विकासन्युज

सूर्यज्योति अब बीमा क्षेत्रकै बेञ्चमार्क बन्नेछ : सीईओ खत्री

काठमाडौं । सूर्यज्योति लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीले सूर्यज्योति अब बीमा क्षेत्रकै बेञ्चमार्क बन्ने बताएका छन् । उनले चुनौतीका बाबजुत पनि छोटो समयमै मर्ज हुन सफल भएको बताउँदै अब थप व्यवसाय गर्दै बीमा क्षेत्रकै बेञ्चमार्क बन्ने बताए । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै सीईओ खत्रीले सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीचको मर्जरको अनुभव चुनौतिपूर्ण रहेको बताए । ‘मर्ज गर्नुअघि बेञ्चमार्क केलाई बनाउने भन्ने उत्तर थिएन, भ्यालुएसन कसरी गर्ने, २ वटा एक्च्यूरी टीमले छुट्टाछुट्टै भ्यालुएसन गर्न नै चुनौती थियो,’ उनले भने । साथै, उनले एकीकृत कारोबार पश्चात कम्पनीले दुई दिनमै एक हजारभन्दा बढीको बीमालेख जारी गरेको समेत बताए । ‘पुस ७ गतेदेखि सूर्यज्योति लाइफको नामबाट एकीकृत कारोबार शुरु गरेका थियौं । त्यसको दुई दिनमै अर्थात पुस ७ र ८ गतेभित्र कम्पनीले एक हजारबढीको बीमालेख बिक्री गरिसकेको छ,’ उनले बताए । यस्तै, उनले दुबै कम्पनीमा आवद्ध भएका कर्मचारीहरुलाई एकीकृत कारोबार सुरु गर्नुअघि नै भोलीको दिनमा कसको भूमिका के हुन्छ भनेर स्वेच्छिक रुपमा अवकाश गरेको बताए । एकीकृत कारोबार पश्चात् ज्योति लाइफको कुल शाखा संख्या १८० पुगेका छन् । यस्तै, कुल कर्मचारीको संख्या ६७५ पुगेको छ । मर्जपश्चात बनेको कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ ।

गृहमन्त्री लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको फाइल बनाउन निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको फाइल बनाउन निर्देशन दिएका छन् । साेमबार पदभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेले सचिव विनोदप्रकाश सिंहलाई यस्ताे निर्देशन दिएका हुन् । उनले पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बारे जानकारी दिन सहायताकक्ष

काठमाडौं । गरिमा क्यपिटलले आइपीओ सम्बन्धी जानकारी प्रदान गर्न सहायताकक्ष संचालनमा ल्याएकाे छ । क्यपिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ सम्बन्धी जानकारी दिन सहायता कक्ष संचालनमा ल्याएकाे हाे । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेकालाई आइपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेकाे छ । ‘हरेक नेपाली शेयरधनी’ अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बारे जानकारी प्रदान गरी सहजीकरण गर्नका लागि क्यापिटलले सहायताकक्ष संचालनमा ल्याएकाे जनाएकाे छ । यस्ताे छ आइपीओमा वैदेशिक राेजगारीमा रहेकाले आवेदन दिन पुरा गर्नुपर्ने मापदण्डहरु : १. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक मार्फत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्ने छ । २. सिडिएस एण्ड क्लियरिङ्गबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नु पर्नेछ । ३. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सिआश्वा रजिष्ट्रेशन नम्बर  लिनु पर्नेछ । ४. आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा पचास हजार रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनु पर्ने छ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।  

एनसेल वुमन आइकन आइसिटी अवार्ड : शिला कंसाकार कार्कीले जितिन् ३ लाख

काठमाडौं । यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो । नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले ३ लाख रूपैयाँ नगद प्रदान गरेको थियो । कार्कीलाई यो अवार्ड नेपाल सरकारका प्रमुख सचिव शंकर दास बैरागी, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र एनसेलका प्रमुख मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र ह्वावेले क्लाउड सेवा पनि प्रदान गरेको थियो । एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूको योगदानलाई सम्मान र उत्प्रेरित गर्न एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । गतवर्ष नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ पाएकी थिइन् । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ । शिला कंसाकार कार्की नेपालको सूचना प्रविधि क्षेत्रको अग्रणी नाम हो । नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका खलेकी उनी नेपाल प्रहरीकी पूर्व डीआईजी समेत हुन् । सिस्टम एनालिष्टको रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा सेवा आरम्भ गरेकी कार्की आइसिटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला हुन् । २८ वर्ष प्रहरी सेवामा बिताएकी कार्की सूचना प्रविधिमा महिलाहरूलाई आकर्षित गर्न र उत्प्रेरित गर्न तल्लिन छन् । सूचना प्रविधिका विभिन्न संघ, संस्थामा क्रियासिल उनले नेपाल प्रहरीलाई डिजिटल युगमा पुर्याउन महत्वपूर्ण योगदान दिएकी छन् ।

को हुन् अर्थमन्त्री विष्णु पौडेल ?

काठमाडाैं । नवनियुक्त अर्थमन्त्री २०१६ सालमा स्याङ्जामा जन्म भएकाे हाे । हाल नेकपा एमालेका उपाध्यक्ष महासचिव पाैडेल तेस्राे पटक अर्थमन्त्रीकाे पदभार समाल्न पुगेका हुन् । ०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि अशोक राईसँगै स्थायी कमिटी सदस्य बनेका थिए । उनी ०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र ०७१ को नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भए । संसदीय राजनीतिमा उनी ०५१ सालबाट प्रवेश गरेका हुन् । ०५१ मा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेका पौडेल ०५४ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । ०५६ मा उनी रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ मा पराजित भए । र फेरी ०६४ सालमा सोही क्षेत्रबाट निर्वाचित भए । यसबीचमा उनी ०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बनेका थिए भने झलनाथ खनालको पालामा रक्षामन्त्री बने । ओली प्रधानमन्त्री भएको बेला अर्थमन्त्रीका रुपमा उनले आफूलाई सफल बनाएका थिए । त्यसपछि पुन: काेराेनाकाे बेला उनी अर्थमन्त्री भएका थिए ।  

बाँके, बर्दिया र दाङमा सहुलियतपुर्ण कर्जा ४८.६५ प्रतिशत

काठमाडौं । सहुलियतपूर्ण कर्जा लिएकाहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । बाँके, बर्दिया र दाङमा बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको सहुलियतपुर्ण कर्जाबाट वार्षिक ३८.६९ प्रतिशत आम्दानी गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ । जसले गर्दा उनीहरुलाई कर्जाको सावा र ब्याज भुक्तानी गर्न कुनै समस्या नदेखिएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । कृषि कर्जामा ३८.३४ प्रतिशत, महिला उद्यमशील कर्जामा ३६.७२ प्रतिशत र अन्य कर्जामा ६३.२७ प्रतिशतले आम्दानी गरेका छन् । बाँकेमा ४२.८७ प्रतिशत, बर्दियामा ३८.८१ प्रतिशत र दाङमा ३४.९८ प्रतिशत आम्दानी गरेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङका गरी कूल ३५६ जना ऋणीहरुलाई सहभागीलाई आधार मानेर सर्वेक्षण गरेको थियो । जसमध्ये ४९.७२ प्रतिशत उद्योगी व्यवसायीहरुको लगानी २० लाख भन्दा बढी रहेको छ । ययस्तै, ३२.३१ प्रतिशत ऋणीहरुले १० लाखदेखि २० लाख रुपैयाँ, १७.९७ प्रतिशत ऋणीहरुले १ लाखदेखि १० लाख रुपैयाँसम्म लगानी गरेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख गरिएको छ । राष्ट्र बैंकका अनुसार यी तीन जिल्लामा उद्योग÷व्यवसायमा गरेको लगानी मध्ये सहुलियतपुर्ण कर्जाको अंश ४८.६५ प्रतिशत रहेको छ । जसमध्ये बर्दियामा सबैभन्दा धैरै ६८.१० प्रतिशत, बाँकेमा ३४.५० प्रतिशत र दाङ जिल्लामा ६३.१३ प्रतिशतले सहुलियत कर्जा लिएका छन् । सहुलियतपुर्ण कर्जा लिएका ९२.९८ प्रतिशत ऋणीहरुको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको र ७.०२ प्रतिशत सहभागीहरुको आर्थिक अवस्था उस्तै रहेको पाइएको अध्ययनले देखाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले व्यावसायिक योजना मागेर मात्र कर्जा प्रवाह गरेको र कर्जा प्रवाह पश्चात् बैंकले ९५.२३ प्रतिशत व्यवसायीको अनूगमन गर्ने गरेका छन् । सहुलियत कर्जा लिएका ऋणीहरुले आंशिक रोजगारी १०.४० प्रतिशतलाई दिने गरेका छन् भने ३९.९१ प्रतिशतले आफ्ना परिवारका सदस्य बाहेक अन्य कर्मचारी तथा कामदारहरुलाई रोजगारी उपलब्ध गराएका छन् । व्यावसायिक फर्महरुले औसतमा कूल लगानीको वार्षिक १८.८३ प्रतिशत आम्दानी गरेका छन् । जसमध्ये औसतमा कृषि कर्जामा १८.८३ प्रतिशत, महिला उद्यमशील कर्जामा १८.७५ प्रतिशत र अन्यमा २८.५७ प्रतिशत आम्दानी गरेको देखिएको तथ्याङ्कमा उल्लेख छ । २०७८ कात्तिक मसान्तसम्म १ लाख ३३ हजार ९३० जना ऋणीहरुलाई २ खर्ब ३७ अर्ब ८२ करोड ८५ लाख ७० हजार रुपैयाँ बराबरको रकम कर्जा लगानी गरिएको छ । सबैभन्दा धेरै व्यवसायिक कृषि तथा पशूपन्क्षी कर्जा र महिला उद्यमशील कर्जा प्रवाह भएको छ । जसमध्ये बाँके, बर्दिया र दाङमा ५ हजार ७ सय जना ऋणीले सहुलियतपूर्ण कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये बाँकेमा १ हजार ८५८ जना, बर्दियामा १ हजार ३२२ जना र दाङमा २ हजार ५४९ जनाले कृषि तथा पशूपंक्षी, शिक्षित यूवा स्वरोजगार, विदेशबाट फर्केका यूवा परियोजना, महिला उद्यमशील, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा र दलित समूदाय व्यवसाय कर्जा लिएका छन् ।

आरएमसी फुड्स र नेपाल साहित्य महोत्सवबीच साझेदारी

काठमाडौं । बुकवर्म फाउण्डेसनको आयोजनामा वार्षिक रूपमा हुँदै आएको नेपाल साहित्य महोत्सवले आफ्नो दसौं संस्करणका लागि आरएमसी फुड्ससँग साझेदारी गरेको छ । राष्ट्रलाई समृद्धिशाली बनाउन आर्थिक पाटोसँगै शिक्षा, कला र साहित्यको प्रबर्द्धन र जगेर्ना पनि उत्तिकै महत्वपूर्ण रहेको यथार्थलाई आत्मसाथ गर्दै आरएमसीले नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्ने निर्णय लिएको कम्पनीले बताएको छ । रमणीय शहर पोखराको बाराहिघाटमा पुस ६ देखि ११ गतेसम्म आयोजना भएको उक्त फेस्टिभलमा साहित्य, कला, समाज, संस्कृति, काव्य, सङ्गीत र सौन्दर्यका यावत् विषयहरूबारे सेसन चलाइएको थियो । दक्षिण एसियाका चर्चित लेखक र अन्य लोकप्रिय व्यक्तित्वहरू समेत सहभागी भएको फेस्टिभलमा आरएमसी फुड्स अन्तर्गत सञ्चालित ब्राण्ड न्यूट्रीप्लसद्वारा प्रायोजित ‘कलनेरी पेनल छलफलमा ‘टिमुरदेखि ऐलासम्म’ शिर्षकमा सेसन पनि चलाइएको थियो । उक्त सेसन सन् २०२० को बिबीसी मास्टरसेफका फाइनलिस्ट तथा न्यूट्रीप्लस फुड्सका ब्राण्ड एम्बेसेडरसमेत रहेका सन्तोष साह र टिमुर किताबका लेखक डा. प्रशान्त खनालले अन्तराष्ट्रिय बजारमा नेपाली खानाको सम्भावना र चुनौतीजस्ता विषयबारे छलफल गरेका थिए ।

८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सहालेका छन् । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने छन् । अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष हुन् । यस्तै, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान पनि मन्त्रिपरिषद्मा सहभागी छन् । उनीहरुको जिम्मेवारी भने तोकिएको छैन ।