नेपालगन्जमा एओजी राइड सम्पन्न
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगन्ज देखि मेरो प्लानेट सम्म अपाचे ओनरस्ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ । ३७ जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा संलग्न भए, मेरो प्लानेट पुगेर कार्यक्रमको अवलोकन गर्दै कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरेर टीभीएसको प्रशंसा पनि गरे । टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ । राइडका एक सहभागी भन्छन्, ‘ नेपालगन्ज यस्तो राइडको आयोजना धेरै थोरै मात्र हुन्छ । जगदम्बा मोटर्स्लाई नेपालगन्जमा बाइकरहरुको समुदाय बनाएर हामीलाई बाइकिब प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चहान्छौं । यसले हामीलाई भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरूमा भाग लिन उत्सुक बनाएको छ।’ सचिन थापाले एओजी कार्यक्रमको सम्पूर्ण जिम्मेवारी लिएका थिए । एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ । जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीकोनेपालभर १४० भन्दा बढी डिलरहरुकोबलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएकोटू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।
कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो
पर्वत । जिल्लाको जैमिनी नगरपालिका १ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो । ‘लामो समयसम्म काम किन भएन भनेर चिन्ता लागेको थियो, तर अहिले काम सुरु भएपछि आशा पलाएको छ’, कुश्मीशेराका स्थानीय प्रेमप्रसाद शर्माले भने । यो पुलको निर्माण जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान जोड्ने गरी २०७३ साल असोज ९ गतेदेखि सुरु गरिएको थियो । प्राविधिक कारणले लामो समय काम रोकिएको पुलका संरचना बनाउने काम अहिले धमाधम भइरहेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर किरण पौडेलले बताए । रसुवा/श्री गिता/फेवा जेभीले सडक डिभिजन कार्यालयसँग पुल निर्माणको सम्झौता गरेर छ वर्षअघि काम थालेका थिए । हाल ३५ प्रतिशत भौतिक प्रगति भएको छ । ‘आगामी असार मसान्तसम्म म्याद थप भएको छ’ पौडेलले भने, ‘थपिएको समयमा काम सकिनेमा आशावादी छौँ ।’ बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचना बनाउने काम सकिएको छ भने कालीगण्डकी नदीको बीचमा एउटा पिल्लर तयार भएको छ । पुलको पश्चिमतर्फको पिल्लर बनाउनका लागि कालीगण्डकी डाइभर्सनको काम भइरहेको छ । चौँथो पटक म्याद थप भएपछि पुल निर्माणको काम धमाधम भइरहेको निर्माण कम्पनीका इञ्जिनियर अनिल श्रेष्ठले दाबी गरे । ‘पुल तोकिएको समयमै निर्माण सक्न चाहन्थ्यौंँ तर निर्माण स्थलसम्मको सडककै कारणले काम थाल्नै पाएनौंँ’ श्रेष्ठले भने, ‘सडक साँघुरो हुँदा पूर्वाधार निर्माणका लागि आवश्यक मेसिन ल्याउन पाएनौँ, करिडोर सेनाले फराकिलो बनाएपछि पुलको काम थालिएको हो ।’ नदीमा पुल निर्माण गर्दा पटक–पटक पानी तर्काउनुपर्ने र वर्षायाममा पानी तर्काउन सम्भव नहुने भएकाले पनि काममा ढिलाइ भएको श्रेष्ठले बताए । नदीभित्रबाट पिल्लर उठाउने काम सकिएपछि पिल्लरमा जोड्ने स्लेप हाल्ने काम सुरु गरिने उनले जानकारी दिए । आगामी बर्खाअघि नै नदीभित्र गर्नुपर्ने काम सकिने भएकाले त्यस बाहेकका काममा भने अब अवरोध नआउने उनको बुझाइ । १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ रुपैयाँमा लागतमा तीस महिनाभित्र पुल निर्माणको सम्झौता भएको थियो । बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक मानिएको छ । समयमा पुल नबन्दा दुई वर्ष अघिको भदौमा एक साता मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न पाएका थिएनन् । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउने काम गर्ने स्थानीय हरि केसी बताउँछन् । गण्डकी प्रदेश मुकाम पोखराबाट स्याङ्जा हुँदै पर्वत र बागलुङको जैमिनी नगरपालिका हुँदै गलकोट जोड्ने रणनीतिक सडकको मुख्य पक्की पुल हो यो । ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा समेत प्रभाव राख्छ । पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नु नपर्ने स्थानीयको भनाइ छ ।
विराटनगरका ३६ सहकारी संस्था हराए
विराटनगर। विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाब किताब सहित सम्पर्कमा आउन महानगरपालिकाले सूचना जारी गरेको हो । पछिल्लो समय सहकारी संस्थाले ग्राहकको निक्षेप फिर्ता गर्न आनाकानी गर्ने प्रवृत्ति बढेपछि महानगरपालिकाको सहकारी शाखामा ग्राहक उजुरी पर्ने क्रम बढेको छ । ती सहकारीमा ताकेता गरेपछि सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन रहेका ३६ ऋण तथा बचत सहकारी संस्था लिमिटेडका फाइलमा उल्लेखित ठेगाना नभेटिएको, पटक-पटक ताकेता गर्दापनि सम्पर्कमा आउन नचाहेको, सम्पर्क स्थापित गर्न नसकिएको र कुनैपनि प्रकारको कारोबारको विवरण पेस नगरेकाले ती सहकारीको नाममा सूचना जारी गर्नाका साथै नाम पनि सार्वजनिक गरिएको छ । सम्पर्कमा नआएका ती सहकारीले साधारणसभासमेत नगरी कारोबारको विवरण सम्बन्धित शाखामा नबुझाउँदा कैयौंँ ग्राहकको रकम डुब्ने जोखिम बढेर गएको छ । त्यस्ता सहकारीमा विराटनगर वडा नं २ को सक्रिय, वडा नं ३ को स्पर्श, वडा नं ४ को परिचय, सगुन र पुष्पाञ्जलि, वडा नं ५ को विराट कोसेली र एक्सेन्ज, वडा नं ७ को सुमेरू, विराट उपभोक्ता र हिमशिखर, वडा नं ८ को सहयोगी, वडा नं ९ को भिजन फर्मा, क्यापिटल, खाटु श्याम, सत्य ओम साई, सबल, युरो र हाम्रो बचत तथा ऋण सहकारी संस्था रहेका छन् । यस्तै वडा नं १०को एभरेष्टमल्टिपल,वडानं११को ज्ञानपुञ्ज, निलकमल, यातायात, स्वर्णलक्ष्मी, वडा नं १२ को गजलक्ष्मी, गरिमा, बखरी, ताजा तरकारी तथा फलफूल उत्पादक, वडा नं १३ को नक्षत्र, वडा नं १४ को बहुमूल्य, जुनतारा र प्रभावकारी, वडा नं १५ को इच्छा, नेश्नल, ऋद्धिसिद्धि र वडा नं १७ को वाटिका र उपकार बचत तथा ऋण सहकारी संस्था रहेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले सम्पर्कमा नआएका सहकारी संस्थालाई सम्पर्कमा आउन ३५ दिने म्याद जारी गरिएको बताए । उनले ती सहकारीलाई खोजेर कानुन बमोजिम कारबाही गरिने जानकारी दिए । रासस
सुन्धाराको मूल धारा नष्ट गरिएकामा काठमाडौं महानगरको आपत्ति
काठमाडौं । धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् । काठमाडौंको न्यूरोडस्थित सङ्कटा क्लबमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने आवश्यकतामा जोड दिए । उनले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गरेका छन् । रमण कन्ट्रक्सन कम्पनीले सुनधाराको ठीक पछाडी ठूलो खाडल बनाइ त्यहाँ एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने क्रममा सो ऐतिहासिक संरचनाको मुख्य बस्तु काठको लामो पाइप नष्ट हुनगएको भन्दै आइतबार स्थानीय बासिन्दा, क्लबका प्रतिनिधि तथा वडा नं।२२ का अध्यक्षको सक्रियतामा उक्त निर्माण कार्यको विरोध भएको थियो । सो विरोधपछि आज प्रमुख बालेन साहसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौँं वर्ष पुरानो उक्त ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरी अगाडि बढाइएको कुरा स्पष्ट पारिएको थियो । प्रमुख साहले सुन्धाराको मुख्य धारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सरसल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रष्ट पारेका छन् । सो अवसरमा प्रमुख साह, वडाध्यक्ष तथा स्थानीयवासीको टोली गएर सुनधारास्थित ट्याङ्की निर्माण भइरहेको स्थलमा अवलोकन गरी सम्पूर्ण निर्माणकार्य तत्काललाई रोक्न निर्देशन दिइएको छ । रमण कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले आफूले सम्बन्धित निकायको आदेशअनुसार नै सो ट्याङ्की निर्माण लगायतका कार्य अघि बढाएको जानकारी दिँदै हाललाई निर्माण कार्य रोक्न कामदारलाई निर्देशन दिइएको बताए । सो अवसरमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन र सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर लगायतले हस्ताक्षर गरेको एक प्रेस वक्तव्यमा सुन्धाराको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको कुरा उल्लेख गरिएको छ । ऐतिहासिक सुन्धारामा रहेको बाहिरी आकृति करिब दुई सयवर्ष अघि भीमसेन थापाको पालामा बनेको भनिएता पनि सो पानीको मूल भने चार–पाँच सय वर्षभन्दा पुरानो भएको कुरा पनि सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
लाभांश घोषणापछि नबिलको सर्वाधिक सेयर कारोबार, दुई लघुवित्तमा लाग्यो सर्किट
काठमाडौं । सोमबारको सेयर बजार १६.८७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार बढ्दा सेयर १९०२.२८ विन्दुमा पुगेको छ । यसरी सेयर बजार बढ्दा दुई लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा समिट लघुवित्त र सिवाइसी लघुवित्त रहेको छ । यस्तै, आज ग्लोबल आइएमई ब्यालेन्सड फण्डका सेयरमा नकारात्कम सर्किट लागेको छ । आज आइतबार ३० प्रतिशत लाभांश घोषणा गरेको नबिल बैंकको सेयर मूल्य घटे पनि बैंकको सेयर आज सबैभन्दा धेरै कारोबार भएको छ । नेप्सेको अुनसार आज नबिलको २१ करोड ३२ लाख कित्ता सेयर कारोबार भएको छ ।
एवोकाडो बोटबाटनै प्रतिकिलो दुईसय रुपैयाँमा खरिद बिक्री हुने
मङ्गलबारे । पछिल्लो समय इलाममा समेत व्यवसायिक एवोकाडो घीउ फलको खेती गरिन थालिएको छ । बर्सेनि उत्पादन वृद्धि भए पनि उत्ति नै खपतसमेत बढेको छ । माग अनुसार पुर्याउन नसकिएको बताइएको छ । निकै महँगो फलको सूचीमा पर्ने यो फल इलाममा प्रायः सबै गाउँमा उत्पादन भइरहको छ । व्यावसायिक उत्पादन सुरु भने इलामको रोङ गाउँपालिकादेखि भएको हो । जिल्लामा नै पहिलो पटक उक्त गाउँपालिकाको सलकपुरमा बिरुवा रोप्न थालिएको बताइएको छ । विसं २०४५ मा पहिलो पटक एवोकाडोको बिरुवा रोप्न थालिएको बताइएको छ । सुरु सुरुमा स्वादसमेत धेरैलाई मन पर्दैनथ्यो र तर पछिल्लो समय स्वास्थ्यलाई समेत राम्रो मानिएकाले यो फल उपभोग गर्नेको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ । हाल बोटमा नै आएर व्यापारीले मोलमोलाई गरेर खरिद गर्न थालेपछि गाउँमा फुटकर रुपमा बिक्रीसमेत हुँदैन । यसको माग व्यापक वृद्धि हुँदै गएकाले छिटो सकिने गरेको सलकपुरका किसान इश्वरी अधिकारीले बताइन् । उनका अनुसार गतवर्ष दुई बोटमा जेनेतेन ८० किलो उत्पादन भएको थियो । यसवर्ष सोही बोटमा करिब दुईसय पचास किलो उत्पादन भएको छ । बोटबाटनै प्रतिकिलो दुईसय रुपैयाँमा खरिद बिक्री हुने यो फल नेपालीले मात्र होइन नजिकै रहेको छिमेकी देश भारतबाट आउने पाहुनाले समेत खरिद गरेर लैजाने गरेको किसानको भनाइ छ । विभिन्न देशकै पनि धेरै स्थानबाट माग बढ्दै गएको अधिकारी एग्रो बबना कटेजका सञ्चालक याम अधिकारीले बताए । उनले गएको वर्षभन्दा यसवर्ष उत्पादन वृद्धि भएको बताए । साना बिरुवा रोप्ने क्रम बढिरहेकाले पनि बर्सेनि यसको उत्पादनमा वृद्धि हुँदै गएको छ । पहिला स्थानीय समाजसेवी स्वरोमस अधिकारीको बगानमा दुई वटा मात्र बिरुवा थिए । तिनै बोटबाट गाउँमा सामान्य चाख्न पुग्थ्यो । हाल उत्पादन र मागसमेत बढेको छ । अहिले गाउँभर प्रायः सबैको बगानमा यसको उत्पादन भइरहेको छ, तर पनि खास बजार पुर्याउन नै नपरेको किसान कल्पना भण्डारीले बताइन् । उनले समेत यसको व्यवसायिक उत्पादन गर्दै आउनु भएको छ । रोङ गाउँपालिका झापासँग नजिक रहेका कारण पनि यहाँबाट धेरै फलको कारोबार हुने गरेको छ । अत्यधिक पौष्टिक र प्रोटिनयुक्त यो फल सुरुमा चाना काटेर रोटीमा दलेर खाने गरिएको भए पनि अहिले यसको अतिरिक्त जुस बनाएर समेत खाने गरिएको छ । करिब दुईवर्ष अघि रोङ गाउपालिकाले किसानको मागअनुसार अनुदानमा बिरुवासमेत वितरण गरेको स्थानीय पत्रकार गोविन्द पौडेलले बताए । उनले गाउँमा यसको व्यावसायिक उत्पादन गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुँदै गएको बताए । दर्जनौँ परिकार बनाउन सकिने एवोकाडो एउटै बोटमा चार/पाँच सय किलोसम्म फल्ने गरेको छ । रोङ गाउँपालिकासहित इलाम नगरपालिकालगायत जिल्लाभरी नै यसको उत्पादन सुरु भएको छ । व्यावसायिक उत्पादन गर्ने किसानको सङ्ख्या भने थोरै छ । जिल्ला वन कार्यालय इलामले समेत गएको वर्ष र यस वर्ष किसानलाई बिरुवा वितरण गरेको छ । यो फल पनि विभिन्न जातको हुने गरेको छ । जोखेर नै कारोबार हुने गरेको भए पनि सानो फलको कम मूल्य र ठूलो फलको उच्च मूल्य हुने गरेको छ । यसको प्रतिकिलो एक पचासदेखि दुई सय रुपैयाँसम्म कारोबार भइरहेको छ । खास स्वादमा नौनी घीउ जस्तो हुने गरेको छ । लाम्चो, डल्लो तथा विभिन्न साइजमा फल्ने यो फल धेरैलाई नयाँसमेत लाग्ने गरेको छ । यस मौसममा खानयोग्य हुने यो फल भण्डारण गर्ने हो भने पछि यसको मूल्य अझ उच्च हुने किसानको भनाइ छ । रासस
सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्नु पर्ने बताएका छन । सोमबार सामाजिक संजालमार्फत स्ट्याटस लेख्दै थापाले अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको बताउँदै अध्यादेश तत्काल फिर्ता गर्नु पर्ने बताएका हुन् । उनले सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राखेको धारणा शत प्रतिशत सही रहेको बताएका छन् । ‘यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो, किनकी विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ,’ उनले भने । थापाले सरकारले गरेको गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने बताउँदै अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत लेखेका छन् । उनले पार्टीको विगतमा र अहिलेको अडान त्यही नै रहेको बताए ।
काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम यो वर्षकै कम
काठमाडौं । काठमाडौंमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन् । मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् मानन्धरले जानकारी दिए ।