विकासन्युज

मुस्ताङको मतगणनामा कांग्रेसको अग्रता

मुस्ताङ । मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ । एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका आज बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो । त्यसलगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो । आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बताए । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले दुई सय ६१ मतले अग्रता लिएका छन् । उनले एक हजार ६८ र नेकपा ९एमाले० का प्रेमप्रसाद तुलाचनले आठ सय सात मत पाएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ लोमान्थाङ, मराङ, चिमाङ, लेते, छोसेर, सौरु, मार्फा, चराङ र फल्याकका नौवटा मतदान केन्द्रको गणना सकिएको छ । दुई स्थानमा मतगणना भइरहेको छ ।

कास्की २ : स्वतन्त्रका कँडेलको अग्रता

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी घण्टी चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी विद्या भट्टराईले एक सय २२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ बरालले एक सय १० मत प्राप्त गरेका छन् भने राप्रपाका सुवर्णराज पन्तले ७५ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यको मतगणना पनि सुरु भइरहेको र केही समयमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने बताइएको छ । त्यस्तै कास्की निर्वाचन क्षेत्र नं १ र ३ को मतगणना बिहान ११ बजेदेखि सुरु गरिने निर्वाचन कार्यालय पोखराका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले बताए । रासस

हुम्लामा हेलिकप्टर मार्फत मतपेटिका संकलन गरिँदै

हुम्ला । हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ । सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको तील, जाङ, हल्जिका मतदान केन्द्रबाट मतपेटिका ल्याइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लिमिको यी तीन मतदान केन्द्रमा यसअघि हेलिकप्टरबाट मतपेटिका, कर्मचारी, सुरक्षाकर्मी पुर्याइएको थियो । यारी, याल्वाङ र मुचुका मतपेटिकासमेत हेलिकप्टरबाट ओसारिने भएको हो । लिमिको बाटो ल्यालु लेखमा बाक्लो हिउँ जमेका कारण आवतजावतमा समेत कठिनाइ छ । मतपेटिका ल्याउन असहज हुने भएपछि हेलिकप्टरबाट ल्याउने भएको हो । यस्तै दक्षिण भेगमा रहेका मतपेटिका समेत हेलिकप्टरबाट सदरमुकाम ल्याइने भएको हो । आइतबार राति सदरमुकाम आसपासका मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आइपुगेको बताइएको छ ।

सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल : सरकार

काठमाडौं । सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताएको छ । आइतबार निर्वाचनपछि गृह मन्त्रालयका सचिव विनोदवप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताएका हुन् । उनले निर्वाचन बिथोल्ने गतिविधिको चेतावनी दिने समूहले चेतावनी अनुसार कुनैपनि गतिविधि नगरेको र निर्वाचन सम्पूर्ण रुपमा सफल भएको जानकारी दिए । उनले सुरक्षा निकायको तदारुकता र कार्ययोजनाको कार्यान्वयनको मुख्य भुमिकाका कारण निर्वाचनको सुरक्षा व्यवस्थापन पनि चुस्त भएको बताए । गृहसचिव सिंहले आन्तरिक असमझदारीका कारण केही पार्टीका प्रतिनिधिहरु र स्थानीयको केही उश्रृंखल क्रियाकलापले गर्दा केही स्थानहरुमा निर्वाचन स्थगित भएको बताए । निर्वाचन ८० स्थानमा अवरुद्ध भएपनि समन्वयबाट १५ वटा मतदान स्थल बाहेक अन्य सबै मतदान केन्द्रको मतदान सकिएको भने । उनले बाँकी १५ वटा मतदान स्थलमा भने पूर्ण रुपमा मतदान हुन नसकेको बताए । उनले कतिपय स्थानमा ४ वटा मतपत्रहरु बेग्लाबेग्लै बाकसमा हाल्नुपर्नेमा तदनुरुप नभएर केही स्थानमा अलग्गै बाकसमा राख्दा समस्या भएको जानकारी दिए । गृहसचिव सिंहले मतदानमा रहेका प्रतिनिधिरुबीचको विवादले पनि केही स्थानमा अवरोध सिर्जना भएको पाइएको बताए । उनले थानीय र केही उश्रृंखल तत्वले निर्वाचनमा अवरोध गर्दा केही ठाउँको मतदान रोकिएको बताए । ती ठाउँमा दुई दिन भित्रमा पुनः मतदान हसने जानकारी दिए । बाजुराको बुढीगंगा गाउँपालिका, त्रिवेणी नगरपालिकाको मतदान केन्द्र, त्रिवेणी नगरपालिका ७, नाट्यश्वेरीको सुर्खेतको एउटा मतदान केन्द्र, गुुल्मी र नवलपुर सुस्तापूर्वको दीपचुलीको समानुपातिक तर्फको मतदान गरेको सम्बन्धमा विवाद भएर स्थगित भएको बताए ।

नुवाकोटमा न्यून मत खस्यो, गणना सुरु हुँदै

नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेससभा सदस्यअन्तर्गत नुवाकोटमा न्यून मत खसेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ७४ प्रतिशत मत खसेकामा आइतबार सम्पन्न आम निर्वाचनमा ५४ दशमलव ३९ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिकाएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । दुई लाख ३९ हजार सात सय २६ मध्ये एक लाख ३० हजार तीन सय ९८ मतदाताले मतदान गरेका छन् । उनको अनुसार निर्वाचन क्षेत्र नं १ मा करिब ४५ प्रतिशत र निर्वाचन क्षेत्र नं २ मा करीब ६० प्रतिशतको हाराहारीमा मतदान भएको पाइएको छ । निर्वाचन क्षेत्र नं १ को शिवपुरी, दुप्चेश्वर, पञ्चकन्या, तादी गाउँपालिकामा न्यून मत खसेको प्रारम्भिक विवरणमा देखिएको हो । दुई वटा प्रतिनिधिसभा र चार प्रदेससभा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा निर्वाचन अधिकृतको कार्यालयभित्र मतगणनास्थल तयार गरेर गणना सुरु गर्न लागिएको छ । नुवाकोटमा अहिले दुईवटै निर्वाचन क्षेत्रमा मतपेटिका सङ्कलन भइरहेको छ । मतपेटिका सङ्कलन सम्पन्न गरेपछि गणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचन क्षेत्र नं १ को मतगणना निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको ठाउँ तादी गाउँपालिकाको कार्यालय रहेको स्थान खरानीटार र क्षेत्र नं २ को गणनाकार्य मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरस्थित जिल्ला अदालतमा गर्न लागिएको छ । मतगणनास्थलमा सिसिटिभी क्यामरा जडान र तारजालीको निर्माण गरिएको छ ।

झापा–२ : एमालेको अग्रता, कांग्रेस भन्दा १२६ मतले अगाडि

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना जारी रहेको छ । उक्त निर्वाचन क्षेत्रमा ८ सय मत गणना भएको छ । ८ सय मत गणना सम्पन्न हुँदा एमाले उम्मेदवारले अग्रता लिएका छन् । एमालेका देवराज घिमिरेले ३२४ मत ल्याएका छन् । यस्तै, सत्ता गठबन्धनका हरि रानामगरले १९८ मत प्राप्त गरेका छन् । उनीभन्दा एमालेका उम्मेदवार २६ मतले अघि रहेका छन् । यस्तै, भद्रप्रसाद (स्वागत) नेपालले १ सय मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले पनि १ सय मत प्राप्त गरेका छन् ।

काठमाडौंका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना

काठमाडौ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ । काठमाडौं निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए । काठमाडौँ क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नं ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुनेछ । निर्वाचन क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नं ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नं ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नं ९ को रविभवनस्थित न्याथम कलेज र काठमाडौँ क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ । यद्यपि, काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मत गणना सुरु गरिसकिएको छ । निर्वाचन अधिकृत उषा श्रेष्ठले चार स्थानमा मतगणना सुरु गरिएको जानकारी दिनुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइएको छ । यस्तै ललितपुर निर्वाचन क्षेत्र नं २ र ३ को पनि मतगणना आज बिहान २ बजदेखि सुरु भइसकेको छ । ललितपुर क्षेत्र नं २ को सातदोबाटोस्थित राष्ट्रिय खेदकूद परिषद् परिसर र क्षेत्र नं ३ को जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना जारी छ ।

ललितपुर–१ मा राणालाई पछि पार्दै सिलवालको सुरुवाती अग्रता

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक गरिएको मतगणना अनुसार एमाले सुरुवाती अग्रता लिएको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार नवराज सिलवालले ६६७ मत प्राप्त गरेका छन् । यस्तै, सिलवाललाई कांग्रेसका उदयशमशेर राणाले पच्छ्याइरहेका छन् । कांग्रेसका उदयशमशेर राणाले ४०१ मत ल्याएका छन् ।