विकासन्युज

चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो कामः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जटिल र चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताएका छन् । नयाँ सरकार गठन भएपछि बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले बताए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रीपरिषद्को पहिलो बैठकपछि उनले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए । उनले अबको सरकारले सुशासन कायम गर्नेपनि बताए । उनले राहदानी, लाइसेनमा सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्नेकुरा पनि पहिलो प्राथमिकतामा रहेको बताए । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले चाँडै प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको पनि बताए । प्रधानमन्त्री दाहालले गम्भीर रुपले देश र जनताका समस्याहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाए । ‘जनतामा एउटा आशा र भरोसा बढेको देखिएको छ, थुप्रै जटिलता र चुनौतिहरु छन्, निर्वाचनमा मतदान जस्तो प्रकृति देखियो, परिणाम जस्तो देखियो त्यसलाई समेटेर मन्त्रीपरिषद् बनेको छ, नेपालको अर्थतन्त्र जटिल र चुनौतिपूर्ण दिशातिर छ, सुधार्ने, प्रभावकारी बनाउने हो, सुशासनतिर गम्भीर ढंगले अघि बढ्ने हो, जनताले ठाउँठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउन जस्तो राहदानी, लाइसेन सम्बन्धी लामा लाइन देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ,’ उनले भने । प्रधानमन्त्री दाहालले मन्त्रीपरिषद्मा आएका सबैको केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे । सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । ८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले शपथग्रहण गरेका थिए । त्यस्तै मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए ।

रेल्वे माविमा मेयर सिंहको छड्के, ढिला आउने शिक्षकलाई कारबाही गर्न निर्देशन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न महानगरले अनुगमनलाई निरन्तरता दिएको छ । महानगरका मेयर राजेशमान सिंह आफैँ सामुदायिक विद्यालयको अनुगमनमा पुगिरहेका छन् । निर्वाचनका बेला जनताकाबीच शिक्षामा आमुल परिवर्तन गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै मेयर सिंहले त्यसलाई सार्थक बनाउन सामुदायिक विद्यालयको अनुमनलाई निरन्तरता दिएको बताए । सामुदायिक विद्यालयको शैक्षिक अवस्था गुणस्तरीय र विश्वसनीय बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै सिंहले विद्यालयको कक्षाकोठामै पुगेर विद्यार्थीसँग पढाईका बारेमा जानकारी लिएका छन् । सोमबार मेयर सिंह छड्के अनुगमनका लागि घण्टाघर नजिकै रहेको नेपाल रेल्वे मा.वि.मा पुगे । मध्यान्ह १२ बज्दै गर्दा विद्यालय छिरेका सिंह त्यहाँ झण्डै १ घण्टा विताए । कक्षा ९ मा पुगेर मेयर सिंहले पठनपाठनमा र समग्र विद्यालयमा भएका समस्याका सम्बन्धमा प्रश्न सोधेका थिए । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल र महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यार्थीसँग नजिकिँदै उनीहरुको सबैभन्दा मन पर्ने विषयका सामान्य जिज्ञासा र प्रश्न सोधे । सो अवसरमा अधिकांश विद्यार्थीहरुले विषय शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको, परीक्षा शुल्क लिने गरेको जस्ता गुनासा राखे । यस्तै कतिपय शिक्षक समयभन्दा ढिला आएर समय सकिनु भन्दा अघि नै निस्केर जाने गरेकाले पढाईमा पनि असर परेको विद्यार्थीहरुले बताए । अनुगमनमा पुगेका मेयर सिंहले आफूसँग कुनै डर नमानी समस्या राख्न भनेपछि विद्यार्थीहरुले विद्यालयको झ्याल ढोका ठिक नभएकोदेखि शौचालयको समस्यासम्म सुनाउन भ्याए । कक्षामा अध्यापनका क्रममा शिक्षकहरुले मोवाइलमा कुरा गर्ने गरेको पनि खुलाए । कक्षा ८ का विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक नपाएको गुनासो गरे । आफूले पटकपटक शिक्षकसँग पुस्तक नभएको बताए पनि पुस्तक उपलब्ध गराउन आनाकानी गरेको भन्दै समस्या राखे । तत्काल पुस्तक उपलब्ध गराउन मेयर सिंहले प्रधानाध्यापकलाई निर्देशन दिए । त्यस्तै छात्राहरुले अझैसम्म पनि विद्यालयमा प्याड उपलब्ध नभएको भन्दै छिटो व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । जवाफमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले अबको २÷३ दिनभित्रै हरेक विद्यालयमा प्याड उपलब्ध हुने गरी व्यवस्था मिलाइएको बताए । मेयर सिंह, प्रमुख प्रशासकीय अधिकृत पौडेल र शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले विद्यालयमा शिक्षक र विद्यार्थीहरुको हाजिरी रजिष्टार पनि चेकजाँच गरे । शिक्षकहरुको लागि विद्युतिय हाजिरी सञ्चालन गर्न र समयमा कक्षाकोठामा नपुग्ने शिक्षकलाई कारवाही गर्न मेयर सिंहले निर्देशन दिए । लगातार ३ दिनसम्म अनुपस्थित हुने विद्यार्थीको अभिभावकलाई खबर गरेर कारण सोध्नुपर्ने नियममै व्यवस्था भएको हुँदा अनुपस्थित हुनेको हाजिरीबाटै नाम हटाउन शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले निर्देशन दिएका छन् । मेयर सिंहले विद्यालयको भवन निर्माण कार्य अधुरै रहेको र प्राङण पनि मर्मत गर्नु पर्ने देखिएकाले त्यसको निर्माणका लागि आवश्यक इस्टिमेट तयार पारेर महानगरमा पेश गर्न प्रधानाध्यापकलाई आग्रह गरे । अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापक मुनिलाल कर्णले उपलब्ध साधन स्रोतमै विद्यालयको शैक्षिक गुणस्तर टिकाइरहन काम गरिरहेको प्रतिकृया दिए ।

मन्त्रालयको छवि सुधार्न हरसम्भव प्रयास गरे : मन्त्री अथक

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो कार्यकालमा मन्त्रालयको स्तर उकास्न उल्लेखनिक काम भएको बताएका छन् । सोमबार मन्त्रालयको जिम्मेवारीबाट विदाई हुँदै मन्त्री अथकले मन्त्रालयको स्तर उठाएर बिदा हुन लागेको बताएका हुन् । आफ्नो १४ महिने कार्यकालमा मन्त्रालयको छवि सुधार्न हरसम्भव प्रयास गरेको उल्लेख गर्दै मन्त्री अथकले दिर्घकालिन महत्व राख्ने धेरै योजनाहरु सुरु गरीएको बताए । खेलकुद विश्वविद्यालय स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेकाले आगामी सरकारले त्यसलाई पूर्णता दिनेमा विश्वस्त रहेको बताउँदै मन्त्री अथकले खेलाडीहरुको सम्मान र पुरस्कारकालागि नितिगत रुपमै आधार तयार गरी लागु गरीएको बताए । लामो समयदेखी हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गरी खेलकुद क्षेत्रलाई जीवन दिन समेत सफल भएको उनको भनाई थियो । खेलकुदका महत्वपूर्ण संरचना निर्माण गर्ने अभियानलाई समेत आफ्नो कार्यकालमा तिब्रताका साथ अगाडी बढाएको उल्लेख गर्दै मन्त्री अथकले मन्त्रालयले सुरु गरेका योजनाहरुलाई निरन्तरता दिन आग्रह गरे । स्वरोजगारसँग जोडिएका सबै निकायलाई एकै ठाँउमा केद्रित गरी स्वरोजगार प्राधिकरण स्थापनाकालागि पहल गरेपनि त्यसले पूर्णता पाउन नसकेको भन्दै मन्त्री अथकले नेपालमा स्वरोजगार प्राधिकरणको अपरिहार्यता रहेको बताए । आगामी दिनमा उक्त अभियानलाई अगाडी बढाउन समेत सबै पक्षसँग आग्रह गेका छन् । मन्त्रालयबाट बिदाई हुँदै गर्दा मन्त्री अथकले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण उपलब्धीहरु समेटिएको हाते पुस्तक समेत सार्वजनिक गरे । मन्त्री अथकको बिदाईकालागि मन्त्रालयमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव सुर्य प्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल स्काउट र युवा तथा साना ब्यवसायी कोषका पदाधिकारी सहित मन्त्रालयका कर्मचारीहरुको सहभागीता रहेको थियो । बिदाई कार्यक्रममा मन्त्रालयका सचिव गौतमले मन्त्री अथकलाई मायाको चिनो प्रदान गरेका थिए ।

शाईन रेसुङ्गाको सेयर मूल्यमा बोनस समायोजन, अब कतिमा हुन्छ कारोबार ?

  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेमा बैंकको १३.३० प्रतिशत बोनस सेयर सामायोजन गरेको हो । बैंकले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । बैंकको बोनस सेयर पश्चात् नेप्सेले प्रतिकित्ता ३०३.६२ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ३४४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० नगद लाभांश (कर प्रयोजन) गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले १४ औँ वार्षिक साधारण सभा पुस २५ गते बिहान ११ बजेदेखि ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राम रुपन्देहीमा बोलाएको छ ।

जीवन बीमामा ‘ट्रेण्ड सेटर’ बन्न सूर्यज्योतिलाई सुझाव, ७ अठोटका साथ अघि बढ्ने कम्पनीको प्रण

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा क्षेत्रमै नयाँ इतिहास रचेको छ । जीवन बीमा क्षेत्रमै पहिलो मर्जर सफल गरी कम्पनीले एक उज्जवल शुरुवात गरेको हो । सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् । गत असारमा प्रारम्भिक सम्झौता गरेका यी कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको कम्पनीका सीईओ प्रकाश बिक्रम खत्रीले बताए । सूर्यको ज्योतिमा सात रंग भएझैं सूर्यज्योति पनि शुरुवात, न्यायोपन, प्रष्ट, उज्जवल, प्रतिवद्ध, समय र उर्जाका साथ एकभई अगाडि बढ्ने कम्पनीको अठोट रहेको सीईओ खत्रीले बताए । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्यज्योतिलाई बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने कम्पनीको प्रण रहेको समेत बताए । मर्जपश्चात बनेको कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ । एकीकृत कारोबार पश्चात् सूर्यज्योतिको कुल शाखा संख्या १८० पुगेका छन् । यस्तै, कुल कर्मचारीको संख्या ६७५ पुगेको छ । सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीचको मर्जरको अनुभव चुनौतिपूर्ण रहेको स्मरण गर्दै सीईओ खत्रीले भने- ‘मर्ज गर्नुअघि बेञ्चमार्क केलाई बनाउने भन्ने उत्तर थिएन, भ्यालुएसन कसरी गर्ने, २ वटा एक्च्यूरी टीमले छुट्टाछुट्टै भ्यालुएसन गर्न नै चुनौती थियो ।’ साथै, उनले एकीकृत कारोबार पश्चात कम्पनीले दुई दिनमै एक हजारभन्दा बढीको बीमालेख जारी गरेको समेत बताए । ‘पुस ७ गतेदेखि सूर्यज्योति लाइफको नामबाट एकीकृत कारोबार शुरु गरेका थियौं, त्यसको दुई दिनमै अर्थात पुस ७ र ८ गतेभित्र कम्पनीले एक हजारबढीको बीमालेख बिक्री गरिसकेको छ,’ उनले बताए । सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ समेत रहेका जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई आफ्नो जिम्मेवारी पुरा गरी सूर्य र ज्योति जस्तै छाउँदै जान शुभकामना दिएका छन् । ‘१५ वर्षको सूर्य लाइफ र ५ वर्षको ज्योति लाइफ जोड्दा २० वर्षको अनुभव नभई ७५ वर्षको होस्,’ शुभकामना दिँदै उनले भने । साथै, अध्यक्ष पौडेलले सूर्य लाइफ र ज्योति लाइफबीचको मर्ज अन्य मर्जरमा जाँदै गरेको कम्पनीलाई उदाहारण बन्ने समेत बताए । सूर्यज्योतिले आगामी दिनमा ट्रेण्ड सेटरको रुपमा काम गर्ने र यसले जीवन बीमा क्षेत्रको पहुँचलाई बढाउनमा जीवन बीमक संघ विश्वस्त रहेको अध्यक्ष पौडेलको भनाई छ । यता सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सूर्यज्योतीलाई नामजस्तै काम गरेर बीमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन् । बीमा प्राधिकरणको लक्ष्य अनुसार बीमा कम्पनीहरु अघि बढेको बताउँदै उनले मर्जरमा कर्मचारी व्यवस्थापनको पाटो निकै चुनौतिपूर्ण रहेको बताए । त्यसैगरी, कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालले सूर्यले ज्योति र ज्योतिले आफ्नो श्रोत सूर्य पाएको बताएका छन् । यसले नयाँ बनेको कम्पनी सूर्यज्योतिको भविष्य थप बृहत, सबल र विशाल हुने शुभेच्छा दिए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जीवन बीमा क्षेत्रमै ठूलो सफलता भएको र नयाँ इतिहास राखेको बताएका छन् । कम्पनीले ६ महिनाको अवधिमै मर्जर सफल पारेको बताउँदै बीमा प्राधिकरण लगायत कम्पनीको सम्पूर्ण टीम धन्यवादको पात्र रहेको समेत बताएका छन् । मर्जपछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

अब भ्रष्टाचार गर्ने दिन गए : यातायातमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् भाैतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । साेमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गाेपनियताकाे सपथ लिएका थिए । मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्ने दिन अब सकिएको बताए । ‘भ्रष्टाचार गर्नेहरुले वा पैसालाई मात्र केन्द्रबिन्दुमा राख्नेहरुले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु, ऐन, नियमलाई आफैँ बनाउँछु भन्ने दिन गए भन्ठान्नुस्,’ उनले भने । मन्त्री श्रेष्ठले जनतालाई डेलिभरी दिने कुरालाई प्राथमिकतामा राखेर आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको बताए ।

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न विज्ञसँग सुझाव लिन्छु : अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री पौडेलले विज्ञसँग सुझाव लिएर अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । ‘अर्थतन्त्रका चुनौतिको कारण खोजेर, समाधानमा प्रभावकारी सम्वाद गर्ने, पहिचान, सामाधान गर्नेछु,’ उनले भने, ‘चिन्तित भएको अर्थ जगतलाई आश्वस्थ बनाउन चाहन्छु, हामी समाधान गर्छौं ।’ मन्त्री पौडेलले चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउन आफ्नो प्राथमिकता हुने पनि बताएका छन् । ‘सबैभन्दा पहिला अर्थतन्त्रका समस्या पहिचान गर्ने मेरो प्राथमिकता हुनेछ, त्यसपछि अर्थतन्त्रका चुनौतीहरू विज्ञका सुझावका आधारमा समाधान गरिनेछ,’ उनले भने । अर्थमन्त्री पौडेलले अर्थमन्त्रीको पदबहाली गर्दै सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णय गरेका छन् । उनले अर्थ मन्त्रालय अन्तर्गतका विभाग र मन्त्रालय मातहतका निकायमा हाल रहेको परम्परागत कार्यसञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

‘यस वर्ष आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहन्छ’

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष ०७९/८० मा आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले यस वर्ष अर्थतन्त्र गम्भीर मोडबाट गुज्रिए पनि अहिले बिस्तारै सम्हालिँदै गएको बताए । भूकम्पपछिको प्रतिकूल अवस्था, कोभिड–१९ महामारी, रुस–युक्रेन युद्धले बाह्य क्षेत्रबाट देखिएको दबाब सम्हाल्ने विषयलाई अघिल्लो सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ । आर्थिक वृद्धिदर लक्षित विन्दुमा पुग्न नसके पनि छ प्रतिशतभन्दा माथि नै रहने दाबी पनि उहाँले गरे । ‘हामीले चालु आर्थिक वर्षमा आठ प्रतिशत बराबर आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेका थियौँ, तर विभिन्न प्रतिकूलताका बाबजुद अहिलेको परिस्थितिसम्म पुग्दा कम्तीमा छ प्रतिशतभन्दा माथि नै रहने देखिएको छ’, शर्माले भने । नेपालको अर्थतन्त्र सङ्कटमा जान्छ भन्ने ठूलो त्रास र आतङ्क रहेकामा त्यसलाई वित्तीय तथा मौद्रिक उपकरणहरूको प्रयोगबाट लयमा ल्याइएको पनि उनको भनाइ छ, ‘वित्त र मौद्रिक नीति सन्तुलनको ठूलो महत्व हुँदो रहेछ, अहिले मुद्रास्फीति घट्दो क्रममा छ, आयात प्रतिबन्धको निर्णयले पनि सकारात्मक नतिजा देखाएको छ’, निवर्तमान अर्थमन्त्री शर्माले भने । मुद्रास्फीति गत साउनमा १० प्रतिशतसम्म पुगेकामा अहिले घट्दै गएको उनको भनाइ छ । त्यस्तै, सरकारले केही वस्तुको आयातमा लगाएको बन्देजका कारण भन्सार राजस्व घटे पनि त्यसले आयात र व्यापार घाटा भने कम गरेको शर्माले बताए । अहिले पर्यटन क्षेत्र र विप्रेषणमा सुधार हुँदै गएको, शोधनान्तर स्थिति बचतमा रहेको र विदेशी मुद्रा सञ्चयमा देखिएको चाप पनि बिस्तारै कम हुँदै गएको उनको भनाइ छ । आफ्नो १७ महिने कार्यकालमा अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन पहल विभिन्न योजना कार्यक्रम लागू गरेको, वैदेशिक सहायता प्राप्तिमा उल्लेख्य प्रगति भएको, कर प्रणालीलाई डिजिटल बनाइएको र भन्सार जाँचपास प्रणालीलाई सुधार गरी व्यवस्थित गरिएको शर्माको दाबी छ । अहिले पूँजीगत खर्च न्यून देखिए पनि त्यसले बिस्तारै गति लिने पनि उनले बताए । ‘चुनावलगायत कारणले बजेट खर्च उल्लेख्य हुन सकेन, अहिले एक खर्बभन्दा बढीका ठेक्का लागिसकेकाले पूँजीगत खर्चले अब बिस्तारै गति लिन्छ’, उनले भने । अब बन्ने सरकारले अर्थतन्त्रलाई थप गति दिन नयाँ नीति लिएर अघि बढ्नुपर्ने पनि उनको भनाइ छ ।