काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ४ क्षेत्रको मतगणना सुरु भएको छ ।
सर्वदलीय सहमतिका आधारमा काठमाडौं क्षेत्र नं ७ को मतगणना महानगरपालिका वडा नं १६ नयाँबजारमा रहेको जुडो हलमा सुरु गरिएको हो । काठमाडौं क्षेत्र नं. ७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् ।
यस्तै, काठमाडौं क्षेत्र नम्बर १ को मतगणना पनि सुरु गर्ने तयारी छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको थियो । उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम लगायत प्रतिस्पर्धामा रहेका छन् ।
यस्तै, ललितपुर क्षेत्र २ को पनि मतगणना सुरु भएको छ । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा र ३ को गणना जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस्तै, ललितपुर ३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन् ।
भक्तपुरका २ को बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको छ । भक्तपुर २ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका छन् ।