१६ ऋणीले बेवास्ता गरे राष्ट्रिय वाणिज्य बैंकको ऋण चुक्ता, ३५ दिनपछि कालोसूचीमा राख्दै
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । बैंकले गोरखापत्रमा ऋणीहरुको नाम, ठेगाना लगायतका विवरण सार्वजनिक गरेर ३५ दिन भित्र बैंकबाट लिएको ऋण चुक्ता नगरे कालोसूचीमा राख्ने र अन्य कारवाही गर्ने चेतावनी दिएको हो । बैंकका शाखा कार्यालयहरूबाट कर्जा/सुविधा लिई भाखा नाघेका ऋणी, प्रोप्राइटर, सञ्चालक साझेदार तथा जमानतदाताहरूसमेतलाई कर्जा चुक्ता गर्न पत्राचार गर्दा पत्र फिर्ता आउने, कतिपयले बैंकको अनुरोधलाई बेवास्ता गर्ने गरेका छन् । आफूले लिएको कर्जा बापतको रकम चुक्ता गर्नका लागि यो सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्बन्धित शाखा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ । यदि सो अवधिमा ऋण चुक्ता नगरे बैंकमा राखेको धितो चलअचल सम्पत्ति लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी बैंकले आफ्नो रकम असुल गर्ने बताएको छ । यदि धितो लिलाम गरेर पनि रकम असुल नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ र ऐ.नियमावली २०५९ तथा प्रचलित कानून अनुसार बैंकको सम्पूर्ण लेना रकम असुल गरिने बैंकले जनाएको छ । बैंकको मुख्य शाखा कार्यालय काठमाडौँबाट कर्जा लिएका आर.अग्रवाल एण्ड एसोसिएटले ऋण लिएको हुँदा चक्ता गर्न आग्रह गरेको हो । यस्तै, शाखा कार्यालय तुलसीपुर दाङबाट पोखरेल ट्रेड सेन्टर, श्री किब्स एग्रो नेपाल प्रा.लि., सम्राट किराना तथा कस्मेटिक पसललाई ३५ दिनभित्र रकम असुल गर्न बैंकले आग्रह गरेको हो । यस्तै, शाखा कार्यालय ललितपुरबाट गोदावरी नगरपालिका १० ललितपुरमा रहेको गौरव कृषि फार्र्म, महालक्ष्मी नगरपालिका १ मा रहेको लक्ष्मी फेन्सी स्टोरलाई पनि ताकेता गरेको हो । यस्तै, शाखा कार्यालय कलंकीबाट चन्द्रागिरी नगरपालिका २ थानकाटमा रहेको पिलु कर्णली एग्रो मल्टिप्रपोज प्रा.लि. र बिमला महर्जन, शाखा कार्यालय दुहवी सुनसरीबाट दुहवी भलुवा नगरपालिका ४ मा रहेका कृष्ण ट्रेड एण्ड ट्रेडर्स र मनकामना सप्लायर्स र शाखा कार्यालय नक्सालबाट रुझेना ४ बाँके राज कुमार शाहलाई ३५ दिनभित्र चुक्ता गर्न आग्रह गरेको हो । यस्तै, शाखा कार्यालय भच्चेक गोरखाबाट सिम्जुङ ९ मा रहेको हिमाली कपडा पसल, अजिरकोट गाउँपालिका ४ मा रहेको ग्रेस ग्रिल उद्योग, घले किराना पसल, मिनु किराना पसल र शाखा कार्यालय पुर्तिघाट गुल्मीबाट कालिगण्डकी गाउँपालिका १ मा रहेको गुल्मी क्षितिज एण्ड अमृत पशु तथा पंक्षी फर्मलाई ऋण चुक्ता गर्न ताकेता गरेको हो ।
नागरिकताका विषयमा रविले बुझाए बन्दी खाममा आफ्नो स्पष्टीकरण
काठमाडौं । नागरिकताका विषयमा निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले मङ्गलबार जवाफ दिएका छन् । लामिछानेले बन्दी खाममा आफ्नो स्पष्टीकरणको जवाफ पठाएका हुन् । आयोगको निर्वाचन कार्यालय चितवनमा उनले स्पष्टीकरण बुझाएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । मङ्गलबार अबेर गरी उनले जवाफ बुझाएको उनले बताए । सो जवाफलाई कार्यालयले निर्वाचन आयोगमा जस्ताको तस्तै बुझाउने बताइएको छ । आयोगले यस विषयमा थप निर्णय गने उनको भनाइ छ । चितवन क्षेत्र नम्बर २ मा लामिछानेले अग्रता लिइरहेका बेला सो जवाफ बुझाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने विरुद्ध नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने माग गर्दै परेको उजुरी परेपछि गत कात्तिक ३० गते आयोगले स्पष्टीकरण सोधेको थियो । मङ्गलबार स्पष्टीकरणको अन्तिम दिन थियो । लामिछाने विरुद्ध आयोग कार्यालयमा राजकुमार पाण्डेले उम्मेदवारी खारेजी मागसहित अघिल्लो मङ्गलबार उजुरी दिएका थिए । आयोगमा दर्ता भएको सो उजुरीलाई आयोगले आफ्नो मातहत कार्यालय निर्वाचन कार्यालय चितवन क्षेत्र नम्बर २ मार्फत स्पष्टीकरण लिएको थियो । १८२२२ नागरि कता नम्बर कायम भई २०५० सालमा तत्कालीन काठमाडौं नगरपालिका वडा नम्बर ६ बाट रविले नागरिकता लिएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिइएको सो नागरिकता अमेरिकी नागरिक भएसँगै खारेज भएको तर त्यही खारेज भएकै नागरिकताका आधारमा उम्मेदवारी दर्ता गरिएको दाबी उजुरीकर्ताको छ । नेपाल नागरिकता ऐन, २०६३ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशी नागरिक बने सँगै नेपाली नागरिकता निष्क्रिय हुने व्यवस्था छ । यसरी निष्क्रिय बनेको नागरिकताका सम्बन्धमा विवाद भएपछि चार वर्षअघि नै अमेरिकी नागरिकता त्यागेर नपाली नागरिकता सक्रिय बनाएको रवि लामिछानेको दाबी छ । यता जारी मतगणनामा लामिछानेको अग्रता कायमै छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
एमाले सचिव भट्टराई ताप्लेजुङमा १ हजार मतले पछि परे
काठमाडौं । ताप्लेजुङमा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले नेकपा एमाले सचिव समेत रहेका योगेशकुमार भट्टराईलाई १ हजार १० मतअन्तरले पछि पार्दै अग्रता कायम गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार बुढाक्षेत्रीले १३ हजार ५३ मत ल्याएर अगाडि छन् भने एमालेका उम्मेदवार भट्टराई १२ हजार ४३ मत ल्याएर पच्छ्याइरहेका छन् । ताप्लेजुङमा ४८ हजार ३५५ मत खसोका थिए । हालसम्म २७ हजार मत गणना सम्पन्न भइसकेको छ भने २० हजार मत गणना हुन बाँकी छ । ६१ वडा रहेको जिल्लामा ३५ वडाको गणना सम्पन्न भएको छ ।
राप्रपाका धवलशमशेर राणा निर्वाचित, पहिलो जीतसँगै ४ ठाउँमा अग्रता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभातर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । बाँके क्षेत्र नम्बर–२ बाट धवलशमशेर जंगबहादुर राणा विजयी भएसँगै प्रतिनिधि सभा सदस्यमा राप्रपाले जीत हासिल गरेको हो । राणाले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईलाई पराजित गरेका हुन् । राणाले २९ हजार ५७७ मत ल्याउँदा राईले २३ हजार ५२० मत मात्र ल्याएका हुन् । कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३३३ मत ल्याएका हुन् । राप्रपाले ४ ठाउँमा अग्रता कायम नै राखेको छ । चितवन क्षेत्र नम्बर ३ मा विक्रम पाण्डे, नवलपरासी २ मा ध्रुव बहादुर प्रधान, जुम्ला १ मा ज्ञान बहादुर शाह र झापा ३ मा राजेन्द्र लिङ्देनले अग्रता कायम गरेका छन् ।
एकीकृत समाजवादीले खाता खोल्यो, अछाम–१ मा मन्त्री कुँवर विजयी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । कुँवर ४ हजार ४८९ मतान्तरले विजयी भएका हुन् । विजयी कुँवर गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार थिए । कुँवरले १९ हजार ५३४ मत ल्याएर विजयी भएका हुन् भन् निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का झपटबहादुर बोहराले १५ हजार ४५ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याएर तेस्रो बनेका छन् । अछाम क्षेत्र नम्बर १ मा ४१ हजार ३९२ मत खसेको थियो । जसमध्येमा १ हजार ९७७ मत बदर भएका छन् । विजयी कुँवर नेकपा (एमाले) बाट २०६४ को संविधानसभा निर्वाचन सोही क्षेत्रबाट निर्वाचित थिए । कुँवर २०७४ को निर्वाचनपछि एमालेबाट राष्ट्रियसभा सदस्य बनेका थिए । उनी समाजवादी पार्टीबाट मन्त्री पदमा बहाल रहेका छन् ।
१२ हजार मतान्तरले प्रधानमन्त्री देउवा विजयी, सातौंपटक जितेका देउवा पुनः प्रधानमन्त्री बन्न सक्ने
काठमाडौं । प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भएका छन् । मङ्सिर ४ गते सम्पन्न भएको सङ्घीय चुनावमा प्रतिनिधिसभातर्फ डडेलधुराबाट प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत ल्याएर विजयी भएका हुन् । उनी यो सहित सातौँ पटक संसदीय निर्वाचनमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याए । नेपाली कांग्रेस (बीपी) का कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याएका छन् । प्रधानमन्त्री देउवा निर्वाचित भएपनि औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । मतगणना भएको ५१ हजार २०३ मतमध्ये ३ हजार १८७ मत बदर भएको छ । प्रधानमन्त्री देउवा पहिलो पटक २०४८ सालेखि निरन्तर सांसद पदमा निर्वाचित हुँदै आएका छन् । २०४८ यता नेपाली काँग्रेस पार्टीबाट उम्मेदवार बनेका यसअघि भएका ६ वटै निर्वाचनमा विजयी भएका र्थि । देशको ५ पटकसम्म प्रधानमन्त्री बनेर इतिहास बनाइसकेका देउवा नयाँ संविधानको कार्यान्वयनका लागि ३ तहको निर्वाचन २ पटक गराउन सफल भएका छन् । यसपटक पुनः विजयी भएपछि देउवालले देशको नेतृत्व गर्न सक्ने आँकलन गरिएको छ ।
पूर्व सभामुखदेखि बहालवाला मन्त्रीलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौंका ३ क्षेत्रमा विजयी
काठमाडौं । पूर्व सभामुखदेखि बहालवाला मन्त्रीलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौंका ३ वटा क्षेत्रमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा धमकेदार जित हासिल गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका ३ क्षेत्रमा विजयी हासिल गरेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी भएकी हुन् । यस्तै, दोस्रोमा नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत, राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगरले ९ हजार ४४९ मत ल्याएका छन् । यस्तै, काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत, माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह) ले ६ हजार ६३ मत ल्याईन् । काठमाडौं क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएका छन् । हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । यस्तै, एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत ल्याएका छन् ।
पिपुल्स हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै, कतिले पाँउछन् १० कित्ता ?
काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओ आज (बुधबार) बाँडफाँट गरिने भएको छ । कम्पनीले कात्तिक २५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको हो । कम्पनीको आईपीओ बुधबार साँझ ४ बजे बाँडफाँट गरिने निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलले जानकारी दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि, ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा १२ लाख ६८ हजार २१७ जनाले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा १ करोड ४९ लाख ९९ हजार २५० कित्ता सेयर खरिद गर्न १ अर्ब ४९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको आईपीओमा माग भन्दा २.९३ गुणा बढी आवेदन परेको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले सेयर बाँडफाँट गरिनेछ । १० कित्ताका दरले आईपीओ बँँडफाँट गर्दा ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै सेयर पाउनेछन् । अरु अन्य आवेदकको हात भने रित्तो हुनेछ ।