ग्रामीण सडक व्यवस्थित नहुँदा करोडौँंको बाँस दाउरामा परिणत
उदयपुर । पहाडी तथा उत्तरी पहाडी क्षेत्रको ग्रामीण भेगमा उत्पादन भएका करोडौँ मूल्य पर्ने बाँस व्यवस्थित सडकको अभावमा अन्यत्र बिक्री गर्न समस्या हुँदा दाउरामा परिणत भएको छ । जिल्लाको मध्य पहाडी क्षेत्रको इनामे, बर्रे, माझखर्क, नामेटार र टाट्ने तथा उत्तरी पहाडी क्षेत्रको बाँसबोटे, ठानागाउँ, बलाम्ता र ताम्लिछा जाते क्षेत्रमा उत्पादन भएका करोडौँ मूल्यका बाँस अन्यत्र बिक्री गर्न नसक्दा दाउरामा परिणत हुने गरेको बाँस उत्पादक किसान बताउँछन् । बर्रेका दानबहादुर तामाङले आफ्नो जग्गाको घरबारी तथा पाखाबारीमा बर्सेनि लाखौँंको बाँस उत्पादन हुने गरेको तर गाउँबाट अन्यत्र बिक्री गर्न सडक नहुँदा आफूहरुले बाँसको घाँस गाईबस्तुका लागि प्रयोग गर्ने तथा बाँस दाउरा बालेर नष्ट गर्नुपरेको बताए । अहिले यो क्षेत्रमा सडक पुगेका स्थानमा गाउँलेहरुले प्रतिघना बाँस न्यूनतम एक सय पचासदेखि दुई सय ४० घनाका दरले बिक्री गर्ने गरेको तर आफूहरुको गाउँघरसम्म अझै व्यवस्थित सडक विस्तार नहुँदा बाँस बिक्रीमा समस्या हुने गरेको इनामेका जङ्गबहादुर तामाङको गुनासो छ । यस क्षेत्रमा उत्पादन भएका बाँस गाउँलेहरुले हस्तकलाका बस्तु उत्पादनमा समेत प्रयोग गर्ने नगरेको र दाउरा मात्र बाल्ने गरेका छन् । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार यस क्षेत्रको सबै ग्रामीण भेगमा कच्ची ग्रामीण सडक व्यवस्थित बन्न बाँकी रहेका कारण किसानले उत्पादन गरेको बाँस अन्यत्र लगेर बिक्री गर्न समस्या हुने गरेको छ । अहिले गाउँपालिकाले प्रत्यक वडामा सडक व्यवस्थित तरिकाले विस्तार गर्ने कार्य गरिरहेका कारण अबका एक÷दुई वर्षभित्र यसक्षेत्रको बाँस सहज तरिकाले अन्यत्र बिक्री गर्न सकिने अवस्था रहेको अध्यक्ष राई बताउँछन् । यहाँका दुर्गम पहाडी क्षेत्रमा ठूला–ठूला र अग्ला प्रजातिका बाँस उत्पादन हुने गरेको कारण यसलाई अन्यत्र बिक्री गर्न सके राम्रो मूल्य पाउन सकिने यस क्षेत्रका किसानको भनाइ छ । जिल्लाको तल्ला पहाडी भेग र सडक विस्तार भएका स्थानका गाउँको बाँस बर्सेनि करोडौँं मूल्यमा बिक्री हुनेगरेको किसान बताउँछन् । जिल्लाको तल्लो पहाडी क्षेत्र मुर्कुची, नेपालटार, रौता साउने खाँबु चिलाउने क्षेत्रमा उत्पादन गरिएका बाँस खरिदकर्ताले एक नम्बर प्रदेशको विराटनगर, इटहरी तथा राजधानी काठमाडौंसम्म खरिद गरेर लैजाने गरेको किसान बताउँछन् । रासस
‘जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसके कृषिमा असर’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढदै गइरहेको जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसकेमा कृषि उत्पादनमा नकारात्मक असर पर्ने बताएका छन् । अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकको शुभारम्भ गर्ने क्रममा उनले जलवायु परिवर्तनले हिमाल पग्लिने, बाढी पहिरो, विपतको जोखिम, उत्पादकत्वमा कमिलगायत समस्या देखा पर्न थालेकामा चिन्ता व्यक्त गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले विश्व अर्थतन्त्रलाई मजबुत बनाउन कृषि क्षेत्रमा उत्पादनको महत्व हुने उल्लेख गर्दै विश्वमा शक्ति सम्पन्न राष्ट्रका बीच देखा परेको तनाव तथा ठूला भनिएका मुलुककमा भइरहेका युद्वले विश्वमा गरिबी बढने, जनताको खाद्य सम्प्रभुता अधिकार लागू हुन नसक्ने विचार व्यक्त गरे । युद्वका कारण विश्वको कृषि उपजको उत्पादन तथा उत्पादकत्वलगायत समग्र क्षेत्रमा प्रतिकुल असर देखा पर्ने भन्दै उनले नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले मानवीयताविरुद्ध विश्व परिवेशमा भएका सबै खाले युद्व रोक्न आग्रह गरे । अध्यक्ष नेपालले किसान वर्गको जीवनस्तरमा सुधार ल्याउने र उनीहरुलाई आर्थिक रुपान्तरण गर्ने, जनताका खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर्ने विषयमा बैठकमा छलफल केन्द्रीत गर्न सहभागी राष्ट्रका प्रतिनिधिलाई सुझाव दिए । अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले विश्वव्यापी रुपमा कृषि क्षेत्रको उत्पादनमा आएको समस्या तथा तिनका समाधानका सामूहिक उपायबारे बैठकमा छलफल गरिने बताए । ललितपुरको गोदावरीमा आजदेखि आगामी पुस २ गतेसम्म हुने बैठकमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलंकालगायत ८० राष्ट्रका किसान सङ्गठनका नेतृत्व तथा प्रतिनिधिको सहभागी छन् । रासस
प्रतिनिधि र प्रदेशसभा निर्वाचन : राना थारु समुदायको प्रतिनिधित्व शून्य
काठमाडाैं । अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारु समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ । मुलुलभरमध्ये कैलाली र कञ्चनपुरमा मात्रै सदियाैंदेखि बसोबास रहेको राना थारु समुदायबाट सुदूरपश्चिमका केही निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभामा विभिन्न पार्टीबाट उम्मेद्वारी रहे पनि जित भने हासिल गर्न सकेनन् । त्यसैगरी राजनीतिक दलले आफ्नो समानुपातिक कोटामा पनि प्रतिनिधि र प्रदेशसभामा राना थारु समुदायलाई नसमेटेपछि उनीहरुको उपस्थिति शून्य बनेको हो । विसं २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा निर्वाचन जितेर केन्द्रमा आफ्नो उपस्थिति जनाएका एमाले नेता नारदमुनि राना यसपटक भने नेपाली कांग्रेसका उम्मेदवारसित पराजित हुन पुगे । कञ्चनपुरमा पनि विगतमा नेकपा (एमाले)बाट समानुपातिक सांसद भइसकेका कृपाराम रानादेखि सत्तागठबन्धनबाट नेपाली कांग्रेसका नेता बन्धु रानासम्म प्रदेशसभा सदस्यका उम्मेदवार भए पनि पराजित भए । पछिल्लो समय सुदूरपश्चिममा प्रतिनिधिसभामा तीन र प्रदेशसभामा पाँच सिट जितेर उदाएको नागरिक उन्मुक्ति पार्टीबाट यहाँ प्रदेशसभा सदस्य पदमा राना थारु समुदायबाट उम्मेदवार बने पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधि र प्रदेशसभामा चौधरी थारु समुदायबाट उपस्थिति बढिरहँदा राना थारु समुदाय भने शून्यमा पुगेको छ । अघिल्लो निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनता पार्टीबाट मालामती राना र नेपाली कांग्रेसबाट श्यामलाल चौधरी प्रदेशसभा सदस्य थिए । बत्तीस प्रत्यक्ष र २१ समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य चुनिँदा यहाँ राना थारु समुदायबाट शून्य हुनु दुःखद् भएको राना थारु अगुवाको भनाइ छ । राना थारुलाई विसं २०७६ माघमा सरकारले सूचिकृत गरेको थियो । यसपटक प्रदेशमा समानुपातिकतर्फ थारुबाट नेपाली कांग्रेसले गीताकुमारी चौधरी, नेकपा (एमाले)ले कोइलीदेवी चौधरी र नागरिक उन्मुक्ति पार्टीले सुनिता चौधरीलाई प्रदेशसभा सदस्य बनाएको छ । मुलुकभर यहाँकमा दुई जिल्लामा मात्रै बसोबास रहेको राना थारु समुदायबाट पहिलो पटक २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत कञ्चनपुरका लबरु राना २०४२ सालमा भूमि सुधार राज्यमन्त्री बनेका थिए । कञ्चनपुरबाट संविधानसभा सदस्य एवं हाल प्रदेशसभा निर्वाचनका उम्मेदवार रहेका नेकपा (एमाले) का नेता कृपाराम रानाले यसपटक राना थारु समुदायको उपस्थिति सङ्घ र प्रदेशमा नरहेको बताए । ‘हाम्रो पार्टीमा केन्द्र र प्रदेशमा प्रत्यक्षमै टिकट दिएपछि समानुपातिकमा हाम्रो समुदायबाट कसैलाई समेटिएन्’, उनले भने, ‘सत्तागठबन्धनबाट नेपाली कांग्रेसमा राना थारु समुदायको प्रतिनिधित्वका लागि सिफारिस गरिए पनि अन्तःसांसद भने बनाइएन् ।’ कांग्रेसबाट राना थारु समुदायबाट केन्द्रमा जीवन राना र प्रदेशमा झेली रानालाई समानुपातिक कोटामा सिफारिस गरिएको थियो । यहाँ राना थारु अगुवाहरुले संसद्मा सबै वर्ग, समुदाय, जातजाति समेटिनुपर्ने भए पनि प्रमुख राजनीतिक दलले त्यसमा ध्यान नदिएको दुखेसो पोखेका छन् । ‘कञ्चनपुरमा मात्रै हाम्रो २५ प्रतिशतभन्दा बढी बसोबास रहे पनि जनप्रतिनिधितर्फ पालिकामा सिमित गरियो’, नेपाल राना थारु समाज कञ्चनपुरका अध्यक्ष प्रेमवती रानाले भन्नुभयो । उनले चौधरी थारु समुदायको पूर्व झापादेखि कञ्चनपुरसम्म प्रतिनिधित्व हुँदा राना थारुमाथि भने सबैतिरबाट वञ्चित गर्ने काम भएकामा गुनासो पोखे ।
ठमेलभित्र अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु
काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारका कारण ठमेलभित्रको सौन्दर्यमा असर परेकाले तार काट्न सुरु गरिएको जानकारी दिए । ‘चार दिनदेखि विभिन्न इन्टरनेट प्रदायक कम्पनीसँगको सहकार्यमा ठमेलभित्रको विद्युतका खम्बामा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काट्न सुरु गरेका हौँ’, उनले भने । ठमेल पर्यटन विकास परिषद्को बैठक बसेर तार काट्ने तथा व्यवस्थापन गर्ने काम सुरु गरिएको उनको भनाइ छ । परिषद्ले सातघुम्ती हुँदै सोह्रखुट्टे, क्वाःबहाल हुँदै ज्याठा, नरसिंह चोक हुँदै भगवती मार्गलगायतका क्षेत्रमा तार व्यवस्थापन कार्य सुरु गरेको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए । नेपाल भ्रमणका लागि आउने ८० प्रतिशत व्यक्ति ठमेल घुम्न आउने गरेका छन् । ठमेल काठमाडौं महानगरपालिकाको वडा नं १६, १७, २६ र २९ वडाभित्र पर्दछ । ठमेल पर्यटन परिषद्भित्र दुई हजार दुई सय व्यवसायी तथा घरधनी आबद्ध छन् । रासस
झापामा ८४ जनाले बुझाए चुनावी खर्च विवरण, ओलीको खर्च १८ लाख ८२ हजार
झापा । झापाबाट प्रतिनिधिसभामा र प्रदेशसभाबाट उम्मेदवार बनेका एक सय ९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म चुनावी खर्च विवरण बुझाउनेमा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी विजयी बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी ८४ जनाले खर्च विवरण बुझाएका हुन् । ठूला दलबाट निर्वाचन खर्च बुझाउनेमा हालसम्म अध्यक्ष ओली मात्र रहेको निर्वाचन कार्यालयका नासु प्रेम गुरागाँईले जानकारी दिए । उनले अध्यक्ष ओलीले प्रचार सामग्री छपाइ, यातायात, खाजा, खाना, सम्पर्क कार्यालय स्थापना लगायतको शीर्षकमा १८ लाख ८२ हजार रुपैयाँ चुनावी खर्च भएको विवरण कार्यालयमा बुझाएको बताए । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान रहे पनि उम्मेदवारले खर्च विवरण बुझाउन विलम्ब गरिरहेको उनको भनाइ छ । उनले नेपाल मजदूर किसान पार्टी नेमाकिपाका प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कृष्ण गोपाल, महेन्द्र खायामलीलगायतले भने चुनावी खर्च शून्य भएको विवरण बुझाएको जानकारी दिए । रासस
सेन्चुरी बैंकले लाभांश पारित गर्न पुस १४ गते बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले लाभांश पारित गर्न पुस १४ गते साधारणसभा बोलाएको छ । बैंकले सुन्धाराको आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे १२ औं साधारणसभा बोलाएको हो । सभाले विशेष गरेर गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले साधारणसभाको लागि पुस ४ गते एक दिनको लागि बुक क्लोज मिति तोकेको छ । यसको अर्थ नेपाल स्टक एक्सचेन्जमा पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
२० करोडको लगानीमा बनेपामा बहुतले पार्किङ बन्ने, एक सय गाडी अट्ने
काठमाडौं । बनेपा नगरपालिकाले बहुतले मेकानिकल पार्किङ निर्माण गर्ने भएको छ । सवारी साधनको चाप र अव्यवस्थित सवारीसाधनको पार्किङलाई व्यवस्थित गर्नको लागि सो पार्किङ बनाउने नगरपालिकाले बताएको छ । नगरपालिकाले नगर विकास कोषसँग मिलेर पार्किङ बनाउने योजना अगाडि सारेको नगर प्रमुख शान्ति रत्न शाक्यले बताए । बहुतले मेकानिकल पार्किङ नगरपालिकाको बस पार्कमा निर्माण हुनेछ । नगर प्रमुख शाक्यका अनुसार नगर विकास कोषले पार्किङ निर्माण गर्नको लागि सम्झौता र टेन्डर भएपछि मात्र निर्माण कार्य सुरु हुनेछ । ‘नगर विकास कोषले २ सय वटा गाडी पार्क गर्न मिल्ने पार्किङको प्रस्ताव लिएर आएको थियो तर हामीले एक सय वटा मात्र गाडी अट्ने पार्किङ बनाउने भनेर भनेका छौं, अहिले त्यही अनुसार पार्किङ बनाउने तयारी भइरहेको छ,’ उनले भने । बनेपामा निर्माण हुने बहुतले मेकानिकल पार्किङको डिजाइनको काम अन्तिम चरणमा पुगेको नगर विकास कोषका सूचना अधिकारी सूर्यबहादुर कार्कीले बताए । नगरपालिकाको सहमति अनुसार नै कोषले अहिले पार्किङको विषयमा अध्ययनको काम भइ रहेको छ । कोषले छिट्टै डीपीआर लगायत सम्पूर्ण काम सकाएर नगरपालिका र कोषबीच पार्किङ निर्माण सम्बन्धि सम्झौता हुने बताइएको छ । प्राविधिक विषयको पास भइ पार्किङ निर्माणका लागि लगानी जुटिसकेपछि सम्झौता गर्ने पनि कार्कीले जानकारी दिए । पार्किङ स्थलको निर्माण गर्दा कति खर्च लग्छ भन्ने जानकारी डीपीआर तयार भएपछि मात्र आउने पनि कार्कीले बताए । तर, उक्त पार्किङ १५ देखि २० करोड रुपैयाँको लगानीमा तयार हुने कार्कीको भनाइ छ । ‘नगरपालिकाको बस पार्कमा पार्किङ बनाउन पुग्ने जग्गा छ, त्यो जग्गामा पार्किङ बनाउने हो, त्यहाँ बस पार्क छ, त्यसलाई बिगार्नु हुँदैन, त्यसलाई पनि व्यवस्थित बनाउँदै, सोही ठाउँमा पार्किक बनाउने सोचमा नगर र कोष हो,’ उनले भने । कार्कीका अनुसार बसपार्क भित्रको ८ आना भन्दा बढी जग्गामा बहुतले मेकानिकल पार्किङ तयार हुनेछ । कोषले पार्किङ बनाउँदा गरिदिएको लगानी निश्चित समयपछि नगरपालिले कोषलाई फिर्ता गर्नुपर्छ । नगर र कोषबिच सम्झौता भएपछि टेन्डरको आव्हान हुन्छ, त्यस पश्चात् मात्र उक्त पार्किङ निर्माणको चरणमा जाने छ । यस्तै, नगर विकास कोषले यही मोडलको पार्किङ बुटवल उपमहानगरपालिकामा पनि निर्माण गर्ने तयारी गरिहरेको छ । सो ठाउँमा पनि पार्किङको निर्माण गर्नको लागि जग्गा लगायतका प्राविधिक रिपोर्टहरूको संकलन गर्ने काम भइ रहेको कार्कीले बताए । पूर्ण रूपमा रिपोर्ट आएपछि मात्र यसको विषको जानकारी हुनेछ । नगर विकास कोषको उद्देश्य भनेको नै शहरमा पूर्वाधार विकास गरी सफा सहरको रूपमा विकास गर्नु हो, यो उद्देश्य अन्तर्गत सहरमा पार्किङ नहुँदा उपत्यका भित्र धेरै जाम हुने समस्या आयो, त्यस पछि हामीले बहुतले मेकानिकल पार्किङ बनाउनको लागि लगानी गरिदिने सोच बनाएका हौं,’ उनले भने ।
तोलामा तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा आएको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार सात सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय ९० रुपैयाँमा आएको महासङ्घले जनाएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँसत एक हजार सात सय ८७ दशमलव ४८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।