काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फ भएको निर्वाचनका क्रममा ११ जिल्लामा गोली चलेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार देशभर रहेका मतदान केन्द्रमध्ये ११ जिल्लामा गोली चल्यो भने १५ जिल्लाको मतदान रोकिएको छ ।
मतदानका क्रममा होहल्ला हुँदा ११ जिल्लाका २४ स्थानमा सुरक्षाका लागि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईका अनुसार ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको थियो भने सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको हो ।
यस्तैगरी, चितवनको राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदानको क्रममा अवरुद्ध हुँदा हवाई फायर गरिएको, दोलखाका ७ ठाउँमा तनाव सिर्जना हुँदा स्थिति नियन्त्रणमा लिन २६ राउन्ड गोली चलाईएको जनाईएको छ । गौरीशंकर गाउँपालिका–२, बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ र २ नम्बर वडा, कालिञ्चोक गाउँपालिका वडा नम्बर –७ र १, जिरी नगरपालिका–९, तामाकोशी गाउँपालिका–३ स्थित कालापानी माावि, स्याङ्जाको गल्याङ नगरपालिकास्थित आदर्श मावि मतदान केन्द्र, हुम्लाको देवकोटा आवासीय विद्यालय कुनापानीमा प्रहरीले १७ राउण्ड गोली चलाएको छ । त्यस्तै मान्धारा मावि भकुण्डामा पनि गोली चलेको छ ।
बाजुराको स्वामीकार्तिक, छेडेदह, कैलाशेबरी आवासीय विद्यालय मना, सत्य माबि पाण्डुसैन र धुरालसेन मावि डुगरी मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ । डोटीको राधाकृष्ण मावि गोपाघाटमा ४ राउन्ड फायर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दार्चुलाको मालिकार्जुन मावि मतदान केन्द्र र बझाङको मष्टा आधार आवासीय विद्यालय बुरेलथुम प्रहरीले गोली चलाएको छ ।
यस्तैगरी, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ ।