देशमा उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी छ – सांसद पौडेल
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए । उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो । उनले निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने बताए । नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने बताए । उनले मत प्राप्त गरेपनि अब आम नागरिकको मन जित्न जरुरी रहेको बताए । नेता पौडेलले भने, ‘हाम्रा प्रतिवद्धतामा हामी अडिग छौँ । राजनीतिक व्यथितिको अन्त्य गर्नेछौँ । स्थानीय समस्या समाधान गर्नेछौँ । कुरा भन्दा पनि हामीले गरेका कुरा पूरा गर्नेकुरामा हामी लाग्नेछौँ । उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी छ । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी छ । आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी छ । त्यसोभए रोजगारीको अवसर सिर्जना हुनसक्छ ।’ नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने प्रतिवद्धता जनाए ।
दुर्घटनामा टर्किएमा छ जना आप्रवासीको मृत्यु
एजेन्सी । टर्किएको दक्षिणपूर्वी सानलिउर्फा प्रान्तमा शुक्रबार एउटा मिनीबस सिँचाइ नहरमा खस्दा कम्तीमा छ जना गैरकानुनी आप्रवासीको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका स्थानीय गभर्नरले बताएका छन्। घाइते आप्रवासीहरूको उपचार भइरहेको छ र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको गभर्नर सालिह आयहानले बताएका छन् । मिनिबसबाट केही घाइते आफैं बाहिर निस्केका थिए भने केहीको घटनापछि स्थानीयको सहयोगमा उद्धार गरिएको गभर्नरले जानकारी दिएका छन् । मिनिबसमा जम्मा ३१ जना आप्रवासी सवार रहेको बुजीएको छ । घटनास्थलबाट भाग्न खोज्ने गाडीका चालकलाई स्थानीय अधिकारीहरूले समातेर हिरासतमा राखेका छन् । आठ करोडभन्दा बढी जनसङ्ख्या भएको टर्किएले ४० लाखभन्दा बढी शरणार्थीहरूलाई आप्रवासन सुविधा दिएको छ । केही आप्रवासीहरू वरपरको क्षेत्रको द्वन्द्वबाट भागेर टर्किएमा आउँछन् भने कोही टर्किएबाट युरोप जाने उद्देश्यले आउने गर्छन् । टर्कीको आन्तरिक मन्त्रालयले यस महिनाको शुरुमा सार्वजनिक गरेको जानकारी अनुसार हालसम्म सन् २०२२ मा दुई लाख १९ हजार ४५५ अनियमित आप्रवासीलाई पक्राउ गरेको छ।
चितवनमा ३ वटा महोत्सव हुने
चितवन । जिल्लामा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन् । चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म नौ दिन हुनेछ । यस्तै थारु समुदायको कला संस्कृति जगेर्ना गर्न प्रत्येक वर्ष गरिँदै आएको खिचरा महोत्सव थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले पुस २९ गतेबाट माघ ९ गतेसम्म हुनेछ । खैरहनी नगरपालिका–५ जनकौलीस्थित गौचरनमा महोत्सव हुनेछ । यस्तै उद्योग वाणिज्य सङ्घ खैरहनीको आयोजनामा पुस २८ देखि माघ ८ गतेसम्म खैरहनी महोत्सव हुनेछ । खैरहनीको लदरी खोला किनारमा महोत्सव आयोजना गरिँदै छ । चौधौँ संस्करणको चितवन महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चिवनका अध्यक्ष चुमनारायण श्रेष्ठले यस वर्षको महोत्सव विगतको भन्दा परिस्कृत हुने बताए । उनका अनुसार महोत्सवमा झण्डै पाँच सय स्टलमा स्वदेशी र विदेशी उत्पादनको प्रदर्शनी र बिक्री हुनेछ । सात लाख हाराहारीले अवलोकन गर्ने लक्ष्य लिएको महोत्सवमा दैनिक आर्थिकसम्बन्धी गोष्ठी हुने छन् । विभिन्न धर्म, संस्कृति र पर्यटन प्रवद्र्धनमा समेत महोत्सव केन्द्रित हुनेछ सँगै रहेको नारायणी नदीमा जलक्रिडाको व्यवस्था गरिँदै छ । विसं २०७० बाट सुरु भएको खिचरा महोत्सव थारु समुदायको नयाँ वर्षको अवसर पारेर आयोजना गरिँदै आएको छ । माघ १ गतेलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । महोत्सव आयोजक मूल समारोह समितिमा संयोजक कृष्णलाल चौधरीका अनुसार ‘राष्ट्रिय एकता र विविधता हाम्रो सान । बहुजाति भाषा संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ हुन लागेको हो । महोत्सवमा थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषाभुषाा सहित संस्कृतिक प्रस्तुती, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, थारु समुदायको विशेष परिकार, थारु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र व्यवस्थापन गर्ने, होमस्टे संरक्षण र प्रवद्र्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सवले सहयोग पुग्ने उनले जानकारी दिए। महोत्सवमा एक सय ३० वटा स्टल रहने छन् । ५५ लाखको खर्चमा हुन लागेको महोत्सवमा ५० हजार दर्शकले अवलाकन गर्ने अनुमान गरिएको छ । यस्तै खैरहनी महोत्सव तीन सय स्टल रहनेछन् । आयोजक समितिका संयोजक एवं खैरहनी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपेन श्रेष्ठका अनुसार यो दोस्रो संस्करणको महोत्सव हो । यसअघि विसं २०७५ मा महोत्सव आयोजना गरिएको थियो । हरेक दुई दुई वर्षमा गर्ने योजना भए पनि कोभिडका विगतका वर्षहरुमा महोत्सव हुन सकेको थिएन । खिचरा महोत्सव त्यसै समयमा परेकाले एक दुई दिन तलमाथि हुन सक्ने गरी तयारी गरिएको छ । यस वर्ष महोत्सवमा विगतको भन्दा फरक ढङ्गले लदरी खोलालाई थुनेर पानीमा हुने गतिविधि सञ्चालन गरिने उनले बताए । महोत्सवले जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले महोत्सवमा स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘यस्ता महोत्सवले आर्थिक चलायमान गराउँछ ।’ उद्योग वाणिज्य सङ्घ चितवका पूर्वअध्यक्ष राजन गौतमले महोत्सव हाटबजारजस्तो हुन नहुने बताउँदै अर्थतन्त्रलाई चलायमान हुनसक्ने गरी व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।
मध्यपुरथिमिमा निःशुल्क बिमा सेवा सुरु
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ । यही पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए। नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको पहुँच पु¥याउने उद्देश्यले पाँच जनासम्मका परिवार, आश्रित बालबालिका र ६० वर्षदेखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयनमा ल्याएको उनले बताए । नगरपालिकाका उपप्रमुख श्रेष्ठले भने, ‘नगरपालिकाले पहिलोपटक निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ, पाँच जनासम्म परिवार सङ्ख्या भएका सबै नागरिकलाई बिमाबापतको तीन हजार पाँच सय प्रिमियम रकमसमेत नगरपालिकाले व्यहोर्ने छ, बाबुआमा नभएका टुहुरा नाबालक जो ज्येष्ठ नागरिकप्रति आश्रित रहेका छन् उनीहरुको पनि सबैको स्वास्थ्य बिमाको प्रिमियम रकम नगरपालिकाले नै व्यहोर्ने छ ।’ उनले ७० वर्षभन्दा माथिका नागरिकको हकमा सरकारले नै एक लाखसम्मको स्वास्थ्य बिमा निःशुल्क गरिदिएकाले त्यसको हकमा नगरपालिकाले निर्णय गर्नु नपरेको बताए । उनले यसका लागि नगरपालिकाले बजेट विनियोजन गरेर निर्णयलगत्तै कार्यान्वयनमा ल्याएको बताए। शुक्रबार नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बागमती प्रदेश बिमा बोर्डका पदाधिकारीसहितको बैठकले नगरपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यविधि २०७९ बमोजिम यस्तो निर्णय गर्दै निर्णय कार्यान्वयनमा ल्याएको हो । परिवारमा पाँच जनाभन्दा बढी सङ्ख्या रहेको अवस्थामा प्रिमियम रकमभन्दा माथि प्रतिव्यक्ति रु सात सय बिमाबापतको रकम भने परिवारले नै व्यहोर्नु पर्नेछ । नगरपालिकाका प्रमुख श्रेष्ठले कुनै पनि नागरिकले पैसा नभएकै कारण स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा र उपचार सेवा सुरु गरेको जानकारी दिए । वडाध्यक्ष कृष्णकुमार प्रजापति, कार्यपालिका सदस्य सरस्वती खड्का र बालकृष्ण परियारले बिमा गरी ज्येष्ठ नागरिक स्वास्थ्य बिमाको सुरुआतसमेत गरेका छन् ।
नेशनल माइक्रोफाइनान्सद्धारा मकवानपुरगढीमा वित्तीय साक्षरता सम्पन्न
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मकवानपुर, ८ बुडीचौरमा साक्षरता तथा अभिभावक भेला सम्पन्न गरेको छ । संस्थाको शाखा कार्यालय आमभञ्याङ, मकवानपुर द्वारा पुस १ गते मकवानपुर–८, बुडिचौर मकवानपुरमा वित्तीय साक्षरता तथा अभिभावक भेला कार्यक्रम सम्पन्न गरेको हो । संस्थाको पदमपोखरी शाखाका शाखा प्रमुख आरति योञ्जनको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा स्थानीय समाजसेवी रोप बहादुरले धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए । बिशेष अतिथि संस्थाका अनुगमन अधिकृत उन्नती बांस्तोलाले लघुवित्तको इतिहास, नेपालमा लघुवित्तको अवस्था, नेशनल माइक्रोफाइनान्सको कारोवार, संस्थाले प्रदान गर्ने सेवा सुविधाहरु (बचत, कर्जा, बिप्रेषण, लघुबिमा) साथै बचत गर्ने बानीको बिकास कसरी गर्ने, कर्जाको प्रयोग तथा सदुपयोग गर्ने तरिकाको बारेमा जानकारी गराएका थिए । स्थानीय सिताराम कार्की बालानन्द तिमल्सेना, गोकुल प्रसाद देबकोटा लगायतले मन्तब्य राखेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि तथा मकवानपुरगढी वाड नं. ८ का वडा अध्यक्ष कुमार सिं धिसिङले संस्थाले प्रदान गरेको सेवा तथा सुविधाहरु राम्रो रहेको र स्थानीय सरकार समेत यस कार्यक्रमसँग समन्वय गरेर अघि बढ्न तयार रहेको जानकारी गराएका थिए । धादिङ जिल्लाको धादिङवेशीमा केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को हाल ६४ जिल्लामा ९९ शाखा कार्यालय बाट १ लाख ४९ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरेको छ । ३ अर्व १६ करोड बचत संकलन गर्न सफल संस्थाले यस अवधिमा ११ अर्व ३७ करोड कर्जा प्रवाह गरेको छ । हालै अर्को राष्ट्रिय स्तरको समिट लघुवित्त वित्तिय संस्थासँग मर्जरको प्रारम्भिक सम्झौता गरेको संस्थाले ०७८/०३/३० मा महिला सहयात्रा लघुवित्त संस्थालाई एक्वायर गरेको थियो ।
पोषणको महत्व नबुझ्दा अण्डा उपभोग न्यून
चितवन । न्यून लागत मूल्यमा पाइने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठको भनाइमा अण्डामा हाम्रो शरीरलाई चाहिने सबै किसिमका पौष्टिक तत्व पाइन्छ । अण्डामा प्रशस्त मात्रामा उच्च गुणस्तरको प्रोटिन पाइने बताउँदै उनले भने, ‘गेँडागुडी, माछामासुमा पाइने प्रोटिनभन्दा अण्डामा पाइने प्रोटिन शरीरको लागि चाहिने उच्च गुणस्तरीय हो ।’ अण्डाको प्रोटिन आमाको दूधमा पाइनेभन्दा दोस्रो गुणस्तरको प्रोटिन भएको उनको भनाइ छ । ‘हाम्रो शरीरलाई चाहिने सबै किसिमका आवश्यक एमिनो एसिड अण्डामा पाइने भएकाले अण्डालाई पूर्ण प्रोटिन पनि भनिन्छ’, उनले थपे, ‘अण्डाको प्रोटिनले शरीरको वृद्धि विकास गर्न, शरीरमा भएका घाउ निको पार्न, विभिन्न किसिमका रोगसँग लड्ने दक्षता बढाउन, शरीरमा मांसपेशी निर्माण गर्न मद्दत गर्दछ ।’ एउटा अण्डामा लगभग छ ग्राम प्रोटिन, पाँच ग्राम फ्याट, भिटामिन ए, डि, इ, बि १२ पाउनुका साथै विभिन्न खनिज पदार्थ पाइने श्रेष्ठ बताउँछन् । उनका अनुसार अण्डाको सेतो तथा पहेला दुवै भागमा प्रचुर मात्रामा पौष्टिक तत्व पाइने भएकाले हाम्रो शरीरको लागि दुवै भाग महत्वपूर्ण हुन्छ । सेतो भागमा अण्डामा पाइने सम्पूर्ण प्रोटिनको आधाभन्दा बढी प्रोटिन पाइनुका साथै अरु खनिज पदार्थजस्तै क्यालसियम, म्याग्नेसियम, पोटासियम, सेलेनियम, सोडियम, सल्फर, जिंक आदि पाइने उनको भनाइ छ । अण्डाको पहेँलो भागमा धेरै भात्रामा ओमेगा थ्री फ्याटी एसिड (राम्रो चिल्लो) र थोरै मात्रामा नराम्रो चिल्लो (स्याचुरेटेड फ्याट) पाइने उनको भनाइ छ । अण्डा खाएपछि तुरुन्त भोक नलाग्ने भएकोले तौल कम गर्न चाहने मानिसका लागि यो फाइदाजनक हुने श्रेष्ठ बताउँछन् । उनले अगाडि थपे, ‘अण्डा बच्चा, बूढाबूढी, गर्भवती महिला, दूध खुवाउने आमा, क्यान्सर तथा विभिन्न रोगका बिरामी सबैका लागि एकदम आवश्यक हुन्छ ।’ एउटा स्वस्थ मानिसले दैनिक एकदेखि दुई वटा अण्डा खान ठीक मानिने बताउँदै उहाँले धेरै प्रोटिन चाहिने मानिसले थप एक दुई अण्डाको सेतो भाग खान सक्ने सुझाव दिए। मुटुको रोग, मधुमेह, उच्च कोलेस्टेरोलको समस्या नभएका क्यान्सरका बिरामी तथा अन्य रोगका बिरामीका लागि शल्यक्रिया गरेका घाउ चाँडो निको पार्न, शरीरमा रगतको मात्रा बढाउन, शरीरमा मांसपेशी बढाउन, रोगसँग लड्ने क्षमता बढाउन आदिको लागि दिनको एक दुई पूरा अण्डा खान फाइदाजनक हुने उनी बताउँछन्। उनले भने, ‘बढी प्रोटिन चाहिने बिरामीले थप अण्डाको सेतो भाग खान सक्छन् । मधुमेह, मुटुका रोगी तथा उच्च कोलेस्टेरोल भएका बिरामीले हप्तामा तीन–चार वटा अण्डा खान सक्छन् भने सेतो भाग शरीरको आवश्यकताअनुसार दिनहुँ खान सक्छन् ।’ फिजिसियन डा महेन्द्र अग्रहरी प्रोटिनको सबैभन्दा राम्रो स्रोत अण्डा भएको बताउँछन । पहेँलो भागमा कोलेस्ट्रोल र मिनिरल्स पाइन्छ । उनले बच्चालाई कोलेस्ट्रोल पनि चाहिने हुँदा पहेलो भाग खुवाउनुपर्ने बताए । कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप भएकालाई पहेँलो भाग नखान उनको सुझाव छ । मादक पदार्थ धेरै खाएर प्रोटिनको मात्रा घटेका, कलेजोमा समस्या देखिएकाले प्रोटिन बढाउने मुख्य माध्यम अण्डा भएको डा. अग्रहरीको भनाइ छ । उनले भने, ‘अण्डाले कलेजो र शरीरमा थिग्रिएको पानीलाई सोस्न सहयोग गर्छ ।’ वयस्क र बच्चाका लागि दैनिक कम्तीमा एउटा अण्डा खानुपर्ने उनको सुझाव छ । शारीरिक, मानसिक वृद्धि सबैमा अण्डा उपयोगी हुने उनको भनाइ छ । मानिसलाई बुझाउन नसक्दा अण्डाको उपयोग कम भएको बताउँदै उनले यसका लागि उपयुक्त माध्यम जनचेतना नै भएको बताए। विश्वको तुलनामा नेपालमा अण्डाको उपभोग निकै कम छ । नेपाल पशु चिकित्सक परिषद्का उपाध्यक्ष, वरिष्ठ पशु चिकित्सक डा सुवीरसिंह एशियाका मानिसले वार्षिक एक सय ८० अण्डा उपभोग गर्नुपर्ने भए पनि नेपालमा यो दर ६१ मात्रै रहेको बताए । जापानमा यो दर तीन सय ६२ रहेको उनले जानकारी दिए । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट कम मूल्यमा पाइने स्वास्थ्यवद्र्धक अण्डाको महत्वको बारेमा आम नागरिकलाई जानकारी गराउन नसकिएको बताउँछन् । बालबालिकालाई खाजाको रुपमा ड्राइफुड प्रयोग भइरहेको भन्दै उनले आमनागरिकलाई जनचेतना जगाएर अण्डाको उपभोगलाई बढाउनुपर्ने बताए । नेपालमा अहिले एउटा अण्डा उत्पादन गर्न १५ हाराहारी लागत खर्च हुने गरेको छ । किसानले बिक्री गर्ने मूल्य १० हाराहारी छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेल बालबालिकालाई अस्वस्थ खाजा प्रयोग भइरहेको भन्दै राज्यले नै यस्ता कुरा निरुत्साहित गरेर अण्डाको उपभोग बढाउने नीति बनाउनुपर्ने बताउँछन् ।
फेरिएका प्रतिनिधि, नेफेरिएको काठमाडौं (फोटोफिचर)
टुडिखेलमा राखिएको निर्माण सामाग्री । काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीच रस्साकस्सी छ । कुनैपनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरु छन् । तीनकुनेस्थित ढल मिसिएको वागमती नदि । आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरु जिल्लावासीहरुसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदैछन् । अबको महिना दिनभित्र सम्भवतः देशले नयाँ सरकार पाउनेछ । आम जनताहरु देश विकासमा राजनीतिक दलहरुले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ । किनभने ठूला मानिएका राजनीतिक दलहरुका अगाडि नयाँ शक्तिहरुको उदय भएको छ । गोगबु स्थित चक्रपथमा अलपत्र अवस्थामा राखिएको ढल, धुलाम्मे सडक र पार्किङ । जनताले विकास चाहेका छन् त्यो पनि तिब्र गतिमा । तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल सावित हुन सकिरहेको छैन । अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारणहरु आशावादी छन् । तर निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाडौं उपत्यकाको अवस्था भने निर्वाचनअघिको भन्दा फरक देखिँदैन । जताततै अस्तव्यस्त देखिन्छ । भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन भएको छैन । विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापन बिनाको विकास निर्माण दिगो हुन सक्दैन । त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ । नयाँ सडकमा मोटर साइकल पार्क गरिदै । प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिव १ महिना पुग्नै लागेको छ । तर काठमाडौं उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँहरु धेरै भेटिन्छन् । मर्मतसम्भारका लागि शुरु गरिएका ठाउँहरुमा पनि त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत प्रतिनिधिहरुको खासै चासो देखिँदैन । न त राम्रोसँग फोहोर व्यवस्थापन भएका छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन् । न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सरसफाईको काम भएको छ । सिहदरवारको पश्चिम ढोका अगाडिको झुपडी । एक महिनाको बीचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई जनप्रतिनिधिहरुले खासै चासो दिएको देखिँदैन । आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ । तर अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरुले जनतालाई भmुटो आश्वासनहरु दिइरहने हो भने आगामी दिनमा ठूला राजनीतिक दलहरुको भविष्य धरापमा पर्ने निश्चित छ । फोटो : न्युज एजेन्सी नेपाल ।
किड्स डान्स, र्याप र डेटिङ रियालिटी शो आउँदै, तीन वटा रियालिटी शो एकसाथ घोषणा
काठमाडौं । स्पेस फोर के टेलिभिजनले एकसाथतीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाहरुको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरुको नृत्य शो ‘र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो । काठमाडौंको एक पाँचतारे होटलमा पत्रकार सम्मेलन गरी स्पेस फोर के ले एकसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिम समेत सार्वजनिक गरेको छ । पत्रकारहरुको बाक्लो सहभागिता रहेको पत्रकार सम्मेलनमा तीन वटै रियालिटी शोका निर्णायक तथा निर्देशकहरुले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए । र्याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, मिस्टर डी सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन् । त्यसैगरी जस्ट डान्स लिटिल मास्टर्समा चर्चित नायिका सञ्चिता लुईटेल, चर्चित कोरियोग्राफर प्रदिपलामा, बलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन भने फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड चर्चित नायक तथा प्रस्तोता रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन् । कार्यक्रममा स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा क्षमताहरुलाई अन्वेषण गर्ने र त्यस्ता क्षमताहरुलाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शोहरु ल्याइएको बताए ।तीन वटै रियालिटी शोका बारेमा पक्कै पनि विभिन्न कोणबाट चर्चा हुनसक्ने उल्लेख गर्दै उनले यीशो मनोरन्जन र सन्देशमूलक दुबै हुने बताए । आजको विकसित समाज धेरै खुल्ला र अगाडि बढिसकेको उदाहरण दिँदै उनले नेपाली समाजभने अझै संकिर्ण र रुढिगत रहेको टिप्पणी गरे । कार्यक्रममा जस्ट डान्स लिटिल मास्टरर्सका निर्णायक तथा नायिका सञ्चिता लुइटेलले बच्चाहरुको बालमनोविज्ञानमा आधारित भएर बालबालिकाहरुमा रहेको क्षमतालाई प्रष्फुटन गर्न यो शोले महत्वपूर्ण योगदान गर्ने बताइन् । उनले बालबालिकाहरु काचो माटो भएको र उनीहरुमा भरपूर सिर्जनात्मकता हुने बताइन् । त्यो क्षमतालाई यो शो ले राम्रो एक्सपोजर दिने बताइन् । त्यसैगरी र्याप स्टारका निर्णायक तथा चर्चित र्यापर गिरिश खतिवडाले नेपाली समाजमा र्यापलाई हेर्ने दृष्टिकोण फरक भएपनि र्याप विधाले समाजको चित्रण गर्ने बताए । पे्रमिल जोडीहरुमा आधारित भएर निर्माण गरिएको डेटिङ रियालिटि शो फस्ट डेटले दर्शकहरुलाई मनोरञ्जन दिनुका साथै सपरिवार हेर्न मिल्ने गरी सभ्य तरिकाले निर्माण गरिने सर्जक रेमन्ड दास श्रेष्ठले बताए । डेटिङ रियालिटि सो फस्ट डेट फागुन महिनामा, त्यसैगरी डान्स रियालिटि सो जस्ट डान्स लीटिल मास्टर्स आउँदो बैशाख र सिङ्गिङ रियालिटि सो र्याप स्टार पुस महिनादेखि स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुनेछन् ।