नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने समय आज अन्तिम दिन
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको नबिल म्युचुअल फण्ड अन्तर्गत खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । कात्तिक २३ गतेदेखि खुला गरिएको नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने समय आज मंसिर ७ गते, बुधबार अन्तिम दिन हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ७ करोड ५० लाख इकाई मध्ये १ करोड १२ लाख ५० हजार वा कुल निष्काशन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धकका लागि १४ प्रतिशत वा १ करोड ५ लाख इकाई र योजना व्यवस्थापकका लागि १ प्रतिशत वा ७ लाख ५० हजार इकाई छुट्याइएको छ । बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गरेको हो । क्यापिटलको लगानीकर्ताले उक्त फण्डमा मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
१४७ स्थानमा मतगणना जारी : कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार हालसम्म तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आयोगका अनुसार हालसम्म काठमाडौं क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र नं १ मा योगेश गौचन थकाली निर्वाचित भइसक्नुभएको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ४८ स्थानमा अगाडि छन् । नेकपा (एमाले) ३४, नेकपा (माओवादी केन्द्र) १८, राष्ट्रिय स्वतन्त्र पार्टी १३, नेकपा (एकीकृत समाजवादी) सात र अन्य उम्मेदवार २४ स्थानमा अगाडि छन् । प्रदेशसभाको प्रत्यक्षतर्फ प्रदेश नं १ मा एमाले १५, कांग्रेस ११, माओवादी पाँच, एकीकृत समाजवादी चार र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा अगाडि छन् । मधेस प्रदेशमा जनमत पार्टी दुई, कांग्रेस आठ, एमाले १२, जनता समाजवादी पार्टी पाँच र अन्य उम्मेदवार १४ स्थानमा अगाडि छन् । मधेस प्रदेशमा जनमत पार्टीका दुई उम्मेदवार विजयी भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं १ मा सतिशकुमार सिंह र क्षेत्र नं २ मा महेशप्रसाद यादव विजयी भएका छन् । बागमती प्रदेशमा कांग्रेस १६, एमाले १४, माओवादी केन्द्र पाँच, एकीकृत समाजवादी र राप्रपा चार/चार तथा अन्य दुई स्थानमा अगाडि छन् । बागमती प्रदेशभाको प्रत्यक्षतर्फ काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका छिरिङ दोर्जे लामा र ललितपुर निर्वाचन क्षेत्र नं २ मा रामकृष्ण चित्रकार तथा ललितपुर निर्वाचन क्षेत्र नं १ मा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । गण्डकी प्रदेशमा कांग्रेस आठ, एमाले ११, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी एक स्थानमा अगाडि छन् । गण्डकीमा मनाङ क्षेत्र नं १ बाट कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ, मुस्ताङ क्षेत्र नं १ बाट नम्डु गुरुङ, क्षेत्र नं २ बाट विकल शेरचन विजयी हुनुभएको छ । मनाङ क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ विजयी भएका छन् । लुम्बिनी प्रदेशमा एमाले ११, कांग्रेस नौ, माओवादी केन्द्र चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, जनता समाजवादी पार्टी दुई र अन्य उम्मेदवार छ स्थानमा अगाडि छन् । कर्णाली प्रदेशमा कांग्रेस र माओवादी केन्द्र चार/चार तथा सुदूरपश्चिम प्रदेशमा कांग्रेस पाँच, एमाले चार, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन् । रासस
पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ प्रदान गर्न प्राधिकरणलाई निगमको अनुरोध
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमलाई प्रदान गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ । निगमले ग्राउण्ड ह्याण्डलिङमा लामो अनुभव रहेको र सोहीअनुसारको दक्ष जनशक्ति तथा आवश्यक प्राविधिक स्रोत साधनको उपलब्धता रहेकाले निगमलाई प्रदान गर्न अनुरोध गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । सोमबारदेखि यान्त्रिक परीक्षण उडान भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा प्राधिकरण आफैँले गर्ने जनाएको थियो । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको स्थापनाकालदेखि नै आफ्नो र अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको छ । ग्राउण्ड ह्याण्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोहीअनुसारको स्रोत साधन र जनशक्ति रहेकाले पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्यसमेत निगमलाई नै प्रदान गर्न व्यवस्थाका लागि अनुरोध गरिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले अन्तर्राष्ट्रियस्तरको ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको र आइसागो, आयोटा सेफ्टी अडिट फर ग्राउण्ड अपरेसन्स सर्टिफाइड रहेको निगमले उल्लेख गरेको छ । साथै आन्तरिक वायुसेवाको भूमिस्थ सेवासमेत गर्न सक्षम भएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्य गर्दै आएको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हाल भारतका तीनसहित आठ देशका विभिन्न १० वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ ।
दिल्ली उडान कटौतीले निगमकाे आम्दानी खुम्चियो
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मुख्य आम्दानी हुने भारतको नयाँदिल्ली गन्तव्यको उडान कटौती हुँदा आफ्नो आम्दानी खुम्चिएको जनाएको छ । काठमाडौँ–दिल्ली गन्तव्यमा साताको १४ उडान गर्दै आएकामा हालैको उडान तालिकामा साताको १० वटा उडान मात्र प्राधिकरणबाट स्वीकृत भएकोले निगमको आम्दानीमा सङ्कुचन भएको निगमले विज्ञप्तिमा जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणको निर्देशनानुसार निगम व्यवस्थापनले निर्णय गरी सञ्चालक समितिको समेत स्वीकृतिपश्चात साताका चार उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा (काडमाडौं–दिल्ली–भैरहवा–काठमाडौँ) उडान गर्ने गरी स्वीकृतिका लागि प्राधिकरणमा पठाइसकिएको छ । साथै, निगमको कटौती भएको उडान यथावत सञ्चालन गर्ने र आवश्यकताअनुसार अन्य गनतव्यमा उडान थप गर्नसमेत मन्त्रालय र प्राधिकरणलाई अनुरोध गरिएको निगमले जनाएको छ ।
निर्वाचनले अर्थतन्त्रलाई चलायमान बनाउन सघाउ, बैंकमा सहज हुन सक्छ तरलता
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भएको खर्चले समग्र अर्थतन्त्र सामान्य रुपमा चलायमान हुने अर्थविद्हरुले बताएका छन् । निर्वाचनका लागि राजनीतिक दल र सरकारले खर्च गर्ने रकम बजारमा जाँदा अर्थतन्त्र थप चलायमान हुने अर्थविद्हरुले अनुमान गरेका हुन् । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । तर, निर्वाचनमा उम्मेदवार तथा सरकारले निर्वाचनका लागि गरेको खर्चले समग्र मुलुकको अर्थतन्त्रलाई सामान्य रुपमा मात्रै चलायमान बनाउन सक्ने उनीहरुले बताए । अर्थविद् केशव आचार्यले मंसिर ४ गतेको निर्वाचनमा उम्मेद्वारहरुले १० अर्ब बढी खर्च गरेकाले अर्थतन्त्र केही चलायमान भएको बताए । ‘उम्मेदवारले निर्वाचनमा सवारी साधन, होटल र सामाजिक सञ्जालमा व्यापक खर्च गरेका छन्, निर्वाचनमा भएको खर्च व्यवसायीहरुको हातमा आएकाले केही दिनअघि मात्रै बैंकको निक्षेपमा ५० अर्ब रुपैयाँ आएको छ, ५० अर्ब रकम भनेको ४८ खर्बको जिडिपीको १ प्रतिशत हो, त्यो रकमले बैंकको तरलता कम गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने छ,’ उनले भने । आचार्यले निर्वाचनमा देशमा १० अर्ब बराबरको खर्च भएपनि ५ अर्ब रुपैयाँ बाहिर जाने गरेको बताए । उनले निर्वाचन आयोग र उम्मेदवारहरुले समेत निर्वाचनमा गरेको खर्च ५० अर्ब भएपनि २० अर्ब मात्रै औपचारिक अर्थतन्त्रमा देखिने भएकाले अर्थतन्त्रमा खासै ठूलो परिर्वतन नहुने दाबी गरे । त्यस्तै, बैंकिङ विज्ञ अनलराज भट्टराईले अर्थतन्त्रमा धेरै समस्या भएकाले निर्वाचनमा भएको खर्चले मुलुकको अर्थतन्त्र चलायमान र आर्थिक वृद्धिमा ठूलो योगदान गर्न नसक्ने बताए । निर्वातनमा सरकारले गरेको खर्च र राजनीतिक दलका उम्मेदवारहरुले गरेको खर्च करिब ५० अर्ब रहेको उनी बताउँछन् । ‘नेपालको अर्थतन्त्रको आकार ठूलो भएको भन्दै ५० अर्ब खर्चले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दैन, विगतका निर्वाचनमा अर्थतन्त्रको आकार सानो हुँदा अर्थतन्त्रलाई चलायमान र आर्थिक वृद्धिदरसमेत बढाउने गरेको थियो तर मंसिर ४ गतेको निर्वाचनमा भएको खर्चले अर्थतन्त्र चलामायन र वृद्धिदरमा खासै योगदान गर्न सक्दैन,’ उनले भने । पछिल्लो समय व्यापार व्यवसायमा मागमा कमी, उपभोक्ता आम्दानी कम र खर्च अनुसार आम्दानी बढ्न नसकेको अवस्थामा निर्वाचनमा भएको ५० अर्ब खर्चले आर्थिक गतिविधि केही सहजता ल्याउने उनी बताउँछन् । यद्यपि, निर्वाचनमा भएको खर्चले बैंकमा देखिएको तरलतालाई कम गर्ने उनले बताए । ‘अहिले बैंकहरुले नगदमा लांभाश बाँड्ने र निर्वाचन खर्चले बैंकहरुमा १ खर्ब बराबरको तरलता थपिनसक्छ, बजारमा ३०० अर्बको माग, व्यापारमा निरन्तर मन्दी र सरकारले आयातमा प्रतिबन्ध लगाएर राजश्वमा कमी आएकाले तरलताको समस्या लामो समय रहनसक्छ,’ उनले भने ।
नेपाली कांग्रेसका महामन्त्री शर्मा साढे छ हजार मतान्तरले अगाडि
झापा । झापा क्षेत्र नं १ मा ३४ हजार चार सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई छ हजार पाँच सय ७३ मतले पछि पारेका छन् । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।
आरएमडीसी लघुवित्तबाट ज्योतीचन्द्र ओझाले दिए राजीनामा
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतीचन्द्र ओझाले राजीनामा दिएका छन् । संस्थाले ओझाको राजिनामा मंसिर ७ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ । ओझाले २०७१ साल असाेज १ गते देखी प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । राजिनामा दिँदै ओझाले आरएमडीसीसँगको आफ्नो आवद्धता एउटा सुखद अनुभूतीको रुपमा जीवनभर रहने बताएका छन् । ‘आरएमडीसी मार्फत नेपालको गरीबी निवारण, रोजगारी श्रृजना ,महिला शसक्तीकरणका क्षेत्रमा क्रियाशिल रही धेरै कुराहरु सिक्ने अवसर पाएँ, देश विदेशका धेरै संस्था र व्यक्तीहरुसँग साक्षत्कार हुने अवसर पाएँ, आरएमडीसीसँगको मेरो आवद्घता एउटा सुखद अनुभूतीको रुपमा जीवनभर रहनेछ,’ उनले भने । लघुवित्तले मंसिर ७ गतेदेखि लागु हुने गरी कम्पनीको कायम मुकायम अधिकृतमा पृथ बहादुर थापालाई नियुक्त गरेको छ ।
सोलोमन टापुमा ७.३ म्याग्निच्युडको भूकम्प
अमेरिका । सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था युएसजीएसले जनाएको छ । नोभेम्बर २२ मा १५।० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु ९.७९० डिग्री दक्षिण देशान्तर र १५९.६०१ डिग्री पूर्वी देशान्तर रहेको थियो । यद्यपी हालसम्म कुनै हताहतको खबर आएको छैन । इन्डोनेसियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प गएको एक दिनपछि भूकम्प आएको हो । पश्चिमी जाभाका गभर्नर रिडवान कामिलले इन्डोनेसियाको जाभामा गएको भूकम्पमा परी १६० जनाभन्दा बढीको मृत्यु भएको सीएनएनले जनाएको छ । उद्धारकर्ताहरूले भग्नावशेषमा फसेका बाँचेको खोजी गरिरहेका थिए । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको कामिलले बताउनु भएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने कामिलले बताए । नोभेम्बर २१ मा स्थानीय समयानुसार दिउँसो १ः२१ बजे पश्चिम जाभाको सियानजुर क्षेत्रमा ५।६ म्याग्निच्युडको भूकम्प गएको सीएनएनले जनाएको थियो । भूकम्प १० किलोमिटर गहिराइमा गएको युएसजीएस ले जनाएको छ ।