विकासन्युज

अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघरमा धर्ना

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन थारु समुदायले धर्ना दिएका छन् । सरकारले गत आईतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनशायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएको थियो । सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै माईतीघर मण्डलामा थारु समुदायले धर्ना गरेका हुन् । थारु कल्याणकारिणी सभा र थारुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो । उनीहरुले अध्यादेश अविलम्व प्रमाणिकरण गरिनुपर्ने र रेशम चौधरी लगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् । धर्नामा सहभागीहरुले अध्यादेश संवैधानिक रुपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणिकरण हुनुपर्नेमा जोड दिएका छन् । धर्नामा उपस्थितहरुले ‘न्याय देउ, न्याय देउ, रेशम चौधरीलाई बाहिर लेउ’, ‘मानवताको अधिकार, हाम्रो पनि बराबर’, ‘रेशमवाद जिन्दवाद’, ‘हाम्रो देश, हाम्रो अध्यादेश’, ‘जनताको लागि लडेको, जेलमै सड्नुपरेको’, ‘चर्चित नेता गगन, धनगढीमा के बोलेथ्यौ भनन’लगायतका प्लेकार्ड बोकेका थिए ।

बागलुङको आदर्श सञ्चार सहकारीले ज्येष्ठ सदस्यलाई पेन्सन, अपाङ्गता भएकालाई भत्ता वितरण

बागलुङ । बागलुङको आदर्श सञ्चार सहकारी संस्थाले ज्येष्ठ शेयर सदस्यलाई बर्सेनि पेन्सन र अपाङ्गता भएका शेयर सदस्यलाई भत्ता वितरण गर्दै आएको छ । संस्थाले पाँच वर्षदेखि ज्येष्ठ शेयर सदस्यलाई वर्षको दुई हजार चार सय रुपैयाँका दरले र अपाङ्गता भएका शेयर सदस्यलाई वार्षिक रु एक हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिइन् । सहकारीले सञ्चारमाध्यम सञ्चालनलाई मुख्य उद्देश्य मान्दै आएको छ । “सहकारीका सात सिद्धान्तअनुरुप सहकारी चल्नुपर्दछ, हामीले सहकारीमा शेयर सदस्य भई ७० वर्ष नाघिसकेका सदस्यले मासिक दुई सय रुपैयाँका दरले वर्षको दुई हजार चार सय रुपैयाँँ र अपाङ्गता भएका शेयर सदस्यलाई वार्षिक रु एक हजारका दरले प्रोत्साहन भत्ता दिँदै आएका छौँ”, अध्यक्ष जिसीले भनिन्, “सामाजिक उत्तरदायित्व निभाउँदै सहकारीले पेन्सन, अपाङ्गता भत्ता, स्वास्थ्य सेवा र अक्षय कोषसँगै विभिन्न विपद्मा परेकालाई सहयोग प्रदान गर्दै आएको छ ।” पाँच वर्षअघिदेखि सुरु गरिएको ज्येष्ठ नागरिक पेन्सनबाट चालू आर्थिक वर्षमा २६ जना लाभान्वित भएका छन् भने तथा अपाङ्गता भत्ताबाट २० जना अपाङ्गता भएका शेयर सदस्य लाभान्वित भएका हुन् । सहकारीले बागलुङबाट रोजगारीका लागि कोरिया पुगेका नेपालीले बागलुङ सम्पर्क समाज दक्षिण कोरियामार्फत स्थापना गरेको स्वास्थ्य सेवा अक्षय कोषबाटसमेत ४० जनालाई पाँच हजार रुपैयाँँका दरले स्वास्थ्योपचारका लागि रकम प्रदान गरिसकेको सहकारीका प्रबन्धक दीपकराज सापकोटाले जानकारी दिए । आदर्श सञ्चार सहकारीमा विगत १० वर्षदेखि सदस्य भई ७० वर्ष नाघेका शेयर सदस्यले मासिक  दुई सय रुपैयाँका दरले पेन्सन पाउने व्यवस्था गरिएको सापकोटाको भनाइ छ । पेन्सन वितरणका लागि सहकारीले पेन्सन कोषको व्यवस्था गरेको छ । कोषमा नयाँ बन्ने शेयर सदस्यले एकपटक एक सय  रुपैयाँँ र अन्य सबै सदस्यले एकपटक रु तीन हजार कोषमा योगदान गर्नुपर्ने हुन्छ । संस्थाले सूचना र सञ्चारका क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरि जागरण दैनिक, नौ वर्षदेखि अग्रसर साप्ताहिक र चार वर्षदेखि आदर्श सञ्चार अनलाइन सञ्चालन र १० वर्षदेखि धौलागिरि टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ । संस्थामा हाल तीन हजार तीन सय जना शेयर सदस्य रहेका र  पाँच करोड ५५ लाख रुपैयाँ शेयर रकम,  ३० करोड बचत,  ३८ करोड कर्जा लगानीसहित  ४५ करोड कूल सम्पत्ति रहेको प्रबन्धक सापकोटाले जानकारी दिए । आगामी असार मसान्तसम्म पाँच हजार जनाभन्दा बढी शेयर सदस्य, आठ करोड शेयर पुँजी,   ४६ करोड बचत, ५१ करोड कर्जा लगानीसहित कूल सम्पत्ति  ५६ करोड पुर्याउने लक्ष्य रहेको छ । संस्थाले विद्यालयमा सहकारी शिक्षा, दुव्र्यसनविरुद्ध आमा अभियान, महिलाले महिनावारीमा प्रयोग गर्ने प्याड घरमै बनाउने तालिम, महिला सशक्तीकरण, युवा र विद्यार्थीका लागि वित्तीय साक्षरता, पर्यटन प्रवद्र्धनमा सञ्चार सहकारीको भूमिका, स्वास्थ्य शिक्षा र उपचारलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

सिमेन्टबाट ब्लक उत्पादन गरेर जीविकोपार्जन गर्दै सुनिल

कञ्चनपुर । कोरोना महामारी सुरु हुनुअघि कञ्चनपुर भीमदत्त नगरपालिका–११ महाकाली किनारका सुनिल सुधार रोजगारीका लागि भारतको सुरतमा थिए । वर्षमा एक दुई महिना मात्रै घर आउने गरे पनि अधिकांश समय उनी जागिरकै सिलसिलामा भारतमै रहन्थे । कोरोना महामारीका कारण जागिर गुमेपछि घरमै बस्दै आएका उनी यतिबेला सिमेन्टबाट ब्लकलगायतका सामग्री उत्पादन गरिरहेका छन् । यसबाट भारतमा भन्दा बढी आम्दानी हुने भएकाले यसैमा सजिलो भएको उनको भनाइ छ । ‘कोरोना सङ्क्रमणको त्रासकै बेला जेनतेन घर फर्किए, केही समय कोरोनाकै त्रासमा बित्यो, तर सधैँ त्रासमै बाँच्न सकिएन, खानका लागि केही न केही गर्नुपर्ने भयो,’ उनले भने, ‘भारतको राजेगारी गुमिसकेको थियो, अन्त जाने बाटो थिएन, कुनै व्यापार व्यवसाय गर्न पनि लगानी थिएन ।’ त्यसैले विभिन्न सङ्घ संस्थाबाट तालिम लिएर ब्लक, टायल र पिलर उत्पादनको काम सुरु गरेका हुन् । ‘कोरोनापछि बेरोजगार भएको थिएँ, विभिन्न सङ्घ संस्थाले ब्लक बनाउने मेसिन र ब्लक बनाउनका लागि तालिम पनि दिएँ,’ उनले भने, ‘त्यसपछि कामका लागि भारत जानु परेको छैन, ब्लक उत्पादन गरेर जीविकोपार्जन सहज भएको छ ।’ सानो लगानीमा पनि ब्लक, टायल र पिलर उत्पादनको काम गरेर जीविकापोर्जन गर्ने गरेको शनि सुनारको भनाइ छ । ‘घर बनाउँदा इँटाभन्दा पनि ब्लकको प्रयोग बढ्न थालेको छ, ठाउँ ठाउँबाट माग आइरहेको छ,’ उनले भने, ‘विगतमा बेरोजगार भएर घरमै बस्नु प¥थ्यो, अहिले यहीँ पेसाबाट घरखर्च चलाउँछु ।’ दश हजार इँटा प्रयोग हुने घरमा छ हजार ब्लक भए पुग्ने हरिनाथको भनाइ छ । ‘मिस्त्री र अन्य कामदारको खर्च पनि बल्कले घटाउँछ,’ उनले भने, ‘एक बोरा सिमेन्टबाट ५५ देखि ६० सम्म ब्लक बनाउन सकिन्छ ।’ अहिले प्रतिब्लक ४० देखि ४५ रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए । ब्लकको बजारीकरणलाई बढाउँदै लैजाने पनि उनको योजना छ । ‘ब्लक उत्पादनबाट राम्रो आम्दानी छ, विदेश जानु परेको छैन भने स्वदेशमै काम गर्न पाउँदा सहज भएको छ’;, यशोदा थापाले भनिन्, ‘भारतमा मजदूरी गरेर बचत हुने भन्दा आफ्नै ठाउँमा काम गर्दा राम्रो आम्दानी गर्न सकिन्छ ।’

नेपाली उत्पादनले बजारको माग धान्न सकेन, वार्षिक १२ अर्बका हस्तकलाका सामग्री निर्यात हुने

    काठमाडौं । नेपाल हस्तकला महासङ्का अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामग्रीले बजारको माग धान्न नसकेको बताएका छन् । उनका अनुसार विश्व बजारमा नेपाली हस्तकलाको राम्रो माग रहेकाले यहाँ उत्पादित वार्षिक १२ अर्ब रुपैयाँका हस्तकलाका सामग्री निर्यात हुनाका साथै नेपाली बजारमासमेत यस्ता सामग्रीको माग बढ्दो छ । अध्यक्ष शाक्यले भने, ‘हातले बनाएका सामग्रीमध्ये फेल्कबाट उत्पादित सामग्री मात्र वार्षिक पाँच अर्ब रुपैयाँभन्दा माथिको कारोबार हुने गरेको छ । त्यसैगरी पश्मिना, हातेकागज, काष्ठकलालगायत सामग्रीको व्यापार पनि बढी हुने गरेको छ ।’ हस्तकलाको सामान उत्पादनमा महिलाको सहभागिता ८० प्रतिशतभन्दा बढी छ । यस्ता समान बनाएरै परिवार चलाउँदै आएकी दाङकी राजकुमारी चौधरीले भनिन्, ‘टोकरी, गमला, पूजादानी, चकटीलगायत सामान बनाउने गरेको छु । सुरुवाती चरणको व्यवसाय भए पनि व्यापार सन्तोषजनक हुनाका साथै घर खर्च पनि चलेको छ ।’ त्यस्तै कटनबाट उत्पादित सामग्रीको व्यापार गर्नुुहुने ललितपुरकी हसना महर्जनले भनिन्, ‘नेपाली उत्पादन बलियो राम्रो र सस्तो पनि हुन्छ ।’ हस्तकलाका लागि आवश्यक कच्चापदार्थ भारत, चीन, स्वीडजरल्याण्ड, दुबईलगायत देशबाट आयात हुने गरेको छ । उत्पादित यस्ता सामानको माग स्वदेशभन्दा विदेशमा राम्रो रहेको अध्यक्ष शाक्यले बताए । विदेशी पर्यटक घुम्न आउँदा हस्तकलाको सामान बढी खरिद गर्ने गरेको पाइन्छ । हालै सम्पन्न एक हस्तकला व्यापार मेलामा सहभागी हुनुभएकी फिनल्यान्डकी पर्यटक रुट भाराले नेपालको सामान राम्रो र गुणस्तरीय भएका कारण आफूलाई धेरै मनपर्ने बताए । सोही मेलमा पश्मिनाको सामान खरिद गरेकी फिनल्याण्डकी टेरी तेरिस्कोनटीले भनिन्, ‘हातबाट बनाइएका सामग्री भरपर्दो, सुन्दर र मूल्य पनि सन्तोषजनक हुने भएकाले स्वदेश फर्किदा पनि नेपाली सामान नै खरिद गरेर लैजान्छु ।’ हस्तकलाका सामान नेपालमै कम उत्पादन हुने भएकाले मागअनुसार निर्यात गर्न नसकिएको अध्यक्ष शाक्यको भनाइ थियो । देशमा दक्षजनशक्ति कम हुँदा स्थानीयस्तरमा उत्पादित सामग्रीसमेत खेर गइरहेको बताउँदै उनले सरकाले तालिमको व्यवस्था गरे रोजगारका लागि विदेश धाउन नपर्ने र स्वदेशी उत्पादनले नै विदेशी मुद्रा भित्रिने उल्लेख गरिन् । रासस

यस वर्ष लाभांश वितरण नगर्ने माछापुच्छ्रे बैंककाे घाेषणा

काठमाडौं । माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश वितरण गर्ने भएको छ । शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत वर्षको अन्तिममा कायम रहेको वितरणगोग्या मुनाफा संचित गर्ने निर्णय गरेको छ । बैकले यसअघि सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

पोखरा विमानस्थल उडानयोग्य, यी वायुसेवाले दिनेछन् सेवा

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिए । उनले भने, ‘क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन आइसकेको छ, प्रतिवेदनमा सबै कुरा राम्रो छ, प्रतिवेदनको ‘इन्फरमेशन’ छिट्टै प्रकाशन गरिनेछ ।’ प्रवक्ता निरौलाका अनुसार यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि ‘एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन’ (एआइटी) मा प्रकाशन गरिनेछ । प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिने र पोखरा गन्तव्यमा उडान गर्नसक्ने जनाइएको छ । एरोथाई कम्पनीको जहाजले गत मङ्सिर ५ देखि ११ सम्म सफलतापूर्वक यान्त्रिक परीक्षण उडान गरेको थियो । यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे/नगरेको परीक्षणका लागि गरिन्छ । यान्त्रिक उडानमार्फत पोखरा विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिने अन्तर्राष्ट्रिय अभ्यास छ । क्यानले यही पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । यसको सात महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्पूर्ण तयारी भइरहेको जानकारी दिए । हाल विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ । अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायतका तयारी गरिएको छ । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । उडान सञ्चालन अघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानी डाँडा कटानको काम पनि धमाधम चलिरहेको छ । पहिलो चरण अन्तर्गत १६ मिटर कटान गरी यान्त्रिक उडान गरिएको थियो । बाँकी २४ मिटर कटान चलिरहेको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटरडाँडा काटेर समतल बनाइनेछ । नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरले आवश्यक तयारी गरिरहेको छ । कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ । बुद्ध पछि जजिरा एयरवेजले उडानमा चासो देखाएको छ भने हिमालय एयरलाइन्सले परीक्षण उडानको तयारी गरेको छ । विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ । रासस

विदेश पुग्छ टोखाको चाकु

काठमाडौं । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकू बनाउन भ्याइनभ्याइ भएको छ । माघे सङ्क्रान्तिमा चाकू खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकू बनाउन भ्याइनभ्याइ भएको हो । टोखामा उत्पादन भएको चाकू काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकू संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यहाँ उत्पादित चाकू जापान र अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकू उत्पादनको लागि प्रसिद्ध ठाउँ हो । टोखामा झण्डै पाँच दशकदेखि चाकू उत्पादन गर्दै आएका टोखा चाकू उद्योगका सञ्चालक राजकाजी श्रेष्ठ टोखाको चाकू नेपाल मात्र नभइ विश्वका विभिन्न मुलुकबाटसमेत माग आइरहेको बताए । चाकूको माग अत्यधिक भए पनि बजारसम्म पुर्याउन भ्याइनभ्याइ भएको उनको भनाइ छ । टोखाका उद्योगमा हाल सादा चाकुू मसला चाकू, स्पेशल चाकू, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् । टोखा नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकूलाई ब्राण्डिङ गर्ने समेत घोषणा गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कराज पाठक बताउँछन् । ‘टोखामा उत्पादित चाकूलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध छ’, उनले भने । टोखा काठमाडौँ क्षेत्र नं ५ मा पर्दछ । काठमाडौँ क्षेत्र नं ५ का नवनिर्वाचित सांसद प्रदीप पौडेल टोखाको चाकूलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि आफूले पहल गर्ने बताए । ‘टोखा चाकूको लागि प्रख्यात क्षेत्र हो, यसलाई विश्वमाझ चिनाउनका लागि म लाग्नेछु’, उनले भने । टोखामा उत्पादन भएको चाकू अहिले प्रतिकिलो एक सय ३० देखि एक सय ३५ रुपैयाँसम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकू खानैपर्ने प्रचलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकू खाने चलन छ । चाकू चिसो लागेका बेला पनि खाने चलन छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकू खुवाउँदा राम्रो हुने मान्यता छ । रासस

सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा निधन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । दुर्घटनामा संलग्न बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए ।