८ सदस्यीय मन्त्रिपरिषद गठन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सहालेका छन् । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने छन् । अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष हुन् । यस्तै, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान पनि मन्त्रिपरिषद्मा सहभागी छन् । उनीहरुको जिम्मेवारी भने तोकिएको छैन ।
‘नेपाललाई आइटी हब बनाउनुपर्छ’
काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको आफ्नो विदाइ कार्यक्रममा उनले नेपालको जलवायु, युवा जनशक्ति र शिक्षाको अवस्थाले पनि नेपाललाई ‘आइटी हब’का रूपमा विकास गर्न सकिनेमा विश्वास व्यक्त गरे । विसं २०७८ असोज २२ देखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कार्की हिजो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै आज पदमुक्त भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकोसमेत जिम्मेवारी लिएका उनि हालसम्म जलस्रोतलगायत मन्त्रालयको जिम्मेवारीका साथ चारपटक मन्त्री बनेका । उनि गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका छन् । सांसद कार्कीले भने, ‘जलस्रोत, पर्यटन र पूर्वाधारको विकाससँगै मुलुकले विकासको गति लिएको आभास भएको छ, हामी सबै मिलेर त्यसलाई पूर्णता दिनुपर्छ ।’ उनले राजनीतिक आस्थाभन्दा माथि उठेर देश र जनताका निम्ति स्थायी सरकारकैरूपमा काम गर्न निजामती कर्मचारीलाई आग्रह गरे । सो अवसरमा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले निवर्तमान मन्त्री कार्कीले मन्त्रालयको जिम्मेवारी लिएपछि मन्त्रालयको ९५ प्रतिशत कामकारवाही डिजिटल माध्यमबाट गर्न सफल भएको बताए । उनले मन्त्री कार्कीका कार्यकालमा सञ्चारसम्बन्धी ऐन÷कानुन र हुलाक सेवा विभागलाई आधुनिक बनाउनेलगायत अन्य महत्वपूर्ण विषयमा गृहकार्य भएको पनि बताए । निवर्तमान मन्त्री कार्कीलाई मन्त्रालयका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । उनलाई आजै कानुन मन्त्रालयबाट पनि विदाइ समारोह आयोजना गरी विदाइ गरिएको थियो । रासस
अर्थ मन्त्रालयमा पौडेलको पुनरागमनले सेयर बजारका लागि हुन सक्छ सुखद, यस्तो छ विगत
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका छन् । उनले पद तथा गोपनियताको सपथ पनि लिइकसेका छन् । उनी अर्थमन्त्री बनेकै दिन सेयर बजार बढेको छ । यसअघि निरन्तर घट्दै आएको सेयर बजारले पनि उनलाई स्वागत गरेको होकि भन्ने महसुस धेरैले गरेका छन् । उनी अर्थमन्त्री बन्ने निश्चित भएपछि सोमबार सेयर बजार ५७ अंकले बढ्यो भने कारोबार २ अर्ब नाघ्यो । त्यसैले पनि उनी अर्थमन्त्री हुँदा लगानीकर्ता र समग्र उद्योगी व्यवसायी पनि खुसी भएकी भन्ने आभास दिलाएको छ । अर्थमन्त्रीको रुपमा उनको यो तेस्रो कार्यकाल हो । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए । यसअघि एमाले र माओवादी एउटै दलमा हुँदा पनि पौडेल अर्थमन्त्री थिए । अर्थमन्त्री पौडेल समन्वयकारी भूमिका निभाउन सक्ने राजनीतिज्ञको रुपमा चिनिन्छन् । पछिल्लो समय निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच आन्तरिक विवाद भएकै कारण अर्थतन्त्रले दुःख पाएको बुझाइ धेरैको थियो । तर, अब त्यो अवस्था रहेन । अर्थमन्त्री पौडेल गभर्नरलाई सँगै लिएर समन्वय गर्न सक्ने खुबी राख्छन् । उनी यसअघिको कार्यकालमा पनि कुनै विवादमा आएनन् । बरु विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसकोे समयमा पनि अर्थतन्त्रलाई सही दिशामा लैजान उनले प्रभावकारी भूमीका खेले । अर्थमन्त्रीका रुपमा ९ महिना भएपनि दोस्रो कार्यकाल सुखद रह्यो । अर्थमन्त्री बनेर के–के गरे राम्रा काम ? अर्थमन्त्री पौडेल दोस्रो कार्यकालका रुपमा २०७७ असोज २८ गते अर्थमन्त्रीमा नियुक्त भएपछि उनले पहिलो पटक तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतसँग बैठक राखेर प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पताल निर्माण गर्ने निर्ण गरे । कात्तिक १२ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेल, तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल लगायतको बैठक बस्यो । सो बैठकले २०७८ को असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गर्यो । पौडेलको अध्यक्षतामा कात्तिक २८ गते कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी अर्थ मन्त्रालयमा बैठक बस्यो । सो बैठकले सात दिनभित्र कोरोना बीमाको दाबी भुक्तानी दिने निर्णय गर्यो । तर, हालसम्म अधिकांश कोरोना पीडितले भुक्तानी पाइसकेका छैनन् । अब उनी अर्थमन्त्रालयको बागडोर सम्हाल्न आएपछि कुनै प्रगति हुन्छ कि त्यो विषय भने हेर्न बाँकी नै छ । उनको अर्को महत्वपूर्ण कार्य भनेको पुस्तकको भन्सार कर हटाउने, कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने, मन्त्रीहरुको तलबको ५० प्रतिशत कोरोना कोषमा जम्मा गर्ने थियो । जुन निर्णयले उनको प्रशंसा समेत भएको थियो । यस्तै, उनले पूँजी बजारको ब्रोकर कमिसन घटाउने निर्णय गरे । नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डको स्थापनाको घोषणा भयो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन मात्रै दिएनन् तदारुकताका साथ विदेशी दातृ नियकासँग पनि समधुर सम्बन्ध राखेर काम गरेर सहयोगको अपील गरे । यस्तै, उनको पहलमा अर्थ मन्त्रालयद्वारा १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति भयो । जेठ १० गते अर्थ मन्त्रालयद्वारा अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति भयो । अर्थ मन्त्रालयद्वारा कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित पनि भयो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९का लागि १६ खर्ब ४७ अर्बको बजेट प्रस्तुत गरे । जसलाई धेरैले पपुलिष्ट बजेट भनेर चर्चा गरे । बजेटमार्फत् उद्योगी व्यवसायीहरुले राहत पाए । अर्थमन्त्री पौडेलको ९ महिने कार्यकाल सेयर बजारका लागि पनि सुखद नै बन्यो । सो अवधिमा सेयर बजारले पनि विभिन्न समयमा नयाँ रेकर्डहरु स्थापित गर्न सफल भयो । उद्योगी व्यवसायीहरु पनि उनीदेखि रुष्ट भएनन् । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यशैलीले आजित बनेका लगानीकर्ता र उद्योगी व्यवसायीका लागि अर्थमन्त्री पौडेल प्यारा बने । उनले विभिन्न नीतिहरु ल्याउँदा होस् बजेट नै ल्याउँदा किन नहोस् लगानीकर्ता र उद्योगी व्यवसायीको मर्म बुझेर ल्याए । परिणामस्वरुप उनीप्रति व्यवसायी खुसी भए । उनले बजेटमार्फत् कर्मचारीको तलब २ हजार रुपैयाँले बढाए भने वृद्धभत्ता चार हजार पुर्याए । उनी वृद्धवृद्धादेखि शिक्षककहरुको पनि प्यारा बने । भलै उनले ल्याएको बजेट भने कार्यान्वयन हुन सकेन । नयाँ सरकार बनेपछि शर्माले अध्यादेशमार्फत् बजेट ल्याएका थिए ।
भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरु सरकारमा सहभागि हुन लागेको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने सझा सहमति भएपछि सरकारमा सहभागि हुन लागेको बताएका हुन् । उनले यस विषयमा सत्तारुढ सबै पार्टीहरु सहमत भएको उल्लेख गरे । त्यस्तै शिक्षा र स्वास्थ्यको बिलमा पनि साझा प्रतिवद्धता रहेको उनले उल्लेख गरे । उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको अधिकार दिने, नयाँ व्यवसायीहरुका लागि विशेष कार्यक्रम ल्याउने लगायतको विषयमा सत्तारुढ दलहरुका बीचमा साझा सहमति बनेको बताए । साझा सहमति बाहिर सार्वजनिक गर्ने पनि उनले जानकारी दिए । उनले भने ‘हाम्रो शर्त भनेको भ्रष्टाचारका विरुद्धमा नयाँ, पुराना जति पनि विषयहरु छन् । एउटा त्यस्तो संयन्त्र बनाउने भन्नेकुरामा हामीले सबभन्दा पहिला सबै पार्टीले त्यसमा सहमति गरेपछि, विदेशमा रहेका नेपालीहरुको भोटिङ राइट जुन सर्वोच्च अदालतले दिनु भनेको छ त्यसको सुनिश्चितता मात्र होइन उनीहरुको सामाजिक, आर्थिक र त्यहाँ काम गर्दाखेरी अलपत्र पर्दा, समस्या पर्दाखेरी त्यहाँ रेस्क्यु टिम सहितको प्रतिवद्धतासहित, नयाँ व्यवसायीहरुका लागि एउटा विशेष कार्यक्रम लगायतका विषयहरुमा हामीले साझा सहमति गर्छौ ।’ सभापति लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयसहित उपप्रधानमन्त्रीमा रहेको स्पष्ट पारे ।
तरकारी खेतीमा रमाउँदै थारु महिला, वार्षिक चार लाख नाफा
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका १५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बनेकी उनले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल भएकी छिन् । उनले धनियाँको पात मात्रै बिक्री गरी वार्षिक चार लाख रुपैयाँसम्म बचत गरिरहेकी छिन् । ‘धनियाँ बेच्न हरेक दिन बिहान छिटुवाभरी पात बोकेर घर-घर पुग्छु’, उनले भने, ‘गत दसैँ र तिहारमा अवधिमा धनियाँ बेचेरै डेढ लाख रुपैयाँसम्म आम्दानी गरेँ ।’ विसं २०५८ देखि धनियाँखेती गरे पनि विगत १४ वर्षदेखि भने उनी व्यावसायिक तरकारीमा लागेकी हुन् । उनले हाल १० कट्ठा जमिनमा स्थानीय जातको धनियाँखेती गरिरहेकी छिन् । वर्षमा मौसमी र बेमौसमी गरी दुई पटक धनियाँ खेती गर्दै आएकी उनले धनियाँ प्रतिमुठा २० रुपैयाँमा बिक्री गर्छिन् । धनियाँ बेचेर भएको आम्दानीबाट उनले गाउँमा १७ कट्ठा चार धुर जमिन जोड्न सफल भएकी छिन् । जसमध्ये १० कट्ठामा व्यावसायिक धनियाँ खेती र बाँकी जमिनमा अन्य खेती गरेको उनले बताइन् । उनी मात्रै होइन यस क्षेत्रका अन्य थारू महिला पनि व्यावसायिक तरकारी खेतीमा लागेर आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका छन् । सोही ठाउँकी ५० वर्षीया रेखा चौधरी पनि व्यावसायिक तरकारीखेती गरी आर्थिक रुपमा आत्मनिर्भर बनेकी छिन् । उनले १५ कट्ठा जग्गामा चम्सुर, पालक, गोभी, गोलभेडालगायतका तरकारी खेती गरेकी छिन् । उनी पनि हरेक दिन बिहानै छिटुवामा तरकारी बोकेर पैदल हिँड्दै बिक्रीका लागि तुलसीपुर बजारसम्म पुग्छिन् । ‘पहिले हामी धानखेती गर्दथ्यौँ, तर आम्दानी राम्रो हुने भएपछि विगत छ वर्षदेखि व्यावसायिक तरकारीखेतीमै छौँ’, उनले भनिन्, ‘यसबाट वर्षमा तीन लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ ।’ तरकारीखेतीमा सिँचाइको अभाव हुने गरेको बताउँदै उनले हालसम्म यसका लागि कुनै तालिम नलिएको बताइन् । सोही ठाउँकी ४० वर्षीया राजपति चौधरीले पनि १६ कट्ठा जमिनमा बन्दा, फूल गोभी, गोलभेडालगायतका तरकारीको व्यावासयिक खेती गर्दै आएकी छिन् । दिनभर तरकारीखेतीमा व्यस्त हुने उनी पनि हरेक बिहानै छिटुवाभरी तरकारी बोकेर बिक्रीका लागि तुलसीपुरसम्म पुग्नछिन् । उनले वार्षिकरुपमा साढे तीन लाख रुपैयाँसम्म तरकारी खेतीबाट आम्दानी भइरहेको बताइन् । ‘तरकारीखेतीबाट भएको आम्दानीले दुई जना छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको छ’, उनले भनिन् । सामान्य लेखपढ गरेकी उनी व्यावसायिक कृषिमा महिलालाई टिकाइ राख्न सिँचाइको सहज सुविधा हुनुपर्ने बताउँछिन् । उत्पादनका लागि पानीको सुविधा र बिक्रीका लागि बजार, उचित मूल्य, विउ र कीटनाशन औषधिका साथै तालिमको व्यवस्था स्थानीय निकायले गरी दिनुपर्नेमा उनको जोड छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले नगरपालिकाभित्र उत्पादन हुने सबै उत्पादनको उचित मूल्य, बजारीकरणका लागि आफूहरु लागेको जिकिर गरिन् । किसानले तुलसीपुर बजारमा तरकारी बजार केन्द्र भवन निर्माण गरेको भए पनि सबैलाई पायक नपरेकाले महिला किसानहरु बिहानै छिटुवा बोकेर बजार जानुपरेको बताइन् । उनले धम्कापुर गाउँलगायत उपमहानगरपालिकाका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन उपमहानगरबाट प्रोत्साहन गर्नका लागि कृषि कार्यक्रम सञ्चालन गरेको बताइन्। रासस
तीन नयाँ उपप्रधानमन्त्री पौडेल, श्रेष्ठ र लामिछानेले लिए शपथ
काठमाडौं । तीन नवनियुक्त उपप्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानसहित परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानसहित गृह मन्त्री रवि लामिछानेले पद तथा गोपनियताको शपथ लिएका हुन् । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
प्रचण्डले लिए पद तथा गाेपनियताकाे शपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रचण्डले सोमबार ४:२० मिनेटमा राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
मधेस प्रदेशसभाका सदस्यको शपथ शुक्रबार हुने
काठमाडौं । मधेस प्रदेशसभा सदस्यले आउँदो शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेशसभामा आज बसेको सर्वदलीय बैठकमा यही पुस १५ गते शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने सहमति भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले सदस्यको शपथ गराउने निश्चित भएको सचिव उनले बताए । नेपालको संविधानको धारा १८२ को उपधारा ५ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ । शपथग्रहणका लागि दुई घण्टाअगावै निर्वाचित प्रदेशसभा सदस्यलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थिति हुन सचिवालयले आग्रह गरेको छ । आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले तीन दिनअगावै प्रदेशसभा सचिवालयमा जानकारी गराउनुपर्ने जनाइएको छ ।