काठमाडाैं । विद्युतीय सामग्रीहरुको बृहत् प्रदर्शनी फीन इलेक्ट्रो टेक–२०२२ सम्पन्न भएको छ । नेपाल विद्युत व्यवसायी महासंघले मंसिर २२ गतेदेखि काठमाडौं भृकुटीमण्डपमा आयोजना गरेको मेला २५ गते आइतबार सम्पन्न भएको हो ।
मेलाको अन्तिम तथा चौंथो दिन आइतबार १६ हजार भन्दा बढीले अवलोकन गरेका छन् । यो सँगैमेला अवलोकन गर्नेको संख्या करिब ७० हजार पुगेको छ ।
प्रदर्शनीका क्रममा विभिन्न कम्पनी र ब्रान्डका उत्कृष्ट स्टलहरुलाई पुरस्कृत समेत भएका थिए । पुरस्कृत हुनेमा एप्पल ग्रुपको विनय स्वीच, एनजी इलेक्ट्रिकल्सको इलेक्ट्रा इलेक्ट्रिक र प्रिमियर ओभरसिजको ओरिएन्ट र मित्तल ओभरसिज रहेका छन् ।
मेलाका क्रममा फीनका पूर्व अध्यक्ष एवं इलेक्ट्रो टेक–२०१२ का संयोजक रामबहादुर श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई पनि सम्मान गरिएको थियो ।
विगत २६ वर्षदेखि हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको मेला यसपटक भने कोरोना महामारीको कारण चार वर्षपछि आयोजना गरिएको हाे ।