ललितपुर २ मा एमालेको अग्रता
काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य अन्तर्गत रहेको मतपत्र गणना भइरहेको छ । उक्त क्षेत्रमा एमालेले सरुवाति अग्रता लिएको छ । हालसम्म ४ हजार ७ सय मत गणना हुँदा नेकपा एमालेले अग्रता लिएको हो । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार ३१७ मत, नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७७७ मत, राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६८७ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३९० मत ल्याएका छन् । यस्तै, लौरो चिन्हले ८९७ मत ल्याएको छ । ललितपुर क्षेत्र २ को पनि मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा भइरहेको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका ४ क्षेत्रको गणना सुरू
काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ४ क्षेत्रको मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा काठमाडौं क्षेत्र नं ७ को मतगणना महानगरपालिका वडा नं १६ नयाँबजारमा रहेको जुडो हलमा सुरु गरिएको हो । काठमाडौं क्षेत्र नं. ७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् । यस्तै, काठमाडौं क्षेत्र नम्बर १ को मतगणना पनि सुरु गर्ने तयारी छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको थियो । उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम लगायत प्रतिस्पर्धामा रहेका छन् । यस्तै, ललितपुर क्षेत्र २ को पनि मतगणना सुरु भएको छ । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा र ३ को गणना जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस्तै, ललितपुर ३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन् । भक्तपुरका २ को बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको छ । भक्तपुर २ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका छन् ।
रोकिएको मतदान दुई दिनभित्र सुचारु हुने
काठमाडौं । आइतबार रोकिएका प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतदान दुईदिनत्रि हुने भएको छ । निर्वाचन आयोगले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै रोकिएका १५ स्थानका मतदान दुई दिनभित्र सम्पन्न हुने जनाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले नवलपरासी र गुल्मीमा भोली नै मतदान हुने जनाए । उनका अनुसार पर्सीसम्ममा सुर्खेत, बाजुरामा मतदान गरिनेछ । आइतबार सकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९मा ६१ प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म ६१ प्रतिशत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सिलसिलामा निर्वाचन सामग्रीको प्रयोगमा बाधा पु¥याउने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको प्रक्रिया उल्लङ्घन गर्ने, मतेपटिकामा अन्य वस्तु खसाल्ने, पटक पटक मतदान गर्न खोज्ने, मतपत्र नष्ट गर्ने, मतदानस्थल कब्जा गर्नेलगायतका कार्यमा संलग्न जोसुकैलाई ९निर्वाचन कसुर तथा सजय० ऐन, २०७३ बमोजिम तत्काल कारबाही प्रारम्भ गर्न निर्देशन दिइएको बताए । उनले मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्को मतपेटिकामा खसेको भन्ने गुनासो आएको बताए । मतपेटिकामा रहेका ती सबै मतपत्रलाई मतगणनाका समयमा जनताको अभिमत खेर जान नदिने गरी राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिको छलफलका आधारमा जुन तहका लागि खसेको मत हो सोही तहतर्फ गणना गर्ने गरी प्रबन्ध मिलाइएको बताए । मतगणनाका सन्दर्भमा उत्पन्न हुन सक्ने विवाद वा अस्पष्टतालाई स्थानीयरूपमै छलफल गरी समाधान गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई जिम्मेवार तुल्याइने र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट सोधनी भएका विषयमा आयोगले तत्काल सम्बोधन गर्ने जनाइएको छ । मतपेटिका ढुवानी सुरु मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको छ । मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना सुरु गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न आयोगले निर्देशन दिइएको छ ।
६१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको जनाएको छ । आयोगले साँझ पत्रकार सम्मेलन गर्दै उक्त प्रतिशतमा मतदान भएको जनाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले अपेक्षा गरिएकोभन्दा कम मतदान भएको बताए । मतदानका क्रममा ११ जिल्लाका २४ स्थानमा गोली चल्यो भने १५ स्थानमा मतदान रोकिएको आयोगले जनाएको छ ।
यी स्थानमा हुँनेछ काठमाडौंको मतगणना
काठमाडौं । दश निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाको मतगणना फरक–फरक स्थानमा हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले भिन्दाभिन्दै स्थानमा मतगणना हुने जनाएको हो । यसअघिका निर्वाचनमा सबै निर्वाचन क्षेत्रको मतगणना एकै स्थानबाट हुने गरेको थियो । निर्वाचन कार्यालयका अनुसार काठमाडौं १ को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ । २ को मतगणना राधाकृष्ण मन्दिर थली, ३ को जोरपाटीमा रहेको चामुण्डा स्कुलमा, ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा, ५ को टोखास्थित श्रीसमाज भवनमा, ६ को धर्मस्थलीमा, ७ को बालाजुको जुडो हलमा, ८ को स्वयम्भूस्थित गितामाता स्कुलमा, ९ को रविभवनमा रहेको नेपाल पर्यटन तथा होटभल व्यवस्थापन प्रतिष्ठानमा र १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा हुने भएको छ । सबै क्षेत्रको मतपेटीका जम्मा भएपछि आजै रातिदेखि मतगणनाको तयारी थालिएको कार्यालयले जनाएको छ ।
हिमाली गाउँका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी
ताप्लेजुङ । ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत ल्याउने तयारी भएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिईन । भौगोलिकरूपमा विकट यी ठाउँमा पैदल हुँदै पुग्न चार दिनसम्म लाग्ने भएकाले हेलिकप्टरमार्फत मतपेटिका ओसार्नुपर्ने बाध्यता रहेको हो । फक्ताङलुङ गाउँपालिका–७ स्थित याङ्मा पुग्न नै सदरमुकामबाट चार दिनको समय लाग्छ । यसअघि सो ठाउँमा आज सम्पन्न निर्वाचन गराउन गएको कर्मचारीको टोली चार दिनमा मात्र पुगेको थियो । यी चार मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउन निर्वाचन आयोग र गृह मन्त्रालयसँग समन्वय भएको जनाइएको छ । निर्वाचन सकिएलगत्तै ल्याउन साँझको समय पर्ने भएकाले सोमबार ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। करिब चार हजार दुई सय मिटरको उचाइमा पर्ने याङ्माको मतदान केन्द्रमा ६१ मतदाता छन् । यहाँ आइतबार भएको निर्वाचनमा १२ मत खसेको बताइएको छ । यहाँ करिब ४१ प्रतिशतको हाराहारीमा मतदान भएको अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क भने सङ्कलन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच रहेका छन् । जम्मा एक सय २३ वटा मतदान केन्द्रबाट निर्धारित समयमा नै मतदान सुरु भएको थियो । प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का योगेशकुमार भट्टराई र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाथोकी (पराग) बीच मुख्य प्रतिस्पर्धा छ । यस्तै प्रदेशसभा क्षेत्र ९१० मा एमालेका तिलकुमार मेन्याङ्बो र गठबन्धनका तर्फबाट नेकपा ९एकीकृत समाजवादी० का खेमबहादुर वनेमबीच प्रतिस्पर्धा छ । यस्तै प्रदशसभा क्षेत्र ९२० मा एमालेका गोपाल थोप्रा र गठबन्धनबाट नेपाली कांग्रेसका खगेनसिं हाङ्गामबीच प्रतिस्पर्धा छ । सङ्घ र प्रदेशमा गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
आमनिर्वाचन २०७९ : ११ जिल्लाका २४ स्थानमा गोली चल्यो, १५ स्थानमा रोकियो
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फ भएको निर्वाचनका क्रममा ११ जिल्लामा गोली चलेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार देशभर रहेका मतदान केन्द्रमध्ये ११ जिल्लामा गोली चल्यो भने १५ जिल्लाको मतदान रोकिएको छ । मतदानका क्रममा होहल्ला हुँदा ११ जिल्लाका २४ स्थानमा सुरक्षाका लागि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईका अनुसार ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको थियो भने सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको हो । यस्तैगरी, चितवनको राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदानको क्रममा अवरुद्ध हुँदा हवाई फायर गरिएको, दोलखाका ७ ठाउँमा तनाव सिर्जना हुँदा स्थिति नियन्त्रणमा लिन २६ राउन्ड गोली चलाईएको जनाईएको छ । गौरीशंकर गाउँपालिका–२, बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ र २ नम्बर वडा, कालिञ्चोक गाउँपालिका वडा नम्बर –७ र १, जिरी नगरपालिका–९, तामाकोशी गाउँपालिका–३ स्थित कालापानी माावि, स्याङ्जाको गल्याङ नगरपालिकास्थित आदर्श मावि मतदान केन्द्र, हुम्लाको देवकोटा आवासीय विद्यालय कुनापानीमा प्रहरीले १७ राउण्ड गोली चलाएको छ । त्यस्तै मान्धारा मावि भकुण्डामा पनि गोली चलेको छ । बाजुराको स्वामीकार्तिक, छेडेदह, कैलाशेबरी आवासीय विद्यालय मना, सत्य माबि पाण्डुसैन र धुरालसेन मावि डुगरी मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ । डोटीको राधाकृष्ण मावि गोपाघाटमा ४ राउन्ड फायर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दार्चुलाको मालिकार्जुन मावि मतदान केन्द्र र बझाङको मष्टा आधार आवासीय विद्यालय बुरेलथुम प्रहरीले गोली चलाएको छ । यस्तैगरी, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ ।
१५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।”