विकासन्युज

मंसिर २६ गतेकाे लागि एभरेष्ट बैंकले बाेलायाे साधारणसभा

काठमाडौं । एभरेष्ट बैंकले मंसिर २६ गतेको लागि साधारण सभा बोलाएको छ । सभाले विशेष गरेर गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०।६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

स्टार्टअप मार्केटिङ कन्टेन्ट व्यवसायको लागि तीन आइडिया

एजेन्सी । व्यवसायको शुरुवात गर्दा थोरै स्रोत र साधनहरुको सहायताले धेरै र ठूला समस्याहरुलाई समाधान गर्नुपर्ने हुन्छ । सामान्य सिद्धान्तले के भन्छ भने जति सक्दो तपाईंको ध्यान आफ्नो प्रयासतर्फ केन्द्रित गर्नुहोस ताकी तपाईंले उच्च सफलता हासिल गर्न सक्नुहोस । तपाईंको परियोजनाको मार्केटिङको लागि तपाईंसँग दर्जनौ स्टार्टअप मार्केटिङ रणनीति हुनसक्छन् । ती रणनीतिहरुलाई प्रभावकारी ढंगले लागु गर्ने क्षमता नहुनसक्छ । त्यसैले तपाईंले सबैभन्दा प्रभावकारी रणनीतिलाई छनोट गर्न जरुरी हुन्छ । त्यसैले तपाईंलाई कन्टेन्ट मार्केटिङको लागि उपयोगी हुने केही विषयको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ । १. बजेटको व्यवस्था यदी तपाईंले अधिक मूल्यको भिडियो सामग्री उत्पादन गर्न चाहनुहुन्छ भने त्यसको लागि निकै धेरै लगानी लाग्न सक्छ । तर, यदी तपाईंले आफ्नो बल्ग वा सोसल मिडियामा लेख्नुहुन्छ भने निकै सस्तो लगानीमा पनि ती कुराहरु सम्भव छ । त्यसमा तपाईंको समय मात्रै खर्च हुन्छ । व्यवसायको शुरुवात गर्दा तपाईंसँग धेरै पूँजीको व्यवस्था नहुनसक्छ । तर, तपाईंसँग लगानी जुटाउने, व्यवसाय र मार्केटिङको लागि रणनीति तयार गर्नेजस्ता राम्रोसँग सोँचविचार गरेर लामोसमयसम्म नाफा आर्जन गर्ने योजना निर्माण गर्न भने प्रशस्त समय रहेको छ । तपाईंले स्रोतहरुको वृद्धि गरेर कन्टेन्ट मार्केटिङलाई विकास गर्न सक्नुहुन्छ । शुरुमा सानो आकारबाट नै व्यवसायको शुरुवात गर्नुहोस र तपाईंलाई सो व्यवसाय दीर्घकालिन रुपमा राम्रो र फलदायी हुन्छ भन्ने अनुभूति भएपछि प्रशस्त लगानी जुटाउनेतर्फ अगाडि बढ्दा राम्रो हुन्छ । २. गुणस्तरीय र पहिलो सामग्री उत्पादन तपाईंले उत्पादन गरेको सामग्रीको गुणस्तरले नै तपाईंको व्यवसायको शुरुवाती अवस्थालाई सहयोग पुर्याउँछ । पाठकमा भएको समस्या र आवश्यकतालाई लक्षित गरेर तपाईंले सामग्री उत्पादन गर्न सक्नुभयो भने त्यसले तपाईंको सामग्रीको पाठकलाई स्थिर बनाउँछ । तपाईंले उत्पादन गरेको सामग्रीमाथि हुने चर्चाले तपाईंको व्यवसायलाई थप परिस्कृति र सुदृढ हुन सहयोग पुर्याउँछ । तपाईंले उत्पादन गरेको सामग्री जस्तै : अन्तर्वार्ता, फिचर आदि बजारमा पहिलो र नेतृत्वदायी बन्न सक्नुपर्छ । ३. राम्रो प्रविधिमैत्री रणनीतिको निर्माण पछिल्लो समयमा कन्टेन्ट मार्केटिङ व्यवसायको निकै ठूलो सम्भावना बढ्दै गएको देखिन्छ । यदी तपाईंले उपभोक्ता वा पाठकलाई उपयोगी हुने सामग्रीहरुको उत्पादन गर्न सक्नुभयो तपाईंको व्यवसाय अत्यन्तै धेरै विकास हुनसक्छ । जसले उनीहरुको जीवन र व्यवहारलाई बदल्न वा सहज हुनको लागि सहयोग पुर्याइरहेको हुनुपर्छ । इन्टरनेटबाट उत्पादित सामग्रीलाई भाइरल बनाउन सजिलो हुन्छ । तर, त्यसको लागि सामग्री उत्पादनमा राम्रो इन्जिनियरिङ गर्नुपर्ने हुन्छ । एउटा कन्टेन्ट मार्केटिङ गर्ने व्यक्तिले आफ्ना पाठक र सम्बन्धित साझेदार व्यवसायिक प्रतिष्ठानहरुलाई आफ्नो कन्टेन्टमार्फत प्रभावित पार्न सक्नुपर्ने हुन्छ । कन्टेन्ट मार्केटिङको विकासका लागि अनिवार्य रुपमा त्यसलाई धेरै मानिस र व्यवसायिक प्रतिष्ठानहरुमा जोड्न अनिवार्य हुन्छ । साथै इन्टरनेट वा गुगल सर्चमा पनि तपाईंले उत्पादन गरेको सामग्री खोज्दा शिर्ष स्थानमा आउनुपर्छ । तपाईंले उत्पादन गरेको सामग्रीमा विश्वसनियता भयो भने तपाईंले लगानी कटौती गर्दा पनि लामो समयसम्म आम्दानी भइरहने सम्भाना रहन्छ । अन्तिममा, सुझपूर्ण रुपमा निर्णय लिन सक्दा कन्टेन्ट मार्केटिङले तपाईंको जीवनमा ठूलो आम्दानी सिर्जना गर्न सक्छ । तर, मार्केटिङ कन्टेन्ट व्यवसायका लागि तपाईंसँग प्रविधि र रणनीति निर्माण गर्ने क्षमता हुन अनिवार्य हुन्छ ।

लाभांश पारित गर्न सानिमा बैंकले बोलायो साधारण सभा

काठमाडौं । गत वर्षको नाफाबाट सेयरधनीलाई दिने भनिएको लाभांश पारित गर्न सानिमा बैंकले साधारण सभा बोलाएको छ । बैंकले पुस ३ गतेको लागि साधारण सभा बोलाएको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात् १ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको बोसन सेयर र ०.९८ प्रतिशत अर्थात् ११ करोड १० लाख ८ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

बाजुराको स्वामीकार्तिकको मतपेटिकामा आगजनी

सांकेतिक तस्विर काठमाडौं । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको ुकु केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको छ । पेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन कारण थाहा हुन नसकेको मतदान अधिकृत रामकुमार यादवले बताए । आगलागीबाट मतपेटिकामा क्षति नभएको उनले बताएका छन् । ‘८४० मतदाता रहेकामा यहाँ ५२८ खसिसकेको छ, आगोको कारण मतपत्रमा क्षति पुगेको छैन, हल्का भिजेको चाहिँ छ,’ उनले भने ।

सात जिल्लामा गोली चल्यो, ४४ ठाउँमा रोकियो

काठमाडौं । आइतबार देशभर मतदान भइरहेको छ । नागरिकको प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । नागरिकले आजै प्रतिनिधिससभामा ११० जना समानुपातिक पदका लागि पनि मतदान भइरहेको छ । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् । प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० सदस्य हुन्छन् । जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् । देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । कुल मतदाताको संख्या अघिल्लो निर्वाचनको तुलनामा करिव १४ प्रतिशत बढी हो । आज दिउसो १ बजेसम्म ३२ प्रतिशत मत खसेको बुझिएको छ । आज देशभर सात जिल्लामा गोली चलेको छ भने ४४ वटा मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको छ । आइतबार बिहानैदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेकोमा विभिन्न विषयमा विवाद तथा झडप हुँदा ७ जिल्लामा गोली चलेको छ र ४४ वटा मतदान केन्द्रमा मतदान प्रभावित भएको हो। नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो १ बजेसम्ममा ४४ मतदान स्थलमा झडपका कारण मतदान स्थगित भएको छ । जसमा ३१ स्थानमा पुनस् मतदान सुरु भइसेकको छ । निर्वाचन आयोगले पूर्वसहमति बिना सामान्य विवादमा मतदान स्थगित नगर्न मतदान अधिकारीहरुलाई निर्दशन दिएको छ ।

पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान

मध्यबिन्दु । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ । दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार सात सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँका तीन सय दुई मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको निर्वाचन कार्यालयको भनाइ छ । थोरै मतदाता रहेको पहाडी भेगमा उत्साहजनकरुपमा मतदान भइरहेको कार्यालयले बताएको छ ।

दार्चुलामा हवाई फायर, मतदान स्थगित

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । हवाई फायरपछि मतदान रोकिएको छ । मतदान सञ्चालनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ । मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको समान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो । त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

एक बैंकरले लेखेको सुनमाया र बट्टाई दाईको कथा

यस धर्तीमा अमर भन्ने कुरा सायद विरलै पाइन्छ, बस् आउँछन् जान्छन् । यो दुई दिने जीवन तैपनि धेरै प्रकारका घटनाहरू घटिरहेका हुन्छन् । ती पलहरूमध्ये केही खास हुन्छन् त केही खासै हुँदैनन्, कुनै मतलबका हुन्छन् कुनै बेमतलबका कुनै तिता हुन्छन् त कुनै मिठा, कुनै सम्झनलायक हुन्छन् कुनै बिर्सनलायक, कुनै चोट दिने हुन्छन् कुनै शोक, कुनै रम्य हुन्छन् त कुनै सौम्य, सबलाई समेटेर याद गरिराख्न सम्भव पनि हुँदैन । फेरि मिठा-मिठा पलहरूको मात्र सँगालो बनाउन चाहेर पनि सकिँदैन तर पनि कुनै-कुनै यस्ता पल हुन्छन् जुन चाहेर पनि हामी बिर्सन सक्दैनौं । एकदमै छोटो पलको हुन्छ तर यादगार बनेर जीवनभर बसिदिन्छ, पुरानो हुन्छ तर मौकामा आँखाका अगाडि ताजा गराइदिन्छ । दिनभरिको हिँडाइपश्चात् भोक र प्यासले तड्पिएको थकित शरीरलाई कुर्सीको आड दिन नपाउँदै टेबलमा राखिदिएको रातो कार्डमा मेरो आँखा पर्छ । कार्ड समाउन नपाउँदै लक्ष्मी नानीलाई भेट्नुछ भन्दै हुनुहुन्थ्यो । ढिला हुने थाहा पाएपछि कार्ड छोडेर जानुभयो भन्दै कार्ड उठाएर मेरो हातमा थमाई दिएर सहयोगी भाइ ढोकाबाहिर लाग्छ । मेरो आँखाले त परिचित नामलाई मात्र हेर्दै थियो तर मनमस्तिष्क भने उहाँको त्यो सफल इतिहासलाई पढ्न व्यस्त भइसकेका थिए । कुनै समयको कुनै–कुनै पलका भेटहरू यस्तो दैवसंयोग नै बनिदिन्छ कि जसले जीवनलाई अथाह नै परिवर्तन गरिदिन्छ । सुनमायाको जीवनमा पनि यस्तै भएको थियो । केही समय अगाडि बट्टाई दाइले कामका सिलसिलामा एक जना आमालाई लिएर आउनुभएको थियो । बट्टाई पालेको हुनाले हामी उहाँलाई बट्टाई दाइ भन्थ्यौं । उहाँ पनि सहुलियत कर्जाका ग्राहक हुनुहुन्छ । उहाँलाई २ वर्षअगाडि सहुलियत कर्जा दिएर नेपाल बैंकको ग्राहक बनाउन सफल भएका थियौं । उहाँको वास्तविक नाम ठग बहादुर भएकाले बट्टाई दाइ भन्दा हामीलाई सहज हुन्थ्यो । फेरि पनि कर्जाकै कुरा त होला नि भन्नठानेकी थिएँ मैले त । हुन त उहाँ बारम्बार आइरहने नै ग्राहक हुन् तर साथमा कोही भएकाले मलाई त्यस्तो लागेको थियो । मेरो भ्रम चिर्दै म्याडम अप्ठयारो पर्यो, उहाँलाई सहयोग गरिदिनुपर्यो भन्दै ढोकाबाट हँसिलो मुद्रामा छिर्नुभयो । रेमिट्यान्सबाट आएको रकम जम्मा गरेर छोराको भिसाका लागि तयारी गर्दै हुनुहुँदो रहेछ । तर, पाँच हजार कम भएपछि काम रोकिएकाले समाधान खोज्न आउनुभएको भनेर बेलिविस्तार गर्नुभयो । समस्यासँगै समाधान पनि हुन्छ नै । कुनै सजिलै भेटिन्छ कुनैलाई मेहनत कडै लगाउनुपर्छ । जो कोही सहयोग माग्न आउँछन् भने समस्या देखाउन मात्र आएका हुँदैनन्, समाधान पनि सँगै खोज्दै आएका हुन्छन्, त्यो पनि तपाईंबाट नै । तपाईंसम्म आइपुग्दा धेरै आफन्तहरु दोबाटो छोडिएका हुन्छन्, अनि धेरै आफन्तहरू ओझेलमा पारिएका हुन्छन् । तपाईंसम्म आइपुग्दा तपाईंप्रति बनेको सकारात्मक सोच अनि आँखामा देखिने एक प्रकारको यकिनको चमकलाई मर्न नदिन हामीले केही न केही कोसिस त गर्नैपर्छ । हाम्रो कोसिसले जस्तो सोच चमकले आउनुभएको थियो नि, नखल्बलीकन नै जस्ताको तेस्तै फर्किन सक्छ । जीवनभर तपाईंप्रतिको सम्बन्ध त्यस्तै नै रहन्छ र आभारी बनिरहन्छ । यो मेरो नितान्त व्यक्तिगत सोच होला तर यस्तो मौका कहिलेकाहीँ आउँछ बारम्बार आउँदैन, यो पनि सत्य हो । त्यसैले कहिलेकाहीँ आउने यस्तो मौकामा हामी झुक्न पनि सक्नुपर्छ, कोल्टे फेरेर साइड दिन पनि सक्नुपर्छ । कुलको इज्जतका लागि होस्, व्यक्तिको पहिचानका लागि होस्, या त संस्थागत गुडविलका लागि, कारण जे होस् हामी चेतनशील प्राणी, नभए पनि भएको जस्तो, पेट नभरिए पनि पेट भरिएको जस्तो, नसके पनि सकेको जस्तो देखिन सक्नुपर्छ, मौकामा । समस्याको समाधान हुन्न र सक्दिनँ भन्ने विकल्प हो जस्तो लाग्दैन मलाई । निस्वार्थ सेवाले ग्राहक खुसी बनाउन सक्नु नै हामी कर्मचारीको कर्तव्यको पहिलो चुनौतीपूर्ण खुड्किलो हो जस्तो लाग्छ मलाई । यसै क्रममा रेमिट्यान्स खातालाई बैंकले दिएका सुविधाहरू थाहा पाएर उहाँले रेमिट्यान्स खाता नै खोल्ने भनेपछि पक्रिया गरेर रेमिट्यान्स खाता खोलिदियौं । यो गुन कहिल्यै बिर्सिन सक्ति नँ नानी, धन्य छौँ, म आउँदै गर्छु नि नानी भन्दै जानुभएको थियो । तर, जाने बेलामा बैंकको बुसर हातमा राखिदिँदै आमा, नेपाल बैंकमा पनि खाता खोल्नुस् न धेरै सुविधाहरू आएका छन्, पुरानो बैंक तपाईंहरूकै विश्वासिलो बैंक पनि भनेकी थिएँ मैले । धेरै समय अगाडि यसरी चिनजान भएको मान्छे फेरि एकदिन लौन नानी यो नजिकतिरको सुन पसलहरूसँग कुरा गरिदिनू न, अनि फोन नं. छ भने दिनुस न, मलाई आपत् पर्यो भन्दै हस्याङफस्याङ गर्दै एक्लै आउनुभयो । उहाँको नाम सुनमाया हो, एकछिन आराम गर्नुस् अनि है आमा, ग्लासमा पानी दिँदै भनेँ । आमाको उमेरकी भएकीले म उहाँलाई आमा नै भन्थे, अनि उहाँलाई म्याडम शब्द दोहोर्याई रहन अप्ठयारो भइरहेको थियो, नानी, छोरी जे भन्दा नि हुन्छ नि आमा भनेपछि नानी भन्न थाल्नुभएको थियो । निधारको पसिना हातले पुछ्दै बेलिविस्तार लगाउन थाल्नुभयो । नानीबाबु स्कुल गएका थिए, छोरा कलेज र म बाहिर काममा गएका बेला घरमा कोही नभएको मौका पारेर घरमा भएको सबै पैसा र सुन चोरिदिएछ । बोका, खसी र कुखुरा बेचेर भर्खरै एक लाख पैसा र केही सुन घरमै राखेकी थिएँ, सबै चोरेछ, कस्तो दशा रहेछ मेरो, मलाई पनि आजै निस्कनुपर्ने, सँगै लानुपर्ने रहेछ, मुन्छे पनि थाहा छ मलाई भन्न मिलेन के गर्नु भन्दै रुँदै सुनाउन थाल्नुभयो । तर सुन यतै बाँडाकामा नै बेचेको हुनुपर्छ, मेरो सुन चिन्छु म, नानी यही भएर म आएकी यहाँ, एकै सासमा सबै भन्नुभयो । यसमा मैले गर्न सक्ने त गरौंला आमा भन्दै नम्बर दिएर फोन पनि गरिदिएँ नजिकको चिनेको पसलेलाई अलि शान्त भएपछि अब तपाईं यो बैंकमा महिला बचत खाता पनि खोल्नुस् आमा भनें । यस्तो त कति देखेको सुनेको थिएँ, आज आफैलाई परेर चेतें मैले । बानी नभएर होला पैसा जति घरमै राखिन्छ । बोका, खसी र कुखुरा बेचेको पैसा राखेपछि त ब्याज पनि पाइन्छ है नानी, कति पाइन्छ ? हो नि आमा, पाइन्छ भन्दै बेलिविस्तारसँगै खाता पनि खोलिदिएँ । फेरि सुन राखेर सस्तो ब्याजमा कर्जा पनि पाइन्छ आमा । भन्नुस् त कति ब्याज तिर्नुहुन्छ सुनपसलेलाई, २४ प्रतिशत नानी क्या करम चोट्टेमा काम लाग्ने भनेर मात्र अस्तिको पटक त सिक्री नै परिवर्तन भएजस्तो लाग्यो, दुईपट्टिको साइज नै फरक भएर थाहा पाएँ नानी, निधार खुम्चाउँदै भन्नुभयो । कसलाई विश्वास गर्नु अब नानी । बेचैनीसाथ बोलिरहनुभएको थियो । के गर्नुहुन्छ त आमा यति धेरै बैंकहरू खुलेका छन् । कति सुविधाहरू ल्याएका छन् । अझ महिला र जेष्ठ नागरिकलाई झन् थप सुविधाहरू पनि दिएको छ । तपाईंहरू भने यस्तैमा फस्नुहुन्छ । अनि हो नि नानी अरूमा त होइन सरकारको बैंकमा खाता खोल्न पाए हुन्थ्यो भन्ने थियो आज पूरा भो । अलि अक्षर चाहिँ चिन्न सक्ने लेखपढ रहेछ उहाँको । त्यो दिन पनि बचत खाता खोलेर जानुभयो । त्यसको एक हप्तापछि फोन गर्दै भन्नुभयो नानी अचम्मै भयो आज । म त्यहाँबाट आएपछि भोलिपल्ट सबै बाँडाहरूकोमा गएँ तर सुन भेटिन, माया मारिदिएकी थिएँ, आज अचानक मेरो ढोकाभित्र राखिदिएर गएछ पैसा त सोध्न भ्याईहालेँ, पैसा चाहिँ खाए अब भन्नुभयो । ल ल आमा जे हुनु भयो अब यस्तो गल्ती नगर्नुस् है भने । नेपाल बैंकमा खाता खोलेपछि म ढुक्क हुन थालेकी छु । मलाई भगवानको अदृश्य सहारा मिलेजस्तो आभास भएको छ । म एक दुई दिनमा फेरि आउछु बैंकमा काम छ भन्नुभयो । केही दिनपछि आउनुभयो सुन राखेर कर्जा निकाल्न । केही कुखुराका चल्ला ल्याउनका लागि धरौटी राख्नुपर्ने रे भन्दै । सबै मिलाएर कर्जा दिएर पठाइदियौं । बैंकप्रतिको भ्रम पालेर बसेको उहाँ सस्तो ब्याज र सहजता देखेर धेरै नै खुसी भएर जानुभयो । त्यसको दुई महिना नबित्दै आएर कर्जा चुक्ता गरेर मुद्दती खाता खोलेर जानुभएछ । म अफिसमा नभएकाले फोन गरेरै सबै बेलिविस्तार लगाउँदै हुनुहुन्थ्यो कि सुन कर्जा लिएर किनेको चल्ला ४५ दिनमा बेच्न मिल्ने हुनेरहेछ । त्यही कुखुरा बेचेर आएको रकम बैंकमा मुद्दती खातामा राखेर आएँ । उहाँको बोलीका शब्दबाटै म महसुस गर्थे कि कति खुसी हुनुभएको छ भनेर । अझै भन्दै हुनुहुन्थ्यो रेमिट्यान्स रकमको खातामा त कति धेरै ब्याज आउने रहेछ नि नानी अर्काे पटक त त्यो पनि खोल्छु । यसरी नै उहाँको बैंक आउने र जाने त पानी पँधेरो जस्तो भैसकेको थियो । फेरि अर्काे दिन बैंकले महिलालाई सहुलियत कर्जा दिन्छ भन्ने सुनेर आएकी म । अझै बाख्रा, बोका, कुखुरा थप्छु नानी भन्नुभयो । हुन्छ नि आमा हजुरको सबै कागजात हुनुपर्छ भनेपछि भएको कागजात छोडेर जानुभयो । धेरै वर्ष अगाडि दर्ता भएको नेपाली कागजसँगै बाँकी सबै कागजात लिएर आउनुभएको रहेछ । आउनुभन्दा अगाडि बैंकमा फोन गरेर बुझ्नु भएको रहेछ, पछि थाहा पाएँ । पढाइ कम भएर के भयो र अनुभवको परिपक्वतासँगै बाठो पनि हुनुहुँदो रहेछ भन्ने थाहा भयो मलाई । सबै कागजातसँगै उहाँको अनुभव, मेहनत र इमान्दारिताका आधारमा महिला उद्यमी सहुलियत कजौ दिन सफल भयौं । आज ३ वर्षको अन्तरालमा उहाँ नेपाल बैंकको सहकार्यमा एउटा सक्षम कृषि महिला उद्यमी बन्न सफल हुनुभएको छ । आज फोनमा भन्दै हुनुहुन्छ हामी महिलाहरूका लागि कस्तो राम्रो बचत खाता ल्याएको रहेछ नेपाल बैंकले । मैले त नारी सम्मान बचत खाता पनि खोलें नानी, लकर चार्ज रकममा पनि भारी छुट रहेछ लकर पनि लिएँ, डिम्याट/एटिएम/एसएमएस सबै निशुल्क रहेछ सबै लिएँ । अब त सेयर कारोबार पनि गर्छु नि नानी । यसमा पनि बैंकले सहयोग गर्छ कि नाइँ भन्दै मोबाइलमा हाँसिरहनुभएको थियो । नेपाल बैंकले दिएका सुविधाहरु मैले सजिलै सबै लिइरहेकी छु । अब त झन् घर नजिकै टोखामै नेपाल बैंक आएको छ । सुनमा सुगन्ध भएको छ नानी भन्दै हुनुहुन्थ्यो । सधैँ भन्नुहुन्छ बैंकको म प्रतिको विश्वासको सदुपयोगका कारण नै म आज नाम मात्रको नभई सही अर्थमा नै महिला उद्यमी हुन सफल भएकी छु । यसको असली धन्यवादको पात्र नेपाल बैंक हो नानी । धेरै धेरै धन्यवाद, आभारी छु नानी भनेर कहिल्यै थाक्नुहुन्न । सधैँ भन्नुहुन्थ्यो मेरी जेठी छोरीलाई पनि बैंकर बनाउने हो । ऋण गरेर भए पनि म छोरीलाई पढाउने हो । त्यसैको प्रतिफल हो, सस्तो ब्याजमा नेपाल बैंकले दिएको शैक्षिक कर्जा लिएँ । उच्च शिक्षाका लागि छोरीलाई अस्ट्रेलिया पठाउँदै हुनुहुन्छ । ढोका घर्याक्क खोलेको आवाजसँगै झस्किएँ म, कान्छो छोराको व्रतबन्ध गर्न लागिएकाले निम्ता गरिएको रहेछ रातो कार्डमा त्यसै कार्डभित्र सानो सेतो कागजका टुक्रामा लेखिएको थियो ‘नेपाल बैंक छोडेर कतै जाँदिनँ अब, नेपाल बैंकसँग सदा सदाको साथ रहनेछ, नेपाल बैंकप्रति म सदा आभारी रहनेछु, धेरै धेरै धन्यवाद !’ (लेखक नेपाल बैंकको उप-प्रबन्धक पदमा कार्यरत छिन् । नेपाल बैंकको विशेषाङ्क २०७९ बाट साभार)