काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभातर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । बाँके क्षेत्र नम्बर–२ बाट धवलशमशेर जंगबहादुर राणा विजयी भएसँगै प्रतिनिधि सभा सदस्यमा राप्रपाले जीत हासिल गरेको हो ।
राणाले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईलाई पराजित गरेका हुन् । राणाले २९ हजार ५७७ मत ल्याउँदा राईले २३ हजार ५२० मत मात्र ल्याएका हुन् । कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३३३ मत ल्याएका हुन् ।
राप्रपाले ४ ठाउँमा अग्रता कायम नै राखेको छ । चितवन क्षेत्र नम्बर ३ मा विक्रम पाण्डे, नवलपरासी २ मा ध्रुव बहादुर प्रधान, जुम्ला १ मा ज्ञान बहादुर शाह र झापा ३ मा राजेन्द्र लिङ्देनले अग्रता कायम गरेका छन् ।