विकासन्युज

ज्योति विकास बैंकको​​​​​​​ मोबाईल बैंकिङबाट हवाई टिकट किन्दा ५ सय ​​​​​​​क्यासब्याक पाइने

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई डिजिटल माध्यमबाट हवाई टिकट खरिद गर्न प्रोत्साहन दिने उद्देश्यले आफ्नो मोबाईल बैंकिङ एप ‘ज्योति स्मार्ट’मार्फत ५०० रुपैयाँ क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट एपमार्फत खरिद गर्दा ‘फ्लाई५००’ प्रोमो कोड प्रयोग गरेपछि ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ । यो सुविधा पहिलो ३०० जना ग्राहकका लागि मात्र उपलब्ध रहनेछ । मंसिर ३ गतेदेखि लागू गरिएको यो सीमित अवधिको अफर अन्तर्गत ज्योति स्मार्ट एप प्रयोग गरी गरिएको पहिलो हवाई टिकट खरिदमा मात्र क्यासब्याक पाउन सकिने बैंकले स्पष्ट पारेको छ । ज्योति विकास बैंकले डिजिटल कारोबार विस्तार तथा ग्राहकलाई किफायती, सहज र सुरक्षित सेवामा पहुँच दिलाउने उद्देश्यले निरन्तर विभिन्न आकर्षक योजना सञ्चालन गर्दै आएको छ । बैंकका अनुसार डिजिटल बैंकिङ प्लेटफर्मलाई अझ आधुनिक, सुरक्षित र प्रयोगमैत्री बनाउन पनि निरन्तर सुधार भइरहेका छन् ।

होटलमा लगानी थप्दै भीआईपी व्यवसायी, यी हुन् काठमाडौंमा बन्दै गरेका पाँचतारे होटल

काठमाडौं । काठमाडौं उपत्यकाको दृश्य पछिल्लो समय क्रेन र कंक्रिटको हलचलले बदलिएको छ । उपत्यकामा दर्जनभन्दा बढी पाँचतारे होटलहरू एकपछि अर्को निर्माण भइरहेका छन् । नयाँ परियोजनाहरू नक्सा पासको तयारीमा छन् भने केहीले २०२५ भित्रै सञ्चालनमा ल्याउने लक्ष्य लिएका छन् । तीव्र रूपमा बढ्दै गएको निर्माणले उपत्यकाको होटल बजारमा नयाँ प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको छ ।  लगानीकर्ताको उत्साह ठूलो छ, तर बजार भने त्यति सहज छैन । कोभिड-१९ महामारीपछि नेपालको पर्यटन क्षेत्र पूर्ण रूपमा उठ्न सकेको छैन । राजनीतिक तथा नीतिगत अस्थिरता र आर्थिक सुस्तताले सबैभन्दा बढी प्रभावित भएको होटल क्षेत्रको चुनौतीलाई सामना गर्दै ठूला व्यवसायीहरू होटल क्षेत्रमै लगानी बढाइरहेका छन् ।  अहिले पनि राम्रै होटल सञ्चालन गरिरहेका अधिकांश व्यवसायीहरुले थप नयाँ परियोजना सुरु गरिरहेका छन् । उनीहरूले चुनौतीमै बलियो सम्भावना देखेर एकपछि अर्को नयाँ होटल परियोजना सुरु गरिरहेका छन् । विदेशबाट फर्किएर स्वदेशै केही गर्छु भनेर एकपछि अर्को नयाँ परियोजनामा हात हालिरहेका कर्मा तेञ्जिङ हुन् वा लामो समय होटल क्षेत्रमै क्रियाशील रहेर बन्द भइसकेको अन्नपूर्ण होटलको सेयर बिक्री गरेर नयाँ सेयरधनी भित्र्याएकी सिर्जना राणाहरू नै किन नहुन् सबैले होटल क्षेत्रमा नयाँ अवसर र सम्भावना देखेका छन् ।  नेपाली व्यवसायीमाझ आकर्षक छवि बनाएका सिद्धार्थ राणा, होटल मेरियट सञ्चालन गरेर सफल व्यवसायीको परिचय बनाएका शशिकान्त अग्रवाल र आफूलाई अर्बपति भनेर चिनाउन मन पराउने विनोद चौधरीहरूले एकपछि अर्को नयाँ होटलमा लगानी थप्दा यो क्षेत्रमा थुप्रै अवसर रहेको बुझाइ अधिकांश व्यवसायीको छ ।  उपत्यकामा पाँचतारे होटलहरूको संख्या बढेसँगै प्रत्यक्ष रूपमा सेवा प्रतिस्पर्धा, रोजगारी र सहायक व्यवसायहरू विस्तार हुने अपेक्षा छ । चुनौती धेरै भए पनि लगानीकर्ताले उपत्यकाको भविष्यमा विश्वास गर्दै ‘फाइभ–स्टार रेस’लाई तीव्र बनाइरहेका छन् । त्यसैले त सुपरमार्केट व्यवसायमै व्यस्त मीनबहादुर गुरुङ र शिक्षाक्षेत्रमै सक्रिय उमेश श्रेष्ठहरू पनि हस्पिटालिटीमा छिरेका छन् । उसो त व्यवसायी शेष घलेले सुविधा सम्पन्न होटल शेराटन निर्माण गर्छु भनेर तम्सिएको वर्षौं बित्यो । उनले हालसम्म होटल शेराटनको निर्माण सम्पन्न गरिसकेका छैनन् । उनी सो परियोजनामा समयमै सफल हुन नसके पनि व्यवसायीको लगानीका लागि आकर्षणको क्षेत्र भने हस्पिटालिटी नै देखिएको छ । होटल विभागका अनुसार काठमाडौंमा एक दर्जन बढी पाँचतारे होटलहरू निर्माणाधीन अवस्थामा छन् । आज हामीले काठमाडौंमा निर्माणाीधीन अवस्थामा रहेका पाँचतारे होटलको बारेमा सामग्री तयार गरेका छौं ।  ‘द ओबरोय काठमाडौं’ काठमाडौंको रविभवनमा ७ अर्ब रुपैयाँ बढी लगानीमा सुविधा सम्पन्न पाँचतारे होटल निर्माणाधीन अवस्थामा छ । होटलको निर्माण कार्य सुरु भइसकेको छ ।  सिप्रभ्य होटल एन्ड रिसोर्ट प्रालिले ७ अर्ब १२ करोड ४० लाख रुपैयाँ लगानीमा लम्जरियस होटल ‘द ओबरोय काठमाडौं’ होटल निर्माण गर्न लागेको हो । उक्त होटल सन् २०२९ को जुनसम्ममा निर्माण सम्पन्न गरी व्यावसायिक कारोबार गर्ने योजना बनाएको छ ।  कम्पनीअनुसार यो होटल निर्माण सम्पन्न सन् २०२६ को डिसेम्बरसम्ममा सम्पन्न हुनेछ । व्यवसायिक कारोबार भने सन् २०२९ बाट गर्ने कम्पनीले लक्ष्य लिएको छ । कम्पनीले ७५ वटा लक्जरियस कोठाको सुविधासहित होटल निर्माण गर्ने भएको छ । कम्पनीले प्रतिकोठाको लागत ९ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । कम्पनीमा सिद्धार्थ राणाको सबैभन्दा बढी स्वामित्व रहेको छ । कम्पनीमा राणाको ६० प्रतिशत र एम/एस सूर्य इन्टरप्राइजेज प्रालि र एम/एस एसआर होल्डिङको २०/२० प्रतिशत स्वामित्व छ । होटल निर्माणका लागि कम्पनीले ४ अर्ब २७ करोड ४० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि रेटिङ गराइसकेको छ । समिट होटल ललितपुरको कुपण्डोल हाइटमा चौधरी समूह, एनई समूह र समिट समूहको संयुक्त लगानीमा आधुनिक पाँचतारे समिट होटलसहितको अपार्टमेन्ट निर्माणाधीन अवस्थामा छ । यो होटल व्यवस्थापन मेरियट इन्टरनेशनलको पाँचतारे लक्जरी ब्रान्ड ‘सेन्ट रिजिस’ले गरेको छ ।  यो परियोजनामा जग्गासहित साढे ७ अर्ब लगानी रहेको छ ।  होटलमा १० हजारभन्दा बढी कोठाहरू रहेका छन् । २ वटा अपार्टमेन्टमा समिट रेसिडेन्सेस् र समिट सिग्नेचर रेसिडेन्सेस् रहने छ ।  अपार्टमेन्टका भवन ग्राउन्डबाहेक १७ तलाको रहनेछ । विश्वका शौखिन खर्चालु पर्यटकलाई लक्षित गरेर यो ब्रान्ड ल्याउन लागिएको कम्पनीले जनाएको छ । ‘फोर प्वाइन्ट्स बाई शेराटन’  काठमाडौंको ठमेलमा मनाङ हस्पिटालिटी प्रालिले ‘फोर प्वाइन्ट्स बाई शेराटन’  ब्रान्डअन्तर्गत पाँचतारे होटल पुनःनिर्माण गर्न लागेको छ । कम्पनीले ठमेलकै पुरानो होटल वैशालीको जग्गा र भवन खरिद गरेर पुनःनिर्माण गरी पाँचतारे होटल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । यो होटलमा सबैभन्दा धेरै सेयर मनाङ हस्पिटालिटीका अध्यक्ष कर्मा तेन्जिङको रहेको छ । उनको यो होटलमा ६३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कर्मा तेन्जिङ कर्मा ग्रुपका अध्यक्षसमेत हुन् । उनको घरजग्गा, शिक्षा र हस्पिटालिटी लगायत क्षेत्रमा लगानी रहेको छ । तेन्जिङ अर्थशास्त्रमा विद्यावारिधि गरेका एक अनुभवी व्यवसायी हुन् । कम्पनीले म्यारियट इन्टरनेशनललाई होटलको व्यवस्थापन दिने उल्लेख गरेको छ । कम्पनीले कुल २ अर्ब ६७ करोड ७० लाख लागतमा होटल पुनःनिर्माण गर्न लागेको हो । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी रहनेछ । कम्पनीले होटलको पुनःनिर्माण गरे सन् २०२७ मा आंशिक र २०२८ मा पूर्ण व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । कम्पनीले बैंकबाट दीर्घकालीन २ अर्ब र अल्पकालीन अवधिको लागि ३ करोड गरी कुल २ अर्ब ३ करोड रुपैयाँको कर्जाका लागि रेटिङ पनि गराइसकेको छ । हाल यो योजना पुनःनिर्माणको प्रारम्भिक चरणमा रहेको छ। ले मेरेडिएन काठमाडौंको महाराजगञ्जमा ‘ले मेरिडिएन’ निर्माणाधीन छ । शैक्षिक, पदयात्रा तथा आरोहणजस्ता पर्यटनसम्बन्धी व्यवसायहरूमा संलग्न कर्मा तेञ्जिङले ४ अर्ब २ करोड रुपैयाँ लागतमा ‘ले मेरिडियन’ होटलको निर्माणको प्रक्रिया अगाडि बढाएका हुन् । होटलको व्यवस्थापनमा लक्जरी होटल म्यानेजमेन्ट (बीभीआई) रहेको छ । होटल २ तलाको बेसमेन्टसहित १२ तला र १७० कोठा हुनेछन् । होटलमा क्यासिनो, ठूलो ब्यांक्वेट हल, मिटिङ हल, स्वीमिङ पुल, जीम, साउना, स्पा, रेष्टुरेन्ट तथा बारलगायत आधुनिक सुविधा हुनेछन् । कर्मा ग्रुपले सन् २०२६ को अन्त्यसम्म होटल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको छ ।  होटलसँगै कर्मा ग्रुपले २ अर्ब रुपैयाँको लगानीमा अपार्टमेन्ट पनि बनाउँदैछ । उक्त ग्रुपले महाराजगञ्जमा १६२ युनिटको कर्मा रेसिडेन्सी अपार्टमेन्ट बनाउने भएको हो । अपार्टमेन्टमा पनि होटलमा जस्तै सुविधा उपलब्ध हुनेछन् । जीम, साउना, स्वीमिङ पुल, कम्युनिटी हल, खुला ठाउँलगायत सुविधा अपार्टमेन्टमा बस्नेले उपभोग गर्न पाउनेछन् । अन्नपूर्ण होटल  पाँच दशक पुरानो नेपालको पहिलो पाँचतारे होटेल अन्नपूर्ण पुनःनिर्माणको कार्य भइरहेको छ । यो होटल कोरोना भाइरसको महामारी सुरु भएपछि २०७६ चैतमा भएको लकडाउनपछि नै होटेल व्यावसायिक सञ्चालनमा छैन । काठमाडौंको दरवारमार्गमा अवस्थित यो  होटलकोे सञ्चालक सिर्जना राणा हुन् । दरवारमार्गमा करिब ४४ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा अहिले मीनबहादुर गुरुङ र उमेश श्रेष्ठ पनि लगानीकर्ता थपिएका छन् ।  इन्टरकन्टिनेन्टल काठमाडौं  लाजिम्पाटस्थित होटल सांग्रिलालाई इन्टरकन्टिनेन्टल काठमाडौंको रूपमा पुनस्र्थापना गर्न लागिएको छ । लामो समयदेखि बन्द रहेको यो होटलको व्यवस्थापन बेलायतको इन्टरकन्टिनेन्टल होटल्स ग्रुपले गरेको छ । २२४ कोठा क्षमता भएको यो होटल अलडे डाइनिङ, स्वीमिङ पुल, बिजनेस सेन्टर, इन्डोर आउटडोरको सुविधा रहेको छ । होटल लालचन काठमाडौंको बाँसबारीमा होटल लालचान निर्माणाधीन अवस्थामा रहेको छ । कम्पनीका अनुसार निर्माण कार्य ६० प्रतिशत सम्पन्न भइसकेको छ । ५ रोपनी जग्गामा निर्माण भइरहेको यो होटलको १४ तला रहने छ ।  लालचन समूहले निर्माण गर्न लागेको यो होटल तीन अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको छ । कम्पनीले २ अर्ब ३४ करोड ऋणको रेटिङ गरिसकेको छ । ग्रुपको नेतृत्व सोमबहादुर लालचनले गर्दै  आएका छन् ।  कम्पनीका अनुसार होटलको पहिलो तल्लामा किचन र मिटिङ हल रहनेछ । यसैगरी, होटलको दोस्रो तल्लामा स्पा, स्विमिङ पुल, मिटिङ हल र जिम हल बन्नेछ । तेह्रौँ तलामा रेष्टुराँ र लाउन्ज रहने छ ।  मोक्सी मेरियट  काठमाडौंको कमलादीमा निर्माण भएको मोक्सी मेरियट सञ्चालनमा आउने तयारीमा छ । करिब दुई अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त होटलका सञ्चालक शशिकान्त अग्रवाल हुन् ।  इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटलमार्फत निर्माण भएको होटल मेरियट मोक्सी ब्राण्डमा आधारित छ । दुई रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त होटलमा एक सय वटा कोठाहरु छन् । होटलमा क्याफेटेरिया, बार, स्वीमिङ पुल, साउना स्टीम, हेल्थ क्लबलगायतका सुविधा हुने छ । यो होटल युवावर्ग र विदेशी पहुना लक्षित हो ।  ‘मन्नत’ बुटिक  सेक्योर हस्पिटालिटीले होटल मन्नत ब्राण्डमा सञ्चालन गर्ने भएको हो । कोभिड महामारीलगायत विभिन्न कारणले गर्दा समयमै होटल निर्माण सम्पन्न हुन नसकेको जनाएको छ । होटल दिलकुमार श्रेष्ठले निर्माण थालेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल २.२ किलोमिटर दुरीमा रहेको छ । कम्पनीका अनुसार हालसम्म हालसम्म ८५ प्रतिशत भौतिक र ९० प्रतिशत वित्तीय प्रगति भएको छ । होटल आगामी जनवरीमा सफ्ट लञ्च गर्ने लक्ष्य व्यवस्थापनले लिएको छ । आगामी २०२६ को जुनदेखि होटल पूर्ण क्षमतामा सञ्चालनमा आउने व्यवस्थापनले जनाएको छ । कोभिड महामारीपछि समय लम्बिँदा लागत पनि बढेको सेक्योर हस्पिटालिटीले जनाएको छ । ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वपुँजी(इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ । सेक्योर्डले ९९ करोड ४७ लाख रुपैयाँ ऋणको रेटिङसमेत गराइसकेको छ । होटलमा सुविधाजनक बैठक हल, सम्मेलन हललगायत अन्य सुविधाहरू समावेश छन् ।

एनएमबि बैंकले सुरु गर्यो सफ्टपोस सेवा, मोबाइलबाटै कार्ड भुक्तानी लिन सकिने

काठमाडौं । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गरेको छ । सफ्टपोसले कुनै पनि एनएफसी समर्थित एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डबाट साना तथा मझौला उद्यम, पर्यटन उद्यम र अन्य व्यवसायीहरूले मोबाइलमै भुक्तानी स्वीकार गर्न सक्नेछन् । यसले व्यवसायीहरूलाई पोस मेसिनको झन्झटबिना डिजिटल भुक्तानी लिन सहजता प्रदान गर्नेछ । एनएमबि बैंकले सफ्टपोसको प्रयोग साना व्यापारी, डेलिभरी सेवा र टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने उद्देश्यले लिएको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने, 'सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो । हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ ।' सफ्टपोसले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार काम गर्ने भएकाले व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ ।

म्यानमारमा ठगिएका ३७ नेपालीको उद्धार, थाइल्याण्डबाट स्वदेश फर्काइयो

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमार पुगेका ३७ नेपाली नागरिकलाई थाइल्याण्डबाट स्वदेश फर्काइएको छ । नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय र सहयोग गर्दै उद्धार गरी नेपाल एयरलाइन्सको उडान नं आरए–४०२ मार्फत उनीहरूलाई काठमाडौं ल्याएको हो । यी नेपाली नागरिकहरू म्यानमारमा अवैधरूपमा सञ्चालन भएका ‘अनलाइन ठगी’ केन्द्रहरूमा अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगीजस्ता काममा संलग्न थिए । म्यानमार सुरक्षाकर्मीले स्क्यामिङ केन्द्रमा छापा मार्दा उनीहरू भागेर थाइल्याण्ड प्रवेश गरेका थिए । त्यसैगरी, म्यानमारको म्यावडीमा रहेका २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना र कम्बोडियामा रहेका ४ जना नेपाली नागरिकलाई पनि यथाशीघ्र नेपाल फर्काउने प्रयास भइरहेको छ । नेपाल सरकारले तोकेका मापदण्ड अनुसार मात्र वैदेशिक रोजगारीमा जानुपर्ने राजदूतावास बताएकाे छ। राजदूतावासका अनुसार छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता मुलुकमा भ्रमणको बहाना गरेर वैदेशिक रोजगारीमा नजाने र वैधानिक प्रक्रिया अनुसार मात्र रोजगार लिनु अनिवार्य छ ।

एमाले सचिवालय बैठक सुरु, अजेण्डा महाधिवेशन तयारी र प्रतिनिधिसभा पुनःस्थापना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । केहीबेरमै प्रारम्भ भएको आजको बैठकमा आगामी ११औं महाधिवेशनको तयारी प्रमुख एजेन्डा रहेको पार्टीले जनाएको छ । एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ । महाधिवेशनमा २१ सयभन्दा बढी प्रतिनिधि रहनेछन् भने प्रतिनिधि चयन मंसिर १३ गते देशभर एकैदिन गरिनेछ । आजको बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाबारे पनि विशेष छलफल हुने एक नेताले जानकारी दिएका छन् । पुनःस्थापनाको मुद्दा उठाउँदै एमालेले देशभर जनपरिचालन गरिरहेकामा यसअघि अदालत जाने विषय छलफल भए पनि पार्टी अदालत गएको थिएन ।  केही दिनअघि बसेको विघटित संसदीय दल बैठकले निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई आवश्यक तयारीको जिम्मा दिएको थियो । अधिकांश सांसदहरूले निवेदनका लागि हस्ताक्षर गरिसकेको एमाले स्रोतले बताएको छ । बैठकमा यसबाहेक पनि समसामयिक राजनीतिक विषयहरूमा विस्तृत छलफल हुने एमालेले जनाइएको छ ।

भोलिदेखि काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर सुरु

काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।  कार्यक्रम भोलि (शुक्रबार) देखि आइतबारसम्म काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुनेछ । तीनदिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवासुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।  एक्सचेन्ज अफर ४६ लाख ९९ हजार सुरु हुनेछ । प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ ।  उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।  

मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक ६ सयलाई रोजगारी

दमौली । मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक ६ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक ६ सय जना मजदुर खटिएका हुन् ।      आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा दैनिक छ सयका दरले मासिक १८ हजार मजदुरले रोजगारी पाएका छन् । उनले यस खण्डमा २० जनाले परामर्शदाताका रूपमा काम गरिरहेका जानकारी दिए । पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक र ४७ दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको कुँवरले उल्लेख गरे । उनका अनुसार ३८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किमी खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ ।      उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको बताए । उक्त पुलमा ४७ दशमलव ५२ प्रतिशत भौतिक र ४७ दशमलव नौ प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ । उनले हालसबै सबै चार वटा पाइलक्याप, एक सय २० वटा पाइल निर्माण सम्पन्न भएका जानकारी दिए ।      पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३ दशमलव शून्य छ किमी कालोपत्र सम्पन्न भएको छ । यहाँ ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम सम्पन्न भइसकेका छन् ।      कुँवरका अनुसार ६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा एउछा बाँकी छ भने ५१ दशमलव पाँच किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किमी सम्पन्न भएको छ । विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद आगामी पुस १६ गतेसम्म रहेको छ । 

सिमरामा आज पनि कर्फ्यू, राजमार्ग र विमानस्थलमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । बारा जिल्लाको सिमरामा आज (बिहीबार) पनि कर्फ्यू लागेको छ । जिल्ला प्रशासन कार्यालय बाराले अपरान्ह १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू लगाएको हो । जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि कर्फ्यू लगाइएको हो । बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजीहरूबीच झडप हुँदा प्रशासनले हिजो पनि कर्फ्यू लगाएको थियो ।  एमाले नेता महेश बस्नेत बारा जाने कुरालाई लिएर दुई पक्षबीच भएको विवादले झडपको रूप लिएको हो ।