काठमाडौं । प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भएका छन् । मङ्सिर ४ गते सम्पन्न भएको सङ्घीय चुनावमा प्रतिनिधिसभातर्फ डडेलधुराबाट प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत ल्याएर विजयी भएका हुन् । उनी यो सहित सातौँ पटक संसदीय निर्वाचनमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याए । नेपाली कांग्रेस (बीपी) का कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याएका छन् । प्रधानमन्त्री देउवा निर्वाचित भएपनि औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । मतगणना भएको ५१ हजार २०३ मतमध्ये ३ हजार १८७ मत बदर भएको छ ।
प्रधानमन्त्री देउवा पहिलो पटक २०४८ सालेखि निरन्तर सांसद पदमा निर्वाचित हुँदै आएका छन् । २०४८ यता नेपाली काँग्रेस पार्टीबाट उम्मेदवार बनेका यसअघि भएका ६ वटै निर्वाचनमा विजयी भएका र्थि । देशको ५ पटकसम्म प्रधानमन्त्री बनेर इतिहास बनाइसकेका देउवा नयाँ संविधानको कार्यान्वयनका लागि ३ तहको निर्वाचन २ पटक गराउन सफल भएका छन् । यसपटक पुनः विजयी भएपछि देउवालले देशको नेतृत्व गर्न सक्ने आँकलन गरिएको छ ।