काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये कतिले गत वर्षको लाभांश वितरण गरिसकेका छन् भने कति कम्पनी भने वितरण गर्ने तयारीमा छन् ।
हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंक तथा विकास बैंकमध्ये अझै १३ कम्पनीको लाभांश खान पाइने अवसर छ । जसमध्ये ८ वाणिज्य बैंक रहेका छन् भने बाँकी ५ वटा विकास बैंक रहेका छन् ।
वाणिज्य बैंकहरुमा सिद्धार्थ, नेपाल एसबिआई, नेपाल, प्राइम कमर्शियल, नबिल, हिमालयन, राष्ट्रिय वाणिज्य, सिभिल बैंक रहेका छन् । त्यस्तै, विकास बैंकमध्ये साइन रेसुङ्गा, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक रहेका छन् ।
बुक क्लोज भइनसकेका कम्पनीहरुको लाभांश प्राप्त गर्नको लागि लगानीकर्ताले बुक क्लोजअघि नै सेयर खरिद गर्नुपर्ने हुन्छ । कम्पनीहरुले प्रदान गर्ने भनेर घोषणा गरेको लाभांश सो कम्पनीको बुक क्लोज हुनुअघि कायम रहेका सेयरधनीले मात्रै पाउँछन् । त्यसैकारण बुक क्लोज भइसकेपछि सेयर खरिद गर्ने सेयरधनीले लाभांश खानको लागि अर्काे वर्षसम्म कुर्नुपर्ने व्यवस्था छ ।
विकास बैंकमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश बुक गर्ने समय जम्मा एक दिन रहेको छ । बैंकको आगामी पुस १२ गते बुक क्लोज हुँदै छ । यससँगै कम्पनीको प्रस्तावित १४ प्रतिशत लाभांश पाउन लगानीकर्ताले पुस ११ गतेसम्ममा सेयर खरिद गरिसक्नु पर्छ ।
त्यस्तै, पुस १३ गते मात्रै ३ बैंकहरुको बुक क्लोज हुँदै छ । सिद्धार्थ, नेपाल एसबिआई र लुम्बिनी विकास बैंकले लाभांश तथा वार्षिक साधारण सभाको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेका हुन् । यससँगै यी कम्पनीको प्रस्तावित लाभांश पाउन पुस १२ गतेभित्रमा सेयर खरिद गरिसक्नुपर्ने छ । सिद्धार्थले १३.१६ प्रतिशत, नेपाल एसबिआईले १०.५३ र लुम्बिनी विकास बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
त्यसैगरी, विभिन्न तीन कम्पनीले आगामी पुस १४ गते बुक क्लोज गर्दै छन् । जसमा मितेरी डेभलपमेन्ट, नेपाल बैंक र प्राइम कमर्शियल बैंकले उक्त एक दिन बुक क्लोज गर्न लागेका हुन् । यससँगै यी कम्पनीको लाभांश खान इच्छुकले पुस १३ गतेभित्रमा सेयर किनि सक्नुपर्छ ।
यता पुस १८ गते एकैदिन ४ बैंकको बुक क्लोज हुने भएको छ । नबिल, हिमालयन, महालक्ष्मी विकास र राष्ट्रिय वाणिज्य बैंकले लाभांश वितरण तथा साधारण सभामा जानको लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरेका हुन् । यससँगै पुस १७ गतेभित्रमा यी कम्पनीको सेयर किन्ने तथा होल्ड गर्नेले गत वर्षको प्रस्तावित लाभांश पाउने छन् । नबिलले ३०, हिमालयनले १९.११, महालक्ष्मी विकासले १०.४७ र राष्ट्रिय वाणिज्य बैंकले १२.५० प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।
त्यस्तै, सिभिल बैंकले पुस १९ गते बुक क्लोज गर्दै छ । बैंकले ५.२६ प्रतिशत लाभांशको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै पुस १८ गतेसम्म सिभिलको सेयर किन्नेले प्रस्तावित उक्त लाभांश पाउनेछन् ।
मुक्तिनाथ विकास बैंकले पनि सेयरधनीलाई १४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । तर विकास बैंकले हालसम्म भने बुक क्लोजको मिति तय गरिसकेका छैनन । यससँगै हाल मुक्तिनाथ विकासको सेयर किन्नेले प्रस्तावित लाभांश पाउने छन् ।