दाङमा अनलाइनबाटै चिकित्सकको परामर्श
दाङ । दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ । राप्ती गाउँपालिका–५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालमा अनलाइन परामर्श सेवा सुरु भएको हो । गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले बिरामीको मुटुको ‘इसीजी’ गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् । योसँगै देउखुरी क्षेत्रका विपन्न मुटु रोगका बिरामीले नजिकैको यी स्वास्थ्य संस्थाबाट विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउने छन् । ‘देउखुरी क्षेत्रमा अब मुटुरोगीलाई सहज भएको छ’, उनले भने, ‘बिरामीलाई मध्यनजर गरी हामीले यो सेवा सुरु गरेका हौँ ।’ राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम सुरु भएको हो ।
शिखर इन्स्योरेन्सले १६ प्रतिशत बोनस दिने, चुक्ता पुँजी साढे २ अर्ब नाघ्ने
काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २९ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ छ । १६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने छ । जुन बीमा प्राधिकरणले तोकेको न्युनतम पुँजीभन्दा बढी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।
मन्दाकिनी हाइड्रोपावरले गर्यो लाभांश घोषणा
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले लाभांश प्रस्ताव गरेको छ । हाइड्रोपावरले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्तावसँगै वित्तिय विवरण वार्षिक साधारसभामा पेश गर्ने निर्णय गरेको छ । कम्पनीले गरेको यो पहिलो लाभांश प्रस्ताव हो । प्रस्तावित लाभांश साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
नेपाल बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद बढी
काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २ प्रतिशत बोनस र १० प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।
पोखरिया माध्यमिक विद्यालय : जहाँ बालबालिकालाई भर्ना गराउन अभिभावक गर्छन् तछाडमछाड
टङ्कीसिनवारी । केही वर्षअघिसम्म सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई हेयको दृष्टिले हेर्ने गरिन्थ्यो । सामुदायिक विद्यालय गरिब, विपन्न र पिछडा वर्गका बालबालिकामात्र अध्ययन गर्ने थलो हो भन्ने आम सर्वसाधारणमा सोच थियो । तर अध्ययन–अध्यापनको क्षेत्रमा मेहेनत र परिश्रमका कारण कतिपय सामुदायिक विद्यालयले नाम चलेका संस्थागत विद्यालयलाई पनि गुणस्तरीय शिक्षाको सवालमा पछाडि धकेलेका छन् । विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयले सामुदायिक विद्यालयप्रति सर्वसाधारणको नकारात्मक सोचलाई चिरेको छ । गुणस्तरीय शिक्षा, अब्बल अतिरिक्त क्रियाकलाप र अनुशासनका कारण पोखरियाले सामुदायिक विद्यालय भइकन पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । चालीसौँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा मोरङ जिल्लाका सामुदायिक विद्यालयमध्ये शैक्षिक वर्ष २०७५ मा उत्कृष्ट कार्यसम्पादन गरेवापत रु दुई लाख नगदसहित विद्यालयलाई पुरस्कृत गरिएको थियो । सो पुरस्कार प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले प्रदान गरेको थियो । विद्यालयमा अभिभावक आफ्ना बालबालिकालाई भर्ना गराउन तछाडमछाड गर्ने गरेका छन् । विद्यार्थी भर्नाका लागि सङ्घीय मन्त्रीदेखि १ नंं प्रदेशका उच्चपदस्थ पदाधिकारीसम्मको सिफारिस विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकसम्मलाई आउने गरेको छ । विद्यार्थीलाई उत्कृष्ट सिकाइका लागि प्रेरित गर्न पोखरियाले बेला–बेलामा सम्मानको कार्यक्रम आयोजना गर्ने गरेको छ । विद्यालयमा कक्षा १२ सम्मको अध्ययन पूरा गरी देशका विभिन्न इञ्जीनियरिङ अध्ययन संस्थाको प्रवेश परीक्षा एवं छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान गरिएको छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयद्वारा लिइएको इञ्जीनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा र छात्रवृत्तिमा नाम निकाल्न सफल हुने विद्यार्थीलाई सम्मान गरिएको हो । विद्यालयले बिहीबार आयोजना गरेको बधाई, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा १० विद्यार्थीलाई सम्मान गरियो । प्रवेश परीक्षा एवं छात्रवृत्तिमा नाम निकालेर प्रशंसापत्र एवं नगदबाट सम्मानित हुनेमा प्रज्ञा गेलाल, राजेशकुमार गुप्ता, नवीन पोखरेल, प्रज्ञान घिमिरे, क्षितिज खनाल, निकिता कर्ण, पङ्कज मण्डल, प्रज्ज्वल अधिकारी, आयुष लिम्बू र प्रज्ञान कोइराला रहेका छन् । विद्यार्थीलाई शिक्षा विकास तथा समन्वय एकाइ मोरङ प्रमुख टङ्कप्रसाद गौतम, विराटनगर महानगरपालिकाअन्तर्गतको नगर शिक्षा समितिका शाखा अधिकृत कृष्णप्रसाद भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम, विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलगायतले प्रवेश परीक्षा एवं छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई प्रशंसापत्र र नगद हस्तान्तरण गरेका थिए । कार्यक्रममा एकाइ प्रमुख गौतमले नाम निकाल्न सफल विद्यार्थी अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बन्ने बताए । शाखा अधिकृत भट्टराईले शिक्षासँगै चरित्र निर्माण पनि महत्वपूर्ण रहेको बताए । व्यवस्थापन समितिका अध्यक्ष गौतमले मेहनेत गरेर अध्ययन गरी देश सेवामा योगदान गर्नुपर्ने दायित्व अबको पुस्तामा आएको बताए । प्रधानाध्यापक भट्टराईले विद्यार्थीको प्रतिभा पहिचान गरी प्रस्फुटन गर्ने काम विद्यालयले गर्दै आएको दाबी गरे । उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा विद्यालयले कुनै सम्झौता नगर्ने बताए । सम्मानित विद्यार्थी गेलालले जस्तोसुकै अवस्थामा शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भविष्यमा के बन्ने भनेर लक्ष्य किटान गरी गरिएको अध्ययनले साथर्कता पाउने बताए । अर्का सम्मानित विद्यार्थी प्रज्ञान घिमिरेले आफूले नियमित चार घण्टा अध्ययन गर्ने गरेको बताए । उनले परीक्षा तयारीको बेला दिनभरिजसो नै पठनपाठनमा बिताउने गरेको बताए । घिमिरेले पुनः अभ्यास निरन्तर गरे परीक्षामा नाम निकाल्न गाह्रो नहुने बताए । विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म तीन हजार दुई सय ६३ विद्यार्थी र प्राविधिक धारतर्फ एक सय ९२ विद्यार्थी अध्ययनरत छन् । रासस
आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । आज शुक्रवार काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत गरिएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताए । उनले नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको बताए । उनले राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘१९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको रुपमा लिएको छ, त्यही दिनलाई स्मरण गर्दै हामीले यो अभियान मनाएका हौँ । झण्डाको दुरुपयोग गरेको खबरदारीका रुपमा यो दिवस मनाइएको हो । राष्ट्रिय झण्डाको सम्मान गर्नुपर्छ ।’ उनले सरकारी निकायहरुबाट नै विश्वमै फरक रहेको नेपालको झण्डा फर्ने, दुपयोग गर्ने पाइएको भन्दै सरकारी निकायहरु यसमा सचेत बन्नुपर्ने बताए ।
राष्ट्र बैंकविरुद्ध मुद्दाका चाङ
काठमाडौं । आजभन्दा ४ वर्षअघि उमेर हदका कारण प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणदास मानन्धर पदबाट बाहिरिए । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकाले मानन्धर ६५ वर्ष उमेर हदका कारण सीईओ बन्नबाट बञ्चित भए । जुन कुरा बैंक तथा वित्तीय संस्था ऐन (बाफिया)मा उल्लेख थिएन । राष्ट्र बैंकले बाफियाको दफा ७९ लगाएर उमेर हद निर्देशन ल्याएको थियो । कानुनमा नभएको व्यवस्थाले सीईओ मानन्धर पीडित बने । कानुनमा स्पष्ट व्यवस्था नभएपनि राष्ट्र बैंकले निर्देशिका ल्याएर मानन्धरलाई सीईओ बन्न रोक्यो । राष्ट्र बैंकको उक्त निर्णयका विरुद्ध सीईओ दासले सर्वाेच्च अदालतमा मुद्दा दायर गरे । अदालतले ‘स्टे अर्डर’ जारी गरेपछि उनी अहिले पनि सीईओको रुपमा काम गरिरहेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा यस्ता थुप्रै घटनाहरु छन् । राष्ट्र बैंकका निर्देशिका विरुद्ध अदालतमा मुद्दाका चाङ पर्ने गरेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले आफ्नै नियामक निकाय नेपाल राष्ट्र बैंक विरुद्ध धमाधम मुद्दा दायर गर्न थालेका छन् । पाँच वर्षको अवधिमा नेपाल राष्ट्र बैंकविरुद्ध बैंक तथा वित्तीय संस्था र पदाधिकारीले अदालतमा ६५९ वटा मुद्दा दर्ता गरेका छन् । राष्ट्र बैंकविरुद्ध अदालतमा बैंक तथा वित्तीय संस्था र पदाधिकारीको मुद्दा दर्ता गर्ने संख्या वर्षेनी बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७३/७४ मा केन्द्रिय बैंकविरुद्ध विभिन्न अदालतमा ६६ मुद्दा दर्ता भएका थिए । जसमा सोही वर्ष ३६ वटा मुद्दाको किनारा लगाइएको थियो । यस्तै, आर्थिक वर्ष २०ं७४/७५ मा राष्ट्र बैंक विरुद्ध ८३ वटा मुद्दा दर्ता भएका थिए भने २३ वटा मुद्दाको फैसला भएका थिए । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा राष्ट्र बैंक विरुद्ध ८९ वटा मुद्दा दर्ता भएका थिए भने ४६ वटा मुद्दाको फैसला भएको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा केन्द्रिय बैंक विरुद्ध ९५ वटा मुद्दा दर्ता भएका थिए भने ४० वटा मुद्दा फैसला भएका थिए । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा राष्ट्र बैंकविरुद्ध १२९ वटा मुद्दा दर्ता भएका थिए भने २९ वटा मुद्दाको फैसला भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा राष्ट्र बैंकविरुद्ध १९८ वटा मुद्दा दर्ता भएका थिए भने ८९ वटा मुद्दा फैसला भएका थिए । राष्ट्र बैंकले जारी गरेका निर्देशन उल्लंघन गरेपछि बैंक तथा वित्तीय संस्था र संलग्न पदाधिकारीहरूलाई कारबाही गर्ने गरेको राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोख्रेल बताउँछन् । बैंक तथा वित्तीय संस्था र उक्त संस्थामा संलग्न रहेका पदाधिकारीले आफूलाई गरेको कारवाही चित्त नबुझ्दा पुनरावेदन गर्ने गरेको र राष्ट्र बैंकलाई नै विपक्षी बनाएर विभिन्न अदालतहरूमा रिट दायर गर्ने गरेको उनको भनाइ छ । अदातलमा मुद्दाका विषयमा बहस हुने र सोही बहसले मुद्दाको किनारा लगाउने गरिएको उनले बताए । ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेका निर्देशन वा सर्कुलर कुनै संस्था वा क्लाइन्टले कारवाही गर्न सक्छ, राष्ट्र बैंकले कारवाही गर्दा संस्था वा पदाधिकारीलाई चित्त नबुझ्न सक्छ, चित्त नबुझेपछि राष्ट्र बैंकलाई विपक्षी बनाएर जिल्ला अदालत, विशेष अदालत वा सर्वाेच्च अदालतमा मुद्दा लिएर जान्छन्, यस्ता केशहरुमा राष्ट्र बैंकको तर्फबाट राष्ट्र बैंकका वकिलहरुले वकालत गर्छन् भने क्लाइन्टको हकमा भने उहाँहरु आफैले नियुक्त गरेको वकिल हुन्छन्,’ उनले भने । अदालतमा मुद्दा दर्ता भएपछि बहस भएर किनारा लगाइने गरेको सह–प्रवक्ता पोख्रेलले बताए । बैंकिङ व्यवसाय पनि खेल मैदान जस्तै भएकाले कहिलेकाँही बैंकर र सञ्चालकले राम्रो गर्न खोज्दा खोज्दै पनि गलत हुन सक्ने उनको भनाइ छ । तर, आफ्नो बैंकको नाफा बढाउन संस्थागत सुशासन नै तोड्न नमिल्ने उनले बताए । ‘बैंकिङ भनेको खेल जस्तै हो, खेल मैदानमा सबै खेलाडीले राम्रो पर्फमेन्स गर्न चाहन्छन्, बैंकरहरुले पनि राम्रो गर्न खोज्छन्, राम्रो गर्दागर्दै कहिलेकाँही त्रुटी हुन्छ, सञ्चालक वा पदाधिकारीले कम्प्लायन्स वा संस्थागत सुशासन ब्रेक गरेर बैंकको नाफा बढाएका हुन सक्छन्, नियतवश नभएर राम्रो काम गर्दागर्दै निर्देशनहरु उल्लङ्घन भएका हुन्छन्,’ उनले भन, ‘मैदानमा फुटबल खेल्दा खेल्दै हेण्ड बल हुन सक्छ तर जानेर छोएको हुँदैन, बैंकहरुले गरेको गल्तिलाई कुनै नियत नराखिकन राष्ट्र बैंकले कारवाही गर्छ, चित्त नबुझे अदालत जान्छन् ।’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका गतिविधि अनुगमन निरन्तर गर्दै आएको उनले सुनाए । अधिकांश मुद्दालाई अदालतले राष्ट्र बैंकको पक्षमा फैसला गर्ने गरेको उनको भनाइ छ । ‘राष्ट्र बैंक अधिकतम मुद्दामा सफल भएको छ, राष्ट्र बैंक विरुद्धका ९० प्रतिशत भन्दा बढी मुद्दाहरु जित्ने गरेको छ,’ उनले भने । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटी बैंक तथा वित्तीय संस्थाका सञ्चालकले संस्थाको हितमा काम गर्दा कहिलेकाँही राष्ट्र बैंकका नीति निर्देशन उल्लङ्घन हुने गरेको स्वीकार गर्छन् । उनका अनुसार पहिला–पहिला राष्ट्र बैंकले जे गरे पनि हुन्छ भन्ने हिसावले चुप लाग्ने गरेका थिए । नियामकसँग च्यालेन्ज नगर्ने भएकाले धेरै मद्दाहरु आउँदैनथे । तर, पछिल्लो समय नियामकले पनि गलत गर्न सक्ने भएकाले अदालत जाने गरेको उनको भनाइ छ । सिभिल बैंकमा यस्ता कुनै घटना नभएको र हालसम्म कुनै कारवाही पनि नब्यहोरेको उनले बताए । ‘राष्ट्र बैंकले जारी गरेका निर्देशनहरु पालना नगरे कारवाही गर्छ, त्यो कारवाही चित्त बुझेन भने अदालत जाने हो, राष्ट्र बैंक स्वायत्त संस्था हो, राष्ट्र बैंकले गरेका निर्णयहरु व्यक्तिलाई चित्त नबुझ्न सक्छन्, सञ्चालकले बैंकको हितमा काम गरेको हुन्छ, अनि लायबिलिटीज चाँहि पर्सनल बनाउँछ, पर्सनल लाइबिलिटीजमा ब्यक्तिले लड्न नसक्ने भएकाले अदालत गुहार्नु पर्छ,’ उनले उदाहरण दिँदै भने, ‘म सिभिल बैंकको सञ्चालक हुँ, बैंकको हितमा काम गर्दा कुनै नियम उल्लङ्घन भयो भने त्यो मेरो पर्सनल लायबिलिटीज हुन्छ, पर्सनल लायबिटीज बनाएपछि म होइन भन्छु तर राष्ट्र बैंकले होइन भन्छ, यो कुरा विवाद भयो, विवाद भएपछि अदालत जाने हो ।’ अधिवक्ता बसन्त जोशी र अधिवक्ता विशाल न्यौपाने राष्ट्र बैंकले जारी गरेका सर्कुलरले अधिकार हनन् भयो भन्ने हिसावले बैंक तथा वित्तीय संस्था र पदाधिकारीले अदालतमा मुद्दा दायर गर्ने गरेको बताउँछन् । साथै, राष्ट्र बैंकका कुनै सर्कुलर वा निर्देनशन नीति नियमभन्दा फरक भएर आउने भएकाले पनि दर्ता हुने गरेको उनीहरुको भनाइ छ । कोरोना महामारी र आर्थिक संकटमा पनि राष्ट्र बैंकले कडाइ गरेका कारण मुद्दाहरुको संख्या बढेको अधिवक्ताद्धय जोशी र न्यौपाने बताउँछन् । ‘धेरै जसो मुद्दाहरु बैंक ग्यारेन्टीसँग जोडिन्छन्, बैंक ग्यारेन्टी ७ दिनभित्र क्लेम गर्नुपर्ने हुन्छ, बैंक ग्यारेन्टी पेमेन्ट नदिँदा राष्ट्र बैंकले कुनै छुट दिँदैन, कहिलेकाँही बैंकहरुले पेमेन्ट नदिँदा २ सय प्रतिशतसम्म पेनाल्टी तिर्नुपर्छ, बैंकले सजाय भोग्न परेको भएपनि मुद्दा भने कम परेका हुन्छन्,’ जोशी र न्यौपानेले भने, ‘राष्ट्र बैंकले कारवाही गर्ने भएपछि कारवाहीबाट बच्न बैंक तथा वित्तीय संस्थाले मुद्दा दर्ता गर्छन्, बैंक तथा वित्तीय संस्थाले मुद्दा जित्यो भने फाइदा नै हुन्छ, यदि जितेन भनेपनि चोर बाटो हुँदै ठूलो पेनाल्टीबाट बच्न बदनियत राखेर मुद्दा दायर गरेका हुन्छन्, २/४ वर्ष पेमेन्ट होल्ड गर्न पाएपनि बैंकहरुलाई धेरै फाइदा हुन्छ तर प्राय मुद्दाहरु राष्ट्र बैंकले नै जितेका हुन्छन् ।’
इटहरी इन्टरनेसनल कलेजको दीक्षान्त समारोह सम्पन्न
काठमाडौं । इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। कलेजले सन् २०२२ मा पास भएका विद्यार्थीलाई दीक्षित गरेको हो। समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अर्नस) कम्पुटिङ र बिए (अनर्स) बिजनेस प्रशासनका २२७ जना विद्यार्थी सहभागी भएका थिए। कलेजले बिहीबार दीक्षान्त समारोह आयोजना गरेको हो। समारोहमा विद्यार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो। समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससी (अर्नस) कम्पुटिङ तह पूरा गर्ने २१४ जना विद्यार्थी गरी जम्मा २२७ विद्यार्थी दीक्षित भएका हुन्। दीक्षान्त समारोहमा सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको छ। वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोहमा आयोजना गरेको कलेजले जनाएको छ। सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृत्ति समेत उपलब्ध गराएको छ। बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ। दीक्षान्त समारोहमा विश्व विद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए। सो अवसरमा बोल्दै उनले भने ‘तपाईंहरूले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरू त्यस्तै पाउनुहुनेछ।’ यसलाइ निरन्तर दिँदै उनले भने, ‘ज्ञानले जीवनमा ठूलो प्रभाव पार्छ त्यसै गरी सकारात्मक सोचले हाम्रो जिवनमा राम्रो परिवर्तन ल्याउछ।’ दीक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले भने ‘आजको युगमा वैदेशिक शिक्षा लोकप्रिय बन्दै गएको छ, त्यसैले हजुरहरू विदेशिए पनि आफ्नो शिक्षा पूरा गरेर आफ्नै देश फर्कनुहोस् र देशको विकासमा योगदान पुर्याउनु होस्।’