विकासन्युज

काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएका हुन् । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा माओवादीका उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाएका छन् । काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो । रासस

गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४० नंको जिप कुटडाँडा भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी सत्यवती गाउँपालिका–३ का ५१ वर्षीय झलक सोमै, ५५ वर्षीया टीका राहडी, ४७ वर्षीय रनबहादुर सिंजापती, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीया जमुना सोमै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिएका छन् । जिप दुर्घटनामा परी घाइते हुनेमा सोही ठाउँका कार्बोलिन सोमै, चेतमान सिंजाली, गीरबहादुर राहडी र खण्डन सोमै छन् । दुर्घटना भएको जानकारी पाएपछि स्थानीयले उद्धार गरेका थिए । घाइतेलाई अहिले उपचारका लागि पाल्पातर्फ लगिँदै छ । घटनाको जानकारी पाएपछि रिडी र जोहाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । गए राति २ः३० बजेको समयमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

निर्वाचन भएको चार दिनपछि मुगुको मतगणना सुरु

  मुगु । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ । भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका सङ्कलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । ‘मुगुमा चार स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो’, उनले भने, ‘मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन लगाएर मतपेटिका सदरमुकाम पु¥याइएको थियो ।’ प्रमुख जिल्ला अधिकारी महतले आज बसेको सर्वदलीय बैठकबाट राजनीतिक सहमति जुटाएर बिहान ८ः३० बजेदेखि मतगणना सुरु भएको बताए । उनका अनुसार मुगुमा ३४ हजार नौ सय ६२ मतमध्ये २६ हजार छ सय १५  मत खसेको छ ।

काठमाडौं– ७ मा स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली विजयी

काठमाडौं। काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी भएका निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए । दोस्रो मत नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन् । उनले छ हजार आठ सय र लोकतान्त्रिक–वाम गणबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले छ हजार ६३ मत प्राप्त गरेका निर्वाचन अधिकृत श्रेष्ठले बताए । यस्तै एक हजार पाँच सय ७४ मत बदर भएको छ । कुल २४ हजार एक सय ९८ मतगणना हुँदा काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ । उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार छ सय ३५ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए । रासस

काठमाडौं–१० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी

काठमाडौं । काठमाडौं–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उनले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमाले हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन् ।  एमालेका केसीले ११ हजार सात सय ८७ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा कूल ५३ हजार तीन सय ३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो ।

इलाम–१ मा मतगणना सुरु हुन सकेन

इलाम । इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो । राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ । अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ । सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ । हिजो राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन । सो मत परिणाममा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पछि परेका छन् । उनलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पारेका हुन् । बस्नेतले दश हजार दुई सय ८७ मत प्राप्त गरेका छन् भने खनालले आठ हजार सात ८० मत प्राप्त पाएका छन् । रासस

काठमाडौं–७ (१) मा समाजवादीका मानन्धर विजयी

काठमाडौं । काठमाडौं–७ (१) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा १०को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिए । यस्तै नेकपा ९एमाले०का उम्मेदवार जीवन मानन्धरले तीन हजार दुई सय पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोजिना गुरुङले दुई हजार नौ सय ६० मत प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकाभित्रको म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोलमा पर्ने उक्त प्रदेशमा महानगरका १६, १७, १८ र २५ वडा पर्दछन् । उक्त क्षेत्रमा १६ हजार एक सय दुई मतगणना गरिएको थियो ।

सिन्धुली–२ (२) मा माओवादीका गङ्गानारायण श्रेष्ठ विजयी

सिन्धुली । सिन्धुली–२ (२) मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गङ्गानारायण श्रेष्ठ विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले नेकपा एमालेका रामकुमार पौडेललाई तीन हजार दुई सय १२ मतान्तारले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । श्रेष्ठले १३ हजार एक, पौडेलले नौ हजार सात ८९ मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका तुलसी राईले दुई सय ५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका टलकबहादुर कार्कीले एक सय ७७, जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीले ७१, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण ग्वाछाले ३१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस