काठमाडौं । बागमती प्रदेशमा घरजग्गा खरिद बिक्रीमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७८/७९ को वार्षिक प्रतिवेदनका अनुसार बागमती प्रदेशमा घरजग्गा रजिष्ट्रेशन संख्या २१.६ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा सो संख्या ३५.९ प्रतिशतले बढेका थियो ।
समीक्षा वर्षमा घरजग्गा रजिष्ट्रेशनबापतको राजस्व ३.३ प्रतिशतले घटेर रु.२४ अर्ब ७६ करोड कायम भएको छ । घरजग्गा कारोवार विशेषगरी ग्रामीण इलाकामा बढी र सहरी इलाकामा कम भएकोलेरजिष्ट्रेशनबापतको राजस्वमा कमी आएको प्रतिवेदनमा उल्लेख छ । गत वर्षको सोही अवधिमा यस्तो राजस्व ५८.८ प्रतिशतले बढेका थियो । समीक्षा वर्षमा घर/भवन नक्सापास सङ्ख्या ०.१५ प्रतिशतले बढेकोछ ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा बागमती प्रदेशमा विमानस्थलको संख्या ३ रहेको र सबै सञ्चालनमा रहेका छन् । त्यसैगरी, यस प्रदेशमा ५६ धार्मिक स्थल, ८ विश्व सम्पदा सुचीमा सूचिकृत सम्पदा र १९ पर्यटकीय पार्क रहेका छन् । आर्थिक वर्ष २०७८ सम्ममा बागमती प्रदेशमा हेरिटेज एवम् बुटिक होटलको संख्या ४, पाँच तारा स्तरका होटलहरुको संख्या ११, चार तारा स्तरका होटलको संख्या ७, तीन तारा स्तरका होटल २६, दुई तारा स्तरका होटलको संख्या २८, एक तारा होटलको संख्या २६, लक्जरी रिसोर्टको संख्या २, डिलक्स रिसोर्टको संख्या १ र साधारण रिसोर्टको संख्या ८४ रहेको छ ।
समीक्षा वर्षमा अध्ययनमा समेटिएका होटलहरुको औसत अकुपेन्सी ३६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष औसत अकुपेन्सी ७.२३ प्रतिशत मात्र रहेको थियो । कोभिडको असर न्युन हुँदै गएको, देशका अधिकांश जनताले भ्याक्सिन लगाएको, आन्तरिक तथा वाह्य पर्यटकीय गतिविधिमा उत्साह थपिएको लगाएका कारण पर्यटन आगमनको लय कोभिड अगाडि कै अवस्थामा फर्किने देखिएको छ ।
२०७८ साउनदेखि होटलहरुको अकुपेन्सीमा क्रमशः सुधार भएको देखिएको छ । २०७८ साउनमा १३.६३ प्रतिशत रहेको अकुपेन्सी २०७९ जेठमा ५७.९८ प्रतिशत पुगेको छ ।