निर्वाचन आचारसंहिता आजदेखि निष्कृय
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्कृय भएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि लागू नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आचारसंहिता लागू नरहेको निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा गराएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम गत असोज १२ देखि सो आचारसंहिता मुलुकभर लागू गरिएको थियो । रासस
फीन इलेक्ट्रो टेक–२०२२ सम्पन्न, ७० हजारले गरे अवलाेकन
काठमाडाैं । विद्युतीय सामग्रीहरुको बृहत् प्रदर्शनी फीन इलेक्ट्रो टेक–२०२२ सम्पन्न भएको छ । नेपाल विद्युत व्यवसायी महासंघले मंसिर २२ गतेदेखि काठमाडौं भृकुटीमण्डपमा आयोजना गरेको मेला २५ गते आइतबार सम्पन्न भएको हो । मेलाको अन्तिम तथा चौंथो दिन आइतबार १६ हजार भन्दा बढीले अवलोकन गरेका छन् । यो सँगैमेला अवलोकन गर्नेको संख्या करिब ७० हजार पुगेको छ । प्रदर्शनीका क्रममा विभिन्न कम्पनी र ब्रान्डका उत्कृष्ट स्टलहरुलाई पुरस्कृत समेत भएका थिए । पुरस्कृत हुनेमा एप्पल ग्रुपको विनय स्वीच, एनजी इलेक्ट्रिकल्सको इलेक्ट्रा इलेक्ट्रिक र प्रिमियर ओभरसिजको ओरिएन्ट र मित्तल ओभरसिज रहेका छन् । मेलाका क्रममा फीनका पूर्व अध्यक्ष एवं इलेक्ट्रो टेक–२०१२ का संयोजक रामबहादुर श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई पनि सम्मान गरिएको थियो । विगत २६ वर्षदेखि हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको मेला यसपटक भने कोरोना महामारीको कारण चार वर्षपछि आयोजना गरिएको हाे ।
सिञ्जाका सडक पुनर्निर्माणका लागि बजेट विनियोजन
सुर्खेत। गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढी पहिरोले क्षतिग्रस्त सडक पुनर्निर्माणकालागि पाँच करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । नेपाल अर्थ मन्त्रालयबाट बजेट विनियोजित भएपछि सहरी विकास इकाइ कार्यालय सुर्खेतले आज खुला प्रतिस्पर्धामार्फत् बोलपत्र प्रकाशित गरेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । ‘सडक पुनर्निर्माणका काम हिमा गाउँपालिकाको–१ आचार्यलिहीको जिरो प्वाइन्टदेखि धिताललिही, नराकोट जाच, झिम्डिकुना हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्नेछ’, उनले भने । उनले ठेक्का प्रक्रिया अगाडि बढिसकेकाले भत्किएका सडक पुनर्निर्माणको काम छिट्टै सुरु हुनेमा विश्वास व्यक्त गरे । विकासको कामलाई तीव्रता दिनका लागि पालिकाले खुला प्रतिस्पर्धाबाट रोलर र जेसिबी खरिद गरिसकेको छ । अब कार्यविधि बनाएर सञ्चालनमा ल्याइने सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए । रासस
तनहुँमा दुई पटक म्याद थप्दा पनि मोटरमार्गको प्रगति तीन वर्षमा १४ प्रतिशत मात्रै प्रगति
तनहुँ । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका १३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति तीन वर्षमा १४ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको निर्माण व्यवसायीको लापर्वाहीका कारण दुई पटक म्याद थप हुँदासमेत भौतिक प्रगति न्यून रहेको हो । ‘पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि काम अगाडि बढ्न सकेन’, स्थानीय गलबहादुर गुरुङले भने, ‘बाटोको काम नहुँदा सर्वसाधारणले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती बेहोर्नुपरेको छ ।’ पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको १० किमी खण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविन जाली भर्नेलगायतका कामका लागि काठमाडौँस्थित शङ्करमाली कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीको लापर्वाहीका कारण मोटरमार्गको काम सुस्त रहेको स्थानीयवासी रहेका जिल्ला समन्वय समिति तनहुँका पूर्वसदस्य गुरुङले गुनासो गरे । कालोपत्रका लागि पूर्वाधार कार्यालयले २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयले निर्माण कम्पनीलाई दुई करोड ६८ लाख निकासा गरिसकेको छ । समयमा काम सम्पन्न नभएपछि विसं २०८० असार मसान्तसम्म म्याद थप भएको कार्यालयले जनाएको छ । सडकखण्डमा कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भर्नेलगायतका काम विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्न विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । त्यसयता दुई पटक म्याद थप भइसकेको छ । विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्र्याक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ । यसअघि प्रमुख जिल्ला अधिकारीको समन्वयमा बैठक बसी काम तत्कालै सञ्चालन गर्ने सहमति भए पनि उक्त सहमति कार्यान्वयन भएको छैन । गण्डकी प्रदेशका नवनिर्वाचित सांसद अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, गण्डकी प्रदेश भौतिक तथा यातायात मन्त्रालयका सचिव गणेशराज वस्ती, पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेशकुमार घिमिरे लगायतको उपस्थितिमा बसेको बैठकले उक्त बाटोको कामलाई तत्कालै अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । निर्माण कम्पनीले सडक योजनाको निर्माण कार्य गर्ने गरी पूर्वाधार विकास कार्यालयसँग भएको सम्झौताबमोजिमको काम सम्पन्न गर्न कार्ययोजनासहितको विवरण आगामी दुई दिनभित्र पूर्वाधार कार्यालयमा पेस गर्न निर्देशन दिने बैठकले निर्णय गरेको छ । रासस
‘म अस्वस्थ भएपनि बैंक स्वस्थ छ, नेपाली सीईओ बनेपछि ढुक्क छु’
काठमाडौं । एभरेष्ट बैंकको २८ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सभाले लाभांश वितरणसहित विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंकले गत वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । जुन हालसम्म लाभांश घोषणा गरेका बैंकहरुमध्ये दोस्रो नम्बरमा छ । बैंकका अध्यक्ष बि.के.श्रेष्ठ ले आफू अस्वस्थ रहेपनि बैंक स्वस्थ रहेको धारणा राखे । हालसम्मको वित्तीय सूचकहरु सकरात्मक रहेकाले अझै प्रगति गर्नुपर्नेमा उनले जोड दिए । पछिल्ला दुई वर्षमा विश्वव्यापी कोरोना महामारी, डेंगु, रूस/युक्रेन युद्धले गर्दा बैंकलाई पनि असर गरेको अध्यक्ष श्रेष्ठले बताए । साथै तरलता संकटका कारणले पनि अर्थतन्त्र नाजुक अवस्थामा रहेकाले रिकभरीको समस्या बैंकले खेप्नु परेको उनको भनाइ छ । ‘बैंकले राम्रो प्रगति गरेको छ, अहिलेको कठिन अवस्थामा पनि बैंकले सेयरधनीहरुलाई राम्रो प्रतिफल दिएको छ, मेरो आफ्नो स्वास्थ राम्रो नभएपनी बैंकको स्वास्थ राम्रो छ,’ उनले भने । उनी बैंकको अध्यक्षमा आफ्नो कार्यकाल टुङ्ग्याउने निष्कर्षमा छन् । आफूलाई स्वास्थ्यले साथ नदिएको भएपनि बैंकलाई अझै उचाईमा पुर्याउने गरी बैंकका सीईओले काम गरिरहेको उनको भनाइ छ । पहिलो पटक नेपाली नै बैंकको सीईओ भएकाले बैंकको थप ग्रोथ हुनेमा उनले विश्वास ब्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ आयात बढेका कारण बैंकमा भएको निक्षेप र विदेशी मुद्रा घटेको बताए । गत अर्थतन्त्रमा संकटको स्थिती आएपनि निक्षेप ग्रोथ ९ प्रतिशत बढाएको उनको भनाइ छ । अघिल्लो वर्ष कर्जा वृद्धिदर २७ प्रतिशत रहेकोमा गत वर्ष भने १४ प्रतिशत मात्रै रहेको उनले बताए । ‘कोरोना महामारीको समयमा बैंकहरुले साइबर सेक्युरीटीमा ध्यान दिएका थिए, डिजिटल माध्यमबाट धेरै कारोबार गर्नुपर्ने भएकाले डिजिटलमा विशेष ध्यान दिइएको छ, बैंकले पनि सिस्टमामा धेरै फिचर अपडेट गरेको छ, हाम्रो डिजिटल सिस्टम सुरक्षित छ, ढुक्क भएर बैंकमा कारोबार गर्दा हुन्छ,’ उनले भने, ‘२ वर्षको अवधिमा २ दर्जन नयाँ शाखा खोलेको छ, अहिले बैंकको शाखा सञ्जाल १२३ पुगेका छन्,अझै २/४ वटा शाखा विस्तार गर्ने लक्ष्य छ, नयाँ शाखाले पनि ५ देखि ९ महिनामा नाफामा आउने गरेका छन् ।’ आफ्नै ब्राण्ड रहेकाले सेयरधनीहरुले आफ्नो निक्षेप एभरेस्ट बैंकमा राख्न उनले अनुरोध गरे । एभरेष्ट बैंकलाई अन्य बैंकभन्दा भिन्न राख्ने गरी काम गरिरहेको उनको भनाइ छ । ‘ग्राहकलाई राम्रो सर्भिस दिइरहेका छौं, ग्राहकको समस्या समाधान गर्न ‘कस्टमर केयर डिपार्टमेन्ट’ नै तयार गरिएको छ, जसले गर्दा ग्राहक संख्या पनि बढ्दै छ,’ उनले भने, ‘क्यापिटल एडुकेसीमा सहज स्थितीमा छ । यसपटक नगद लाभांश वितरणश्चात् पनि साढे ११ प्रतिशत क्यापिटल एड्युकेसी मेन्टेन गर्न सकिन्छ, राष्ट्र बैंकले बफर लागू गरेपछि चाप पर्ने भएकाले डिबेञ्चर जारी गर्नुपर्ने स्थिती आउन सक्छ ।’ सेयरधनीहले राखेको जिज्ञासामा सीईओ खालिङले मर्जर तथा एक्विजिसनका विषयमा हाल बैंकको योजना नरहेको बताए । बैंकका सेयरधनीहरुलाई बढीभन्दा बढी प्रतिफल दिने गरी आफूले काम गरिरहेको उनले बताए । ‘अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि प्रयास नगरेको होइन, विगतमा पनि थुप्रै प्रयास भएका थिए तर सफल भएन, राम्रो पार्टनर पाएमा मर्जरमा जान्छौं तर अहिलेलाई कुनै योजना छैन,’ उनले भने,‘मर्जर बिना व्यवसाय गर्न हामी सक्षम छौं, नाफामा अझै सुधार गर्नका लागि धेरै चुनौति सामाना गर्नु पर्नेछ ।’ बैंकले गत वर्ष भन्दा बढी लाभांश वितरण गरेपछि सेयरधनीहरुले बैंकका बारेमा सकरात्मक प्रतिक्रिया दिएका छन् भने बैंकले आगामी दिनमा चाल्नुपर्ने कदमका लागि सुझाव समेत राखेका छन् । ब्यास कुमार शर्माले बैंकले राम्रो पफर्मेन्स गरेकाले अब पूँजी वृद्धिमा ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा आर्थिक स्थिती कमजोर रहन सक्ने भएकोले सजग भएर काम गर्नुपर्ने सुझाव दिए । उनले बैंकले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिए । ‘बैंकको पफर्मेन्स राम्रो छ तर आगामी दिन अर्थतन्त्र सहज नहुन सक्छ, यस्तो अवस्थामा बैंकको व्यवसाय विस्तारमा अहिलेदेखि नै जोड दिनुपर्छ,’ उनले भने । सेयरधनी शत्रुघन श्रेष्ठले ‘दिगो, दरिलो र विश्वासिलो बैंक’नाराका साथ स्थापना भएको यस बैंकको सुरुवाती चरणमा राम्रो रहेको भएपनि पछिल्लो समय भने केही खस्किएकोमा दुःख ब्यक्त गरे । सन् १९९४ को स्थापनाकालमा बैंक दरिलो र विश्वासिलो भएपनि हाल कमजोर रहेको उनको भनाइ छ । कुनै बेला सेयर मूल्य ४ हजार रुपैयाँसम्म पुगेको भएपनि हाल घटेको भन्दै उनले अब बैंकलाई पुरानै अवस्थामा फर्काउनु पर्ने धारणा राखे । गत वर्षको नाफाबाट प्रदान गरेको लाभांशमा भने आफू सन्तुष्ट रहेको उनको भनाइ छ । सेयरधनी कुबेर श्रेष्ठ बैंकले अहिले वितरण गरेको लाभांश सन्तोषजनक रहेको भएपनि अर्काे वर्ष ३० प्रतिशत लाभांश दिनु पर्ने माग गरे । उनल सेयरधनी र कर्मचारीलाई खुसी हुने गरी बैंकको आम्दानी बढाउनु पर्नेमा जोड दिए । भोलिदेखी नै सेयरधनीको खातामा लाभांश जम्मा गरिदिन उनको आग्रह छ । ‘बैंकको नाम एभरेष्ट छ, नाम एभरेष्ट भएपछि सेयरधनीलाई प्रतिफल पनि एभरेष्ट जस्तै उच्च दिनुपर्छ, अर्काे वर्ष ३० प्रतिशत लाभांश दिनै पर्छ,’ उनले भने । सेयरधनी लबराज जोशीले बैंकलाई स्थायीत्व दिने गरी काम गर्न सुझाव दिए । बैंकलाई कुन दिशामा लग्ने भनेर कर्मचारीको हातमा हुने भएकाले सही रुपमा कर्मचारीलाई परिचालन गर्न उनले आग्रह गरे । ‘बैंकमा काम गरिरहेका कर्मचारीलाई टिकाउनु पर्छ, शाखा कार्यालयबाट बढी नाफा गर्ने गरि कर्मचारी खटाउनु पर्छ, बैंकको विजनेश वृद्धि गर्न पूँजी बढाउन आवश्यक छ, अहिलेदेखि नै पूँजी वृद्धि बढाउन प्रक्रिया अघि बढाउनु पर्याे’ उनले भने । अशोक उप्रेतीले आगामी आर्थिक अवस्था राम्रो नहुने संकेत देखिएकालेसजग भएर काम गर्नुपर्ने बताए । बैंकको ब्राण्डमाथि नै धक्का लाग्ने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै उनले बैंकको स्वतन्त्र छवि कायम राख्न आग्रह गरे । बैजुनाथ रौनियारले सन् २०१९ पश्चात् बैंकले कुनै अवार्ड नपाएकोमा गुनासो ब्यक्त गरे । आगामी दिनमा अवार्ड पाउन सक्ने गरी बैंकलाई सक्षम बनाउनुपर्ने उनको भनाइ छ ।
एनआईयू इलेक्ट्रीकको नयाँ शोरुम बौद्धमा
काठमाडौं । एआईयू इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक इको इन्फिनिटीले बौद्धमा नयाँ शोरुमका स्थापना गरेको छ । सोमबार एक कार्यक्रमकाबीच उक्त शोरुम उद्घाटन गरिएको हो । यो शोरुम एनआईयूको लागि काठमाडौं उपत्यका भित्रको ५ औं शोरुम हो । बिगत ५ वर्षदेखि इको इन्फिनिटीले एनआईयूका इलेक्ट्रीक स्कुटरहरु नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । करिव २ हजार १ सय न्यु स्कुटर नेपाली बजारमा बिक्री भइसकेको कम्पनीले जनाएको छ । ग्राहकले ब्याट्रीको स्टाटस, राइडिङ हिस्ट्री लगायतका कुरा आफै हेर्न सक्ने सुविधा यसमा रहेको छ । बिक्रीपछिको सेवा तथा सुविधा पनि राम्रो रहेका कारण पनि ग्राहकको रोजाईमा एनआईयूका स्कुटरहरु पर्ने गरेको कम्पनीको दावी छ । एनआईयूका अन्य शोरुमहरु काठमाडौंको दरवार मार्ग, झम्सिखेल, बुटवल, झापाको बिर्तामोड, भक्तपुरको सुर्यविनायक र पोखरामा छन् । कम्पनीका अनुसार टेकु र इटहरीमा एनआईयूको नयाँ शोरुम उद्घाटनको तयारी भइरहेको छ । इको इन्फिनिटीको मुख्य उद्देश्य शहरी गतिशीलताका लागि ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्नु रहेको कम्पनीका डाइरेक्टर प्रगुन राजभण्डारीले बताए । इको इन्फिनिटीले सस्तो मूल्यमा पर्यावरण मैत्री सवारी साधन उपलब्ध गराउँदै आएको कम्पनीका डाइरेक्टर तरुन बज्राचार्यले जानकारी दिए ।
लुम्बिनी विकास बैंकको २ नयाँ शाखा साथै १ एक्स्टेन्सन काउण्टर विस्तार
काठमाडौं । लुम्बिनी विकास बैंकले आज देखि थप दुई वटा शाखा कार्यालयहरु तथा एउटा एक्सटेन्सन् काउण्टरको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८७औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका इमाडोल शाखा, ८८औँ शाखाको रुपमा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका कमलबिनायक शाखा र एक्सटेन्सन् काउण्टरको रुपमा ललितपुर जिल्ला गोदावरी नगरपालिका स्थित लेले एक्सटेन्सन् काउण्टर रहेको छ । यस विकास बैंकको इमाडोल शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोबिन्द श्रेष्ठले संयुक्त रुपमा गरे । त्यसैगरी कमलबिनायक शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले संयुक्त रुपमा गरे । साथै, लेले एक्सटेन्सन् काउण्टरको उद्घाटन विकास बैंकका सञ्चालक प्रताप कुमार आचार्य र गोदावरी नगरपालिका अध्यक्ष मिलन सिलवालले संयुक्त रुपमा गरे । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप दुई नयाँ शाखाहरु तथा पहिलो एक्सटेन्सन् काउण्टरको उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।
कर्णालीका उत्पादन ठूला सहरदेखि विदेशसम्म
कर्णाली । भूगोलमा पछि परेको कर्णाली क्षेत्रका कृषि उपजको पनि पछिल्लो समय ठूला सहरसम्म पहुँच पुगेको छ । जाजरकोट, जुम्ला र डोल्पा लगायतका क्षेत्रका उत्पादन स्वदेशका सहरदेखि विदेशसम्म पुग्न थालेका छन् । सहज यातायात व्यवस्था, अर्ग्यानिक उत्पादनप्रतिको आकर्षण र खानामा भातको विकल्प खोज्ने बानीका कारण यहाँका उत्पादनले ठूला सहरसम्म बजार पाएको महसुस गरिएको छ । जाजरकोटका गाउँमा उत्पादित मकै, सिमी, गाभा, सुन्तला, भटमास, अदुवा, लसुन तथा जुम्लामा उत्पादित मार्सी चामल, सिमी र कोदोको माग नेपालगञ्ज, काठमाडौंदेखि अमेरिका र क्यानडासम्म हुन थालेको छ । कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विकले जिल्लाबाट एक हजार छ सय क्विन्टलभन्दा बढी मकै नेपालगञ्ज पठाइएको जानकारी दिए । उनका अनुसार यहाँबाट सुन्तला पाँच टन, लसुन दुई सय ५० क्विन्टल र चार सय क्विन्टल भटमास नेपालगञ्ज पठाइएको छ । त्यस्तै जुम्लामा उत्पादित खाद्यान्न स्वदेशका विभिन्न सहरसहित विदेशसम्म पुग्ने गरेको छ । जुम्ला घर अग्र्यानिक एन्ड सुपर फुड्स प्रालिले यहाँ उत्पादन गरेका कृषिउपज विदेशमा बिक्री भइरहेको छ । कम्पनीका सञ्चालक राज शाहीले अघिल्लो वर्ष मात्र जुम्ली मार्सी, सिमी र कोदो गरी झन्डै ३० टन खाद्य सामग्री क्यानडा पु¥याइएको जानकारी दिए । कम्पनीले यसवर्ष एक टन सिमीको दाल, एक टन मासको दाल र दश किलो स्याउको चाना जापान पठाएको छ । कम्पनीले गतवर्ष अस्ट्रेलियामा झन्डै २५ टन मार्सी चामल र सिमी पनि निर्यात गरेको थियो । कम्पनीले स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पीठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो, टिमुरलगायत सामग्री विश्वका विभिन्न बजारमा पठाउँदै आएको छ । जुम्ला घर अर्गानिक्सले अमेरिकामा दुई वर्षदेखि मार्सी चामल पठाइरहेको छ भने गत वर्ष मात्रै ४० क्विन्टल मार्सी चामल पठाइएको शाहीले बताए । खलङ्गास्थित चन्दननाथ सहकारीले पनि स्थानीय उत्पादन सङ्कलन गरेर काठमाडौंसम्म पठाउने काम गरिरहेको छ । गत वर्ष हिमालयन बहुउद्देश्यीय सहकारीले करिब ३० टन स्याउ बङ्गलादेश पठाएको थियो । जुम्लामा दुई हजार आठ सय ५० हेक्टरमा मार्सी धान लगाइन्छ भने उत्पादन बार्षिक छ हजार एक सय २७ टन हुन्छ । त्यस्तै यसवर्ष चिनो ६५ टन, कागुनो १५ टन र सिमी चार सय ७१ टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाका अनुसार डोल्पामा उत्पादन भएका चिनो, काकुनो, जिम्बू , स्याउ, फापर, ओखर, सिमी बाहिर जिल्लासम्म पठाउने गरिएको छ । चालु आर्थिक वर्षमा पनि विभिन्न व्यक्ति खाद्यान्न खरिदका लागि डोल्पा आएका उनले बताए । उनका अनुसार अघिल्लो वर्ष डोल्पाबाट पाँच मेट्रिक टन फापर सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाइएको थियो । साथै सिमी २० टन, ओखर र स्याउ २० टन जिल्लाबाट बाहिर पठाइएको उनको भनाइ छ । रासस