‘म अस्वस्थ भएपनि बैंक स्वस्थ छ, नेपाली सीईओ बनेपछि ढुक्क छु’

<p>काठमाडौं । एभरेष्ट बैंकको २८ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सभाले लाभांश वितरणसहित विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंकले गत वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । जुन हालसम्म [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकको २८ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सभाले लाभांश वितरणसहित विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

बैंकले गत वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । जुन हालसम्म लाभांश घोषणा गरेका बैंकहरुमध्ये दोस्रो नम्बरमा छ ।

बैंकका अध्यक्ष बि.के.श्रेष्ठ ले आफू अस्वस्थ रहेपनि बैंक स्वस्थ रहेको धारणा राखे । हालसम्मको वित्तीय सूचकहरु सकरात्मक रहेकाले अझै प्रगति गर्नुपर्नेमा उनले जोड दिए । पछिल्ला दुई वर्षमा विश्वव्यापी कोरोना महामारी, डेंगु, रूस/युक्रेन युद्धले गर्दा बैंकलाई पनि असर गरेको अध्यक्ष श्रेष्ठले बताए । साथै तरलता संकटका कारणले पनि अर्थतन्त्र नाजुक अवस्थामा रहेकाले रिकभरीको समस्या बैंकले खेप्नु परेको उनको भनाइ छ ।

‘बैंकले राम्रो प्रगति गरेको छ, अहिलेको कठिन अवस्थामा पनि बैंकले सेयरधनीहरुलाई राम्रो प्रतिफल दिएको छ, मेरो आफ्नो स्वास्थ राम्रो नभएपनी बैंकको स्वास्थ राम्रो छ,’ उनले भने ।

उनी बैंकको अध्यक्षमा आफ्नो कार्यकाल टुङ्ग्याउने निष्कर्षमा छन् । आफूलाई स्वास्थ्यले साथ नदिएको भएपनि बैंकलाई अझै उचाईमा पुर्याउने गरी बैंकका सीईओले काम गरिरहेको उनको भनाइ छ । पहिलो पटक नेपाली नै बैंकको सीईओ भएकाले बैंकको थप ग्रोथ हुनेमा उनले विश्वास ब्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ आयात बढेका कारण बैंकमा भएको निक्षेप र विदेशी मुद्रा घटेको बताए । गत अर्थतन्त्रमा संकटको स्थिती आएपनि निक्षेप ग्रोथ ९ प्रतिशत बढाएको उनको भनाइ छ । अघिल्लो वर्ष कर्जा वृद्धिदर २७ प्रतिशत रहेकोमा गत वर्ष भने १४ प्रतिशत मात्रै रहेको उनले बताए ।

‘कोरोना महामारीको समयमा बैंकहरुले साइबर सेक्युरीटीमा ध्यान दिएका थिए, डिजिटल माध्यमबाट धेरै कारोबार गर्नुपर्ने भएकाले डिजिटलमा विशेष ध्यान दिइएको छ, बैंकले पनि सिस्टमामा धेरै फिचर अपडेट गरेको छ, हाम्रो डिजिटल सिस्टम सुरक्षित छ, ढुक्क भएर बैंकमा कारोबार गर्दा हुन्छ,’ उनले भने, ‘२ वर्षको अवधिमा २ दर्जन नयाँ शाखा खोलेको छ, अहिले बैंकको शाखा सञ्जाल १२३ पुगेका छन्,अझै २/४ वटा शाखा विस्तार गर्ने लक्ष्य छ, नयाँ शाखाले पनि ५ देखि ९ महिनामा नाफामा आउने गरेका छन् ।’

आफ्नै ब्राण्ड रहेकाले सेयरधनीहरुले आफ्नो निक्षेप एभरेस्ट बैंकमा राख्न उनले अनुरोध गरे । एभरेष्ट बैंकलाई अन्य बैंकभन्दा भिन्न राख्ने गरी काम गरिरहेको उनको भनाइ छ ।

‘ग्राहकलाई राम्रो सर्भिस दिइरहेका छौं, ग्राहकको समस्या समाधान गर्न ‘कस्टमर केयर डिपार्टमेन्ट’ नै तयार गरिएको छ, जसले गर्दा ग्राहक संख्या पनि बढ्दै छ,’ उनले भने, ‘क्यापिटल एडुकेसीमा सहज स्थितीमा छ । यसपटक नगद लाभांश वितरणश्चात् पनि साढे ११ प्रतिशत क्यापिटल एड्युकेसी मेन्टेन गर्न सकिन्छ, राष्ट्र बैंकले बफर लागू गरेपछि चाप पर्ने भएकाले डिबेञ्चर जारी गर्नुपर्ने स्थिती आउन सक्छ ।’

सेयरधनीहले राखेको जिज्ञासामा सीईओ खालिङले मर्जर तथा एक्विजिसनका विषयमा हाल बैंकको योजना नरहेको बताए । बैंकका सेयरधनीहरुलाई बढीभन्दा बढी प्रतिफल दिने गरी आफूले काम गरिरहेको उनले बताए ।

‘अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि प्रयास नगरेको होइन, विगतमा पनि थुप्रै प्रयास भएका थिए तर सफल भएन, राम्रो पार्टनर पाएमा मर्जरमा जान्छौं तर अहिलेलाई कुनै योजना छैन,’ उनले भने,‘मर्जर बिना व्यवसाय गर्न हामी सक्षम छौं, नाफामा अझै सुधार गर्नका लागि धेरै चुनौति सामाना गर्नु पर्नेछ ।’

बैंकले गत वर्ष भन्दा बढी लाभांश वितरण गरेपछि सेयरधनीहरुले बैंकका बारेमा सकरात्मक प्रतिक्रिया दिएका छन् भने बैंकले आगामी दिनमा चाल्नुपर्ने कदमका लागि सुझाव समेत राखेका छन् । ब्यास कुमार शर्माले बैंकले राम्रो पफर्मेन्स गरेकाले अब पूँजी वृद्धिमा ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा आर्थिक स्थिती कमजोर रहन सक्ने भएकोले सजग भएर काम गर्नुपर्ने सुझाव दिए । उनले बैंकले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिए ।

‘बैंकको पफर्मेन्स राम्रो छ तर आगामी दिन अर्थतन्त्र सहज नहुन सक्छ, यस्तो अवस्थामा बैंकको व्यवसाय विस्तारमा अहिलेदेखि नै जोड दिनुपर्छ,’ उनले भने ।

सेयरधनी शत्रुघन श्रेष्ठले ‘दिगो, दरिलो र विश्वासिलो बैंक’नाराका साथ स्थापना भएको यस बैंकको सुरुवाती चरणमा राम्रो रहेको भएपनि पछिल्लो समय भने केही खस्किएकोमा दुःख ब्यक्त गरे । सन् १९९४ को स्थापनाकालमा बैंक दरिलो र विश्वासिलो भएपनि हाल कमजोर रहेको उनको भनाइ छ ।

कुनै बेला सेयर मूल्य ४ हजार रुपैयाँसम्म पुगेको भएपनि हाल घटेको भन्दै उनले अब बैंकलाई पुरानै अवस्थामा फर्काउनु पर्ने धारणा राखे । गत वर्षको नाफाबाट प्रदान गरेको लाभांशमा भने आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।

सेयरधनी कुबेर श्रेष्ठ बैंकले अहिले वितरण गरेको लाभांश सन्तोषजनक रहेको भएपनि अर्काे वर्ष ३० प्रतिशत लाभांश दिनु पर्ने माग गरे । उनल सेयरधनी र कर्मचारीलाई खुसी हुने गरी बैंकको आम्दानी बढाउनु पर्नेमा जोड दिए । भोलिदेखी नै सेयरधनीको खातामा लाभांश जम्मा गरिदिन उनको आग्रह छ ।

‘बैंकको नाम एभरेष्ट छ, नाम एभरेष्ट भएपछि सेयरधनीलाई प्रतिफल पनि एभरेष्ट जस्तै उच्च दिनुपर्छ, अर्काे वर्ष ३० प्रतिशत लाभांश दिनै पर्छ,’ उनले भने । सेयरधनी लबराज जोशीले बैंकलाई स्थायीत्व दिने गरी काम गर्न सुझाव दिए । बैंकलाई कुन दिशामा लग्ने भनेर कर्मचारीको हातमा हुने भएकाले सही रुपमा कर्मचारीलाई परिचालन गर्न उनले आग्रह गरे ।

‘बैंकमा काम गरिरहेका कर्मचारीलाई टिकाउनु पर्छ, शाखा कार्यालयबाट बढी नाफा गर्ने गरि कर्मचारी खटाउनु पर्छ, बैंकको विजनेश वृद्धि गर्न पूँजी बढाउन आवश्यक छ, अहिलेदेखि नै पूँजी वृद्धि बढाउन प्रक्रिया अघि बढाउनु पर्याे’ उनले भने ।

अशोक उप्रेतीले आगामी आर्थिक अवस्था राम्रो नहुने संकेत देखिएकालेसजग भएर काम गर्नुपर्ने बताए । बैंकको ब्राण्डमाथि नै धक्का लाग्ने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै उनले बैंकको स्वतन्त्र छवि कायम राख्न आग्रह गरे ।

बैजुनाथ रौनियारले सन् २०१९ पश्चात् बैंकले कुनै अवार्ड नपाएकोमा गुनासो ब्यक्त गरे । आगामी दिनमा अवार्ड पाउन सक्ने गरी बैंकलाई सक्षम बनाउनुपर्ने उनको भनाइ छ ।

Share News