लामोदुरीमा दुई जना चालक नराख्ने ४१ ओटा सवारी साधन कारवाहीमा
काठमाडौं । लामोदुरीका यात्रुवाहक सवारीसाधनमा २ जना चालक नराख्ने ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँको नागढुंङगा नाकामा ट्राफिक कम्युनिकेसन एप्लिकेसन मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाईएपछि ट्राफिक प्रहरीले कारवाही गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार ट्राफिक कम्युनिकेसन एप्लिकेसनमा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमती पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुङगा नाका सहित सातै ओटा प्रदेशका १५ ओटा स्थानमा रहेको चेक प्वाईनटमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए-नभएको एकिन गर्ने गरिन्छ । २०७५ माघ २८ गतेबाट शुरु भएको यो चेकिङ केही समय, संचालन पछि कोभिड लगायत अन्य विविध कारणले रोकिएकोमा पुनस् २०७९ असोज ३१ गतेबाट शुरुवात गरे पश्चात २ महिनाको अवधीमा ४१ ओटा सवारी साधनका चालक कारवाहीमा परेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नु पर्ने व्यवस्था अन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईवटा चालक अनिवार्य रूपमा राख्नुपर्दछ । ऐन अनुसार प्रत्येक छ घण्टापछि पालैपालोसँग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ ।
नाफिजकाे नयाँ कार्यसमिति गठन, अध्यक्षमा ढकाल निर्वाचित
काठमाडौं । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)मा मोदनाथ ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैटौँ महासभाबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । तेह्र सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार सदस्य निर्वाचित गरेको छ । कार्यसमितिले बाँकी दुई सदस्यको मनोनयन गर्नेछ । निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो । ढकाल ‘दि राइजिङ नेपाल’मा कार्यरत छन् । उपाध्यक्षमा ‘नोटबजार डटकम’का परमेश्वर अधिकारी र ‘हाम्रो अर्थ’की मेनुका कार्की निर्वाचित भएकी छिन् । महासचिवमा ‘अनलाइन खबर’का नवीन ढुङ्गाना, सचिवमा ‘नेपाल खबर’का दीपक भट्ट र कोषाध्यक्षमा ‘सिंहदरबार’की दिलु कार्की निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा ‘रातोपाटी’का निकेश खत्री, ‘अनलाइन खबर’का विजय पराजुली, ‘सेतोपाटी’की सविना कार्की र ‘नेपाल प्रेस’का राजाराम न्यौपाने विजयी भएकाे निर्वाचन समितिले जनाएको छ ।
सुरु भयो विराट एक्स्पो, नि:शुल्क सटल बस सेवा संचालन
काठमाडौं । विराटनगरमा मंसिर २९ गतेबाट ‘विराट एक्स्पो’ सुरु भएको छ । साे मेलाको राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गरिन् । विराट एक्स्पोमा सटल बस सेवाका साथै स्थानीय विभिन्न खानाका परिकारको मज्जा लिन सकिने छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने विराट एक्स्पोमा आउनेहरूलाई लक्षित गरी सटल बस (निःशुल्क)सेवा सञ्चालनमा ल्याइने भएको छ । एक्स्पो अवलोकन गर्न आउनेहरूलाई लक्षित गरी सातै दिन अर्थात् एक्स्पोको समयसम्म सटल बसले सेवा दिने आयोजक समितिले जनाएको छ । विराटनगर महानगरपालिकाका विभिन्न १४ स्थानबाट निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याइने भएको हो । निःशुल्क सटल बस सेवा सञ्चालनले एक्स्पोमा अवलोकनकर्तालाई आकर्षित गर्ने आयोजकले विश्वास लिएको जनाएको छ । एक्स्पोमा सहभागी हुन देशका विभिन्न स्थान र छिमेकी देशको जिल्लाबाट आउने आगन्तुकलाई लक्षित गरी विराटनगरका होटलहरूले समेत छुटको व्यवस्था गर्ने भएका छन् । आयोजक समितिले होटल एशोसिएसन नेपाल प्रदेश १ सँग सहकार्य गरी विराटनगरका साना तथा ठूला सबै होटलमा विशेष छुट र एक्स्पो अवधिभर डिस्काउण्ट सहितको विराट एक्स्पो २०७९ को छुट्टै मेन्यू राख्ने व्यवस्था गरेको छ । खाद्य अनुसन्धान अधिकृत विमला पोखरेलले स्थानीय खानाका परिकारलाई व्यवसायीकरकण गर्ने उद्देश्यले मन्त्रालयको सहयोगमा खानाका विभिन्न स्टलहरू राखिएको बताएकी छन् । उनले स्थानीय खानाका परिकारहरूलाई परिस्कृत रुपमा मेलामा राखिने हुनाले नयाँ स्वादका कारण उपभोक्ता आकर्षित हुने बताएकी हुन् । पोखरेलले मन्त्रालयले स्टल भाडामा लिएर किसानहरूलाई स्थानीय स्तरका परिकारहरूको प्रवद्र्धनका लागि उपलब्ध गराएको जानकारी दिइन् । एक्स्पोमा विभिन्न स्वदेशी तथा विदेशी उत्पादनसहितका ३६१ वटा स्टल रहनेछन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गितिक प्रस्तुतिका साथै फेशन शो र विराट एक्स्पो सिङ्गिङ आइडल प्रतियोगितालाई मनोरञ्जनको मुख्य आकर्षण बनाइएको एक्स्पोका संयोजक दुलालले जानकारी दिए। नेपालका साथै भारत, बङ्गलादेश र पाकिस्तानलगायत विभिन्न मुलुकका उत्पादन प्रदर्शनीमा रहने उनले बताए । एक्स्पोमा दुई लाख उपभोक्ताले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
द ब्रिटिस कलेजको दोस्रो दीक्षान्त सम्पन्न
काठमाडौं । द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तिर्ण एमएससी आइटीका विद्यार्थीहरु र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट उत्तिर्ण विद्यार्थीहरु दीक्षित भएका हुन् । सोल्टी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोह द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा औद्यागिक सल्लाहकार बोर्डका सदस्यहरु विरेन्द्र राज पाण्डे र प्रचण्डमान श्रेष्ठ उपस्थित रहेका थिए । ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ विजनेश एण्ड लकी इन्टरनेशनल पार्टनरसिप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएका थिए । त्यस्तै, बिबिएबाट दीक्षित भएका निरज प्रताप शाह, एमएसई आइटीबाट दीक्षित भएका तरुण खत्रीले आफ्नो मन्तव्य राखेका थिए ।
सहकारीमा देखिएको समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैन : सचिव रेग्मी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको विमोचन कार्यक्रममा बोल्दै सचिव रेग्मीले यस्तो बताएका हुन् । उनले सहकारीहरुको संस्कृति बिना सहकारीमा देखिने समस्या निराकरण गर्न र सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताए । सहकारी तथा सरोकारवाला निकायहरु कम्फर्ट जोनमा बसेर सहकारीहरुको प्रगति नहुने उनको भनाइ छ । ुसहकारीलाई प्रोत्साहन, विस्तार, नियमन र अन्तर निकायहरुसँग समन्वय कसले गर्ने विषयमा यकिन हुन आवश्यक छ, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हट आइरनको रुपमा समस्याग्रस्त सहकारी व्यवस्थापन गर्नुपर्छ, अब समितिलाई देखेर गलत काम गर्ने सहकारी त्रासको वातावरण बनाएर तर्सन सक्नुपर्छ,ु उनले भने। यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानूनहरु पुराना भएकाले यसलाई समयानुकुल बनाउन आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले पनि सहकारी ऐन बनाउने प्रवाधान रहेता पनि नियमन कसले गर्ने अन्योल रहेको बताए । अहिले चलिरहेको सहकारी ऐनलाई थप परिमार्जन गरी समय अनकुलको कानूनी बनाउन आवश्यक रहेको उनको धारणा छ ।
रिलायन्स लाइफले बीमालेख धितो कर्जामा बढायो ब्याज, पुसदेखि नै लागू हुने
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख धितो कर्जामा वार्षिक १२ प्रतिशत ब्याज दिने भएको छ । इन्स्योरेन्सले यसअघिको व्यवस्थालाई परिमार्जन गर्दै सो मात्राको ब्याज दिने भएको हो । यसअघि बीमालेख धितो कर्जाको वार्षिक कर्जा ब्याजदर १० प्रतिशत थियो । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीबाट आफ्नो बीमालेख धितो राखी लिइएको कर्जाको वार्षिक ब्याजदर बढाएको जानकारी गराएको छ । उक्त सूचना अनुसार नयाँ ब्याजदर आगामी पुस १ गतेदेखि लागू हुने छ । साथै, इन्योरेन्सले आफुले लिएको कर्जा, उक्त कर्जामा लागेको ब्याज रकम समयमा नै भुक्तानी गर्न समेत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उनलाई आज बुझाएका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको थियो । साथै निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताएका थिए ।
सनराइज बैंकका ग्राहकलाई विश्वज्योति हलमा दुई टिकट किन्दा एक निःशुल्क
काठमाडौं । सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेकाे छ । यस सहकार्य अनुरुप सनराइज बैंकको ग्राहकहरुले विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क पाउनेछन् । पुस १ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तर्गत बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् । यस योजनामा समावेश हुनको लागि ग्राहकहरुले टिकट खरिद बापतको रकम सनराइव बैंकका डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।