोगशालाबाट आएका हुन्छन् । बर्जेले भने, ‘२० वर्ष आसपासका युवाहरूमा कम्पनीलाई छिटो अघि बढाउने गुण हुन्छ । तर कम्पनी परिपक्व हुँदै जाँदा नेतृत्व परिवर्तन हुनु सामान्य कुरा हो ।’ उनको निष्कर्ष छ– युवा उमेरमै कम्पनी सुरु गर्नु नयाँ कुरा होइन तर अहिले युनिकर्न बनाइरहेका सबै संस्थापकहरू नै पाँचदेखि दस वर्षपछि पनि ती कम्पनीको नेतृत्वमै रहनेछन् भन्ने ग्यारेन्टी हुँदैन ।

नेपाल बैंकका ग्राहकलाई ब्ल्याक हर्स जुत्तामा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीले ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता खरिद गर्दा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिले उत्पादन तथा बिक्री गर्दै आएका विभिन्न किसिमका जुत्तामा यो छुट सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । छुट सुविधा बिल रकममा लागु हुने जनाइएको छ । सम्झौतापत्रमा पुस ३० गते नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान विभागका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिका तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपाल बैंकका ग्राहक तथा कर्मचारीले ब्ल्याक हर्स इण्डष्ट्रिजद्वारा उत्पादित ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता देशभर रहेका आधिकारिक विक्रेतामार्फत सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् । बैंकले यस्ता सहकार्यबाट ग्राहकलाई थप सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।  

नेपालमा टिभिएस अपाचे रेसिङको औपचारिक सुरुआत

काठमाडौं । विश्वप्रसिद्ध दुई तथा तीनपाङ्ग्रे सवारी साधन निर्माता टिभिएस मोटर कम्पनीले टिभिएस अपाचे अनुभव (एआरई–जीपी) कार्यक्रम पहिलोपटक नेपालमा सुरु गरेको छ । टिभिएस अपाचे शृङ्खलाको २० वर्ष पूरा भएको अवसर पारेर सुरु गरिएको यस रेसिङ कार्यक्रमले नेपाली चालकलाई अन्तर्राष्ट्रिय स्तरको मोटरस्पोर्ट्स अनुभव प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । सतुंगलस्थित सवारी साधन तालिम तथा अनुसन्धान केन्द्रमा सम्पन्न छनोट चरणमा ६० जना चालकले प्रतिस्पर्धा गरेका थिए भने करिब २०० जना दर्शकको उपस्थिति रहेको थियो । १० वटा चुनौतीपूर्ण मोड समेटिएको पेशागत रूपमा तयार पारिएको ट्र्याकमा चालकहरूको प्रदर्शन सबैभन्दा छिटो घुम्ती समयका आधारमा मूल्यांकन गरिएको थियो । प्रतियोगितामा १६० सीसी र २०० सीसी गरी दुई वर्ग समावेश गरिएको थियो । प्रत्येक वर्गका उत्कृष्ट तीन चालकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारका साथै विशेष टिभिएस राइडिङ सामग्री प्रदान गरिएको छ। साथै, वर्ग विजेताहरूले भारतको चेन्नईस्थित मद्रास अन्तर्राष्ट्रिय सर्किटमा आयोजना हुने एआरई–जीपी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेका छन् । कार्यक्रममा टिभिएस रेसिङका अनुभवी चालकहरूले सहभागीहरूलाई पेशागत तालिम र मार्गदर्शन प्रदान गरेका थिए । टिभिएस मोटर कम्पनीका प्रिमियम व्यवसाय प्रमुख विमल सुम्ब्लीले टिभिएस अपाचेको दुई दशक लामो रेसिङ यात्रालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नु स्वाभाविक निरन्तरता भएको बताए । त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले मोटरस्पोर्ट्सले युवाहरूको सम्भावनालाई सही दिशामा लैजाने उल्लेख गर्दै एआरई–जीपीले नेपाली चालकलाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने ढोका खोल्ने विश्वास व्यक्त गरे । दिनभर सञ्चालन भएको कार्यक्रममा स्टन्ट प्रदर्शन, जिमखाना अभ्यास तथा मनोरञ्जनात्मक डिस्क जकी कार्यक्रमसमेत आयोजना गरिएको थियो । 

भदौ २३ र २४ को आन्दोलनपछि पहिलो पट बस्यो राष्ट्रिय सभाको बैठक

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ । चार महिनाको लामो अन्तरालपछि आइतबार (आज) सिंहदरबारस्थित संसद भवनमा हिउँदे अधिवेशनअन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् लामो समय सञ्चालन हुन नसक्नुको कारणबारे संक्षिप्त जानकारी गराउँदै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन संसद्‌को भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।  उनले संवाद र सहमतिमार्फत संसद्‌को कार्यसूचीलाई अघि बढाउन सबै दललाई आग्रहसमेत गरेका छन् । हिउँदे अधिवेशनमा सरकारका तर्फबाट बिजनेस भने खासै नआएको बताइएको छ । जेनजी आन्दोलनपछि बसेको यो पहिलो बैठकले संसद्‌को आगामी दिशा, दलहरूबीचको सहकार्यलगायतका विषयमा छलफल गर्ने जनाइएको छ । लामो समयपछि संसद् सञ्चालनमा आएकाले विधेयक निर्माण, नीति निर्माण र सरकारको उत्तरदायित्व सुनिश्चित गर्ने प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ ।

२६ वर्षमा १३ खर्ब लगानी, ४ हजार मेगावाट विद्युत उत्पादन

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको १३ खर्ब १० अर्ब लगानी भएको पाइएको छ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २६औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक भएको ‘स्टडी अन इन्भेस्टमेन्ट अफ हाइड्रोपावर सेक्टर’  प्रतिवेदनले यस्तो जनाएको हो ।  इप्पान र बीएफआइएस न्युजको सहकार्यमा उक्त अनुसन्धान सम्पन्न भएको इप्पानले जनाएको छ ।  प्रतिवेदनमा सरकारी क्षेत्रको एक खर्ब एक अर्ब भन्दा माथि लगानी भएको पाइएको छ । निजी क्षेत्रले प्रवर्द्धन गरेका सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनामा बैंकिङ क्षेत्रको कुल लगानी ८ खर्ब ७० अर्ब रहेको छ भने निजी क्षेत्रको सेयर लगानी ४ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ ।  त्यसैगरी, जलविद्युत कम्पनीहरूले निष्काशन गरेको आइपीओ एक करोड ६३ लाख जनाले प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । यही अवधिमा गरिएको अनुसन्धानबाट दोस्रो बजारमा एक करोड ८ लाख सेयरधनी रहेको पाइएको छ । जलविद्युत कम्पनीले सर्वसाधारण लगानीकर्तामा आइपीओ जारी गरेर ४१ अर्ब ६५ करोड रुपैयाँ संकलन गरेका छन् । कार्यक्रममा  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई लोडसेडिङमुक्त बनाउँदै विद्युत निर्यात गर्ने अवस्थामा पुर्‍याएको बताए ।  हाल नेपालको कुल विद्युत उत्पादन करिब ४ हजार मेगावाट पुगेको र यसमध्ये ३३०० मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदान रहेको उल्लेख गर्दै उनले यसलाई गर्वको विषय भएको बताए । मन्त्री सिन्हाका अनुसार ५–१० मेगावाटका साना आयोजनाबाट सुरु भएको निजी क्षेत्रको यात्रा आज १०० मेगावाटभन्दा ठूला आयोजनासम्म पुगेको छ । ऊर्जा क्षेत्रको विकासले शिक्षा, स्वास्थ्य र स्थानीय विकासमा पनि ठूलो सहयोग पुगेको भन्दै उनले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको जानकारी दिए । उनले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको र बंगलादेशमा पनि निर्यात प्रक्रिया अगाडि बढेको बताए। तर कानुनी तथा नीतिगत सुधार, विद्युत खरिद सम्झौता, प्रसारण लाइन विस्तार, वन तथा जग्गा प्राप्तिका जटिलताजस्ता चुनौती अझै कायम रहेको उनले स्वीकार गरे ।  ‘टेक एन्ड पे’ र ‘टेक अर पे’ जस्ता नीतिमा स्पष्टता ल्याउनुपर्ने र वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रियालाई सहज बनाउनुपर्ने आवश्यकता उनले औंल्याए । मन्त्री सिन्हाले निजी क्षेत्रले भौतिक पूर्वाधारसँगै अनुसन्धान, कानुनी दक्षता र जनशक्ति विकासमा पनि लगानी गर्नुपर्नेमा जोड दिए । साथै आगामी निर्वाचनमा विकासप्रेमी र ऊर्जा क्षेत्रको महत्त्व बुझ्ने जनप्रतिनिधि चयन गर्नुपर्ने सुझाव पनि दिए । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्र पाण्डेले नेपालमा बढ्दो जलविद्युत् उत्पादनको उचित उपयोगका लागि स्वदेशमै विद्युत् खपत बढाउनुपर्नेमा जोड दिएका छन् ।  कार्यक्रममा अध्यक्ष पाण्डे ले जलविद्युत् क्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै विद्युत् खपतमार्फत तीव्र आर्थिक वृद्धि हासिल गर्न सकिने धारणा राखे ।  उनका अनुसार उद्योग क्षेत्र ठूलो परिमाणमा विद्युत् खपत गर्ने क्षेत्र भए पनि कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उद्योगको योगदान सन् १९९६ को ९ प्रतिशतबाट घटेर हाल ५ प्रतिशतभन्दा कममा झरेको छ । यद्यपि कुल विद्युत् खपतको ३५ प्रतिशतभन्दा बढी हिस्सा औद्योगिक क्षेत्रबाट हुने गरेको र पिक आवरमा १८०० मेगावाट मागमध्ये करिब ३३–३५ प्रतिशत उद्योगबाट आउने उनले जानकारी दिए । अध्यक्ष पाण्डेले ऊर्जा क्षेत्र विदेशी मुद्रा आर्जन र व्यापार घाटा न्यूनीकरणका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा नेपाली निजी क्षेत्रले जोखिम मोलेर उल्लेखनीय उद्यमशीलता देखाइरहेको बताए । सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा खर्बौं लगानी आवश्यक पर्ने र त्यसका लागि विदेशी लगानी पनि अपरिहार्य हुने उनको भनाइ थियो ।  विद्युत् व्यापारमा निजी क्षेत्रलाई खुला गर्नुपर्ने माग लामो समयदेखि उठाउँदै आएको स्मरण गराउँदै उनले विद्युत् नियमन आयोगले हालै जारी गरेको प्रसारण तथा वितरणमा खुला पहुँचसम्बन्धी निर्देशिकालाई सकारात्मक कदमको रूपमा स्वागत गरे ।  यसै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श (सीएनआई)का कार्यवाहक अध्यक्ष नेपालको जलविद्युत् इतिहास दक्षिण एसियामै पुरानो रहेको स्मरण गराउँदै सन् १९११ (विसं १९६७) मा फर्पिङमा ५०० किलोवाटको आयोजना स्थापना भएको उल्लेख गरे । उनले जलविद्युत् आयोजना विकासमा सर्भे लाइसेन्सदेखि पीपीए र निर्माण सम्पन्न गर्न १०–१२ वर्ष लाग्ने अवस्थालाई जटिल कानुनी तथा प्रक्रियागत समस्याको परिणाम बताए । एक आयोजनाका लागि १६ वटा मन्त्रालय धाउनु पर्ने अवस्थाले लगानीकर्तालाई निरुत्साहित गरेको भन्दै उनले ‘सिंगल विन्डो सिस्टम’ तत्काल लागू गर्न सरकारसँग माग गरे ।  अध्यक्ष गणेश कार्कीले हाल देशभर ९०० भन्दा बढी जलविद्युत आयोजनाले लाइसेन्स लिएर काम अघि बढाइसकेको जानकारी दिए । उनका अनुसार ११ हजार ६ सय मेगावाट क्षमताका आयोजनाहरू विभिन्न चरणमा छन् भने करिब १६ हजार मेगावाट बराबरको विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । यसमध्ये ४ हजार मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिइसकेको छ भने ५ हजार मेगावाट निर्माणाधीन अवस्थामा रहेको छ । कार्कीले जलविद्युत क्षेत्रमा जनताको व्यापक लगानी रहेको उल्लेख गर्दै करिब १ करोड १३ लाख नेपालीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस क्षेत्रमा लगानी गरिसकेको बताए । हालसम्म जलविद्युत क्षेत्रमा १३ खर्ब १० अर्ब रुपैयाँ बराबरको लगानी भइसकेको पनि उनले जानकारी दिए ।  सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट उत्पादन गर्ने ऊर्जा मार्गचित्र स्वागतयोग्य रहेको भन्दै आन्तरिक खपतका लागि १३ हजार ५०० मेगावाट र छिमेकी मुलुकमा १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य सकारात्मक रहेको उनको धारणा थियो । यद्यपि उनले बजेटमार्फत आएको ‘टेक एण्ड पे’ नीतिले लगानीकर्तामा निराशा पैदा गरेको बताए । साथै निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गर्न अनुमति दिनुपर्ने, प्रसारण लाइन अभावका कारण उत्पादित विद्युत खेर गइरहेको र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा प्रारम्भिक वातावरणीय परीक्षण (आईईईई) प्रक्रिया अत्यन्तै झन्झटिलो बनेको गुनासो गरे । अध्यक्ष कार्कीले वन मन्त्रालयसहित १६ वटा मन्त्रालय धाउँदा आयोजनाको समय र लागत बढेको, बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिका कारण समस्या थपिएको भन्दै व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी) थप गर्न सरकारसँग आग्रह गरे ।  सेयर निष्कासनमा ढिलाइ हुँदा करिब ३५ वटा आयोजना आइपीओ स्वीकृतिको पर्खाइमा रहेको र विद्युत उत्पादनपछि मात्र सेयर दिने प्रावधानले स्थानीय तथा सर्वसाधारण लगानीकर्ता मारमा परेको उनले बताए । कार्यक्रममा इप्पानका वरिष्ठ उपाध्यक्ष तथा इप्पान डे मुल समारोह समितिका संयोजक महन कुमार डागीले नेपालको समृद्धिका मुख्य आधार ऊर्जा, पर्यटन र कृषि रहेको उल्लेख गर्दै जलविद्युतमा ८२ हजार मेगावाटभन्दा बढी र सोलार ऊर्जामा ४० हजार मेगावाटभन्दा बढी सम्भावना रहेको बताए। हाल देशको कुल विद्युत उत्पादन ३ हजार १९५ मेगावाट पुगेको र निजी क्षेत्रको २६ वर्षे यात्रामा ३ हजार ३३५ मेगावाट उत्पादन गर्न सफल भएको उनले बताए । उनका अनुसार डिजेल, पेट्रोल र एलपिजी ग्यासको आयात घटाउँदै उर्जा खपत बढाउनु नै समृद्धिको आधार हो। निजी क्षेत्रले उत्पादन गरेको विद्युतको हिस्सा ८३ प्रतिशत पुगेको र निर्माणाधीन ५ हजार ७ सय मेगावाट आयोजनामा अझ बढी योगदान रहेको उनले दाबी गरे। डागीले आगामी २/४ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन हुने निश्चित रहेको भन्दै त्यसको खपत र व्यापारका लागि समयमै नीति नबने गम्भीर समस्या आउन सक्ने चेतावनी दिए। संसारभर प्रमाणित निजी क्षेत्रलाई विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा अनुमति दिनुपर्नेमा उनले जोड दिए। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इप्पानले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।  उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न पुर्‍याएको योगदान राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारस्तम्भ भएको उल्लेख गरे । उपराष्ट्रपति यादवले नेपाल जलविद्युत तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिए । ऊर्जा आत्मनिर्भरता आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको भन्दै उनले पर्याप्त ऊर्जा बिना विकास सम्भव नहुने स्पष्ट पारे ।  उनका अनुसार सस्तो र पर्याप्त ऊर्जा उपलब्ध भएमा उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा तीव्र विकास भई रोजगारी सिर्जना र आर्थिक समृद्धि सुनिश्चित हुनेछ । साथै ऊर्जा क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । त्यस्तै, इप्पानले यस वर्षदेखि इप्पान जर्नल अवार्डको सुरुवात गरेको  छ । यस वर्षको इप्पान जर्नल अवाड नयाँ पत्रिकाका मिलन विश्वकर्मा र कान्तिपुर दैनिककी सीमा तामाङले प्राप्त गरेकी छिन् । 

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं ।  विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाव आएको छ । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ भने चाँदी तोलामा २० रुपैयाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल पाँच हजार ६२५ रुपैयाँ निर्धारण भएको छ ।  गत बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ र शुक्रबार दुई लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियोभने बिहीबार एक तोला चाँदी पाँच  हजार ४८५ र शुक्रबार पाँच हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासङ्घले जनाएको छ ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९६ र त्यति नै तौलको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

गुल्मी कांग्रेस तीन टुक्रामा विभाजित : असन्तुष्टहरूले गठन गरे बीपी कांग्रेस, सभापतिमा पाण्डे

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस दुई टुक्रामा विभाजित हुँदा गुल्मी कांग्रेस तीन टुक्रामा विभाजित भएको छ ।    गगन थापा नेतृत्वको विशेष महाधिवेशनले निर्वाचित गरेको नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएसँगै गुल्मीमा पनि कांग्रेस विभाजित भएको हो ।  गुल्मीमा सभापति थापा नेतृत्वको आधिकारिक समूह, शेरबहादुर देउवा नेतृत्वको समूहसँगै यी दुवै समूहमा नलाग्नेहरूले नेपाली कांग्रेस बीपी गठन गरेका हुन् ।  जिल्ला सभापति खिलध्वज पन्थीसहितको जिल्ला कार्य समितिको बहुमत निर्वाचन आयोगले आधिकारिकता दिएको थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसमा रहेको जिल्ला नेता महेन्द्र भण्डारीले जानकारी दिए । जिल्लाका पुराना नेता तथा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र कुँवर, हरिनारायण सापकोटासहितका नेताहरू देउवा नेतृत्वमा रहेको नेपाली कांग्रेसमा रहेको युवा नेता रविन्द्र घिमिरेले जानकारी दिए । देउवा र थापा दुवै समूहमा नलागेका नेताहरूले विद्रोह गरेर जिल्लामा नेपाली कांग्रेस बीपी जिल्ला कार्य समिति गठन गरेका छन् । नवगठित उक्त कार्य समितिको सभापतिमा नेपाली कांग्रेस गुल्मी जिल्ला कार्य समितिका पूर्वसदस्य सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् । पाण्डे नेपाल शिक्षक संघ गुल्मीका पूर्वउपसभापति तथा पालुखा मावि इस्माका पूर्वप्रधानाध्यापकसमेत रहिसकेका जिल्लाका चर्चित नेता हुन् । पाण्डेका अनुसार नेपाली कांग्रेसका जिल्लाका अधिकांश नेताहरूसँग छलफल बीपी कांग्रेसले छलफल गरिरहेको छ । पाण्डेले जिल्लाका वडा, पालिका, क्षेत्र र जिल्लाका एक सयभन्दा धेरै नेताहरू बीपी कांग्रेसमा प्रवेश गर्नेगरी छलफल चलिरहेको छ ।