काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर हुन् बालेन्द्र शाह (बालेन) । स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयर चुनिएका बालेन सुरुवातीदेखि नै चर्चामा छन् । एक सामान्य इञ्जिनियर र र्याप गीत गायक बालेन महानगरको मेयरको उम्मेदवारीदेखि निर्वाचित भइसकेपछि पनि चर्चामै रहे । अहिले पनि उनको चर्चा रोकिएको छैन ।
नकारात्मक होस् वा सकारात्मक उनी सबैको केन्द्रबिन्दुमा छन् । बालेनले उम्मेदवारी दिँदा नै काठमाडौंको फोहोर व्यवस्थापनलाई प्रमुख एजेण्डा बनेर अगाडि बढे । उनको एजेण्डामा फोहोरको सास्ती भोगेका काठमाडौंवासी झुम्मिए । अर्थात् उनलाई अत्याधिक मत दिएर विजयी गराए ।
हुन पनि उनले काम नगर्दासम्म फुलमाला तथा खादा नलगाउने प्रतिबद्धता विजय भइसकेपछि गरेका छन् । मेयर बालेन निर्वाचित भएको भोलिपल्ट ओखरपौवास्थित डम्पिङ साइटमा काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने बाचा गरेका थिए । सोही बाचामा अडिग रहँदै उनले आज सपथग्रहणमा समेत माला लगाएनन् ।
उनले निर्वाचित भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा धेरै प्रयास गरे । तर, सिसडोलवासीले फोहोर व्यवस्थापन गर्न दिएनन् । प्रहरी र स्थानीयबीच ठूलो झडप भयो । लामो समयसम्म काठमाडौंको फोहोर उठेन । बालेनले फोहोर उठाउने काम प्रदेश र संघीय सरकारको पनि भएको भन्दै केही दिन चुप्प लागे । लामो समयसम्म काठमाडौंको फोहोर नउठेपछि मेयर बालेनको आलोचना सुरु भयो । पछि उनले सिसडोलवासीलाई कन्भिन्स गर्दै फोहोर उठाउन त सफल भए तर काठमाडौंको फोहोरको दीर्घकालिन व्यवस्थापन गर्नतर्फ उनको प्रयास देखिएन । अहिलेसम्म पनि पुरानै प्रक्रिया अनुसार काठमाडौंको फोहोर उठिरहेको छ । यसको दीर्घकालिन व्यवस्थापन गर्ने विषयमा काठमाडौं महानगरले कामा गर्न सकेको छैन ।
मेयर बालेनले चर्चा पाएको अर्को विषय हो काठमाडौंको फुटपाथ व्यवस्थापन । फोहोर उठेपछि उनी काठमाडौंको फुटपाथ व्यवस्थापनमा लागे । उनले महानगर प्रहरीलाई लगाएर फुटपाथका व्यापारीलाई हटाउन थाले । जुन विषयले उनले ठूलो आलोचना खेप्नु पर्यो । फुटपाथ व्यापारीले महानगर घेर्नेसम्मको काम समेत गरे ।
महानगर प्रहरीले फुटपाथ व्यापारीलाई हटाउँदा र सामान खोस्दाका केही भावुक दृशयहरु त्यतिखेर बाहिरिए । ती दृश्यले मेयर बालेनको आलोचनामा थप मलजल गर्यो ।
नगर प्रहरीले जबरजस्ती रुपमा ठेला व्यापारीहरुको सामान खोसेका भिडियोहरुको कारण बालेनको सञ्चारमाध्यममा समेत आलोचना भयो । महानगरपालिकाको उक्त शैलीप्रति धेरैले आक्रोश पोखे । तर, बालेनको उक्त कदमले पनि सफलता पाएन । अहिले पनि अधिकांश फुटपाथमा व्यापार भइरहेको छ । महानगरले त्यसतर्फ खासै ध्यान दिएको छैन ।
फुटपाथ व्यापारको विषय सेलाउन नपाउँदै बालेनले अनाधिकृत संरचना तथा अण्डर ग्राउण्ड पार्किङमा हात हाले । उनले सोही क्रममा धेरै ठाउँका संरचना हटाए पनि । डोजर लिएर आफै फिल्डमा उत्रिए । सुरुमा उनले वाहीवाही पाए । महानगरबाट भूमिगत पार्किङको स्वीकृति लिएर नक्सा पास गरेका तर त्यस्ता पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग गर्नेलाई कारवाही गर्ने संरचना भत्काउने काम उनले गरे ।
उनले सुरुमा अल्फाबिटामा निर्माण भएको अनधिकृत संरचनामा डोजर चलाएपछि त्यसको आलोचनासँगै प्रशंसा भएको थियो । सुरुमा महानगरपालिकाले ३५ दिने सूचना प्रकाशित गर्दै त्यस्ता संरचनाहरूलाई पार्किङ बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न भनेको थियो । तर, पछि अटेर गरेपछि अधिकांश अनधिकृत संरचना हटाउन उनी अघि सरे । तर, उनी त्यसको निरन्तरतामा चुकेका छन् । त्यसबेला हटेका संरचना पनि पुनः बनेका छन् भने हटाउनका लागि ताकेता गरेका संरचनाहरु पनि हटेका छैनन् । यस विषयमा अहिले बालेन मौन छन् ।
बालेनको प्रशंसा पाउने श्रृङ्खला त्यतिमै रोकिएन । जमिनभित्र लुकाएर राखेको टुकुचा खोला खोज्ने विषयले उनलाई चर्चाको ‘क्लाइमेक्स’मा पुर्यायो । हुनपनि उनले टुकुचा खोला भेटाए । सुरुमा उनले विभिन्न क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचनाहरू भत्काउने योजना अगाडि सारे । त्यस योजनाको सुरुवात उनले जय नेपाल हलबाट सुरु गरे । टुकुचा खोला पनि भेटियो ।
महानगरले तत्काल जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मको करिब ४ सय ५० मिटर टुकुचा खोला खोल्ने कार्ययोजना बनायो । बालेनको उक्त कदमले सबैको चर्चाको पात्र उनी बने । यति मात्रै होइन, महानगरले बेसमेन्ट खाली गराउने र टुकुचा खोला खोज्ने क्रममा हातिसारको लक्ष्मी बैंकको भवनमा एउटा गाडी भेटियो । विगतमा राजदरबारले प्रयोग गर्ने मर्सिडिज गाडी काठमाडौं हात्तिसारमा रहेको लक्ष्मी बैंकको बेसमेन्टमा भेटिएपछि त्यो घटनाले बालेनलाई थप चर्चामा ल्यायो । सो गाडीको विषयमा उनले सोधखोज गरेर त्यसलाई निष्कर्शमा ल्याउलान् भन्ने धेरैको अपेक्षा थियो । तर, विडम्वना त्यो विषय बिचमै सेलायो । टुकुचा खोला उत्खनन्को विषय पनि बिचमै रोकियो ।
बालेनले नयाँ विषयहरुको उजागर गर्दै गए । भनिन्छ नि ‘हिड्दै पाइँला मेट्दै’ हो, त्यसरी नै बालेनको योजना मर्दै गयो । उठान भएको विषयका निदान नहुँदै त्यो विषय सेलाउँदै गयो । केही दिन चर्चाका पात्र मात्रै बालेन बनिरहे । त्यसको अर्को उदाहरण हो, थापाथलीका सुकुम्वासी हटाउने प्रयास ।
केही साताअघि साता थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुम्वासी बस्ती हटाउने उनको प्रयास पनि विफल बन्यो । सुरुमा महानगर डोजर लिएर सुकुम्वासी बस्तीमा पसेपछि ठूलो विवाद भयो । सुकुम्बासीहरु हातमा तरबार, खुकुरी तथा विभिन्न हतियारहरु लिएर सडकमा निस्किए । महानगर प्रहरी र सुकुम्वासीको झडप पनि भयो । दर्जनौं मानिस घाइते भए ।

तयारी बिनै गरेको बालेनको उक्त प्रयासको पनि सामाजिक सञ्जालमा आलोचना र प्रशंसा भयो । धेरैले कुनै विकल्प विना सुकुम्वासीलाई हटाउनु पपुलिष्ट काम भने । कतिले बालेनले राम्रो काम गरेको भन्दै उनको तारिफ पनि गरे । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र बालेनको समाजिक सञ्जालमार्फत् यो विषयमा भनाभन समेत भयो । बालेन यस विषयको समाधान भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडसमेतलाई सहयोग माग्न पुगे । तर, विडम्वना यो विषय पनि बिचमै सेलायो । यी विषयले बालेनलाई चर्चा कमाउन सहयोग गर्यो तर उठान गरेका विषयको निदान हुन सकेन ।