विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री
बनेपा। प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौं विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पु-याउँदै आएको बताए । ‘विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पु-याउने पवित्र शैक्षिक केन्द्र हो,’ उनले भने, ‘विश्वविद्यालयहरु राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।’ नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौं विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभएर विदेशमा पनि महत्वपूर्ण संस्थामा आवद्ध भई उत्कृष्ट सेवा पु-याउँदै आउनु सबैका लागि गर्वको विषय भएको बताए । उनले काठमाडौं विश्वविद्यालयका विभिन्न सङ्कायमा दीक्षित भएका विद्यार्थीलाई बधाई व्यक्त गरे । भविष्यमा भौतिक तथा प्राज्ञिक विकासका लागि निरन्तर सहयोग प्राप्त हुने उनले अपेक्षा व्यक्त गरे । सो क्रममा उनले काठमाडौं विश्वविद्यालयबाट पहिलो पटक मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा ६ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एकजना गरी सात जनालाई उपाधि प्रदान गरे । रासस
विहारमा विषाक्त मदिरा सेवनबाट बाइस जनाको मृत्यु
विहार । विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिइ स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्रीवितरणविरुद्ध अभियान चलाएपछि विहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो । प्रहरीका अनुसार अस्पताल भर्ना भएका २० मध्ये धेरैले आँखाको ज्योति गुमाएका छन् । गैरकानुनीरूपमा मदिरा बिक्री गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । सारण जिल्ला राज्यको राजधानी पटनाबाट करिब ६० किलोमिटर उत्तरमा अवस्थित छ । अवैधरूपमा बनाइएको मदिरा सेवनबाट हुने मृत्युलाई भारतमा सामान्य मानिन्छ । अवैधरूपमा उत्पादन हुने मदिरालाई कडा बनाउन कीटनाशकलायत रसायन प्रयोग गरिन्छ । यसरी उत्पादित मादक पदार्थ कम मूल्यमा बिक्री हुने गरेको छ । कर छलेर अवैध तरिकाले उत्पादन गर्ने यो व्यवसाय लाभदायक उद्योग भएको छ । यो वर्षको प्रारम्भमा विषाक्त मदिरा पिउँदा पश्चिम भारतको गुजरात राज्यमा कम्तीमा २८ जनाको मृत्यु भएको थियोभने ६० जना बिरामी भएका थिए । गुजरातमा पनि मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ । सन् २०२० मा भारतको उत्तरी पञ्जाब राज्यमा पनि विषाक्त मदिरा पिएर एक सय २० जनाले ज्यान गुमाएका थिए । रासस
विश्वकप फाइनलमा फ्रान्सको प्रवेशसँगै देशभर हर्षोल्लास, मोरक्कोको प्रशंसा
काठमाडौं । कतारमा जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न शहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा पनि गरेका छन् । बुधवार भएको खेलमा २–० गोलले मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अफ्रिकी देश मोरक्कोको अभूतपूर्व उपलब्धिको उनीहरूले सराहना गरेका छन् । विश्वकपको इतिहासमा पहिलोपटक अफ्रिकी मुलुक मोरक्को सेमिफाइनलमा पुगेर फ्रान्ससँग आमनेसमाने भएकामा उनीहरू हर्षित थिए । ‘फ्रान्ससँग पराजित भए पनि मोरक्कन फाइनलमा हामीसँगै हुनेछन्, यो जित सबै फ्रान्सेली भाषीको हो,’ मध्यप्यारिसको बास्टिल स्क्वायर नजिक विजय उत्सवमा सहभागी २२ वर्षीय एड्रिन भिग्नाउले ‘डिफेन्डिङ च्याम्पियन’ क्रोएसियालाई हराएर सेमिफाइनलमा मोरक्को पुग्नु ठूलो उपलव्धि भएको उल्लेख गर्दै भने । मोरक्कन टोलीको आँसु उनीहरूको उत्कृष्ट प्रदर्शनले पुछेको उनले बताए । फ्रान्स र अर्जेन्टिनाबीचको फाइन खेलको व्यग्र प्रतीक्षामा आफू रहेको बताउँदै उनले अर्जेन्टिनी ‘स्टार’ खेलाडी लियोनल मेस्सीको प्रहार र प्रस्तुति पनि रोचक हुनेमा आफू ढुक्क रहेको जनाए । प्रतिद्वन्द्वी भएपनि उनको प्रहार गर्ने शैली आकर्षक रहेको उनले बताए ।
कैलालीमा धान खरिद सुरु गरेपछि किसान खुसी
कैलाली । सरकारले धान खरिद गर्न सुरु गरेपछि कैलालीका किसान खुसी भएका छन् । सरकारले यही मङ्सिर २७ देखि कैलालीको टीकापुर, सत्ती र धनगढीको मोनहपुरमा धान खरिद सुरु गरेको हो । ‘यस वर्ष सरकारले समर्थन मूल्य तोक्न र खरिद दुवै काम गर्न ढिलो गर्यो’, टीकापुर नगरपालिका–७ सत्तिका किसान केवल डंगौरा चौधरीले भने, ‘ढिलै भए पनि सरकारले धान खरिद सुरु गरेकाले हामी खुसी छौँ ।’ उनले अब तोकिएकै मूल्यमा धान बिक्री पाइने बताए । केवल डगौरा चौधरी जस्तै डाडाँबोझीका वीरमोहन थारुले पनि सरकारले धान खरिद गर्न थालेपछि खुसी व्यक्त गरे । ‘’सरकारले काँटा लगाएर धान गरिद गर्न लागेकोमा खुसी लागेको छ तर यो काँटा लगाउन अलि ढिला भयो,’ उनले भने, ‘ढिलाइ भएका कारण अधिकांश किसानले न्यून मूल्यमा धान बिक्री गरिसकेका थिए ।’ सरकारले सत्ती क्षेत्रबाट पहिलो पटक साढे ५२ सय क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । यहाँ किसानले धान ३० क्विन्टलसम्म सिधैँ बेच्न पाउने र त्यसभन्दा बढी बिक्रीका लागि सिफारीस ल्याएर बेच्नुपर्ने प्रावधान रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीका जीतबहादुर बोहरा बताउँछन् । ‘हामीले धान खरिद सुरु गर्यौँ, पालैपालो किसानको धान खरिद सुरु गरिएको छ’, उनले भने, ‘तीस क्विन्टलसम्म सिधैँ खरिद हुन्छ, त्यसभन्दा बढी भए वडाको सिफारिस ल्याउनुपर्छ ।’’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीले जिल्लाबाट ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । सोहीअनुसार कैलालीको टीकापुर, सत्ती र धनगढीको मोहनपुरबाट धान खरिद सुरु भएको हो । कैलालीको जोशीपुर र भजनीमा केही दिनभित्र धान खरिद प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ । यहाँ सरकारले अहिले मोटा धानप्रति क्विन्टल दुई हजार नौ सय ६७ रुपैयाँ खरिद गरिरहेको छ । रासस
भ्रष्टाचारको आरोप लागेको व्यक्ति पनि बैंकको सीईओ र संस्थापक बन्न नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र संस्थापकको नियुक्तीमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकको सीईओ तथा संस्थापक नियुक्तका लागि टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति हुनु पर्ने व्यवस्था छ । यसअघि भ्रष्टाचारको आरोप लागेको व्यक्तिका विषयमा राष्ट्र बैंकले बोलेको थिएन । तर, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ शंसोधन गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो यस्तै, प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई सकेको व्यक्ति पनि सीईओ बन्न पाउनेछ । प्र्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाई पाएको ५ वर्ष व्यतीत भई नसकेको व्यक्ति भने सीईओ तथा संस्थापक बन्न पाउने छैन ।
टिसिएलले नेपालमा भित्र्यायाे गुगल टिभी
काठमाडाैं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । यस टिभीमा प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रीनबाट नै सेलेक्ट गरेर हेर्न सक्नेछन् । गुगल टिभीको प्रारम्भिक सेटअप पछि, प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन । होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरु हुन्छन् जुन प्राथमिकताहरूको आधारमा देखाइने कम्पनीले बताएकाे छ । गुगल टिभीमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु छन जसले गर्दा प्रयोगकर्ताहरुले टि.भी चलाउँदा ज्यादै नै सहज र सजिलो महसुस गर्दछन । यो बाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नको लागि क्रोमकास्ट र ब्युल्ट ईन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको छ । गुगल टिभीले नयाँ संस्करणहरुलाई पनि अटोमेटीकल्ली अपडेट गर्दछ । हालै टिसिएलले कुल ३ प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको छ । नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।
‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु
काठमाडौं । फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए । ‘डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ’, प्रस्तुतकर्ता थापाले भने । फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले दिए । उनी दुई फिल्ममा श्रीमान् तथा श्रीमतीको भूमिकामा छन् । एस।जी। फिल्म्स र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गर्दै छन् । निर्देशक थापाको निर्देशनमा तयार हुने फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ । यसमा राजेश श्रेष्ठको छायाङ्कन, उत्तम न्यौपानेको ध्वनि, राजनराज सिवाकोटीको सङ्गीत रहनेछ । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । ‘प्रसाद’ हिट भएपछि यसको सिक्वेलका रूपमा ‘प्रसाद २’ को निर्माण हुन लागेको हो । लेखक पौडेलले फिल्मको कथा अभिनेता कार्की र अभिनेत्री अधिकारीमा केन्द्रीत रहने बताए । ‘दुईको प्रेम र त्यसले निम्त्याउने सङ्घर्षलाई फिल्ममा देखाइनेछ’, लेखक पौडेलले भने ।
पर्वतमा खेल मैदानको अभाव
पर्वत। पर्वतको खेल क्षेत्र प्रवद्र्धन गर्न खेल मैदानको अभाव भएको छ । खेलाडीहरुका अनुसार पछिल्लो समय मैदान नहुँदा जिल्लाको खेलक्षेत्र समेत ओझेलमा परेको छ । ‘२० वर्ष अघि बडगाउँचौरमा धौलागिरिस्तरीय खेल हप्तैपिच्छे जस्तो हुने गथ्र्यो’, पूर्वफुटबल खेलाडी राजन गुरुङले भने, ‘अहिले टोलस्तरीय खेलसमेत हुन छाडिसकेको अवस्था छ । मापदण्डअनुसारको खेल मैदान नहुँदा एन्फाले दिने विभिन्न सेवासुविधाबाट फुटबल खेलाडी वञ्चितीमा पर्दै आएका छन् ।’ अहिले सशस्त्र प्रहरीको ब्यारेक रहेको ८४ रोपनीको बडगाउँ खेल मैदानमा फुटबल, भलिबल, ह्याण्डबल, टेबल टेनिस, तेक्वान्दो, कराँते, हाइजम्प, लङजम्प, दौडलगायत खेलका खेलाडी दिनरात खेल मैदानमा भेटिन्थे । ‘विसं २०५४ तिर हुनुपर्छ, यही बडगाउँ चौरमा पहिलो पटक अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता भएको थियो, मैले गोल्ड मेडल जितेको थिएँ ।”’४५ वर्षका खेलाडी नरेश श्रेष्ठले भने, ‘अन्य जिल्ला पुग्दा पर्वतको खेलाडी भनेपछि बेग्लै सम्मानले हेर्ने गरिन्थ्यो । अहिले खेलाडी पाउनै मुस्लि देखिएको छ ।’ अर्का कराँते प्रशिक्षक तथा कराँते महासङ्घ पर्वतका संयोजक राम श्रेष्ठले द्वन्द्वकालीन अवस्था र खेल मैदानको अभावले गर्दा पर्वत खेलकुदमा २० वर्ष पछाडि परेको बताए । ‘सदरमुकाम कुश्मा खेलाडीको केन्द्र जस्तै थियो, फरक खेलका खेलाडी जम्काभेट हुन्थ्यो’, उनले पुरानो दिन सम्झँदै भने, ‘हामीले पनि बडगाउँ खेल मैदानमा कराँते सिकेका हौँ, त्योबेला बेग्लै जोश थियो, राष्ट्रका लागि खेल्नुपर्छ भन्ने हुटहुटी थियो । पछिल्ला दिनमा खेलाडीको खेलप्रति खासै उत्साह र चासो देख्दिन ।’ सशस्त्रको छेउमै खेलकुदलाई भनेर जग्गा छुट्याइएको भए पनि त्यो पर्याप्त नभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले बताए । उनका अनुसार खेलकुदलाई भनेर दिइएको जग्गा पनि विभिन्न सङ्घसंस्थाको नाममा रहेको छ । ‘हाम्रो खेल मैदान सानो र बर्खामा हिलाम्मे हुँदा खेलकुद प्रतियोगिता गर्न समस्या हुने भएकाले केही महिनाअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सशस्त्र प्रहरीको गण भित्रै सम्पन्न गर्यौँ’, अध्यक्ष गुरुङले भने, ‘जग्गा पनि हाम्रो नाममा छैन भोलि निकलेर जा भन्यो भने हट्नुपर्ने अवस्था छ ।’ पर्वतको खेल क्षेत्र सुस्ताउँदा युवा लागुऔषधको कूलततर्फ फसिरहेको स्थानीय युवा नरेन्द्र केसीले बताए । ‘कुश्माका युवा पनि लागुऔषधमा फसिरहेका छन्, उनीहरुलाई खेलकुदमा जोड्न सकिएको छैन’, उनले भने, ‘खेलकुदले नै युवालाई सही बाटो हिँड्न सघाउने भएको हुँदा अब राज्यले सशस्त्रलाई दिएको खेल मैदान फिर्ता गर्नुपर्छ । युवाले आफ्नै खेल मैदानमा खेल खेल्न पाउनुपर्छ ।’ खेल मैदानको अभावमा धेरै युवा कोठाभित्रै मोबाइलमा गेम खेलेर बस्ने अवस्था रहेको क्रिकेट खेलाडी सुरेन श्रेष्ठले बताए । उनले भने, ‘खेल मैदान त छ, तर सानो । सेभेन ए साइड फुटबल खेल्न पनि नमिल्ने खालको । क्रिकेट खेल्नका लागि छिमेकी जिल्ला बागलुङ जानुपर्छ ।’ उनले सशस्त्र बसेको खेलकुद मैदानमा आफूहरुलाई जतिबेला पनि निर्धक्कले खेल्न दिने वातावरण मिलाइदिन माग गरे । सो खेल मैदान २०६१ सालमा आफूहरुले खेलकुद विकास समितिमार्फत रु २५ लाखमा खरिद गरेको सशस्त्र प्रहरीको भनाइ छ । ‘मन्त्रिपरिषद्को निर्णय भएर जग्गा हाम्रो नाममा आएको हो’, सशस्त्र प्रहरी बल चण्डिका गण पर्वतका गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र बमले भने, ‘खेल खेल्नका लागि हामीले रोकेका छैनौँ, अनुशासित भएर खेल खेल्दा हुन्छ । विगतमा पनि विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न दिएका थियौँ, रोकावट गरेका छैनौँ ।’ रासस