विकासन्युज

नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समितिमा प्रतिनिधि परिवर्तन भएको छ । नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले समूह ‘क’ (संस्थापक समूह) अन्तर्गत मनोनयन गर्ने सदस्य परिवर्तनका लागि पठाएको पत्रअनुसार कम्पनीको सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरिएको हो। मन्त्रालयले सहसचिव अरुणा जोशीलाई नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । नियमावलीको नियम १२ को खण्ड (छ) अनुसार नेपाल सरकारको प्रतिनिधि सञ्चालकको व्यवस्था भएकाले सचिवस्तरीय निर्णयअनुसार जोशीको नियुक्ति गरिएको हो । नवनियुक्त सदस्य जोशीले गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन् । उनले यसअघि सञ्चालक रहेका कोमल बहादुर खत्रीको स्थान लिनेछिन् ।

रवि लामिछानेको रिटमा बुटवल उच्च अदालतमा आजको सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका कानुन व्यवसायीको आग्रहपछि बुटवल उच्च अदालतमा दायर रिट निवेदनमाथिको आज निर्धारित सुनुवाइ स्थगित गरिएको छ । गोला प्रणालीअनुसार तीन नम्बर इजलासमा न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासमा मुद्दा परे पनि स्थगन माग गरेपछि पेसी अगाडि बढ्न नसकेको हो । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको पेसी बिहीबारका लागि तोकिएको थियो । एकै दिन पाटन उच्च अदालतमा पनि लामिछानेसम्बन्धी मुद्दा परेकोले, कानुन व्यवसायीले बुटवलमा स्थगन माग गरेका हुन् । अदालतका उप–रजिष्टार यज्ञमूर्ति ज्ञवालीका अनुसार सोही माग स्वीकृत गरिँदै सुनुवाइ स्थगित गरिएको हो । यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको मूल अभियोग मिसिल सर्वोच्च अदालतबाट झिकाउन आदेश दिएको थियो । सो मिसिल प्राप्त हुने अपेक्षासहित आजको पेसी तोकिएको भए पनि सुनुवाइ स्थगित भएपछि अब अर्को मिति पुनः निर्धारण गरिने अदालतले जनाएको छ ।  

डोल्पाको दुनैमा नेपाल बैंकको एटिएम सेवा सञ्चालन

डोल्पा । नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ ।  बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्दै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बैंकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिए ।  उनले भने, 'सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौंका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको छ ।' डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ ।   सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राखे ।   ठूलीभेरी नगरपालिका– ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य सङ्घ डोल्पाका अध्यक्ष लालीमान बुढा लगायतले नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ गरेकामा  धन्यवाद व्यक्त गरे ।  उनहरुले आगामी दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायको लागि ऋण लिने व्यवस्था गर्न माग गरेका छन । बैंकका शाखा प्रमुख भवि भण्डारीले ग्राहकलार्ई  एटिएम कार्ड उपलब्ध गराउने जानकारी दिए । 

सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

वाग्मती । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।  पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार मकवानपुरको थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो । निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   

अपरिचित सामाजिक सञ्जालका कुनै पनि ‘लिङ्क’ नखोल्न प्रहरीको आग्रह

काठमाडौं । पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो ।      परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका लागि सूचना जारी गरिएको बताए । उनका अनुसार सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यामबाट ‘तपाईंलाई चिठ्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम (राजस्व) तिर्नुपर्छ’ भनी रकम पठाउन लगाउँदै ठगी गर्नसक्ने भएकाले त्यसतर्फ सचेत हुन अनुरोध गरिएको छ । सार्वजनिक सूचनामा अनलाइनबाट सामान खरिद गरी रकम भुक्तानी तिर्दा आधिकारिक बिक्रेता यकीन गरी मात्र तिर्न र नगद दिँदा पनि सुरक्षित हुन अनुरोध गरिएको छ । प्रवक्ता भट्टराईले भने, 'अपरिचित व्यक्ति वा नम्बरबाट श्रव्यदृश्य सन्देश (भिडियोकल) गरी उक्त कल रेकर्ड गरेर भिडियोलाई अश्लिल बनाएर ‘ब्ल्याकमेल’ गर्ने र पैसा माग्ने जोखिम बढेकाले, त्यसतर्फ पनि सावधान हुनुस् ।'      उनका अनुसार आफ्ना साथीभाइहरू तथा आफन्तले विभिन्न सामाजिक सञ्जालबाट समस्या देखाइ आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरी यकीन गरेर मात्रै सहयोग गर्न अनुरोध गरिएको छ । उक्त समयमा खाता ‘ह्याक’ हुनसक्ने भएकाले सचेत हुनुपर्ने जरुरी रहेको उनले बताए ।      सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्याममा सस्तो दरमा सामान देखाएर अग्रिम (एड्भान्स) रकम पठाउन लगाई ठगी हुनसक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।      त्यस्तै अपरिचित वा नयाँ सामाजिक सञ्जालका कुनै पनि ‘लिङ्क’ नखोल्न अनुरोध गर्दै प्रहरीले आफ्नो ‘ओटिपी कोड’ अरुलाई नदिन, आफ्नो मोबाइलको ‘स्क्रिन’ कसैलाई नदिन, सामाजिक सञ्जालमा आफ्ना महत्त्वपूर्ण जानकारी नराख्न, आफ्नो ‘पासवर्ड’लगायत नीजि विवरण साथीभाइ वा नजिकैका आफन्तलाई पनि नदिन अनुरोध गरेको छ ।    

मतदाता नामावलीमा नाम दर्ता गराउन १ दिन बाँकी

काठमाडौं । निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गराउन मात्र १ दिन बाँकी रहेको छ । फागुन २१ गतेका लागि सरकारले निर्वाचन तोकेको छ ।  त्यसका लागि निर्वाचन आयोगमा मतदाता नामावली दर्ता गराउन समय एक दिन मात्र बाँकी रहेको छ । आफूलाई आजै दर्ता गराई आफ्नो लोकतान्त्रिक अधिकार सुरक्षित गर्न प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेकी छन् । ‘फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा होइन’, कार्कीले भनिन्, ‘यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो ।’

चितवनका किसान सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य

चितवन । चितवनका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ । प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य तीन हजार ४६३ र मध्यमको तीन हजार ६२८ प्रतिक्विन्टल तोकेको भए पनि यहाँका किसानले निर्धारित मूल्यअनुसार धान बिक्री नभएको बताएका छन् । माडी नगरपालिका–३ का किसान ओमप्रकाश महतो अहिले आफूहरुले प्रतिक्विन्टल मोटा धान दुई हजार ६०० र मध्यम धानको तीन हजार १०० मा बिक्री गर्नुपरेको गुनासो गरे । भरतपुर महानगरपालिका–९ शरदपुरका किसान वेदप्रकाश सापकोटा व्यवसायीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । आफ्नो गोदाम नहुँदा किसानले व्यापारीले भनेको मूल्यमा धानम बेच्नु परेको गुनासो सुनाउँदै भने, 'मोटा धान तीन हजार र मध्यम धान तीन हजार ४०० मा बिक्री गर्नुपर्ने बाध्यता छ ।' जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेल पनि किसानले समर्थन मूल्य नपाएका बताउँछन् । राज्यले तोकेको मूल्यमा व्यवसायीले धान खरिद गर्नुपर्नेमा उनी जोड दिनछन् । चितवनमा २७ हजार ३२४ हेक्टरमा बर्खे धानखेती गरिएकामा एक लाख ३५ हजार ७२५ मेट्रिक टन उत्पादन भएको छ । बेमौसमी वर्षाका कारण १४९ मेट्रिक टन धानमा क्षति भएको छ । रासस

इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल

काठमाडौं । रूस धेरै व्यापारिक क्षेत्रमा भारतसँग नजिकिन निरन्तर प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पहिला रूसले भारतलाई सस्तो कच्चा तेल बेच्यो । त्यसपछि उसले भारतलाई एलएनजी आपूर्ति बढाउन चाहेको बतायो । अब कुरा बन्दरगाहसम्म आइपुगेको छ । रूसले भारतको जहाज निर्माण तथा पोर्ट पूर्वाधार क्षेत्रमा पहल गर्ने प्रस्ताव गरेको छ । रूसले भारतलाई जहाज निर्माण क्षेत्रमा धेरै नयाँ प्रस्तावहरू दिएको छ । रूस भारतका लागि माछा मार्ने जहाज, यात्रु जहाज र सहायक जहाजहरूको विद्यमान डिजाइन दिनसक्छ वा नयाँ डिजाइन पनि तयार गर्न सक्छ । यो सबै इन्डोप्यासिफिक क्षेत्रमा समुद्री साझेदारी बढाउने प्रयासको हिस्सा हो ।  इन्डो–प्यासिफिक क्षेत्रमा हिन्द महासागर पनि समावेश छ । रूसको यस कदमले भारत–अमेरिका व्यापारिक सम्बन्धमा केही दूरी पैदा हुन सक्छ किनकि अमेरिका भारत–रूसबीच व्यापारिक सम्बन्ध झन् गाढा भएको चाहँदैन । हालै रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रमुख सल्लाहकार तथा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार निकोलाइृ पेट्रुशेव भारत आएका थिए । उनले भारतीय जहाजमन्त्री सर्वानन्द सोनोवालसँग भेट गरे । उक्त भेटमा दुवै देशबीच जहाज निर्माण, बन्दरगाह पूर्वाधार र समुद्री लजिस्टिक्समा सहकार्यका सम्भावनाहरूबारे छलफल भएको थियो । यस बैठकमा चालक दललाई तालिम दिने र गहिरो समुद्रमा अनुसन्धान गर्ने विषयमा पनि विशेष छलफल भएको थियो । पेट्रुशेवले सोनोवाललाई भने, ‘हामी भारतलाई जहाज निर्माण क्षेत्रमा रोचक प्रस्ताव दिन सक्छौं । यसमा माछा मार्ने जहाज, यात्रु जहाज र सहायक जहाजहरूको विद्यमान डिजाइन उपलब्ध गराउने वा नयाँ डिजाइन तयार गर्ने समावेश छ ।’ उनले रूससँग विशेष प्रकारका जहाज जस्तै हिमाली क्षेत्रमा चल्ने आइसब्रेकर जहाज—बनाउने ठूलो अनुभव रहेको पनि बताएा थिए । उनले भने कि हरित जहाज निर्माण क्षेत्रमा पनि सहकार्यका अवसर छन्, जुन हाल भारतका लागि समुद्री क्षेत्रको ठूलो प्राथमिकता हो । रूसले यसअघि पनि भारतलाई यस्तै प्रस्ताव गरिसकेको छ । केही समयअघि रूसले भारतलाई एलएनजी आपूर्ति बढाउन सक्ने बताएको थियो । रूसका ऊर्जामन्त्री सर्गेई त्सिभिलेभले भनेका थिए कि भारत ऊर्जा मिश्रणमा ग्यासको हिस्सा १५ प्रतिशत पुर्‍याउन चाहन्छ र रूस वर्तमान तथा आगामी परियोजनाबाट एलएनजी उपलब्ध गराउन तयार छ । त्यसैगरी, रूस भारतलाई सस्तो कच्चा तेल पनि दिँदै आएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका दुई तेल कम्पनीमा प्रतिबन्ध लगाएपछि भारतमा कच्चा तेलको आपूर्ति निकै घटेको छ । यदि रूस भारतसँग व्यापारिक सम्बन्ध बढाउँदै लैजान्छ भने यसले अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट हुन सक्छन् । रूस–युक्रेन युद्धबारे ट्रम्प लगातार पुटिनमाथि निशाना साँध्दै आएका छन् । ट्रम्पले रूसलाई आर्थिक रूपमा सहयोग गर्ने राष्ट्रहरूमा उच्च ट्यारिफ लगाइने चेतावनी दिँदै आएका छन् ।  सुन भाडामा दिएर लाखौं कमाउँदै धनी पुरानो धन, नयाँ सोच : भारतका मिलेनियल र जेन–जेड उत्तराधिकारीको स्टार्टअपतर्फ झुकाव बाल्यकालको संघर्षबाट विश्वप्रसिद्ध परफ्यूम उद्यमी बनेकी जो मेलोनको यात्रा