घरको काम गर्दा मानिसको उमेर बढ्ने
एजेन्सी । सबै मानिसलाई लामो समयसम्म जिउने इच्छा हुन्छ । यसको लागि नयाँ खोज तथा अनुसन्धान पनि भइरहेका छन् । अस्ट्रेलियाको सिड्नी युनिभर्सिटीले गरेको एक अनुसन्धानले लामो समय जिउनको लागि सजिलोसँग प्रयोगमा ल्याउन सकिने रोचक विषय पत्ता लगाएको छ । विश्वविद्यालयको अनुसन्धानअनुसार घरमा गरिने सानो-सानो जस्तैः घर सफा गर्न, खाना बनाउन, तरकारी काट्न, कुकुर डुलाउन, आदि जस्ता कामहरु गर्दा लामो समय बाँच्न सकिन्छ । दैनिक गर्ने कामले क्यान्सर र उच्च रक्तचाप अथवा यस्तै मानिसको जीवन नै लिने प्रकारको जोखिमलाई कम गराउँछ । विश्वविद्यालयले ८७ हजार ५०० भन्दा बढी ब्रिटिस मानिसहरुमाथि गरेको अध्ययनले घरको सानो-सानो काम गर्दा मानिसको उमेर लामो हुने विषय पत्ता लागेको हो । विश्वविद्यालयका अनुसार स्वास्थ्यमा फाइदाको लागि गरीएको हो पहिलो अध्ययन हो । अध्ययनका प्रमुख सोधकर्ता प्रोफेसर इम्यानुअल स्टेमाटाकिसले गतिकासाथ दैनिक ११ मिनेट सम्म काम गर्दा उच्च रक्तचापबाट मर्नसक्ने खतरा ६५ प्रतिशत सम्म कम हुन्छ । त्यस्तै क्यान्सरबाट मर्ने जोखिम पनि ४५ प्रतिशत कम हुन्छ । अनुसन्धान संलग्न अर्का सोधकर्ता ह्यामरका अनुसार अनुसन्धान टिमले ६२ हजार खाली समयमा व्यायाम गर्ने मानिसहरुमाथि पनि अनुसन्धान गरेको थियो । अनुसन्धानमा औसत ६२ वर्ष उमेर समूहका २५ हजार मानिसहरुलाई सहभागी गराइएको थियो । अनुसन्धानमा सहभागी गराइएका मानिसहरुमध्ये ८९ प्रतिशतलाई दैनिक कार्य गर्न भनिएको थियो । अध्ययनअनुसार घरको काम नगर्ने मानिसहरुको तुलनामा काम गर्ने मानिसहरुमा रोग लाग्ने गति निकै कम देखिएको थियो । टाइम डटकम बाट ।
नेपालको बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र चुनौतीपुर्ण अवस्थामा रहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको नेपाल बैंकर्स संघको वार्षिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हामी चुनौतीपूर्ण अवस्थामा छौं, आगामी दिनमा पनि धेरै चुनौति छन्,’ उनले भने । उनले यो बेला बैंकिङ क्षेत्रमा धेरै समस्या भएको बताउँदै गलत गर्नेले मनन गर्नुपर्ने बताए । कोरोनाले पनि एक किसिमको संकट ल्याएको उनले बताए । यस्तै, गभर्नर अधिकारीले बैंकमा तरलता सहज भइरहेको र बैंकको स्प्रेडदर पनि घटेको बताए ।
नमस्ते पे वालेटमा स्प्लीट बिलको सुविधा
काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लीट बिलको सुविधा प्रयोग गर्न सक्नेभएका छन् । साथीभाई र आफन्तसँग खाजा खादा होस् या सपिङ्ग जाँदा, नमस्ते पेको स्पिलट बिल सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दो रुपमा प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । क्युआर स्क्यान मार्फत मर्चेन्ट भुक्तानी गर्दा पनि यो सुविधा लिन सकिने कम्पनीले बताएको छ ।कम्पनीको अनुसार यो सुविधा को फाइदा एन्ड्रोइड र आइवोएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन् ।
मुलुकमा योगदान गर्न चाहनेलाई सहज वातावरण बनाउन अध्यादेश ल्याएका हाैं : मन्त्री कार्की
काठमाडौं । सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको बताएको छ । सोमबार मन्त्रीपरिषद्का निर्णय सुनाउने क्रममा संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् । उनले मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनैतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुल धारमा ल्याउने उद्देश्यका साथ यो अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको बताए । यस किसिमका अध्यादेश यो भन्दा अघिका सरकारले पनि जारी गरेको भन्दै मन्त्री कार्कीले अहिलेको आवश्यक्तालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति अध्यादेश ल्याएको बताए ।
अनुमति पाएका लघुबीमा कम्पनीले छिट्टै काम शुरु गर्ने, घर/सम्पत्तिको बीमा अनिवार्य
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघुबीमा कम्पनीहरूले केही महिनाभित्रै काम शुरू गर्ने बताएका छन् । सोमबार मधेश प्रदेशको बीगञ्जमा प्राधिकरणको प्रदेश कार्यालय उद्घाटन गर्दै अध्यक्ष सिलवालले सो बताएका हुन् । प्राधिकरणले न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न लघुबीमा कम्पनीहरूलाई अनुमति दिएको बताउँदै अध्यक्ष सिलवालले सो बताएका हुन् । अध्यक्ष सिलवालले पालिकाहरूले बजेट तर्जुमा गर्दा नै बीमाको प्रवद्र्धन एवम् पहुँच विस्तारका लागि व्यवस्था गर्नु उपयुक्त हुने बताउँदै पालिकाका कामहरूसँग आवद्ध गरेर अनिवार्यरूपमा घर तथा सम्पत्तिको बीमा गर्ने व्यवस्था गर्न आग्रह गरे । त्यस्तै, ग्रामीण क्षेत्रका मात्र नभई शहरी क्षेत्रका न्यून आय भएका वर्गलाई समेत बीमाको दायरामा ल्याउन पालिकाहरूले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूबाट नै बीमाका अधिकांश सेवाहरु सेवाग्राहीले प्राप्त गर्न सक्ने जानकारी दिए । प्राधिकरणको प्रदेश कार्यालयबाट बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम संचालनका साथै बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापन, बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण, बीमाको दायरा विस्तारका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय लगायतका कार्य सम्पादन हुनेछन् । बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा कम्पनीहरू शहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा केन्द्रित हुनुपर्ने र हरेक किसानसम्म बीमाको पहुँच पुग्नुपर्ने बताए । प्रमुख सिंहले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानीका लागि अनावश्यक कागजात माग्ने, झुलाउने र समयमा दाबी भुक्तानी नदिने जस्ता गुनासाहरू आउने गरेको उल्लेख गर्दै बीमाप्रतिको विश्वास बढाउनका लागि समयमै दाबी भुक्तानी हुनुपर्ने बताए । बीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवालले पनि बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी दिने बेलामा अनावश्यक कागजातहरू मागेर हैरान पार्ने गरेको गुनासो गरे । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमा दाबी भुक्तानी छिटोछरितो रूपमा दिन निर्देशन दिँदै आएको र सोही अनुसार हाल दाबी भुक्तानी सामान्यीकरण हुँदै गएको बताए । त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले यही २०७९ साल असार मसान्तसम्ममा मधेश प्रदेशमा म्यादी जीवन बीमालेख समेत गरी बीमाको दायरामा आएको जनसंख्या ९.२० प्रतिशत र निर्जीवन बीमातर्फ कूल कृषि तथा बाली बीमामध्ये ६.७५ प्रतिशत मात्र कृषि तथा बाली बीमा रहेको जानकारी दिए । पौडेलले मधेश प्रदेशमा जीवन बीमाका साथै निर्जीवन बीमा अन्तर्गत कृषि, पशुपन्छी तथा जडिबूटी बीमाको पहुँच विस्तारमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले गरेकी हुन् । उक्त कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका उपप्रमुख, विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख, उद्योगी व्यवसायीहरू, नेपाल राष्ट्र बैंकका पदाधिकारी, नेपाल बीमक संघका प्रतिनिधि, विभिन्न सरकारी निकायका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता र संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । बीमा प्राधिकरणले यसअघि नै सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना भएका प्रदेश कार्यालयहरूको उद्घाटन गरिसकेको छ । त्यस्तै, अब चालु आवभित्रै थप तीन प्रदेशमा प्रदेश कार्यालय सञ्चालनमा ल्याउने प्राधिकरणको योजना छ ।
हुन्डाईको विद्युतीय सवारीका लागि ५ दिने ब्याट्री चेकअप क्याम्प हुँदै
काठमाडौं । हुन्डाईको विद्युतीय सवारीका लागि ५ दिने हुन्डाई इभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प हुने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले मंसिर २६ देखि पुस १ गते सम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि उक्त क्याम्प आयोजना गर्न लागेको हो । यो क्याम्प प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारीधनीलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरु र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्धेश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ । यो अभियानले कोना र आयोनिक लाइन अपका ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने कम्पनीले बताएको छ । त्यस्तै, क्याम्पमा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्व जाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान पनि गर्ने जनाएको छ । देशैभरी ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुम सहित हुन्डाईले विद्युतीय सवारी साधनमा पहुँच बढाउँदै प्रयास गर्दै आएको छ ।
नेपालमा बिहे गर्न अयोग्य उमेरका १४ प्रतिशत महिला गर्भवती हुन्छन्
काठमाडौं । नेपालको कानूनअनुसार बिहे गर्नको लागि केटा र केटीको उमेर २० वर्ष पूरा भएको हुनुपर्छ । तर, १४ प्रतिशत नेपाली महिलाहरुले भने १५ वर्षदेखि १९ वर्षसम्ममा नै गर्भधारण गर्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयले गरेको ‘नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वे, २०२२’ सर्वेक्षणले १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत नेपाली महिलाहरु गर्भवती हुने गरेको देखाएको छ । मन्त्रालयको सर्वेक्षणअनुसार त्यसरी गर्भवती भएका महिलाहरुमध्ये १० प्रतिशतले बच्चा जन्माएको, २ प्रतिशतको गर्भ पतन भएको र ४ प्रतिशत महिला अहिले पनि गर्भाअवस्थामा रहेका छन् । १९ वर्ष भन्दा कम उमेरमा गर्भवती हुने महिलाको धेरै संख्या कर्णाली प्रदेशमा रहेको छ । १९ वर्षभन्दा कम उमेरमा गर्भवती हुने कुल महिलाको संख्यामध्ये २१ प्रतिशत कर्णाली प्रदेशका रहेका छन् भने मधेस प्रदेशका २० प्रतिशत महिला रहेका छन् । सबैभन्दा कम बाग्मती प्रदेशका ८ प्रतिशत महिला १९ वर्ष भन्दा कम उमेरमा गर्भवती हुनेगरेको सरकारी तथ्यांकले देखाएको छ । सर्वेक्षणले देखाएअनुसार १५.५ प्रतिशत गर्भधारण गरेकामध्ये दलित र १५.५ प्रतिशत मुस्लिम महिलाले १९ वर्षभन्दा कम उमेरमा नै बच्चा जन्माउने गरेका छन् ।
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण हुँदै
गुल्मी । गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् । छ दशक पहिले तामा, फलाम र सिसाको उत्खनन गरिएको इतिहास रहेको भार्सेमा फेरि अनुसन्धान गरी उत्खनन गर्न सत्यवती गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको हो । सत्यवती गाउँपालिकाको पहलमा भूगर्भविद्को सहयोगमा अनुसन्धान सुरु भएको भार्सेका वडाध्यक्ष होमबहादुर रानाले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र विभागका प्राध्यापक डा कविराज पौडेलसहित नौ जनाको समूहले भार्सेका विभिन्न ठाउँमा पुगेर तामा, फलाम र सिसाको नमूना सङ्कलन गरेर शनिबार फर्किएको छ । उनीहरुले पुस मसान्तभित्र नमूनाको नतिजा दिनेछन् । भार्सेको देउराली, चाहारे, भैँसे, झुलेनी, चालपात, लुराङग, पैयाँपाटा, खैरेनी र खाडा गाउँमा रहेको विभिन्न खानीबाट नमूना सङ्कलन गरिएको हो । भार्सेबाट तामा, फलाम र सिसा बन्ने कच्चापदार्थ धाउ बाग्लुङमा लगेर जाने गरेको पनि इतिहासका रुपमा रहेको स्थानीय नरु बुढाथोकीले बताए । भार्से गाउँ थाप्ले लेकको काखमा छ । यहाँ पर्यटकीय संरचना पनि बन्दै गएका छन् । भार्सेमा १२औँ पुस्ता अगाडि तामा, फलाम र सिसा खानीको उत्खनन गर्ने क्रममा बस्ती बसेको पनि स्थानीयवासीले बताउँदै आएका छन् । अनुसन्धानका क्रममा तामा, फलाम र सिसा खानी सावित भएमा सत्यवती गाउँपालिकाले उत्खनन सुरु गर्नेछ । इतिहासका रुपमा रहेको तामा, फलाम र सिसा खानीको वास्ताविकता पत्ता लगाइ खानी सावित भएमा उत्खनन गरेर आर्थिकरुपमा माथि उठ्न सकिने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेको भनाइ छ । रासस