विकासन्युज

कामनाले सुरु गर्यो एससीटी–युपीआई डेबिट कार्ड सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको हाे । बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाशले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका थिए । यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंक बच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ । एससिटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पिओएसके जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

पेट्रोल/डिजेलको मूल्य घटाउने तयारी

काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने तयारी गरेकाे छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले  निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै निगममा इन्धनको मूल्य घटाउने तयारी भइरहेकाे स्राेतले जनाएकाे छ । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो ।

बालेनका ५ कदम : चर्चा पाए, सफलता पाएनन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर हुन् बालेन्द्र शाह (बालेन) । स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयर चुनिएका बालेन सुरुवातीदेखि नै चर्चामा छन् । एक सामान्य इञ्जिनियर र र्याप गीत गायक बालेन महानगरको मेयरको उम्मेदवारीदेखि निर्वाचित भइसकेपछि पनि चर्चामै रहे । अहिले पनि उनको चर्चा रोकिएको छैन । नकारात्मक होस् वा सकारात्मक उनी सबैको केन्द्रबिन्दुमा छन् । बालेनले उम्मेदवारी दिँदा नै काठमाडौंको फोहोर व्यवस्थापनलाई प्रमुख एजेण्डा बनेर अगाडि बढे । उनको एजेण्डामा फोहोरको सास्ती भोगेका काठमाडौंवासी झुम्मिए । अर्थात् उनलाई अत्याधिक मत दिएर विजयी गराए । हुन पनि उनले काम नगर्दासम्म फुलमाला तथा खादा नलगाउने प्रतिबद्धता विजय भइसकेपछि गरेका छन् । मेयर बालेन निर्वाचित भएको भोलिपल्ट ओखरपौवास्थित डम्पिङ साइटमा काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने बाचा गरेका थिए । सोही बाचामा अडिग रहँदै उनले आज सपथग्रहणमा समेत माला लगाएनन् । उनले निर्वाचित भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा धेरै प्रयास गरे । तर, सिसडोलवासीले फोहोर व्यवस्थापन गर्न दिएनन् । प्रहरी र स्थानीयबीच ठूलो झडप भयो । लामो समयसम्म काठमाडौंको फोहोर उठेन । बालेनले फोहोर उठाउने काम प्रदेश र संघीय सरकारको पनि भएको भन्दै केही दिन चुप्प लागे । लामो समयसम्म काठमाडौंको फोहोर नउठेपछि मेयर बालेनको आलोचना सुरु भयो । पछि उनले सिसडोलवासीलाई कन्भिन्स गर्दै फोहोर उठाउन त सफल भए तर काठमाडौंको फोहोरको दीर्घकालिन व्यवस्थापन गर्नतर्फ उनको प्रयास देखिएन । अहिलेसम्म पनि पुरानै प्रक्रिया अनुसार काठमाडौंको फोहोर उठिरहेको छ । यसको दीर्घकालिन व्यवस्थापन गर्ने विषयमा काठमाडौं महानगरले कामा गर्न सकेको छैन । मेयर बालेनले चर्चा पाएको अर्को विषय हो काठमाडौंको फुटपाथ व्यवस्थापन । फोहोर उठेपछि उनी काठमाडौंको फुटपाथ व्यवस्थापनमा लागे । उनले महानगर प्रहरीलाई लगाएर फुटपाथका व्यापारीलाई हटाउन थाले । जुन विषयले उनले ठूलो आलोचना खेप्नु पर्यो । फुटपाथ व्यापारीले महानगर घेर्नेसम्मको काम समेत गरे । महानगर प्रहरीले फुटपाथ व्यापारीलाई हटाउँदा र सामान खोस्दाका केही भावुक दृशयहरु त्यतिखेर बाहिरिए । ती दृश्यले मेयर बालेनको आलोचनामा थप मलजल गर्यो । नगर प्रहरीले जबरजस्ती रुपमा ठेला व्यापारीहरुको सामान खोसेका भिडियोहरुको कारण बालेनको सञ्चारमाध्यममा समेत आलोचना भयो । महानगरपालिकाको उक्त शैलीप्रति धेरैले आक्रोश पोखे । तर, बालेनको उक्त कदमले पनि सफलता पाएन । अहिले पनि अधिकांश फुटपाथमा व्यापार भइरहेको छ । महानगरले त्यसतर्फ खासै ध्यान दिएको छैन । फुटपाथ व्यापारको विषय सेलाउन नपाउँदै बालेनले अनाधिकृत संरचना तथा अण्डर ग्राउण्ड पार्किङमा हात हाले । उनले सोही क्रममा धेरै ठाउँका संरचना हटाए पनि । डोजर लिएर आफै फिल्डमा उत्रिए । सुरुमा उनले वाहीवाही पाए । महानगरबाट भूमिगत पार्किङको स्वीकृति लिएर नक्सा पास गरेका तर त्यस्ता पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग गर्नेलाई कारवाही गर्ने संरचना भत्काउने काम उनले गरे । उनले सुरुमा अल्फाबिटामा निर्माण भएको अनधिकृत संरचनामा डोजर चलाएपछि त्यसको आलोचनासँगै प्रशंसा भएको थियो । सुरुमा महानगरपालिकाले ३५ दिने सूचना प्रकाशित गर्दै त्यस्ता संरचनाहरूलाई पार्किङ बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न भनेको थियो । तर, पछि अटेर गरेपछि अधिकांश अनधिकृत संरचना हटाउन उनी अघि सरे । तर, उनी त्यसको निरन्तरतामा चुकेका छन् । त्यसबेला हटेका संरचना पनि पुनः बनेका छन् भने हटाउनका लागि ताकेता गरेका संरचनाहरु पनि हटेका छैनन् । यस विषयमा अहिले बालेन मौन छन् । बालेनको प्रशंसा पाउने श्रृङ्खला त्यतिमै रोकिएन । जमिनभित्र लुकाएर राखेको टुकुचा खोला खोज्ने विषयले उनलाई चर्चाको ‘क्लाइमेक्स’मा पुर्यायो । हुनपनि उनले टुकुचा खोला भेटाए । सुरुमा उनले विभिन्न क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचनाहरू भत्काउने योजना अगाडि सारे । त्यस योजनाको सुरुवात उनले जय नेपाल हलबाट सुरु गरे । टुकुचा खोला पनि भेटियो । महानगरले तत्काल जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मको करिब ४ सय ५० मिटर टुकुचा खोला खोल्ने कार्ययोजना बनायो । बालेनको उक्त कदमले सबैको चर्चाको पात्र उनी बने । यति मात्रै होइन, महानगरले बेसमेन्ट खाली गराउने र टुकुचा खोला खोज्ने क्रममा हातिसारको लक्ष्मी बैंकको भवनमा एउटा गाडी भेटियो । विगतमा राजदरबारले प्रयोग गर्ने मर्सिडिज गाडी काठमाडौं हात्तिसारमा रहेको लक्ष्मी बैंकको बेसमेन्टमा भेटिएपछि त्यो घटनाले बालेनलाई थप चर्चामा ल्यायो । सो गाडीको विषयमा उनले सोधखोज गरेर त्यसलाई निष्कर्शमा ल्याउलान् भन्ने धेरैको अपेक्षा थियो । तर, विडम्वना त्यो विषय बिचमै सेलायो । टुकुचा खोला उत्खनन्को विषय पनि बिचमै रोकियो । बालेनले नयाँ विषयहरुको उजागर गर्दै गए । भनिन्छ नि ‘हिड्दै पाइँला मेट्दै’ हो, त्यसरी नै बालेनको योजना मर्दै गयो । उठान भएको विषयका निदान नहुँदै त्यो विषय सेलाउँदै गयो । केही दिन चर्चाका पात्र मात्रै बालेन बनिरहे । त्यसको अर्को उदाहरण हो, थापाथलीका सुकुम्वासी हटाउने प्रयास । केही साताअघि साता थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुम्वासी बस्ती हटाउने उनको प्रयास पनि विफल बन्यो । सुरुमा महानगर डोजर लिएर सुकुम्वासी बस्तीमा पसेपछि ठूलो विवाद भयो । सुकुम्बासीहरु हातमा तरबार, खुकुरी तथा विभिन्न हतियारहरु लिएर सडकमा निस्किए । महानगर प्रहरी र सुकुम्वासीको झडप पनि भयो । दर्जनौं मानिस घाइते भए । तयारी बिनै गरेको बालेनको उक्त प्रयासको पनि सामाजिक सञ्जालमा आलोचना र प्रशंसा भयो । धेरैले कुनै विकल्प विना सुकुम्वासीलाई हटाउनु पपुलिष्ट काम भने । कतिले बालेनले राम्रो काम गरेको भन्दै उनको तारिफ पनि गरे । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र बालेनको समाजिक सञ्जालमार्फत् यो विषयमा भनाभन समेत भयो । बालेन यस विषयको समाधान भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडसमेतलाई सहयोग माग्न पुगे । तर, विडम्वना यो विषय पनि बिचमै सेलायो । यी विषयले बालेनलाई चर्चा कमाउन सहयोग गर्यो तर उठान गरेका विषयको निदान हुन सकेन ।

स्मार्ट बन्दै काठमाडौं महानगर : साना कामका लागि पनि वडा कार्यालयमा जाने बाध्यता हट्दै

काठमाडौं । विश्वमा प्रविधिको उच्चतम् प्रयोग भइरहेको छ । अत्यन्तै झन्झटिला कामहरू पनि प्रविधिले निकै स्मार्ट तरिकाले सम्पन्न गर्न सक्षम छ । प्रविधिको प्रयोगले सेवाग्राहीलाई सेवा प्रदान गर्न सक्ने हो भने सेवाग्राहीको समय र पैसा दुवै जोगिन्छ । घण्टौँ लाइन बसेर सरकारी सेवा लिन बाध्य आमसर्वसाधारणलाई प्रविधिको माध्यमबाट सेवा दिन सक्ने हो भने घरमै बसी बसी आफ्नो काम गर्न सक्छन् । सर्वसाधारणलाई बिना झन्झट प्रविधिका माध्यमबाट सेवा प्रदान गर्ने सेवादाता बन्ने अभियानमा जुटेको छ काठमाडौं महानगरपालिका । लामो समय लाइनमा बसेर वडा कार्यालयबाट लिने विभिन्न सिफारिससँगै कर तिर्न भोगिरहेको झन्झटबाट काठमाडौं महानगरबासीले राहत पाउने भएका छन् । महानगरपालिकाले सेवाग्राहीको सहजीकरणका लागि ‘काठमाडौं महानगरपालिका सेवा प्रवाह’ नामक एपबाट सर्वसाधारणलाई ‘अनलाइन’ सेवा प्रदान गर्ने तयारी पूरा गरेको छ । सेवाग्राहीलाई स्मार्ट सेवा प्रदान गर्न महानगरपालिकाले २८ औं महानगर दिवसको अवसरमा सो एप सार्वजनिक गरेको हो । महानगरवासीलाई अधिकतम सेवा सहजरूपमा प्रदान गर्न डिजिटल सेवा शुरु गरिएको महानगर प्रमुख बालेन्द्र शाहले बताए । ‘सेवाग्राहीले आफूलाई चाहिएको सिफारिस तत्काल उपलब्ध गराउन सकिन्छ’, १७ नं वडाका वडाअध्यक्ष नवीन मानन्धरले भने । सेवालाई सहजीकरण गर्न लागु गरिएको एपको प्रयोग गर्न सबै वडाका अध्यक्ष र कर्मचारीलाई तालिम प्रदान गरिसकिएको महानगर सूचना प्रविधि समितिका संयोजकसमेत रहेका मानन्धरले जानकारी दिए । उनले सामान्य खालका सिफारिस मोबाइल एपबाटै लिन सकिने बताए । आवश्यक कागजात अपलोड गरेर महानगरले तोकेको सेवा शुल्क तिरेपछि डाउनलोड या प्रिन्ट गरी लिन सकिने गरी स्मार्ट सेवा दिन एप निर्माण गरिएको महानगर सूचना विभागका विभागीय प्रमुख नवराज ढकालको भनाइ छ । सेवाग्राहीको काममा प्रविधिको अधिकतम् प्रयोगलाई सहज गराउन हरेक वडाध्यक्षलाई ट्याबसमेत प्रदान गरिसकेको ढकालले बताए । स्मार्ट पालिका सफ्वेयर डेभलपरले तयार गरेको एपमा महानगरका विभिन्न महत्त्वपूर्ण जानकारी, आकस्मिक सम्पर्क, जनगुनासोलगायतका विषय पनि समेटिएको एप डेभलपर मनोहर भट्टराईले बताए । उनले जनताले एउटै एपबाट अधिकतम सुविधाको उपयोग गर्न पाउने गरी तयार भएको बताउँदै यसको प्रयोगबाट महानगरबासीले स्मार्ट पालिकाको स्मार्ट सेवा प्राप्त गर्ने दावी गरे । उनका अनुसार यसअघि यस्तै प्रकृतिको सेवा वालिङ नगरपालिकामा सञ्चालन र प्रयोग भइसकेको छ भने त्यसको परिष्कृत संस्करणमा तयार गरिएको एप महानगरले सञ्चालनमा ल्याएको हो । एकदमै राम्रो शुरुआत भएको भन्दै वडाअध्यक्षहरूले यसलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् । उनीहरूका अनुसार यसले वडा कार्यालयको ६० देखि ७० प्रतिशत सेवाग्राहीको चाप कम हुनेछ । ‘यो एप पूर्णरूपले सञ्चालनमा आयो भने वडा कार्यालयमा हुने ७० प्रतिशत सेवाग्राहीको चाप घट्छ’, वडा नं वडाध्यक्ष ख्यामराज तिवारी भन्छन्, ‘साना साना कामका लागि पनि वडा कार्यालयमा आउनु पर्ने बाध्यता हट्ने भएकोले सेवाग्राही र महानगर दुवैका लागि यो अत्यन्तै उपयोगी छ ।’

मंसिर महिनामा ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बन

काठमाडाैं । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमति पत्र(लाइसेन्स)लाई निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच ९५० पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । निलम्बनका लागि पठाईएका सबै भन्दा धेरै कारवाहीमा १ जना ४४ पटक , ३५ पटक कारवाही १ जना , २४ पटक परेका ३ जना , १४ पटक परेका १ जना , १२ पटक परेका ७ जना ,७ पटक परेका २ जना र ६ पटक कारवाहीमा परेका ४५ जना गरी जम्मा ६० जनाका सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको हो । ट्राफिका नियम उल्लघंन गरीरहने चालकहरु बाट नै सवारी दुर्घटना भएको तथ्याङकले समेत देखाएको भट्टले बताए । ‘सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यस अघि पनि पटक पटक कारवाहीमा परेको पाइएकाे छ,’ उनले भने ।

अशोक लेल्याण्डको भाइकिंग १२एम प्राइम बस नेपालमा लन्च 

काठमाडौं । अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपाली बजारमा ल्याएको छ । आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले अझ धेरै सुविधा र अत्याधुनिक र उत्कृष्ट प्रविधिसहितको १२ मिटर भाइकिङ बस सञ्चालनमा ल्याउन पाउँदा खुशी भएकाे बताए । ‘लामो दुरीको यात्रा अब ग्राहकका लागि थप सहज र सुरक्षित र सञ्चालक र मालिकहरूका लागि बढी लाभदायक हुने कुरामा निश्चित छ,’ उनले भने । ४४ सिट भएकाे यस बसमा टर्बोचार्जर र इन्टरकुलर सहितको ५,७६० सीसी एच सिरिज ६ सिलिन्डर डिजेल इन्जिन रहेकाे छ, जसले १८० एचपी पावर र ६७० एनएम टर्क जेनेरेट गर्दछ । यस बसमा मर्मत खर्च घटाउने इनलाइन इन्धन पम्प रहनुकाे साथै न्युमेटिक एक्च्युएसनसहितको १५ इन्चको क्लच र ओभरड्राइभसहितको श्ँट फर्वार्ड स्पीड सिन्क्रोमेश गियरबक्स रहेकाे छ । एबीएस र सेवा ब्रेक, पार्किङ ब्रेक र सहायक ब्रेक जस्ता अन्य विभिन्न प्रविधिहरूले बसलाई सजिलै रोक्न वा सञ्चालनमा ल्याउन भूमिका खेल्ने कम्पनी बताउँछ । साथसाथै यस बसमा ३५० लिटरको इन्धन ट्याङ्की र ६,२०० एमएम लामो ह्वीलबेस पनि रहेकाे छ ।      

बाह्रबिसेमा ८ कक्षासम्मलाई दिवाखाजा र निःशुल्क शिक्षा

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले कक्षा ६ सम्म दिँदै आएको दिवाखाजालाई बढाएर आठ कक्षासम्म उपलब्ध गराउने भएको छ । साथै १२ कक्षासम्म कुनै पनि प्रकारको शुल्क नलिने घोषणा गरेको छ । नगरपालिका प्रमुख बालकृष्ण बस्नेतका अनुसार नगरभित्र रहेका ५४ विद्यालयलमा दिवाखाजा र निःशुल्क शिक्षाको सुरूआत गरिएको बताए । ‘नगरभित्र यो शैक्षिक सत्रमा भर्ना भएका छ हजार सात सय विद्यार्थीले कुनै किसिमको शुल्क तिर्नुपर्दैन’, नगरप्रमुख बस्नेतले भने, ‘कुनै पनि विद्यालयले नगरको परिपत्रविपरीत शुल्क लिए कारबाही गरिनेछ ।’ माध्यमिक विद्यालयलाई आवश्यक सबै शैक्षिक सामग्री नगरले उपलब्ध गराएपछि विद्यार्थीसँग शुल्क लिन नपाउने उनले बताए । दिवाखाजा, परीक्षा शुल्क र विज्ञान सङ्कायको प्रयोगशालालाई लाग्ने अतिरिक्त खर्च नगरपालिकाले बेहोर्ने भएको छ । जसका लागि दुई करोड ६० लाख रकम छुट्याइएको छ । शिक्षा शाखा प्रमुख विनोद कार्कीले राज्यले संविधानमा उल्लेख गरेको शिक्षासम्बन्धी प्रावधान नगरपालिकाले यो वर्षदेखि कार्यान्वयन गरेको बताए । रासस

पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत अघि बढ्दैछ तीनकुनेको पुल निर्माण

काठमाडौं । लामो समयसम्म रोकिएको तीनकुने पुल निर्माण अघि बढेको छ । पुरानो ठेक्का तोडेर गत साउनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएकामा अहिले निर्माण कम्पनीले डिजाइनको काम अघि बढाएको छ । साढे तीन वर्ष अवधिको सो ठेक्का निर्माणको पहिलो छ महिना ठेक्कामा लाग्ने र डिजाइन स्वीकृत भएपछि भौतिक काम गरिने काठमाडौं उपत्यका सडक विस्तार योजनाले जनाएको छ । निर्माण कम्पनीले पेस्की लगेको र डिजाइन गरिरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए । उनले भने, ‘डिजाइनका लागि काम गरिरहेको जानकारी कम्पनीले दिएको छ ।’ निर्माण कम्पनीले डिजाइन तयार गरेर पहिले आयोजनालाई दिने र उसले विभाग पठाएर स्वीकृत भएपछि काम हुने छ । बिजुलीबजारको पुलजस्तै यहाँको पुल आधुनिक प्रविधि ‘आर्क एन्ड ब्रिज’ निर्माण गर्न लागिएको हो । पहिलोपटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनः यो वर्ष नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्ने गरी डिजाइन एण्ड विल्ड मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कूल ४२ महिनामा सक्ने गरी यसको ठेक्का वाइ/पि/किरातेश्वर जेभीलाई दिइएको छ । सो ठेक्काको रकम २४ करोड ५९ लाख ६७ हजार रुपैयाँँ छ । यसअघि सो पुल निर्माणको काम पप्पु कन्स्ट्रक्सनले गरेको थियो । पहिले भएको काममध्ये दुवैतिरको पुलको केही भाग रहे पनि अधिकांश काम लागेको छैन । सरकारले दुई वर्ष पहिले पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेको थियो । निर्माण कम्पनीबाट जमानत जफत गरिसकिएको सूचना अधिकारी जोशीले बताए । नयाँ निर्माणका लागि कम्पनीले रकम बोहोर्नुपर्ने हुन्छ । सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको थियो । यसअघि निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै निर्माणको काम सुरु भएको केही समयमा नै रोकिएको थियो । सो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो । पुरानो कम्पनीसँगको ठेक्का तोडेर नयाँ ठेक्कामा जान झण्डै एक वर्ष लाग्यो । ठेक्का तोडेपछि निर्माण कम्पनी अदालत गयो । अदालतको अन्तरिम आदेशका आधारमा तत्काल नयाँ ठेक्का हुन सकेको थिएन । सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारस्थित धोबीखोला पुल तीन वर्ष पहिले बनेर सञ्चालनमा छ । तीनकुने पुल पप्पु कन्स्ट्रक्सनसँग २१ करोड रुपैयाँमा ठेक्का भएको थियो । लामो समय व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल उल्टै बनिसकेका संरचनासमेत भत्काएर नयाँ निर्माण गरिएको छ । यसअघि पुल निर्माणस्थलमा खानेपानी, विद्युत्लगायतका संरचना हटाउन समय लागेपनि अहिले त्यो समस्या हटिसकेको छ । निर्माण कम्पनीले काम सरासर गर्दा तोकिएको अवधिमा गर्नसक्ने प्रवक्ता जोशीले बताए । प्रतिनिसिभाअन्तर्गत विकास तथा प्रविधि समितिले पुल निर्माणमा समस्या देखिएको भन्दै त्यसलाई अघि नबढाउन र निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको थियो । जगको काम हुँदा नै समस्या भएकाले त्यो अघि बढ्न सकेको थिएन । निर्माण कम्पनीले डिजाइनअनुसार काम नगरेको भन्दै सडक विभागले त्यसलाई सच्याउन भने पनि उसले अटेर गरेकाले ठेक्का तोडिएको थियो । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य भएपछि मात्रै नयाँ प्रक्रियामा जान बाटो खुलेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाले काठमाडौंको व्यस्त सडकमा भएको सवारी चाप कम गर्न र सहरको सुन्दरता बढाउन भन्दै ‘आर्क एन्ड ब्रिज’ निर्माण अघि बढाएको थियो । मुख्य सडकका दायाँबायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता गरियो । बिजुली बजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेर त्यहाँको सडक व्यवस्थापन सजिलो भएको छ । अरू सामान्य पुलमा तल्लो भागमा भएपनि यसमा भार माथिल्लो भागमा पर्नेछ । अरू पुलको तुलनामा यसको अवधि लामो हुने जनाइएको छ । काठमाडौं उपत्यकाको सवारी चाप बढिरहेको सडकमा माइतीघर–कोटेश्वर सडक छ । एक दशक पहिले छ लेनमा सडक विस्तार भएको थियो । त्यतिबेला सडक मात्रै विस्तार भएकामा अहिले काठमाडौँका धोबीखोला र वाग्मती खोला पुलसँगै भक्तपुरमा पुल विस्तार अघि बढाइएको छ ।