विकासन्युज

बर्षदिन नपुग्दै डेरी व्यवसायीले एकतर्फी बढाए दूधको मूल्य

काठमाडौं । केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको बजार मूल्य प्रतिलिटर१४ सम्म बढाएका हुन् । सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे निकायम निकायले कुनै कदम चालिसकेको छैन । डेरी क्षेत्रकै अन्य व्यवसायीलेसमेत यसको विरोध गरिरहेका छन् । राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा भनिएको छ, ‘वार्षिक मूल्य वृद्धि एवं उत्पादन लागतका आधारमा दूधको मूल्यलाई हरेक दुई वर्षमा दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा पुनरावलोकन गर्ने व्यवस्था गरिनेछ ।’ राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन २०४८ को दफा ६ (ख) मा दुग्ध विकास बोर्डले दूधको मूल्य निर्धारण गर्ने नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने भनिएको छ । यसरी विद्यमान कानुनी व्यवस्थाले दूधको मूल्य हरेक दुई वर्षमा परिमार्जन गरिनुपर्ने व्यवस्था रहेपछि व्यवसायीले भने ११ महिनामै मूल्य बढाएका हुन् । यसअघि बोर्डको सिफारिसमा सरकारले २०७८ माघमा दूधको मूल्य तोकेको थियो । एक वर्ष नपुग्दै व्यवसायीले एकतर्फी रुपमा मूल्य बढाएका हुन् । दूधको उत्पादन लागत बढेको र किसानबाट खरिद गर्ने मूल्य नै महँगो परेपछि मूल्य बढाउनुपरेको डेरी उद्योगीहरूको भनाइ छ । किसानको उत्पादन लागत नै महँगो परेपछि बाध्य भएर मूल्य बढाएको नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहाल बताउँछन् । ‘दाना, चोकरको मूल्य बढेका कारण लागत बढ्यो, कर्मचारीको तलबदेखि बैंकको ब्याजसम्म बढेको छ, मूल्य बढाउन किसानले पटकपटक दबाब दिए । महँगोमा नकिने किसान पलायन हुने र दूध नपाउने अवस्था आयो’, उनले भने । सरकारले दूधको न्यूनतम समर्थन मूल्य तोकेको भएपनि अधिकतम मूल्य भने बजार मागअनुसार तोकिने उनको भनाइ छ । गतवर्ष माघमा सरकारले दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५६ रुपैयाँ ९७ पैसा तोकेको थियो । त्यसमध्ये किसानले प्रतिलिटर ५६ रुपैयाँ चार पैसा पाउँछन् भने प्रतिलिटर ९३ पैसा चिस्यानमा राख्ने खर्चका रुपमा रहन्छ । तर पछिल्लो समय किसानले नै प्रतिलिटर ७० रुपैयाँसम्ममा दूध बेच्न थालेको र किसानबाट खरिद मूल्य बढेपछि बजारमा उपभोक्ता मूल्य पनि बढाइएको उनको भनाइ छ । दूधमा मूल्य बढाउँदा त्यसको लाभ किसानले नभई व्यवसायीले नै लिने गरेको भन्दै आलोचना भइरहेको छ । तर दाहाल भने किसानले पाउने दूधको मूल्यको मार्जिन बढेको दाबी गर्छन् । डेरी उद्योग सङ्घले दूधको मूल्य बढाउने निर्णय गरे पनि नेपाल डेरी एशोसियशन र केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले भने त्यसमा सहमति जनाएका छैन । राष्ट्रिय दुग्ध विकास बोर्डले भने केही व्यवसायीले आफूखुसी मूल्य बढाउनु उचित नरहेको जनाएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले सीमित दुग्ध व्यवसायीले मूल्य वृद्धि गर्न नपाउने बताए । दुग्ध व्यवसायीले एकलौटी मूल्यबारे आइतबार कृषि तथा पशुपक्षी मन्त्रालयका सचिवसँग छलफल राखिएको पनि उनको भनाइ छ ।

सुनको मूल्य प्रतितोला एक लाख १७ सय रुपैयाँ पुग्यो

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको चाँदीको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भइ प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

चिसोले जुम्लाको जनजीवन प्रभावित, अस्पतालमा विरामी बढे

जुम्ला । हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । अस्पतालमा उपचारका लागि पहिलाभन्दा यस याममा बढी बिरामी आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिसिन विभागका डा. राजेन्द्रमणि गिरीले जानकारी दिए । चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्या बढेको छ । उनले भने, ‘सामान्य अवस्थामा औसतमा एक सय जना बिरामी उपचारका लागि आउने गरेकामा यो समयमा दैनिक दुई सय ९० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।’ लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको प्रतिष्ठानका डा. गिरीको भनाइ छ । चिसो ह्वात्तै बढेपछि जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ । बिहानमा धैरै चिसो हुने गरेको छ । चिसोले सदरमुकाम खलङ्गामा चहलपहल घटेको छ । बिहानको समयमा सडकमा सवारीसाधनसमेत चल्न निकै गाह्रो हुने गरेको पातारासी गाउँपालिकाका स्थानीयवासी मुनबहादुर ऐडीले बताए । ‘चिसोले घर बाहिर निस्किन सकिएको छैन’, उनले भने । चिसोले गाउँबाट ट्युसन पढ्न बजार आएका विद्यार्थीलाई सकस भएको छ । चिसोकै कारणले यहाँका स्थानीय तहले सामुदायिक विद्यालयलाई हिउँदे बिदासमेत दिएको स्थानीय तहका शिक्षा शाखाले जनाएका छन् । चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या छ । चन्दननाथ नगरपालिका स्थानीयवासी सुनिता रावतले भने, ‘न्यानो कपडा नहुने बच्चालाई धेरै समस्या हुने गरेको छ ।’ चिसोले बालबच्चामात्रै होइन, ज्येष्ठ नागरिक पनि समस्यामा छन् । जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्याले विकासे कामलाई प्रभावित पारेको जिल्लाका स्थानीयवासीले जनाएका छन् । जाडोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित हुने गरेका छन् । जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव सात र अधिकमत तापक्रम १३ दशमलव सात डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । चिसोबाट जोगिन दाउरा सङ्कलन गर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् । रासस

भारतले अनुमति नदिँदा रोकियो बुद्धको बनारस उडान

काठमाडौं । भारत सरकारले उडान अनुमति नदिदा पोखरा–बनारसको उडान रोकिएको छ । पोखरा विमानस्थलको औपचारिक उद्घाटनको दिन निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखराबाट भारतको बनारस उडानको तयारी थालेको थियो । पहिलो उडान अन्तर्राष्ट्रिय गर्ने तयारी स्वरुप बुद्धले आन्तरिक तयारी सबै पूरा गरेको थियो । तर अन्तिम समयमा भारत सरकारबाट अनुमति नपाउँदा उडान रोकिएको बुद्धले जनाएको छ । भारतले अनुमति नदिएपछि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका दिन आन्तरिक उडान मात्रै हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमका अनुसार विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि चासो दिएको बताए । अन्तर्राष्ट्रिय उडानका लागि केही समय लाग्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य राखिएको उनले बताए। निर्देशक गौतमले भने, ‘कति ‘विजेनश’ प्राप्त हुन्छ त्यसका आधारमा विमानस्थल सञ्चालन गर्ने हो, हामी सन् २०२३ फेब्रअरीदेखि दैनिक १८ घण्टासम्म सञ्चालन गर्न सकिन्छ भन्नेमा छौँ ।’

वाग्मती सफाइ महाअभियानको ५०० हप्ता पूरा

  काठमाडौं । सफाइ जागरण फैल्याउन महत्वपूर्ण योगदान गरेको वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामा सीमित हुन थालेको छ । महाअभियानले उठाउँदै आएको वाग्मती सुधारका काममा उल्लेख्य प्रगति हुन नसकेको जनाइएको छ । महाअभियानले ५०० हप्ता पूरा गर्दा अभियानले पहिले राख्दै आएका माग भने छोड्न थालेजस्तो देखिएको अभियानकर्मीले नै गुनासो गर्न थालेका छन् । पुसको चिसोमा पनि जारी सफाइ महाअभियानको ५०३ औँ हप्ताको कार्यक्रम शनिबार गौरीघाटमा जारी रह्यो । सफाइबाट नकुहिने एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, प्रमुख अभियानकर्मी लीलामणि पौडेल, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग, अधिकार सप्पन्न वाग्मती समितिका कर्मचारी, सामुदायिक प्रहरी चावहिल, बालसारथी, विभिन्न क्याम्पसका विद्यार्थी, वाग्मती फोहर उन्मुलन उपभोक्ता समिति, तिलगङ्गा महिला समुहको सक्रियता रहेको उनले जानकारी दिए । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकुल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । यसैगरी शनिबार गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ । अभियानकर्मीको सक्रियतामा देशव्यापी रुपमा सफाइ अभियान जारी रहेपनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन ।

अन्तर्राष्ट्रिय उडान विहीन गौतमबुद्ध विमानस्थल, भारतका कारण रोकियो आइएलएस सिष्टम

काठमाडौं । भारत सरकारले इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) जडानको अनुमति नदिदा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान विहीन बनेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले करोडौँ खर्च गरेर विमानस्थलमा उपकरण अवतरण प्रणाली (आइएलएस) जडान गरेको छ । तर भारत सरकारका कारण कार्यान्वयनमा आउन नसक्दा उडान प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ । आइएलएस रेडियो नेभिगेशन प्रणाली हो । जसले विमानलाई राति वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ । आइएलएस प्रणाली कार्यान्वयन गर्दा लागि भारतीय आकाश पनि प्रयोग गर्नुपर्ने हुनसक्छ । यसका लागि भारत सरकारको स्वीकृति आवश्यक पर्ने महाप्रबन्धक गोविन्दप्रसाद दाहालको भनाइ छ । जाडो र चिसोको समयमा बाक्लो हुस्सुका कारण भिजिविलिटी अत्यन्तै कम हुने भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । भैरहवा तथा आसपासमा अहिले घाम नलागेको समयमा भिजिविलिटी दुई सय मिटर हाराहारीमा पुग्छ । घाम लागेको बेला आन्तरिक उडान हुने र नभएको बेला उडान नै नहुने भइरहेको छ । विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि १५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर आइएलएस कार्यान्वयन हुने हो भने आठ सय मिटरसम्मको भिजिविलिटीमा विमान अवतरण गराउन सकिने दाहालको भनाइ छ । उनका अनुसार गत डिसेम्बर २० देखि हिमालयन एयरलाइन्स र २१ डिसेम्बरदेखि जजिरा एयरवेजले उडान स्थगित गरेका छन् । जजिराले डिसेम्बरसम्म उडान स्थगित जानकारी दिए पनि यो मौसमी प्रतिकुलताका कारण यो समयावधि अझै लम्बिन सक्ने देखिन्छ । आन्तरिक उडान पनि मौसमकै कारण नियमित भइरहेको छैन । गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय उत्तम मानिन्छ । अधिकांश पर्यटक यस अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पर्यटन व्यवसायी पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्नेमा विश्वस्त थिए । तर पर्यटक आउने मुख्य सिजनमा यो विमानस्थलमा हवाई उडान अवरुद्ध हुँदा उनीहरु निराश भएका छन् । हाल खराब मौसमका कारण विमानस्थलमा विमान अवतरण गराउन नसक्ने भन्दै उडान स्थगित हुन थालेपछि यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ । प्रतिकुल मौसमका कारण बुकिङ रद्द गर्नुपरेको नेपाल टुर्स एन्ड ट्राभल एजेन्ट सङ्घ (नाट्टा)का प्रदेश अध्यक्ष रचना पन्तको भनाइ छ । ‘लुम्बिनीमा पुस, माघ र फागुनमा बढी पर्यटक घुम्न आउने गरेका छन्’, उनले भने, ‘यस्तो समयमा प्रतिकुल मौसमका कारण उडान रद्द गर्नु पर्दा पर्यटक यहाँ आउन पाएका छैनन् ।” विसं २०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल विसं २०२३ मा आन्तरिक विमानस्थलको रुपमा हालको स्थानबाट सञ्चालनमा आएको थियो । रु ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थल विसं २०७९ जेठ २ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपछि सञ्चालनमा आएको थियो । आठ सय बिघा क्षेत्रफलमा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रनवे छ । फोर ई क्याटेगरीको विमानस्थलमा नवौं क्याटेगरीका दमकल छन् । त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल सरहको उडान र अवतरणको क्षमता रहेको यो विमानस्थलमा चार वटा न्यारोबडी र एउटा वटा वाइडबडी गरी पाँच वटासम्म जहाज पार्किङ गर्न सकिन्छ । विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान भएका छन् । यस अवधिमा १३ हजार पाँच सय ९३ यात्रु आएका छन् भने १८ हजार २५ यात्रु विमानस्थल हुँदै बाहिरिएका छन् । विमानस्थलमा उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ । ग्राउण्ड ह्यान्डलिङमा पनि ५० प्रतिशत छुट दिइएको छ ।

पोल्ट्री व्यवसायी भन्दछन् : हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएन, डेढ खर्ब लगानी डुब्ने भयो

चितवन । अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय समस्यामा परेको छ। दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन निर्वाधरूपमा प्रवेश पाउँदा व्यवसाय समस्यामा परेको हो। दशौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहँदा व्यवसायी अब के गर्ने भन्ने चिन्तामा छन्। नेपालमा पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। सो मध्ये आधाभन्दा बढी बैंकको ऋण छ। लागत मूल्यमा उत्पादित वस्तु बिक्री गर्न नसकेपछि झण्डै दुई वर्षयता व्यवसायीले एकोहोरो नोक्सान व्यहोर्दै आएका छन्। नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले कुखुराजन्य उत्पादन सबैमा व्यवसायी नोक्सानमा रहेको जानकारी दिए। दैनिक घाटा व्यहोरिरहेको, बैंकले थप लगानी नगरेको, जग्गा बिक्री नभएको र खोरमा राखिएका कुखुरा बचाउनसमेत मुस्किल परेको गुनासो गरे। उनले भने, ‘बैंक चाहिने जति ऋण दिँदैन, भएको ऋणमा मनपरी ब्याज बढाउँछ। कच्चा पदार्थको मूल्य आकाशियो, व्यवसाय कसरी धान्ने ?’ नेपालमा २३ वर्षदेखि पोल्ट्री व्यवसाय आत्मनिर्भर भएको जनाउँदै उनले विकसित मुलुकमा पनि सबै कुरामा आत्मनिर्भर नहुने बताए। उनले भने, ‘हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएनन्।’ समग्रमा आधाभन्दा बढी व्यवसाय बन्द भइसकेको उनको भनाइ छ। ३८४ ह्याचरी उद्योगमध्ये अहिले दुई सयमात्रै सञ्चालनमा रहेको र ती पनि पूर्ण सञ्चालन हुन नसकेको उनको भनाइ छ। उनले भने, ‘बैंकको ऋणका कारणले मात्रै केही चलेका छन्।’ एक हप्तामा ४५ लाख चल्ला उत्पादन हुँदै आएकामा घटेर २५ लाखमा झरेको छ। यसमा पनि आधा बिक्री हुन सकेको छैन। ‘चल्ला उत्पादनको लागत ६० पर्छ। अहिले हामीले बढीमा २५ मा बिक्री गर्दै आएका छौँ।’ महासंघका उपाध्यक्ष एवं ह्याचरी उद्योग सङ्घका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार ब्रोइलर र लेयर्सको चल्ला उत्पादन गर्ने माउ (प्यारेन्ट) अधिकांश विदेशबाट आउने गर्दछ। कोभिडपूर्व मासिक एक लाख ५० हजार हाराहारी प्यारेन्ट नेपाल आउने गरेकामा गएको वैशाखयताको सरदर मासिक ६० हजारमात्रै आउने गरेको उनले जानकारी दिए। प्यारेन्टबाट उत्पादित चल्लासमेत सबै बिक्री हुन नसकेको उनको भनाइ छ। मासुको माग निकै घटेकाले उत्पादन भएर पनि कुखुरा नबिकेको उनको गुनासो छ। भारतमा बिक्री गर्न नमिल्ने गरी बूढा भएका कुखुरा नेपालमा सस्तोमा आउने हुँदा यहाँको उत्पादनले मूल्य नपाएको उनको भनाइ छ। उनले भने, ‘ब्रोइलर कुखुरा २८ देखि ३५ दिनभित्रको खान उपयुक्त हुन्छ। तर बजारमा बूढा कुखुराको मासु आउने गरेको छ।’ ती धेरैजसो भारतबाट ल्याएर कोल्डस्टोरमा राखेर बिक्री गर्ने गरेको उनी बताउँछन्। भारत सरकारले कुखुरापालनमा जग्गा खरिददेखि सबै कार्यमा अनुदान दिने हुँदा सस्तोमा कुखुराजन्य उत्पादन हुने गर्दछ। भारतमा लागत कम हुने हुँदा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ। ब्रोइलरको देशभरमा २५ हजार फार्म रहेकामा आधाभन्दा बढी बन्द छन्। कुखुरा पाल्नका लागि आर्थिक अभावमा कृषकले कुखुरा पाल्न सक्ने अवस्था छैन। नेपालमा दुई हजार पाँच सय लेयर्स (अण्डा उत्पादन गर्ने) फार्म रहेकामा ७० प्रतिशत हाराहारी बन्द भइसकेका छन्। तीस हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्मको सङ्ख्या ५० हाराहारी छ। यसले ७५ प्रतिशत अण्डा उत्पादन गर्दछ। पोल्ट्री व्यवसाय चरम संकटमा पुगेपछि केही महिनाअघि ठूला लेयर्स फार्मका सञ्चालकहरू सङ्गठित भएर नेपाल लेयर्स कुखुरापालक संघ गठन गरेका छन्। संघका अध्यक्ष विनोद पोखरेलले अवस्था सुधार नभएमा आगामी वर्षसम्म पुग्न पनि नसकिने बताए। उनले भने, ‘साना व्यवसाय धेरै बन्द भइसके, ठूला व्यवसायी पनि आगामी वर्षसम्म यस्तै अवस्था रहे बन्द हुन्छन्।’ सरकारी तवरबाट नहेरिएको गुनासो गर्दै बर्डफ्लुका कारण मारिएको कुखुराको क्षतिपूर्ति १० महिना पुग्दासमेत नपाएको गुनासो गरे। उनले थपे, ‘कमसेकम क्षतिपूर्ति पाए ५० हजार कुखुरा मरेकाले २५ हजार त पाल्न पाउँथे।’ दुई वर्षअघि एक क्रेट (३० वटा) अण्डा रु चार सय पाँचमा बिक्री हुँदा दानाको मूल्य रु ४५ थियो। उनले भने, ‘अहिले दानाको मूल्य रु ७० पुग्यो, हामीले अण्डा केही दिन अघिसम्म रु दुई सय २५ मा पनि बिक्री गर्यौं।’ अहिले कृषकले प्रक्रिकेट रु तीन सय ५० सम्ममा बिक्री गर्न सकेका छन्। अण्डाको लागत मूल्य प्रतिक्रेट रु चार सय ५० रहेको पोखरेलले बताए। उनले भने,  ‘अहिले पनि हामी प्रतिक्रेट रु एक सय घाटामा अण्टा बिक्री गरिरहेका छौँ।’ नेपालमा दैनिक अण्डा उत्पादन ४० लाख वटा हाराहारी छ। पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने सात प्रतिशतमा बैंकबाट लिएको ऋण १५ प्रतिशत पुगेको भन्दै अब तालाचाबी बैंकलाई बुझाउनुको विकल्प नभएको बताउँछन्।  पाँच वर्षअघि प्रतिकिलो ३० मा किन्ने दाना अहिले ७० पुगेको भन्दै दानाको मूल्य दोब्बर हुने, उत्पादन सस्तोमा बिक्री गर्नुपर्दा कति दिन व्यवसायी टिक्छन् ? उनले प्रश्न गरे। कुखुरामा लगाउने भ्याक्सिनले वैधता नपाउँदा चोरी बाटोबाट आइरहेको भन्दै उनले महँगोमा खरिद गरेर लगाउनुपरेको बताए। उनले गुनासो गरे, ‘राज्य भएको अनुभूति गर्न सकिएन।’ कृषकको लागत उठ्नका लागि मासु प्रतिकिलो पाँच सय र अण्डा प्रतिक्रेट पाँच सयमै बिक्री गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। नेपालमा दानाका लागि आवश्यक पर्ने अधिकांश कच्चा पदार्थ र औषधि विदेशबाट आउने गर्दछ। देशभरमा १२० वटा दाना उद्योग छन्। पछिल्लो समय कच्चा पदार्थको मूल्य अत्यधिक बढेसँगै दानाको मूल्य बढेको लामिछानेको भनाइ छ। सरकारले सम्बोधन गरेमा लागत मूल्य घट्ने उनको भनाइ छ। उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका कारण पोल्ट्री व्यवसाय बन्द गर्ने अवस्थामा पुगेको बताए। उनले भने, ‘बैंकले ऋण थप्दैन, खोरका कुखुरा दाना नपाएर मर्ने अवस्थामा छन्।’ खोरका कुखुरा गनेर १० करोड रहेको हिसाब गरेर सुतेको व्यक्ति बिहान उठ्ता मरेका कुखुरा पुर्नका लागि ऋण खोज्ने अवस्थामा पुग्ने अवस्था आउने भन्दै उनले जोखिम मोलेर व्यवसाय गरे पनि सरकारको ध्यान पुग्न नसकेको गुनासो गरे। कृषि कर्जा पोल्ट्रीमा मात्रै लगानी गर्दा अन्य कृषि क्षेत्रमाथि उठ्न नसक्दा अहिले समस्या आएको कँडेलको भनाइ छ। उनले भने, ‘कृषि ऋण जनाउँदै बैंकहरू कुखुरामा मात्रै लगानी गरे, मकै, भटमासलगायत दानाका कच्चा पदार्थ उत्पादनतर्फ ध्यान पुगेन।’ वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले प्रदेश सरकारले पोल्ट्री बोर्ड नै गठन गरेर सम्बोधन गर्ने तयारी गरेको जानकारी दिए। बोर्ड गठनका लागि अध्यादेश ल्याएर प्रदेश प्रमुखसम्म पुगेको तर प्रमाणीकरण नभएको उनले जानकारी र्दिए। उनले भने, ‘नयाँ सरकार बनेसँगै बोर्ड गठन हुन्छ, यसले पोल्ट्री क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्छ।’ बोर्डको उपाध्यक्षसहित सदस्यहरू निजी क्षेत्रको हुने भएकाले व्यवसाय प्रवद्र्धनमा सहयोगी बन्ने उनको भनाइ छ। बोर्ड गठनसँगै पोल्ट्रीजन्य उत्पादनको वैज्ञानिक मूल्य निर्धारण, अनुगमन, उत्पादन र बिक्री गर्नेलाई अनुमतिपत्रलगायतका नीतिगत काम हुने उनले बताए। पोल्ट्री क्षेत्रमा नीतिगतसँगै उपभोग प्रवद्र्धनमा प्रदेश सरकार लागेको छ। पहिलोपटक प्रदेश सरकारले सप्ताहव्यापीरूपमा पोल्ट्री दिवस मनाइरहेको भन्दै उनले भने, ‘हामीले ५० लाखको अण्डा खरिद गरेर श्रमिक र विद्यार्थीलाई वितरण गरिरहेका छौँ।’ सरकारले छिट्टै कृषक परिचयपत्र वितरण गर्ने जनाउँदै उनले  भने, ‘निर्वाहमुखी, अर्धव्यवसायी र व्यवसायी गरी तीन प्रकारका परिचयपत्र वितरण गर्दछौँ।’ मानव स्वास्थ्यका लागि अण्डा र मासु महत्वपूर्ण भएको भन्दै उनले खपत बढाउने काममा लाग्ने बताए। सचिव पाण्डेले भने, ‘एक जना व्यक्तिले वार्षिक एक सय अण्डा खाने गरी अभियान सञ्चालन गर्नुपर्छ।’ रासस

इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री दाहाल

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन् । प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गरेका छन् । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ ।