बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन
बागलुङ । बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए । उनका अनुसार गत वर्ष यहाँ कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट तीन हजार छ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष जिल्लाभर २० करोड सात लाख ५० हजार रुपैयाँको सुन्तला उत्पादन भएकामा यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएर चार हजार तीन सय ८० मेट्रिक टन पुगेको प्रमुख भट्टराईको भनाइ छ । यस वर्ष जिल्लामा २४ करोड नौ लाख रुपैयाँ भन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको उहाँको भनाइ छ । केही वर्षदेखि यहाँका ग्रामीण क्षेत्रमा प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रमअन्तर्गत सुन्तला जोन घोषणा गरेर बर्सेनि सुन्तला खेती विस्तार हुँदै गएको भट्टराईले बताए । भट्टराई भन्छन्, ‘बागलुङ मध्यपहाडी क्षेत्रमा पर्छ, यो क्षेत्र सुन्तला उत्पादनका लागि निकै उत्तम ठाउँ मानिन्छ, यहाँको हावापानी र माटो सुन्तला खेतीकै लागि हो जस्तो लाग्छ, कृषक पनि निकै हर्षित हुनुहुन्छ, अघिल्लो वर्ष बोटमा किरा लाग्यो, उपचार पाएनन्, त्यसले गर्दा उत्पादनमा केही कमी आयो, तर अहिले त्यो समस्या छैन, मौसमले पनि साथ दियो, अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले बढी उत्पादन भएको छ ।’ भट्टराईले सुन्तला खेती गर्ने कृषकलाई कृषि ज्ञान केन्द्रले आवश्यक औषधि, मल र प्राविधिक सहयोग गर्दै आएको बताए । उनी पछिल्लो समय कृषक सुन्तला खेतीप्रति आकर्षित हुँदै गएको भन्दै यहाँको वातावरण पनि अमिलो प्रजातिका फलफूलका लागि अनुकूल खालको रहेको बताउँछन् । ‘सुन्तला खेतीबाट कृषकलाई मनग्य आम्दानी हुन्छ, सुरुमा अलिकति मेहेनत गर्नुपर्छ, बिरुवा हुर्के भने धेरै झन्झट गर्नु पर्दैन, फल दिने सुन्तलाको छेउछाउमा अरु खेती गर्न सकिने हुँदा दोहोरो फाइदा हुन्छ’, उनले भने, ‘कृषकलाई सुन्तला खेतीप्रति आकर्षित गर्न आवश्यक तालिम तथा परामर्श दिने गरेका छौँ, हरेक वर्ष जिल्लामा सुन्तला उत्पादन हुने क्षेत्रफल पनि बढिरहेको छ ।’ बागलुङमा एक दशकभन्दा अगाडिसम्म परम्परागत सुन्तला खेती हुने गरेको थियो भने अहिले आधुनिक तरिकाले खेती भइरहेको छ । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानासँगै काठेखोलाको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, जैमिनीको दमेक र सर्कुवालगायत ठाउँ सुन्तला खेतीका लागि प्रसिद्ध मानिन्छन् । बागलुङ नगरपालिका–८ सिगानाका कृषक रामबहादुर खड्काले गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेको बताए । उनले गत वर्ष डेढ लाख रुपैयाँको सुन्तला बेचेको भन्दै अहिले साढे तीन लाख बढीको सुन्तला बिक्री हुने बताए । उनी गत वर्ष टिप्ने बेलाको सुन्तलामा किरा लागेपछि नोक्सान व्यहोर्नुपरेको भन्दै अहिले राम्रो भएको बताउँछन् । अहिले फल पनि पोटिलो र रसिलो रहेको उनको भनाइ छ । ‘सिगानाका कृषकले सुन्ताल धेरै उत्पादन गर्छौँ, तर मूल्य पाउँदैनौँ, आजभन्दा पाँच वर्ष अगाडि पनि सुन्तलाको मूल्य प्रतिकेजी ५० रुपैयाँ थियो, अहिले पनि त्यही छ’, खड्काले भने, ‘कामदारको पारिश्रमिक बढेको बढ्यै छ, कृषकले उत्पादन गरेको सुन्तलाको बढ्दैन, सरकारले बेलामा मल पनि दिँदैन, सरकारले केही सहुलियत दिए अझै राम्रो गर्न सकिन्छ ।’ उनले १० वर्ष अगाडि सिगानामा ४० हजार बिरुवा लगाइएको भन्दै अहिले धेरै बोटहरूले फल दिन थालेको बताए । आफ्नो सिगाना सुन्तला गाउँ नै बनेको भन्दै यहाँका सुन्तला पोखरामा बढी माग हुने गरेकाले व्यापारीले बोटबाटै सुन्तला खरिद गरेर लैजाने गरेको उनले जानकारी दिए । स्थानीय कृषक देवबहादुर खड्काले यस वर्ष सिगाना गाउँमा गत वर्षको तुलनामा २५ प्रतिशत बढी सुन्तला उत्पादन भएको बताए । उनले गत वर्ष सिङ्गो गाउँले सुन्तला बेचेर दुई करोड रुपैयाँ भित्र्याएको भन्दै यस वर्ष दुई करोड ५० लाख रुपैयाँ बढी आम्दानी गर्ने अनुमान गरेको बताउँछन् । खड्का भन्छन्, ‘अहिले सिगानामा मात्रै होइन जिल्लाको धेरै ठाउँमा सुन्तला उत्पादनमा वृद्धि आएको पाएका छौँ, एउटै बोटबाट चार–पाँच क्विन्टलसम्म सुन्तला फलेको छ, सुन्तला धेरै फलेर मात्रै के गर्नु उचित मूल्य पाउँदैन, तर अहिले गाउँमा साढे दुई करोड बढी सुन्तला बिक्री गरेर आम्दानी हुने अनुमान गरेका छौँ, किनकि अहिले टिप्ने र बजारसम्म पु¥याउने काम भइरहेको छ ।’ खड्काले यहाँको सुन्तला खरिद गर्न बागलुङ, चितवन, काठमाडौं, पोखरालगायतका ठूला सहरबाट व्यापारी आउने गरेको बताए । व्यापारीले बोटै खरिद गर्ने गरेको उनको भनाइ छ । उनले केही सुन्तला शीतभण्डारमा राख्ने र फागुन चैतमा बिक्री गर्ने बताए ।
कांग्रेसका वरिष्ठ नेता पौडेललाई जापानको राजकीय सम्मान
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो । जापानी सम्राट मेइजीले सुरु गरेकाे राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ आज वरिष्ठ नेता पौडेलले ग्रहण गरे । विश्वका विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिने यो सबैभन्दा उच्च सम्मान वरिष्ठ नेता पौडेल र माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई प्रदान गरिने घोषणा गरिएको थियो । वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेकाे योगदानका लागि विभूषित गरिएको हो । वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलोे अध्यक्षसमेत रहेका थिए । उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवद्र्धनमा पनि सक्रियरूपमा संलग्न थिए । विभूषितपछि वरिष्ठ नेता पौडेलले उच्च सम्मानका लागि जापानी सम्राट, सरकार र जनताप्रति कृतज्ञता व्यक्त गर्दै यसले आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले जापानले नेपालको विकास निर्माण, कृषि, विपद् व्यवस्थापन, प्रविधि, लोकतन्त्र संस्थागतलगायत क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा थप निरन्तरताको अपेक्षा गरे । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वरिष्ठ नेता पौडेललाई उच्च सम्मान गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै यसले आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन योगदान पुग्ने बताए । वरिष्ठ नेता पौडेलले आफ्नो लामो राजनीतिक जीवनकालमा सांसद, मन्त्री, सभामुखलगायत हैसियतमा देशलाई गर्नुभएको योगदान स्मरण गर्दै मन्त्री कार्कीले उनले सभामुखका रूपमा सन् १९९९ मा जापान–नेपालमैत्री संसदीय लिगको स्थापना गरी निर्वाह गरेकाे महत्त्वपूर्ण भूमिकाले सरकार तहदेखि संसदीय तह र जनताको तहसम्म द्विपक्षीय सम्बन्ध विस्तार गर्न मद्दत पुगेको विश्वास व्यक्त गरे । साथै उनले सामाजिक, आर्थिक र पूर्वाधार क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गरेकामा जापान सरकारप्रति आभार व्यक्त गरे । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, कांग्रेसका नेता, सांसद, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्रीलगायत विशिष्ट व्यक्ति उपस्थित थिए । रासस
स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण भएन : दिपक मलहोत्रा
काठमाडौं । नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दिपक मलहोत्राले मुलुकमा स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण नभएको बताएका छन् । बिहीबार काठमाडौं भएको आइपीडिएफको कार्यक्रममा बोल्दै उपाध्यक्ष मलहोत्राले नेपालमा विदेशी लगानी भित्र्याउने वातावरण बनाउनको लागि स्थिर सरकार आवश्यक रहेको बताएका हुन् । उनले पाँच वर्ष अघि स्थिर सरकार बनेर लगानीको वातावरण बन्ने आश गरेपनि सफल हुन नसकेको बताए । ‘अन्तर्राष्ट्रिय देशहरुमा विदेशी लगानी ल्याउन सहज भएपनि सानो देशमा विदेशी लगानी ल्याउँदासमेत समस्याको चाङ आइपर्छ, अब बन्ने सरकारले विदेशमा गएको युवा जनशक्तिलाई नेपालमा कसरी फर्काउने र उद्योगधन्दा बढाएर रोजगारी कसरी दिने भन्ने विषयमा ध्यान दिनुपर्छ,’ उनले भने । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य अजय सुमार्गीले निजी क्षेत्रलाई विदेशी लगानी ल्याउन भनेपनि सरकारको नीति बाधक बनेको बताए । नेपाल राष्ट्र बैंकले स्वीकृत नदिएसम्म कुनैपनि देशको लगानी नेपालमा नआउने उनी बताउँछन् । ‘देशले नीतिहरु ठूलो ल्याउने तर काम सानो गर्नुपर्ने अवस्था छ, नेपालमा उद्योगधन्दाहरु खोल्ने ठूलो सम्भवना भएपनि नीतिगत कारणले खोले पनि चल्न नसक्ने अवस्था रहेको छ,’ उनले भने ।
ठप्प छ ठमेल, व्यवसायी भन्छन् : दैनिकी चलाउनै गाह्रो
काठमाडौं । दुई वर्ष कोरोनाको महामारीले ग्रस्त बनाएको पर्यटकको आकर्षणको केन्द्र ठमेलमा अहिले पनि व्यापारले गति नलिएको व्यवसायीहरूको गुनासो छ । नोभेम्बरमा सुरु हुनुपर्ने अफसिजन १५ दिन अगाडि नै सुरु भएपछि थप गाह्रो भएको उनीहरूको भनाइ छ । कोरोनाको समयमा मृतप्रायः रहेको ठमेलमा सेप्टेम्बर र नोभेम्बरमा व्यापारले गति लिएको र अहिले भने अफसिजन सुरु भएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले बताए । व्यापार नभएकै कारण दुई वर्षदेखि रोकिएको ठमेलको पर्यटन व्यवसाय र त्यसमा आबद्ध व्यक्तिहरूको आर्थिक क्रियाकलाप असाध्यै अप्ठ्यारो अवस्थामा गुज्रिएको उनको भनाइ छ । कोरोना महामारीअघि एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिने गरेकामा कोरोनापछि भने पाँच लाख पर्यटक आएको सरकारी तथ्याङ्क उनले सुनाए । ‘पहिलेको तुलनामा अहिले ५० प्रतिशतमात्रै पर्यटक भित्रिएका छन्’, उनले भने । राज्यबाट ठमेल पर्यटनको विकासका लागि केही सहयोग नभएको भन्दै उनले गुनासो गरे । उपाध्यक्ष धमलाले भने, ‘राज्यले नैतिक र आर्थिक सहयोग नगरे पनि पर्यटन व्यवसायमा आशाको त्यान्द्रा पलाएको छ ।’ धमलाले परिषद्ले अबको दुई वर्षभित्र सुन्दर ठमेल बनाउने लक्ष्य राखेर अहिले होर्डिङ बोर्डको व्यवस्थापनलाई निरन्तरता दिइरहेको बताए । पर्यटकीय क्षेत्रमा हुनुपर्ने न्यूनतम आधारभूत कुरा गरेर थप आधुनिकीकरण गर्ने परिषद्को लक्ष्य रहेको उनले सुनाए । बाह्र वर्षदेखि ठमेलमा पस्मिनाको व्यवसाय गर्दै आएका टीकाराम नेपालले चुनावअघि व्यापार राम्रो भएको सुनाए । ‘चुनावअघि घर फर्कनेले किनमेल गर्दा व्यापार राम्रो भएको थियो’, नेपालले भने, ‘तर अहिले आशालाग्दो व्यापार छैन । भाडा तिर्न पनि गाह्रो भएको छ ।’ पर्यटकले सम्पूर्ण आवश्यक खर्च गरिसकेपछि बाँकी रहेको रकमले नेपाली सामान सम्झनाका लागि लैजाने गरेको उनको भनाइ छ । विदेशीले नेपालमा उत्पादन भएका सबै चिज मन पराउने उनले बताए । नौ वर्षदेखि ठमेलमा हस्तकलाको व्यापार गर्दै आएकी देवकी न्यौपानेले कोरोना महामारीअघि दैनिक १० वटा माला बेचेको र अहिले दुईटा माला पनि बेच्न गाह्रो भएको सुनाइन् । अहिले व्यापार कम हुनुको कारण विश्वव्यापीरूपमा रहेको आर्थिक सङ्कट भएको उनको भनाइ छ । न्यौपानेले पर्यटकको सङ्ख्या कम भएसँगै व्यापार पनि घटेको बताइन् । चुनावअघि व्यापार राम्रो भए पनि अहिले खर्च धान्नै गाह्रो भएको फोटो व्यापारी देवकी भण्डारीले बताइन् । यस वर्ष नोभेम्बरको अन्तिममा सुरु हुनुपर्ने अफसिजन चाँडै सुरु भएको २२ वर्षदेखि ठमेलमा व्यापार गर्दै आएकी भण्डारीको गुनासो छ । पहिलाको तुलनामा यस वर्ष व्यापार ह्वात्तै घटेको भन्दै उनले भनिन्, ‘पहिला दिनको आठदेखि दशसम्म फोटो बिक्री गरिन्थ्यो, अहिले दुई–तीनवटा पनि बेच्न मुस्किल छ, घर चलाउनै गाह्रो भएको छ ।’ कोभिड–१९ को महामारीपछि व्यापारले विस्तारै गति लिन थालेको ट्रेडिङ सपका सञ्चालक सुशील पाण्डेले बताए । नेपालमा यो वर्ष गत वर्षको तुलनामा केही मात्रामा पर्यटक भित्रिएको भन्दै उनले अब फेब्रुअरीबाट व्यापार बढ्ने सुनाए । पाँच वर्षदेखि व्यापार गर्दै आएका पाण्डेले दैनिक १५ देखि ३० हजारसम्म व्यापार हुने सुनाए । अहिले उत्कृष्ट व्यापार नभए पनि दैनिकी चलाउन पुगिरहेको सुनाए । पर्यटन व्यवसायी शिव लामिछानेले पर्यटन क्षेत्र राष्ट्रिय र अन्तर्राष्ट्रियसँग जोडिएको बताए । महामारीपछि ठमेलले पुनःजीवन पाउनेमा आफूहरू आशावादी रहेको भन्दै नेपालको पर्यटनको समग्र विकासका लागि चीन–नेपालको सीमा खुलाउनुपर्नेमा उनले जोड दिए । कोरोना महामारी अगाडिको तुलनामा ३० प्रतिशत पर्यटक मात्र देशमा भित्रिएको मण्डला ह्याण्डीक्राफ्टका सञ्चालक ध्रुव पाण्डेले सुनाए । एयरलाइन्सको टिकट महँगो भएकाले विदेशी नेपाल नआएको पनि उनको टिप्पणी छ । पर्यटक नआउँदा स्वतः व्यापारमा कमी आउने उनको भनाइ छ । कोरोना महामारी अगाडि वार्षिकरूपमा नेपालमा १२–१३ लाख पर्यटक आउने गरेको पनि उनले उल्लेख गर्नुभयो । व्यापारीहरूले सामानको मूल्य आफूखुसी तोक्ने गरेको भन्दै उनले त्यसबारे सरकारले नियमन गर्नुपर्नेमा जोड दिए । रासस
बागमतीमा बने ११ पाँचतारे होटल, अर्थतन्त्र सकसमा भएपनि घरजग्गा खरिदबिक्रीमा वृद्धि
काठमाडौं । बागमती प्रदेशमा घरजग्गा खरिद बिक्रीमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७८/७९ को वार्षिक प्रतिवेदनका अनुसार बागमती प्रदेशमा घरजग्गा रजिष्ट्रेशन संख्या २१.६ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा सो संख्या ३५.९ प्रतिशतले बढेका थियो । समीक्षा वर्षमा घरजग्गा रजिष्ट्रेशनबापतको राजस्व ३.३ प्रतिशतले घटेर रु.२४ अर्ब ७६ करोड कायम भएको छ । घरजग्गा कारोवार विशेषगरी ग्रामीण इलाकामा बढी र सहरी इलाकामा कम भएकोलेरजिष्ट्रेशनबापतको राजस्वमा कमी आएको प्रतिवेदनमा उल्लेख छ । गत वर्षको सोही अवधिमा यस्तो राजस्व ५८.८ प्रतिशतले बढेका थियो । समीक्षा वर्षमा घर/भवन नक्सापास सङ्ख्या ०.१५ प्रतिशतले बढेकोछ । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा बागमती प्रदेशमा विमानस्थलको संख्या ३ रहेको र सबै सञ्चालनमा रहेका छन् । त्यसैगरी, यस प्रदेशमा ५६ धार्मिक स्थल, ८ विश्व सम्पदा सुचीमा सूचिकृत सम्पदा र १९ पर्यटकीय पार्क रहेका छन् । आर्थिक वर्ष २०७८ सम्ममा बागमती प्रदेशमा हेरिटेज एवम् बुटिक होटलको संख्या ४, पाँच तारा स्तरका होटलहरुको संख्या ११, चार तारा स्तरका होटलको संख्या ७, तीन तारा स्तरका होटल २६, दुई तारा स्तरका होटलको संख्या २८, एक तारा होटलको संख्या २६, लक्जरी रिसोर्टको संख्या २, डिलक्स रिसोर्टको संख्या १ र साधारण रिसोर्टको संख्या ८४ रहेको छ । समीक्षा वर्षमा अध्ययनमा समेटिएका होटलहरुको औसत अकुपेन्सी ३६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष औसत अकुपेन्सी ७.२३ प्रतिशत मात्र रहेको थियो । कोभिडको असर न्युन हुँदै गएको, देशका अधिकांश जनताले भ्याक्सिन लगाएको, आन्तरिक तथा वाह्य पर्यटकीय गतिविधिमा उत्साह थपिएको लगाएका कारण पर्यटन आगमनको लय कोभिड अगाडि कै अवस्थामा फर्किने देखिएको छ । २०७८ साउनदेखि होटलहरुको अकुपेन्सीमा क्रमशः सुधार भएको देखिएको छ । २०७८ साउनमा १३.६३ प्रतिशत रहेको अकुपेन्सी २०७९ जेठमा ५७.९८ प्रतिशत पुगेको छ ।
प्राइम बैंकले गर्यो ८.९५ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई प्रति सेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ४.९५ प्रतिशतका दरले नगद लाभाँश दिने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ६६ करोड ९७ लाख ४० हजार ८९१ रुपैयाँ कमाएको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात सेयरधनीले पाउनेछन् ।
प्राइम बैंककाे स्वतन्त्र सञ्चालकमा प्राडा. तारादेवी चित्रकार नियुक्त
काठमाडौं । प्राइम कमर्शियल बैंकको स्वतन्त्र संचालकमा प्राडा. तारादेवी चित्रकार नियुक्त भएकी छिन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको ४५५ औं बैठकले चित्रकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो । व्यवस्थापन विषय अन्तर्गत उत्पादनमूलक प्रतिष्ठानको सन्दर्भमा नेपालमा निजीकरणको समीक्षा विषयमा विद्यावारिधि गरेकी चित्रकार पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरीरहेकी छिन् । उनी नेपाल विद्याभूषण ‘क’ बाट पनि विभूषित भइसकेकी छिन् ।
बीमा प्राधिकरणको गुनासो सुन्ने अधिकारीमा तोकिए विरोध भट्ट
काठमाडौं । नेपाल बीमा प्राधिकरणले उप निर्देशक विरोध भट्टलाई गुनासो सुन्ने अधिकारी तोकेको छ । मंसिर २८ गतेको निर्णय बमोजिम भट्टलाई गुनासो सुन्ने अधिकारीमा तोकिएको हो । साथै, उनको अनुपस्थितिमा सहायक निर्देशक रञ्जिता केसीलाई बैकल्पिक गुनासो सुन्ने अधिकारीको रुपमा तोकिएको छ ।