एशियन हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन ?
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आज (मंसिर २७ गते, मंगलबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ४० लाख रुपैयाँको सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना अति प्रभावित क्षेत्र ईलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १० (साविकको गोदाक गा.वि.स. को १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु), माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु तथा नयाँबजार गा.वि.स.का वडा नं. ५० तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको माघेसुन्तले र तिनघरे गा.वि.स.का सम्पूर्ण वडाहरु तथा साविकको सूर्योदय गा.वि.स.का वडा नं. ३, ४ र ५) का स्थानीय बासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बासोबास गर्ने बासिन्दाहरुका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर निष्काशन गरिएको हो । यस्तै, सर्वसाधारणलाई निष्काशन गरिने २४.७१ प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ ८ लाख ४० हजार कित्ता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुको लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा पुस १२ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको पूर्ण आवेदन नपरेमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनएमबि बैंकको इलाम शाखा, सिभिल बैंकको जोगमाइ शाखा, प्राइम बैंक, ग्लोबल आइएमई बैंकको सूर्योदय शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर माइनस एनपी बीबी एस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
एनबिएको सदस्यमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ, दुई जना दोहोरिए
काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को कार्यकारी सदस्यमा तीन जना नियुक्त भएका छन् । नेपाल बैंकर्स संघको सोमबार सम्पन्न भएको वार्षिक साधारण सभाले तीन जनालाई कार्यकारी सदस्यमा नियुक्त गरेको जानकारी दिएको हो । एनबिएको कार्यकारी सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ नियुक्त भएका छन् । यसअघि मेगा बैंककी पूर्व सीईओ अनुपमा खुञ्जेलीले बैंकबाट अवकाश पाएपछि संघको पद रिक्त रहेको थियो । सोही पदमा एभरेष्ट बैंकका सीईओ खालिङलाई नियुक्त गरिएको बैंकर्स संघले जनाएको हो । खालिङ यसअघि पनि संघको कार्यकारी सदस्य थिए । यस्तै, संघको कार्यकारी सदस्यमा दुई जना दोहोरिएका छन् । माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ दीपकुमार दे संघको कार्यकारी सदस्यमा दोहोरिएका हुन् । संघको विधान अनुसार एक कार्यकाल दोहोर्याउन पाउने व्यवस्था अनुसार दुवै जनालाई दोहोर्याएको हो । संघको अध्यक्षमा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय, उपाध्यक्षमा एनएमबि बैंकका सीईओ सुनिल केसी रहेका छन् । बैंकर्स संघको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपाने र सनराइज बैंकका सीईओ सुमन शर्मा छन् । यस्तै, नबिल बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना निवर्तमान अध्यक्ष हुन् भने हिमालयन बैंकका सीईओ अशोक राणा सल्लाहकार हुन् ।
५०० रुपैयाँसम्म एकीकृत सम्पत्ति कर तिर्नेलाई विद्युतीय चुलो बाँड्दै प्युठान नगरपालिका
प्युठान । दश वटा वडा रहेको प्युठान नगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको विद्युतीय इन्डक्सन चुलो नगरवासीमध्ये सबैभन्दा धेरै कर तिर्ने एक हजार चार सय करदातालाई वितरण गर्ने भएको छ । प्युठान नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार नगरवासीमध्ये न्यूनतम पाँच सयसम्म एकीकृत सम्पत्ति कर तिर्ने करदाताले उक्त चुलो पाउने मापदण्डमा पर्ने नगपालिकाका आर्थिक विकास समितिका संयोजक तथा प्युठान नगरपालिका–३ का वडाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘गत आवमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको आन्तरिक गरी करिब सात लाखमा एक हजार चार सय इन्डक्सन चुलो विपन्न परिवारलाई सहयोग गर्ने भनेर खरिद भएको हो ।’ उनका अनुसार चुलो चलाउन हाई भोल्टेज विद्युत् आवश्यक पर्ने र पकाउने भाँडा सोहीबमोजिम फेरि किन्नुपर्ने हुँदा गाउँघरमा विपन्न परिवारका लागि अनुपयुक्त देखिएकाले कार्यपालिका बैठकबाट निर्णय संशोधन गरी धेरै कर तिर्ने करदातालाई सम्मानस्वरूप दिने निर्णय भएको हो । गरिब परिवारलाई इन्डक्सन चुलो दिँदा झन आर्थिक बोझ थपिने भएपछि सम्पत्ति कर धेरै तिर्नेलाई दिने तयारी अन्तिम चरणमा रहेको संयोजक श्रेष्ठले बताए । नगरपालिकाका ग्रामीण क्षेत्रमा स्थानीयवासीका अधिकांश घरमा छ एम्पियर क्षमताको विद्युत् एमसिबी जडान छन् । इन्डक्सन चुलो सञ्चालनका लागि कम्तीमा १५ एम्पिएर क्षमताको जडान हुनुपर्ने उनले बताए । नगरपालिकाले करिब चार महिनाअघि चुलो खरिद गरेको थियो । रासस
जाजरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा आज जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए । उनका अनुसार सो दुर्घटनामा परी तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
१० अर्बको हकप्रद सेयर जारी गर्दै अपर तामाकोशी, बिक्री प्रबन्धकमा नागरिक लगानी कोष
काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावरबीच साेमबार यसबारे सम्झाैता भएकाे छ । कम्पनीले १:१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता सेयर) का दरले साविकका सेयरधनीहरूलाई १०० रुपैयाँ दरले १० अर्बकाे हकप्रद सेयर जारी गर्दैछ । यस्तै, नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा बिक्री प्रबन्धक भई सनराइज क्यापिटललाई सह-निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त्त गरेको छ ।
मिटर ब्याज लिनेहरुको प्रमाण सङ्कलन गर्दै प्रहरी
चितवन । मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण सङ्कलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीडितलाई निवेदन दिन गरेको आग्रहअनुसार जिल्ला प्रशासनमा परेका उजुरीमध्ये सहमति नभएका उजुरीको प्रमाण सङ्कलनमा प्रहरी लागेको हो । मिटर ब्याजीले रकम दिएको र ऋणीले लिएको प्रमाण खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट सहमति हुन नसकेर १३ उजुरी कारबाहीका लागि प्रहरी कार्यालय आएको छ । ती उजुरीमाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए । केही उजुरीका विषयमा सरकारी वकिल कार्यालयसँग राय माग्ने काम भइरहेको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्म २३ उजुरी परेका थिए । तीमध्ये एउटा उजुरीको सहमति भएको छ भने दुई उजुरी छालफलका क्रममा रहेका छन् । अन्य सात उजुरीको विपक्षी उपस्थित नभएकाले छलफल बाँकी रहेको कार्यालयका नायब सुब्बा विशाल श्रेष्ठले जानकारी दिए ।
सिभिल बैंकको बैंकिङ एप चलाउन शुल्क नलाग्ने
काठमाडौं । सिभिल बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका छन् । सो सम्झौतापत्र अनुसार पुस १ गते देखि नेपाल टेलिकमको मोबाईल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाईल बैंकिङ एप मार्फत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्ट लगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन । नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले यो सम्झौता गरेको जनाएको छ । सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाईल बैंकिङ एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैकका चिफ विजिनेस भोला बहादुर बिष्टले बताए । । हालसम्म ९५.२४ अर्ब निक्षेप संकलन गरि करिब ८७.०८ अर्ब ऋण लगानी गरेको सिभिल बैंकको हाल ११५ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
यी हुन् मंसिर २५ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु
काठमाडाैं । सरकारले नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृत दिएको छ । सोमबार मंसिर २५ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् । उनका अनुसार सरकारले सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन २ जना महिला सदस्य थप गर्ने, गोदक स्वयक १३२ केभी प्रशारण आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, मुलुकी फौजदारी कार्यविधि संहीता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । उहाँले कालीगण्डकी कोरिडोर न्यु बुटवल बर्दघाट आयोजनाको २२० केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको बताP । सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव रामआधार साहलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरण क्लस्टरतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिवमा पदस्थापना गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका नेपाल इन्जिनियरिङ सेवा समूहीकरण क्लस्टरतर्फका सचिव सुरेश आचार्यलाई शहरी विकास मन्त्रालयको सचिव पदमा सरुवा गरेको बताए । यस्ता छन् निर्णयहरु : सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन २ जना महिला सदस्य थप गर्ने । गोदक स्वयक १३२ केभी प्रशारण आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने । मुलुकी फौजदारी कार्यविधि संहीता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने । नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृत दिने । कालीगण्डकी कोरिडोर न्यु बुटवल बर्दघाट आयोजनाको २२० केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने । राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री रामआधार साहलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरण क्लस्टरतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिवमा पदस्थापना गर्ने । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका नेपाल इन्जिनियरिङ सेवा समूहीकरण क्लस्टरतर्फका सचिव श्री सुरेश आचार्यलाई शहरी विकास मन्त्रालयको सचिव पदमा सरुवा गर्ने ।’