काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ।
शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार इन्टिग्रेटेड वाटर सप्लाई एण्ड सेभरेज म्यानेजमेन्ट सेक्टर परियोजनाका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय तथा अन्य सम्झौताका कागजातलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । उक्त टोली अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा रहनेछ ।
यस्तै, २०७५ भदौ २१ को मन्त्रिपरिषद् निर्णयअनुसार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने व्यवस्था पुनरावलोकन गर्दै सो जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरिएको उनले बताउ ।
त्यसैगरी, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि सरकारले गरेको उनको भनाइ छ ।