नेपाली कांग्रेसका महामन्त्री शर्मा साढे छ हजार मतान्तरले अगाडि
झापा । झापा क्षेत्र नं १ मा ३४ हजार चार सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई छ हजार पाँच सय ७३ मतले पछि पारेका छन् । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।
आरएमडीसी लघुवित्तबाट ज्योतीचन्द्र ओझाले दिए राजीनामा
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतीचन्द्र ओझाले राजीनामा दिएका छन् । संस्थाले ओझाको राजिनामा मंसिर ७ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ । ओझाले २०७१ साल असाेज १ गते देखी प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । राजिनामा दिँदै ओझाले आरएमडीसीसँगको आफ्नो आवद्धता एउटा सुखद अनुभूतीको रुपमा जीवनभर रहने बताएका छन् । ‘आरएमडीसी मार्फत नेपालको गरीबी निवारण, रोजगारी श्रृजना ,महिला शसक्तीकरणका क्षेत्रमा क्रियाशिल रही धेरै कुराहरु सिक्ने अवसर पाएँ, देश विदेशका धेरै संस्था र व्यक्तीहरुसँग साक्षत्कार हुने अवसर पाएँ, आरएमडीसीसँगको मेरो आवद्घता एउटा सुखद अनुभूतीको रुपमा जीवनभर रहनेछ,’ उनले भने । लघुवित्तले मंसिर ७ गतेदेखि लागु हुने गरी कम्पनीको कायम मुकायम अधिकृतमा पृथ बहादुर थापालाई नियुक्त गरेको छ ।
सोलोमन टापुमा ७.३ म्याग्निच्युडको भूकम्प
अमेरिका । सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था युएसजीएसले जनाएको छ । नोभेम्बर २२ मा १५।० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु ९.७९० डिग्री दक्षिण देशान्तर र १५९.६०१ डिग्री पूर्वी देशान्तर रहेको थियो । यद्यपी हालसम्म कुनै हताहतको खबर आएको छैन । इन्डोनेसियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प गएको एक दिनपछि भूकम्प आएको हो । पश्चिमी जाभाका गभर्नर रिडवान कामिलले इन्डोनेसियाको जाभामा गएको भूकम्पमा परी १६० जनाभन्दा बढीको मृत्यु भएको सीएनएनले जनाएको छ । उद्धारकर्ताहरूले भग्नावशेषमा फसेका बाँचेको खोजी गरिरहेका थिए । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको कामिलले बताउनु भएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने कामिलले बताए । नोभेम्बर २१ मा स्थानीय समयानुसार दिउँसो १ः२१ बजे पश्चिम जाभाको सियानजुर क्षेत्रमा ५।६ म्याग्निच्युडको भूकम्प गएको सीएनएनले जनाएको थियो । भूकम्प १० किलोमिटर गहिराइमा गएको युएसजीएस ले जनाएको छ ।
दार्चुलामा बडूको अग्रता कायमै
दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता रहेको छ । प्रतिनिधि सभा अन्तर्गत व्यास गाउँपालिका दुहुँ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार हजार पाँच सय १६ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेबाट उम्मेदवार गणेशसिंह ठगुन्नाले पछ्याइ रहेका छन् । ठगुन्नाले चार हजार ७४ मत प्राप्त गरेका छन् । प्रदेशसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विक्रमसिंह धामीले पाँच हजार एक सय ६९ मत सहित अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार हरदेव जोशीले चार हजार तीन सय ९३ मतले पछ्याइ रहेका छन् ।
बझाङमा मतगणना सुरु
बझाङ । बझाङमा मतगणना सुरू भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मङ्गलबार अपराह्नदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ ठाउँमा मतगणना सुरु भएको छ । बझाङबाट प्रतिनिधिसभा सदस्य पदका लागि सात जनाको उम्मेदवारी रहेको छ । नेकपा एमाले बाट ऐनबहादुर महर र लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी प्रतिस्पर्धामा छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, जनता समाजवादी पार्टी जसपा नेपालका रामबहादुर जाग्री र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् । त्यस्तै प्रदेशसभा सदस्य १ तर्फ लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, एमालेबाट अफिलाल ओखेडा, राप्रपाका हरिलाल भट्टराई र राप्रपा नेपालका कर्णबहादुर खड्का बीच प्रतिस्पर्धा रहेको छ । प्रदेशसभा सदस्य २ बाट एमालेका लालबहादुर एलबी रावल, लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता भीमबहादुर भण्डारी, राप्रपाका वीरेन्द्रबहादुर मल्ल र राप्रपा नेपालका कृष्णबहादुर सिंहबीच प्रतिस्पर्धा रहेको छ ।
५ महिनामा बैंकको निक्षेप : नेपाल एसबिआई आक्रामक, नबिल र एनआईसीबीच कडा टक्कर
काठमाडौं । ५ महिनाको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब ९० करोड रुपैयाँ बढाएका छन् । गत अषाढ मसान्तसम्ममा बैंकहरुको निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक मसान्तसम्ममा बैंकहरुको निक्षेप २१.९० अर्ब रुपैयाँ बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुर्याएका छन् । ५ महिनाको अवधिमा १० वटा बैंकको निक्षेप घटेको छ भने अन्य बैंकले निक्षेप बढाएका छन् । गत अषाढ मसान्तदेखि कात्तिक मसान्तसम्म ५ महिनाको अवधिमा सबैभन्दा धेरै नेपाल एसबिआई बैंकले निक्षेप बढाएको छ । यस अवधिमा २ वटा वाणिज्य बैंकको निक्षेप अर्ब क्लबमा नै सिमित भएका छन् । सिभिल बैंक र सेञ्चुरी बैंकको निक्षेप १ खर्ब भन्दा कम रहेको छ । नेपाल एसबिआई बैंकको १२.०५ अर्ब रुपैयाँ बढेर १ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, दोस्रोमा नबिल बैंकको १०.९ अर्ब रुपैयाँ बढेर ३ खर्ब ४० अर्ब रुपैयाँ, तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकको १०.४६ अर्ब बढेर २ खर्ब ६७ अर्ब रुपैयाँ, चौंथोमा एनआईसी एशिया बैंकको १०.४४ अर्ब रुपैयाँ बढेर ३ खर्ब ५ अर्ब रुपैयाँ र पाँचौंमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८.८५ अर्ब बढेर १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप पुगेको छ । यस्तै, शिद्धार्थ बैंकको ३.५३ अर्ब बढेर २ खर्ब रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको २.६९ अर्ब बढेर १ खर्ब ८८ अर्ब रुपैयाँ, हिमालयन बैंकको २.६५ अर्ब बढेर १ खर्ब ७४ अर्ब रुपैयाँ, नेपाल बैंकको २.५२ अर्ब बढेर १ खर्ब ९९ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकको २.३१ अर्ब बढेर २ खर्ब ८८ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको २.०५ अर्ब बढेर १ खर्ब ७५ अर्ब रुपैयाँ, सिटिजन्स बैंकको १.४९ अर्ब बढेर १ खर्ब ५६ अर्ब रुपैयाँ, मेगा बैंकको १.३९ अर्ब बढेर १ खर्ब ५७ अर्ब रुपैयाँ र लक्ष्मी बैंकको १.३९ अर्ब बढेर १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । यस्तै, बैंक अफ काठमाण्डूको ४१ करोड बढेर १ खर्ब ११ अर्ब रुपैयाँ, सानिमा बैंकको २१ करोड बढेर १ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघको तथ्याङ्कमा उल्लेख गरिएको छ । ५ महिनाको अवधिमा सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको निक्षेप घटेको छ । एनसीसी बैंकको १४.४८ अर्ब घटेर १ खर्ब २७ अर्ब रुपैयाँ, प्रभु बैंकको ९.६ अर्ब घटेर १ खर्ब ७२ अर्ब रुपैयाँ, सनराइज बैंकको ५.९८ अर्ब घटेर १ खर्ब २८ अर्ब रुपैयाँ, सेञ्चुरी बैंकको ५.१७ अर्ब घटेर ९६ अर्ब रुपैयाँ, प्राइम बैंकको ४.९४ अर्ब घटेर १ खर्ब ६० अर्ब रुपैयाँ, कुमारी बैंकको ४.५६ अर्ब घटेर १ खर्ब ७८ अर्ब रुपैयाँ, माछापुच्छ्रे बैंकको २.४ अर्ब घटेर १ खर्ब ४६ अर्ब रुपैयाँ, एनएमबि बैंकको २.३३ अर्ब घटेर १ खर्ब ८४ अर्ब रुपैयाँ, सिभिल बैंकको १.३४ अर्ब घटेर ९४ अर्ब रुपैयाँ र कृषि विकास बैंकको ६४ करोड रुपैयाँ घटेर १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेपमा सिमित भएका छन् ।
आज काठमाडौंमा यो वर्षकै बढी चिसो
काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८।० डिग्री सेल्सियस रहेको थियो । चिसो बढेसँगै मौसम पूर्वानुमान महाशाखाकाले तापक्रम क्रमशः घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै चिसो सुरु हुन्छ । केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । राति प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव सात डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको छ ।
झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राखेका छन् । मतगणनाको शुरुआत देखि नै उनी अग्रस्थानमा छन् । अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गरेका छन् । यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन् । झापा–१ मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गरेका छन् । प्रारम्भिक परिणाम नुसार उनले नौ सय ८१ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले छ सय ३२ मत प्राप्त गरेका छन् । झापा–५ मा एमालेका होमबहादुर थापा एक हजार दुई सय ३४ मतसहित अगाडि छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीले सात सय ४८ मत प्राप्त गरेका छन् । रासस